नेपाली चिया : आन्तरिक बजारमा कम खपत, निर्यात बढी

काठमाडौं । चियाको गुणस्तरमा ध्यान दिए विदेशको बजारमा राम्रो प्रभाव कायम गर्न सक्ने देखिएको छ । खासगरी विषादीरहित चियाको माग समुद्रपारका मुलुकमा छ । पछिल्लो समय विदेशको बजारमा नेपाली चिया निर्यात हुने क्रम बढेको छ ।

नेपालमा उत्पादित चिया निर्यातबाट बर्सेनि तीन करोड ८० लाख रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भइरहेको छ । नेपालमा उत्पादित चियामध्ये निकै थोरै परिमाण मात्र आन्तरिक बजारमा खपत हुन्छ । अरु चिया निर्यात हुने गरेको छ । नेपालको चियाको मुख्य बजार भारत हो ।

भारतबाहेक जर्मनी, जापान, अमेरिकालगायत मुलुकमा नेपाली अर्थोडक्स चिया पुग्ने गरेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ ।

उक्त परिमाणमध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको छ । बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीका अनुसार नेपालमा २७ हजार पाँच सय हेक्टर क्षेत्रफलमा चियाको खेती हुँदै आएको छ ।

नेपालमा उत्पादित चियामध्ये ९९ प्रतिशत प्रदेश १ मा हुने गरेको छ । झापा, इलाम, पाँचथर, धनकुटालगायत जिल्लामा मुख्य रुपमा चिया खेती हुन्छ । यसैगरी दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङलगायत जिल्लामा चिया खेतीको विस्तार भएको छ ।

नेपालमा चिया उत्पादन गर्ने ३० अर्थोडक्स र ३८ सिटीसी गरी ६८ वटा ठूला चिया उद्योग छन् । यसैगरी एक सय ५० भन्दा बढी साना अर्थोडक्स प्रशोधन उद्योग सञ्चालनमा छन् ।

देशभरि गरी एक सय ६० वटाभन्दा बढी चिया बगान रहेको बोर्डले जनाएको छ । चिया खेतीमा १७ हजारभन्दा बढी किसान संलग्न छन् । चिया खेती र प्रशोधन उद्योगमा गरी ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको जनाइएको छ ।

पूर्वी पहाडी अनि तराईको मुख्य उत्पादन चिया समुद्रपारका मुलुकमा पनि लोकप्रिय बनिरहेको छ । चियाको भरपर्दो बजार व्यवस्थापन हुन सके यसबाट मनग्य आम्दानी गर्न सकिन्छ । यसका लागि मुख्य रुपमा चियाको गुणस्तरमा ध्यान दिनु जरुरी रहेको जानकार बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउन हरियो चिया पत्तीको गुणस्तर वृद्धिमा ध्यान दिन चिया किसानलाई सरोकारवालाको आग्रह छ । बोर्डका प्रमुख इन्द्रप्रसाद अधिकारीले हरियो चिया पत्तीको गुणस्तरमा ध्यान दिन नसके नेपाली चियाको भविष्य खुम्चिदै जाने बताए ।

गुणस्तर वृद्धि गर्न सके चिया खेती दीगो र राम्रो आम्दानीको खेतीको रुपमा विकास गर्न सकिने बताए । उनले गुणस्तर वृद्धि गर्न सके नेपाली चियालाई भारतीय बजारको मात्र भर नपरी तेस्रो मुलुकमा समेत निर्यात गर्न सकिने बताए ।

वि. सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले चीन भ्रमणबाट फर्कँदा चिनिया जातको चियाको बीउ उपहार स्वरूप तत्कालीन चिनिया सम्राटबाट लिई नेपालमा भित्र्याएको मानिन्छ ।

इलामका तत्कालीन बडाहाकिम तथा जङ्गबहादुरका ज्वाइँ गजराज सिंह थापालाई त्यसरी ल्याइएको चियाको बीउ रोप्ने आदेश दिइएको थियो ।

वि. सं १९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको पाइन्छ ।

लगभग त्यसै बेलादेखि भारतको दार्जिलिङमा पनि चिया खेती सुरु भएको थियो ।

२०३९ सालमा तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (इलाम, झापा, धनकुटा, तेह्रथुम र पाँचथर) लाई चियाक्षेत्र घोषणा गरेको थियो ।

२०५० जेठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भएपछि चियासम्बन्धी तथ्यांक अद्यावधिक गर्नेलगायत काम हुँदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *