आर्थिक वृद्धि १.८६ प्रतिशतमा सीमित रहने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा १.८६ प्रतिशत मात्र आर्थिक वृद्धि हुने देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वृद्धि १.८६ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको हो ।

सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो ।

निर्माण, उद्योग र खुद्रा व्यापारको क्षेत्र खुम्चिँदा सरकारले अनुमान गरेभन्दा निकै कम आर्थिक वृद्धि हुने देखिएको हो ।

विश्व बैंकले ४.१ प्रतिशत वृद्धि हुने जनाएको छ । तर आधारभूत मूल्यमा भने २.१६ प्रतिशत वृद्धि हुने तथ्यांक कार्यालयले जनाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान गरेको हो ।

गत वर्ष ४८ खर्ब ५१ अर्ब वृद्धि हुने अनुमान थियो । गत आठ महिनाको विभिन्न सरकारी निकायहरुले प्रकाशित गरेको तथ्यांक र ४ महिनाको आकलनका आधारमा तथ्यांक कार्यालयले वृद्धिदर निकालिएको हो ।

यो वर्ष कृषि क्षेत्रको योगदान २४.१२ प्रतिशत रहने अनुमान छ । धानलगायत वर्षे बालीको उत्पादन बढे पनि हिउँदे बालीसँगै दूध, अन्डा तथा मासुको उत्पादनमा भएको कमीले आर्थिक वृद्धिदर खुम्चिने देखिएको हो ।

उद्योगको योगदान ५.३२ प्रतिशत छ । गत आर्थिक वर्षको तुलनामा कूल मूल्य अभिवृद्धि दर भने २.०४ प्रतिशतले घट्ने अनुमान छ ।

वनस्पति, तोरी, सोयाबिन तथा सूर्यमूखी तेलको उत्पादनका साथै फलाम तथा स्टिलजन्य उत्पादनमा आएको कमीका कारण उद्योग क्षेत्रमा गत आवको तुलनामा ऋणात्मक देखिएको हो ।

निर्माण क्षेत्रले कूल गार्हस्थ उत्पादनमा ५.५२ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ । यसको पनि कूल मूल्य अभिवृद्धि दर २.६२ प्रतिशतले ऋणात्मक रहनेछ ।

यसबाहेक थोक तथा खुद्रा व्यापारको वृद्धिदर पनि २.९६ प्रतिशतले ऋणात्मक हुने अनुमान छ ।

यसैगरी सूचना तथा सञ्चार क्षेत्रले कूल गार्हस्थ उत्पादनमा १.९७ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ ।

यस क्षेत्रको कूल मूल्य अभिवृद्धिमा अघिल्लो आवको तुलनामा ४.०७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

यस्तै, घरजग्गा कारोबारतर्फ चालु आवमा ८.३७ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान छ ।

स्वास्थ्य तथा सामाजिक कार्यतर्फ चालु आवको कूल गार्हस्थ उत्पादनमा १.९२ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ ।

तथ्यांक कार्यालयले आगामी वर्ष प्रतिव्यक्ति आय एक हजार तीन सय ९९ अमेरिकी डलर अर्थात् एक लाख ८२ हजार ६ सय ८३ रुपैयाँ पुग्ने अनुमान गरेको छ ।

गत वर्ष नेपालीको प्रतिव्यक्ति आय एक लाख ६९ हजार ३८ रुपैयाँ थियो ।

चालु आर्थिक वर्षमा सेवा क्षेत्रले जीडीपीमा ६२.४ प्रतिशत, कृषि क्षेत्रको २४.६ प्रतिशत र उद्योग क्षेत्रको ५.३२ प्रतिशत योगदान गर्ने अनुमान गरेको छ ।

चालु आर्थिक वर्षमा चालु मूल्यअनुसार कूल गार्हस्थ्य उत्पादन आधारभूत मूल्यमा ८० खर्ब ९० अर्ब ६७ करोड रहने अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *