ग्रिसमा डुङ्गा पल्टँदा ८३ जनाको मृत्यु

काठमाडौं । ग्रिसको तटीय क्षेत्रमा आप्रवासी बोकेको डुङ्गा पल्टँदा कम्तीमा ८३ जनाको मृत्यु भएको छ ।
बुधबार भएको दुर्घटना लगत्तै ग्रिस कोस्ट गार्डले उद्धार अभियान चलाएर १०४ जना आप्रवासीलाई उद्धार गरेको थियो ।
उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेका कालामाटाका मेयरलाई उद्धृत गरी समाचार संस्था एपीएफले जनाएको छ ।
जीवितै उद्धार गरिएकाले दिएको विवरणअनुसार डुङ्गामा झण्डै ७ सय ५० जना थिए ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले ठूलो सङ्ख्यामा मानिसहरु हराइरहेको जनाएको छ । उद्धारको काम जारी रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
डुङ्गामा रहेका कसैले पनि लाइफ ज्याकेट नलगाएको र आफ्नो राष्ट्रियता तत्काल नखुलाएको खबरमा उल्लेख छ ।
ती आप्रवासीहरू लिबियाबाट इटालीतर्फ गएका थिए । दुई दिनअघि नाइजेरियामा डुङ्गा पल्टिँदा सय जनाभन्दा धेरैको मृत्यु भएको थियो ।