स्वदेशी र विदेशी लगानीका ८,७६२ उद्योग थपिए

काठमाडौं । गत आर्थिक वर्षमा देशभरका उद्योगले कूल उत्पादन क्षमताको औसत ५२.७ प्रतिशत उपयोग गरेको पाइएको छ । गत वर्ष स्वदेशी तथा विदेशी लगानीका समेत गरी ८ हजार ७ सय ६२ उद्योग थपिएका छन् ।
नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा यस्तो अवस्था पाइएको हो । प्रतिवेदनका अनुसार अघिल्लो आर्थिक वर्षमा उद्योगहरूको क्षमता उपयोग औसत ५२.२ प्रतिशत थियो ।
गत आर्थिक वर्षमा कंक्रिट उद्योगको क्षमता उपयोग सबैभन्दा बढी (९३.८ प्रतिशत) र औषधि उत्पादन उद्योगमा पनि ड्राई सिरप उत्पादनले सबैभन्दा कम (९.९) प्रतिशत क्षमता उपयोग गरेको राष्ट्रबैंकले जनाएको छ ।
‘उद्योगमध्ये वनस्पति घिउ, प्रशोधित दूध, चामल, गहुँको पिठो, चिनी, चकलेट, बियर, हल्का पेय पदार्थ, धागो, जुटका सामान, कच्चा छाला, प्रशोधित छाला, चिरेको काठ, प्लाइउड, कागज, रोजिन, रङ, औषधि, सिमेन्ट, फलामका छड तथा पत्ती, स्टिलजन्य उत्पादन, जीआई पाइप, घरेलु धातुका सामान, आलमुनियम उत्पादन, बिजुलीका तार र केबल, टायर तथा ट्युब, जुत्ता, बिजुली उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘तोरीको तेल, भटमासको तेल, पशुदाना, बिस्कुट, चाउचाउ, प्रशोधित चिया, मदिरा, चुरोट, सिन्थेटिक कपडा, साबुन, प्लास्टिकजन्य उत्पादन, इँटा, कंक्रिट, जीआई तार र चप्पल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग घटेको छ ।’
गत आर्थिक वर्षमा स्वदेशी र विदेशी लगानीका गरी जम्मा ८ हजार ७ सय ६२ उद्योग दर्ता भएको तथ्यांक छ । दर्ता भएका उद्योगबाट गत आर्थिक वर्षको अन्त्यसम्ममा ६ लाख ५७ हजार २ सय ३९ जनाको संख्यामा रोजगारी सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ ।
अघिल्लो वर्षको अन्त्यसम्ममा उद्योग विभागमा दर्ता रहेका उद्योगको संख्या ८ हजार ४ सय ५३ थियो ।
उद्योगहरूको क्षमता उपयोगसँगै औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जा पनि गत आर्थिक वर्षमा ८.५ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा २०.९ प्रतिशतले बढेको थियो ।
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २६.७ प्रतिशत छ ।
‘औद्योगिक कर्जामध्ये खानीसम्बन्धी उद्योगमा १.२, कृषि, वन तथा पेय पदार्थसम्बन्धी उद्योगमा १९.६, गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ४०, निर्माणसम्बन्धी उद्योगमा १३.९, विद्युत् ग्यास तथा पानीसम्बन्धी उद्योगमा १९.७ र धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा ५।६ प्रतिशत कर्जा प्रवाह भएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘औद्योगिक कर्जामध्ये वाग्मतीमा सबैभन्दा बढी ८ खर्ब ४२ अर्ब ६६ करोड कर्जा लगानीमा छ । कर्णालीमा सबैभन्दा कम ३ अर्ब ६७ करोड कर्जा लगानीमा छ ।’
कूल औद्योगिक कर्जामध्ये सबैभन्दा धेरै ६७.३ प्रतिशत वाग्मतीमा प्रवाह भएको पनि प्रतिवेदनले देखाएको छ ।
वाग्मतीपछि धेरै औद्योगिक कर्जा प्रदेश १ र लुम्बिनीमा प्रवाह भएको छ । सबैभन्दा कम औद्योगिक कर्जा प्रवाह (०.३ प्रतिशत) भएको प्रदेश कर्णाली हो ।
प्रतिवेदनमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय जगत्मा आएको तेल तथा कच्चा पदार्थको मूल्यवृद्धिले विदेशमा निर्भर कच्चा पदार्थमा आधारित उद्योगको लागत बढ्ने तथा उत्पादनलाई बजारमा बिक्री वितरण गरी नाफा कमाउन चुनौती छ । यद्यपि जलविद्युत् उत्पादनमा आएको वृद्धिले औद्योगिक क्षेत्रमा पर्याप्त बिजुली उपलब्ध भई उत्पादन लागतमा कमी आउने, स्वदेशी वस्तुको उत्पादन र प्रयोगमा सरकारको प्राथमिकता, तुलनात्मक रुपमा सस्तो जनशक्तिको उपलब्धता, बढ्दै गएको प्रविधिको प्रयोगलगायत कारण मुलुकको औद्योगिक क्षेत्रमा सुधारको सम्भावना छ ।