पाथीभरामा पुर्याइयो पानी, तीर्थयात्रीलाई अब सजिलो (भिडियो)

ताप्लेजुङ । प्रसिद्ध पर्यटकीयस्थल पाथीभरामा पानी पुर्याइएको छ । ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेको पाथीभरा मन्दिर क्षेत्रमा ‘लिफ्टिङ’ प्रविधिबाट पानी पुर्याइएको हो ।

सदरमुकाम फुङलिङ नगरपालिका–११ फावाखोलाको डढेले मुहानबाट पानी लगिएको हो । अब पाथीभरा क्षेत्र जाने दर्शनार्थीका लागि पानीको सुविधा हुने भएको छ । यसअघि पानी बोकेर मन्दिर परिसर जानुपर्ने बाध्यता थियो ।

उक्त योजनाअन्तर्गतको संरचना निर्माण सम्पन्न भएपछि पाथीभरा मन्दिर क्षेत्रमा रहेको ट्याङ्कीमा मंगलबार पानी खसाइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए ।

‘लिफ्टिङ’ प्रविधिको पानी सञ्चित गर्ने अन्तिम ट्याङ्कीसम्म पानी पुगेको उनले बताए ।

लामो समयदेखि पाथीभरा मन्दिर क्षेत्रमा पानी पुर्‍याउने कार्यको प्रारम्भिक परीक्षण सफल भएको योजनाको जिम्मा लिएको निर्माण कम्पनी प्रेरा विष्णु जेभीका स्थानीय प्रतिनिधि खड्गबहादुर थापाले जनाए।

मुहानबाट लगिएको पानी जम्मा गर्न काफ्लेपाटीमा मुख्य ट्याङ्की बनाइएको छ । त्यहाँबाट बलुडाँडा, माथिल्लो फेदी, दोबाटो, नयाँपाटीमा निर्माण भएका ट्याङ्की हुँदै पाथीभरा मन्दिरमा पानी पुग्ने संरचना बनाइएको छ ।

योजनाअन्तर्गत ६ वटा ट्याङ्कीमा ५ वटा स्टेशनमार्फत लिफ्टिङ प्रविधि प्रयोग गरी पाइपमार्फत् पानी पुर्याइएको जनाइएको छ ।

प्रतिघण्टा ३० हजार लिटर पानी मन्दिर परिसरमा प्रवाह हुने जनाइएको छ । यो योजना ८ करोड २२ लाख १६ हजार ३ सय ६० रुपैयाँ लागतको रहेको समितिले जनाएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामको ७० प्रतिशत तथा पाथीभरा क्षेत्र विकास समितिमार्फत् ३० प्रतिशत लागतको साझेदारीमा पाथीभरा ताप्लेजुङ खानेपानी तथा सरसफाइ योजनामार्फत् काम भएको काफ्लेले बताए ।

संघीय सरकारको ५ करोड ७५ लाख ८१ हजार ४ सय ५२ रुपैयाँ र पाथीभरा क्षेत्र विकास समितिको २ करोड ४६ लाख ३४ हजार ९ सय ८ रुपैयाँ लगानी उक्त योजनामा रहेको समितिले जनाएको छ ।

भिडियोः राजेन्द्र महत


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *