अघोषित लोडसेडिङले औद्योगिक क्षेत्र समस्यामा

विराटनगर । प्राविधिक गडबडी र मर्मत सम्भारको नाममा हुने अघोषित लोडसेडिङका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरु प्रभावित बनेका छन् । नियमित बिजुली आपूर्ति नहुँदा पूरा समय उद्योग सञ्चालन नहुनुका साथै यसले उत्पादनमा पनि असर गरिरहेको छ ।

बजारमा तरलताको अभाव र बैङ्क तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण लामो समयदेखि संघर्षरत उद्योगीहरु विद्युत कटौतीको समस्याका कारण अझ पिरोलिएका छन् ।

उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुँदा बिशेषगरी उत्पादनको क्रममा रहेकोे कच्चा पदार्थहरु बिग्रँदै गएको नेपाल उद्योग परिसंघको कोशी प्रदेशका अध्यक्ष भीम घिमिरे बताउँछन् । यसले उत्पादन र सामान आपूर्ति शृङ्खलामा पनि प्रतिकूल असर पुर्याएको उनको भनाई छ ।

लोडसेडिङका कारण उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेर उत्पादनमा ह्रास आएको छ । उद्योगीहरुका अनुसार उत्पादन लागत पनि बढ्दै गएको छ । सुनसरी–मोरङ करिडोरमा हाल बिहान र बेलुका ३/३ घण्टाका दरले लोडसेडिङ हुने गरेको उद्योगीहरु बताउँछन् ।

उनीहरुका अनुसार विद्युत आपूर्तिको अभावमा चौबीसै घण्टा चल्ने उद्योगहरु सञ्चालन हुन सकेका छैनन् भने अन्य उद्योगहरुले पनि ३० देखि ४० प्रतिशत उत्पादन मात्र गरिरहेका छन् ।

अघोषित लोडसेडिङका कारण सुनसरी–मोरङ करिडोरमा सञ्चालित उद्योगहरुले हाल ६० प्रतिशतसम्म उत्पादन कटौती गरेका छन् । आरती स्ट्रीप्स, हुलास वायर्स, रिलायन्स स्पिनिङ, अरिहन्त मल्टिफाईबर्स, प्रिमियर स्टील, पशुपति स्टिल र कमला रोलिङ मिल्स जस्ता उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन नै हुन सकेका छैनन् ।

बिजुली अनियमितताका कारण उपकरणहरु बिग्रने, एमसिबी जल्ने, सर्ट सर्किट हुने र तारहरु जल्ने लगायतका प्राविधिक समस्या उद्योगीहरुले झेल्नुपरेको व्यवसायीको गुनासो छ ।

सुनसरी–मोरङ करिडोरमा सानाठूला गरी हाल ६०० बढी उद्योगहरु सञ्चालनमा छन् । ती उद्योगले कूल उत्पादनको करिब ७० प्रतिशत विद्युत खपत गर्ने गर्दछन् ।

लोडसेडिङका कारण उत्पादनमा ह्रासका साथै अन्य प्राविधिक समस्याहरु पनि उद्योगीहरुले झेल्नुपरेको उद्योग संगठन मोरङका उपाध्यक्ष एवं उद्योगी नन्दकिशोर राठी बताउँछन् ।

नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रको मासिक विद्युत आपुर्ति क्षमता २ करोड ७० लाख युनिट हो । प्राधिकरणको दुहबी ग्रीड शाखाले दैनिक ६० देखि ७० मेगावाट विद्युत विराटनगर वितरण केन्द्रलाई पठाउँदै आएको छ ।

सो ग्रिडबाट प्राप्त विद्युत वितरण केन्द्रले रानी, टङ्कीसिनवारी, बाँसबारी तथा कटहरी सब–स्टेशनमार्फत् मोरङका ५ स्थानीय पालिकामा विद्युत आपूर्ति हुँदै आएको छ ।

वितरण केन्द्रले आफ्ना सब–स्टेशनहरु मार्फत् विराटनगर, कटहरी, जहदा, बुढीगंगा र ग्रामथान गाउँपालिकामा नियमित विद्युत पु¥याउँदै आएको जनाएको छ । यी पाँच पालिकाले मासिक करिब २ करोड ५० लाख युनिट विद्युत खपत गर्दै आएको वितरण केन्द्रको तथ्याङ्क छ ।

ग्रामीण भेगमा हुकिङ र विद्युत चुहावटको समस्याका कारण प्राधिकरणले मासिक १० देखि २० लाख युनिटसम्मको घाटा व्यहोरिरहेको छ । उद्योगधन्दामा विद्युत आपूर्तिको समस्या पनि त्यसैकारण हुने गरेको वितरण केन्द्रको तर्क छ ।

हिउँदे वर्षाको अभावमा पर्याप्त विद्युत उत्पादन नभएर पनि आपूर्ति असहज भएको नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख रोशन खड्काको भनाइ छ ।

उनका अनुसार यसपटक हिउँदे वर्षा नहुँदा बिजुली उत्पादन पनि प्रभावित भएको हो । यही कारण आपूर्तिमा समस्या देखिएको छ । मङ्सिर महिनायता वर्षा नभएर पानीको सतह घटदै गएका कारण पर्याप्त विद्युत उत्पादन नभएको नेपाल विद्युत प्राधिकरणको दुहबी ग्रिड शाखाले जनाएको छ ।

शाखाका अनुसार वर्षायाममा २३०० मेगावाट विद्युत उत्पादन हुने गरेकोमा अहिले मात्र ११०० मेगावाट उत्पादन भइरहेको छ । जसकारण लोड नपुग्दा बिहान र बेलुकाको पिक आवरमा विद्युत कटौती गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *