एक दशकमा २६ लाख बढेर नेपालको जनसंख्या २,९१,६४,५७८

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ ।

कूल जनसंख्यामधये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ छ । यस्तै, महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ पुगेको जनगणना प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय जनगणना २०७८ नतिजा’ अनुसार नेपालको जनसंख्यामध्ये पुरुष ४८ दशमलव ९८ प्रतिशत र महिलाको संख्या ५१ दशमलव ०२ प्रतिशत छ ।

२०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । दशक अवधिमा नेपालको जनसंख्या २६ लाख ७० हजार ७४ जनसंख्या बढेको छ ।

यसैगरी अन्य लिंगी (यौनिक तथा लैंगिक अल्पसंख्यक) को जनसंख्या दुई हजार ९२८ देखिएको अर्थात् कूल जनसंख्याको ०.०१ प्रतिशत रहेको जनाइएको छ ।

भौगोलिक क्षेत्रअनुसार तराईमा कूल जनसंख्याको ५३.६१ प्रतिशत (१,५६,३४,००६ जना), पहाडमा ४०.३१ प्रतिशत (१,१७,५७,६२४ जना) र हिमाली क्षेत्रमा ६.०८ प्रतिशत (१७,७२,९४८ जना) रहेको छ ।

प्रदेशगत रूपमा जनसंख्याको वितरण सबैभन्दा धेरै जनसंख्या वाग्मती प्रदेशमा २०.९७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ प्रतिशत छ ।

जिल्लागत रूपमा सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौंमा २० लाख ४१ हजार ५८७ जना रहेको तथ्यांक छ भने सबैभन्दा कम जनसंख्या भएको जिल्ला मनाङमा ५ हजार ६५८ जनाको बसोबास छ ।

२०७८ को जनगणनाअनुसार नगरपालिकाहरूमा बस्ने जनसङ्ख्या ६६.१७ प्रतिशत छ । यस्तै गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३३.८३ प्रतिशत छ ।

२०६८ सालको जनगणनाअनुसार भने नगरपालिकाहरूमा बस्ने जनसंख्या ६३.१९ प्रतिशत र गाउँपालिकाहरूमा बस्ने जनसंख्या ३६.८१ प्रतिशत थियो ।

१० वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा जनसंख्या थपिएको पाइएको छ । लुम्बिनी प्रदेशमा १३ दशमलव ८४ जनसंख्या थपिएको हो ।

सबैभन्दा कम अर्थात् २ दशमलव ६१ प्रतिशत जनसंख्या गण्डकी प्रदेशमा थपिएको छ । प्रदेशगत रुपमा लुम्बिनी प्रदेशमा यो १० वर्षको अवधिमा १.२४ प्रतिशत जनसंख्या वृद्धिदर भएको हो ।

सबैभन्दा कम वृद्धिदर रहेको गण्डकी प्रदेशमा शून्य दशमलव २५ प्रतिशतले वार्षिक रुपमा जनसंख्या बढेको छ ।

हिमाली र पहाडी क्षेत्रका ३४ वटा जिल्लामा वार्षिक वृद्धिदर घटेको देखिएको छ । यस्तै गत २०६८ को जनगणनाअनुसार २७ वटा जिल्लामा जनसंख्या ऋणात्मक देखिएको हो ।

सबैभन्दा बढी जनसंख्या वृद्धिदर भक्तपुर जिल्लामा ३.३५ प्रतिशत र सबैभन्दा बढी वार्षिक जनसंख्या घट्ने दर रामेछाप जहाँको ऋणात्मक दर १.६७ प्रतिशत छ ।

हिमाली जिल्लाहरुमध्ये मुगु सबैभन्दा बढी १.४९ प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर छ ।

बढ्यो साक्षरता दर

जनगणनाको नतिजाअनुसार नेपालको साक्षरता दर १० वर्षमा १० दशमलव ४ प्रतिशतले वृद्धि भएको छ। नेपालको साक्षरता दर ७६.३ प्रतिशत पुगेको हो।

पछिल्लो १० वर्षमा पुरुषको साक्षरता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत पुगेको तथ्यांक विभागले जनाएको छ।

२०६८ को जनगणनाअनुसार कुल साक्षरता दर ६५.९ प्रतिशत थियो। जसमा पुरुषको ७५।१ र महिलाको साक्षरता दर ५७.४ प्रतिशत थियो।

तथ्यांक उपप्रमुख डा. हेमराज रेग्मीले जनगणना २०७८ अनुसार नेपालमा पुरुषको भन्दा महिलाको साक्षरता दर १४.२ प्रतिशत रहेको बताए।

रेग्मीकाअनुसार नेपालमा २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेका छन्। उनले १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा बसोवास गर्ने गरेको बताए।

यो संख्या २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो। २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना परिवारमा अनुपस्थित रही विदेशमा बसोवास गरेको पाइएको थियो।

जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष (८२.२ प्रतिशत) र ३ लाख ९० हजार ९१७ (१७.८ प्रतिशत) महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ।

रेग्मीले जनगणनामा सधैँको लागि देश छोडेर गएका व्यक्तिहरुको गणना नगरिएको बताए। त्यस्तै, परिवारका सबै सदस्य विदेशमा रहेकाहरुको पनि गणना गरिएको छैन।

रेग्मीले उमेर समूहअनुसार १५ देखि १९ वर्षको उमेर समूहमा कूल जनसंख्याको सबैभन्दा बढी प्रतिशत रहेको पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *