उडिरहेको विमानमा यात्रुले जन्माइन् शिशु

अन्टारियो। क्यानाडाको मिसिसागास्थित पियर्सन विमानस्थलका लागि उडेको विमानमा एक महिलाले शिशु जन्माएकी छन्।

एयर क्यानाडाका प्रवक्ताका अनुसार मार्च ६ मा सेन्ट लुसियाबाट पियर्सनका लागि यात्रा गर्ने क्रममा एयर क्यानाडाको उडान रुज–१८७९ मा शिशु जन्मिएका हुन्।

त्यसमा यात्रारत् एक महिलालाई निर्धारित समयभन्दा अघि प्रसव पीडा भएपछि विमान डाइभर्ट गर्नुपरेको थियो।

महिलालाई प्रसव पीडा भइरहेको विमानका कर्मचारीहरुले थाहा पाएपछि विमानमा कोही डाक्टर वा स्वास्थ्यकर्मी भए, नभएको बुझेका थिए।

संयोगवश विमानमा दुईजना डाक्टर पनि यात्रा गरिरहेका रहेछन्।

एयर क्यानाडाका प्रवक्ताका अनुसार उनीहरुले ती महिलालाई सहयोग गरेका थिए।

त्यस क्रममा विमानलाई बर्मुडामा डाइभर्ट गरिएको थियो। ती महिलाले विमान अवतरण गर्नुअघि नै बच्चा जन्माएकी थिइन्।

विमान बर्मुडामा अवतरण गरेपछि स्थानीय चिकित्सकको सहयोग लिइएको थियो। महिला र बच्चालाई स्थानीय अस्पतालमा लगियो। उनीहरुको अवस्था स्थिर रहेको प्रवक्ताले जनाएका छन्।

बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख गर्दै प्रवक्ताले सहयोग गर्ने डाक्टरहरुलाई धन्यवाद दिएका छन्।

विमानमा शिशुको जन्म दुर्लभ घटना मानिन्छ। सामान्यतया ३६ देखि ४० हप्ताभन्दा बढी अवधिको गर्भवती महिलालाई उडान गर्न अनुमति हुँदैन।

एयरलाइनसका अनुसार नियमहरु फरक फरक हुन्छन्। एयर क्यानाडाका प्रवक्ताले गर्मवती महिलाहरुले एयर क्यानाडाको उडानमा सामान्य गर्भावस्थाका साथ २६ हप्तासम्म यात्रा गर्न सक्दछन्।

२०२४ जनवरीको ‘कोन्डे नास्ट ट्राभलर’ को रिपोर्टअुनसार विश्वव्यापी रुपमा अनुमानित ७० जना उडानकै बेला जन्मिएका छन्।

उडानकै बेला जन्मिएको बच्चाको राष्ट्रियताको नियम फरक हुन सक्ने भन्दै मेडिकल सपोर्ट फर्म मेडायरका ग्लोबल मेडिकल निर्देशक डा. पाउलो अल्भेसले ‘कोन्डे नास्ट ट्राभलर’ लाई बताएअनुसार यसमा कुनै अन्तर्राष्ट्रिय नियम छैन।

विमानमै जन्मिएका बच्चाहरुले धेरैजसो अवस्थामा आफ्ना आमाबाबुको नागरिकता प्राप्त गर्छन्।

यदि कुनै निश्चित क्षेत्रमा जन्म भएन भने विमान दर्ता भएको काउन्टी प्राथमिकतामा पर्ने जनाइएको छ।

‘सिटिजनसिप प्लानिङ प्लेटफर्म’ का अनुसार अमेरिका, क्यानाडा र अन्य धेरै मुलुकहरुले आफ्नो सार्वभौम क्षेत्रभन्दा माथि उडानको बीचमा जन्मिएका शिशुहरुलाई स्वतः नागरिकता प्रदान गर्छन्।

(‘नेपाल टच’ बाट)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *