बिग्रियो माटो, घट्यो उत्पादन

विराटनगर । कृषिजन्य उत्पादनका लागि अग्रणी रहँदै आएको कोशी प्रदेशमा पछिल्लो समय माटोको उर्वराशक्ति घटिरहेको छ । १४ वटा जिल्ला समेटिएर हिमाली, पहाडी र तराई क्षेत्र गरी मिस्रित भूबनोट र हावापानी रहेको कोशी प्रदेशमा पछिल्लो समय उत्पादन प्रभावित भएको हो ।

बढी उत्पादन पाउने उद्देश्यले रासायनिक मलको अत्यधिक प्रयोग गरिनु, प्रांगारिक मलको प्रयोग न्यून मात्रामा हुनु जस्ता कारणले माटोको उर्वराशक्ति घटिरहेको विज्ञहरुले उल्लेख गरेका छन् ।

कोशी प्रदेशका विभिन्न जिल्लामा गरिएको अध्ययनका क्रममा करिब ७० प्रतिशत खेतीयोग्य जमिनमा अम्लीयपन अर्थात् एसिडको मात्रा बढेको पाइएको छ ।

सुनसरीको झुम्कास्थित क्षेत्रीय माटो तथा मल परीक्षण प्रयोगशालाले गरेको अध्ययनका क्रममा माटोमा अम्लीयपन बढ्दा उर्वरा शक्तिमा ह्रास आएको पाइएको हो ।

सो प्रयोगशालाले विभिन्न जिल्लाबाट संकलित माटोलाई विशेष विधिबाट परीक्षण गरी त्यसको गुणस्तर पत्ता लगाउने गरेको छ । यसैगरी समय समयमा घुम्ती शिविर गरी किसानको खेतबारीमै पुगेर पनि माटो र मल परीक्षण गर्ने गरिएको छ ।

अधिक मात्रामा उत्पादन बढाउने लोभमा किसानहरूले खेतबारीमा रासायनिक मल र विषादीको आवश्यकताभन्दा बढी प्रयोग गर्ने गरेकाले माटोको उर्वरा शक्ति घट्न थालेको विज्ञहरुको भनाइ छ ।

हरेक वर्ष तरकारी बालीको उत्पादन घटिरहेको अनुभव किसानले पनि गरिरहेका छन् । मल हाल्दा पनि उत्पादन उति धेरै नबढेको बताउने किसानहरु माटोमा समस्या भएर खेती प्रभावित भएको सुने पनि खास कारण के हो भन्ने आफूहरुलाई थाहा नभएको बताउँछन् ।

सुनसरीकी किसान शान्ति बिन रासायनिक मल नहाली धेरै उब्जाउन नहुने भएकाले हाल्नैपर्ने अवस्था रहेको बताउँछिन् ।

विज्ञका अनुसार रासायनिक मलले माटोको उर्वरा शक्ति कायम राख्ने मित्रजीव र सूक्ष्म कीरा मर्छन् । यसले गर्दा पनि खेती प्रभावित बनिरहेको हो । तराईका अधिकांश ठाउँमा पराल, भुस, गहुँका बोटलाई खेतबारीमा जलाउने गर्दा पनि माटोको उर्वरा शक्ति नष्ट भइरहेको प्रयोगशालाका प्राविधिकहरुले जनाएका छन् ।

उत्पादन बढाउने ध्याउन्नमा किसानले आवश्यक मात्राभन्दा बढी रासायनिक मल प्रयोग गर्ने गरेका छन् । सुनसरीकै किसान मनोज बिन परिवारका लागि मात्र थोरै परिमाणमा तरकार उब्जाउने हो भने रासायनिक मल नहाले पनि व्यावसायिक रुपमा तरकारी र अरु कृषि उपज उत्पादन गर्न रासायनिक मल हाल्नुको विकल्प नरहेको बताउँछन् ।

रासायनिक मल आवश्यकताभन्दा बढी प्रयोग नगर्ने अनि कृषि चुनको प्रयोग बढाउने हो भने उर्वराशक्ति बढेर बाली पनि बढी उत्पादन हुने विज्ञहरुले बताएका छन् ।

माटोमा दिनप्रतिदिन अम्लीपन बढ्दा उत्पादन प्रभावित भइरहेको विज्ञहरुको भनाइ छ । किसानले एकपछि अर्को बाली, अर्को पछि अर्को बाली गरे निरन्तर खेती गर्ने गरेको र माटोमा बढी मात्रामा रासायनिक मल प्रयोग गर्ने गरेकाले उर्वराशक्तिमा ह्रास आएको उनीहरुको भनाइ छ ।

क्षेत्रीय माटो तथा मल परीक्षण प्रयोगशाला इटहरीका प्रवक्ता राजेन्द्रप्रसाद यादव उत्पादन बढाउनका लागि माटोको अम्लीयपन घटाउन घरेलु विधिमा आधारित प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्नेमा जोड दिन्छन् ।

झापा, मोरङ र सुनसरी उल्लेख्य परिमाणमा अन्न उत्पादनका लागि देशमै अग्रणी मानिन्छन् । तर यिनै जिल्लामा रहेका खेतीयोग्य जमिन अम्लीय बन्दै गएको प्रयोगशालाले जनाएको छ ।

अन्नबाली, तरकारी र फलफूल जस्ता सबैजसो बालीको उत्पादन यही कारणले घटिरहेको छ । लगाइएका तरकारी र फलफूल पनि राम्ररी नसप्रने, कीरा लाग्ने जस्ता समस्या बढिरहेको छ ।

अलि बढी परिणाममा अम्लीयपन भएको माटोमा आलु, चिया, अलैंची र अम्लिसो जस्ता खेती हुन सक्ने भए पनि अन्न, तरकारी र फलफूल खेतीमा भने यसको नकारात्मक असर पर्ने जनाइएको छ ।

माटोमा अम्लीयपन बढ्दै जानु र बाली–बिरुवालाई नभई नहुने नाइट्रोजन, फस्फोरस नामक तत्वको मात्रा घट्दै गएकाले उर्वरा शक्तिमा पनि बर्सेनि कमी आइरहेको छ ।

त्यसो त मुलुकभरकै माटोको उर्वरा शक्ति पनि ह्रास भइरहेको तथ्यांक छ । कृषि विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार माटोको उर्वरा शक्तिमा निरन्तर क्षयीकरण हुँदा कृषि प्रणालीमा गम्भीर संकट आउने जनाइएको छ ।

किसानले उत्पादन वृद्धि गर्न खेतबारीमा रासायनिक मलको मात्रा बढाइरहँदा माटोको गुणस्तरमा निरन्तर ह्रास आइरहनु चिन्ताको विषय भएको सरारेकारवालाको भनाइ छ ।

यो समस्यालाई कम गर्न किसानहरुमा रासायनिक मलको बढी प्रयोगले हुने बेफाइदा बुझाएर कृषि चुन सहज रुपमा उपलब्ध गराउनुपर्ने देखिएको छ । यसैगरी बढीभन्दा बढी प्रांगारिक मलको प्रयोग गर्न किसानलाई प्रोत्साहित गर्नुपर्ने आवश्यकता देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *