सतगुरु भक्तशंकुको जीवनोपयोगी चिन्तन

आध्यात्मिक जीवन जिउन पूर्ण सन्यास हुनुपर्ने अनि चालचलन मा सम्यक नियमनबाट मात्रै सम्भव हुन्छ भन्ने परम्परागत धारणालाई परिमार्जन गर्दै नयाँ तरिकाले प्रष्ट्याउने गुरुका रुपमा सतगुरु भक्तशंकु मानिनुहुन्छ। उहाँको दर्शनबाट प्रभावित धेरै अनुयायीले नयाँ दृष्टिको चिन्तनलाई अँगाल्न थालेका छन्।

बृटिश गोर्खा सैनिकका रूपमा दोस्रो विश्वयुद्धमा होमिंदा जापानद्वारा सिंगापुरमा  युद्धबन्दी बनाइएका सतगुरु भक्तशंकुको पहिलेको नाम भक्तबहादुर अधिकारी हो। भक्तशंकु उहाँको आध्यात्मिक नाम हो।

कुस्ती पहलवानीमा सैनिक साथीहरूलाई जितेपछि उहाँलाई ‘पहलमान अधिकारी’ पनि भन्ने गरिन्थ्यो। लमजुङको भारते लामिस्वाँरामा वि.सं. १९७८ जेठ १३ गते जन्मनुभएका उहाँको देहावसान २०५१ महाशिवरात्रिका दिन चितवनमा भएको थियो।

आध्यात्मिक जीवन जिउन पूर्ण सन्यास हुनुपर्ने अनि चालचलन मा सम्यक नियमनबाट मात्रै सम्भव हुन्छ भन्ने परम्परागत धारणालाई उहाँले नयाँ रुपमा प्रष्ट्याउनुभएको छ।

मुख्य कुरा मानसिकतामाथि नियन्त्रण र नियन्त्रण गराउन लगाउन परेका यस्ता नियमनहरु जब साधकले मनभित्रै नियन्त्रणमा राख्न सक्छ भने यी सबै केवल साधनहरु मात्रै हुन्।

साधनको काम भनेको लक्ष्यमा नपुगुन्जेल सवार हुने मात्रै हो, लक्ष्यमा पुगेपछि पनि साधनकै निरन्तरतामा रहिरहन पर्ने विषय होइन तर सक्षम साधकका लागि त्यो भूतकालको विषय हुन गए पनि नयाँ आगन्तुकहरुका लागि भने अनिवार्य प्राथमिक सोपानहरु हुन्।

उसो त आज विश्वभर साधनात्मक विधिका रूपमा थुप्रै प्रकार रहेका छन्। उहाँका साधना र व्यावहारिक कर्मको बीचमा भने एक सामञ्जस्यता रहनुपर्ने भन्ने प्रमुख निर्देशन रहेको छ।

अनि त्यसका लागि मन्त्रदीक्षा गुरुको परीक्षण पश्चात जब साधक वा साधिकाले दीक्षा प्राप्ति गर्छन्, ब्रह्ममुहूर्त अर्थात बिहान ३ बजेको समयलाई निश्चित मन्त्रद्वारा साधना गर्दै अनि दैनिकी काममा लाग्दै जानुपर्छ।

साधकको चिन्तन र चिन्ताको स्वरुप ब्यक्तिगत छलफल वा सतसङ जे भनौं त्यसबाट वा आफैंभित्र पनि आफैं मनमा जीवन र जगत प्रतिको धारणा स्वच्छ निर्मल हुँदै आएको आफैंलाई थाहा हुँदै जान्छ।

त्यसपछि साधकलाई के छोड्नु पर्ने र नपर्ने, के गर्नुपर्ने र नपर्ने, के क्रोध, काम, लोभ आदि त्याग्नु पर्ने कि नपर्ने वा त्यसको समुचित उपयोग पो गर्नुपर्ने हो आदि सामाजिक जीवनका अहंम प्रश्नको उत्तरहरु आफै आउन थालेका हुन्छन्। अनि झनझन् सहज र सजिलो हुन थाल्दछ ।

निराकार स्वरुपी शिवको अन्डाभित्र रहेकोे यो ब्रह्माण्डलाई मन्त्र र चिन्तनको आधारमा आफूभित्र चिन्तन गर्दै सो हुँ भन्न कसरी सकिन्छ? अनि सनातन संस्कारको सतगुणको पक्षलाई आज हामीले स्पष्टता ल्याउनको लागि सबैले आ–आफ्नो ज्ञान र विज्ञानलाई अगाडि सार्नुपर्ने कि आफ्नै अहंकारको प्रदर्शन गरेर समूह खडा गरेर सर्वसाधारणलाई झन असाध्य दुख, कष्ट, त्यागको बाटो जस्तो देखाएर भ्रम छर्ने?

यी सबै काम कारबाही सत्य सनातनको शब्दसँग मेल खाएका छैनन्, त्यसलाई सबै मिलेर हातेमालो गर्दै एक हुनुपर्छ। नकि कुनै मत सम्प्रदायको प्रचारप्रसार गरेर यही नै सनातन हो भन्नु भ्रम हो। यसका लागि सत्य शिवको निराकार र साकार स्वरुपको ध्यान आजको शान्तिका लागि सर्वआवश्यकता हो।

आफू उहाँको दर्शनको १८ वर्ष करिब साधक र अहिले दीक्षागुरुको उपाधि हासिलको ८ वर्षपश्चात आज आफूलाई जहाँ छु, खुसी महसुस मनबाटै गर्दैछु र जिम्मेवारीपूर्वक सतगुरु भक्तशंकुको जन्म जयन्तीको उपलक्ष्यमा हार्दिक श्रद्धा सुमन प्रकट गर्दछु। ॐ नमः शिवाय। ॐ सत्गुरुभ्यो नमः।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *