जुट : खेती घट्दो, आयात बढ्दो

विाटनगर । मोरङ, सुनसरी र झापा जिल्लाको प्रमुख उत्पादनका रुपमा रहेको जुट खेती घट्दै गएको छ । कुनै बेला ६० हजार हेक्टरमा जुट खेती हुन्थ्यो । अचेल करिब ४ हजार हेक्टरमा सीमित बनेको छ ।

मोरङमा ४३ सय ३८ हेक्टर, सुनसरीमा १४ सय हेक्टर र झापामा ५ सय ९० हेक्टर जग्गामा जुट खेती हुने गरेको छ ।

मोरङ, सुनसरी र झापा जिल्लामा हुने जुट खेती दुई दशकपछि आउँदा कूल क्षेत्रफलको १० प्रतिशतमा सीमित भएको छ । जुट खेतीबाट किसानहरु पलायन हुने क्रमसँगै तीन जिल्लामा रहेका करिब १ लाखको संख्यामा रहेका पोखरी पनि मासिदै गएका छन् । जुट प्रशोधनका लागि पानीमा डुबाएर राख्नका लागि पोखरी निर्माण गरिन्छ ।

पछिल्लो समय ती तीन जिल्लाका दक्षिणी क्षेत्र हुलाकी राजमार्गको आसपासका किसानले मात्र थोरै क्षेत्रफलमा जुट खेती गर्ने गरेका छन् ।

भनेको समयमा बिउ नपाउनु, मल सहज रुपमा उपलब्न नहुनु जस्ता कारणले खेतीमा समस्या हुने गरेको जुट खेतीमा संलग्न किसान सुनसरीका किसान मोती यादवको भनाइ छ ।

जुटको बिउ छरेको १२० देखि १५० दिनसम्ममा पाटा काट्ने बेला हुन्छ । सामान्यतया बोरा, डोरी, झोला, गलैंचा र पर्दा बनाउनका लागि सनपाटको प्रयोग गरिन्छ ।

विगतमा यस क्षेत्रमा उत्पादित जुट भारत र बंगलादेशमा निर्यात गरिन्थ्यो । अचेल भने विराटनगरका अधिकांश जुट मिलका लागि आवश्यक कच्चा जुट भारत र बंगलादेशबाट आयात हुन्छ ।

मोरङ, सुनसरी र झापा जिल्लामा प्रशस्त जुट खेती भएपछि जुटमा आधारित ११ वटा उद्योगहरु स्थापना भएका थिए । तीमध्ये अहिले कच्चा पदार्थ अभावमा ६ वटा बन्द भएका छन् । सञ्चालनमा रहेका अन्य उद्योग पनि संकटग्रस्त छन् ।

सुनसरीमा रहेको अरिहन्ट मल्टिफाइबर्सका मुख्य कार्यकारी अधिकृत गोबिन्द बजगाईं कच्चापदार्थ विदेशबाट आयात गर्नुपर्ने भएकाले समस्या परिरहेको बताउँछन् । पर्याप्त कच्चा पदार्थ उपलब्ध नहुँदा उत्पादन प्रभावित हुने गरेको उनँको भनाइ छ ।

जुट उद्योग संघका अनुसार मोरङ, सुनसरी र झापा जिल्लामा प्रशस्त जुट खेती हुँदा खुलेका उद्योगहरु बन्द हुनुको मुख्य कारण कच्चा पदार्थ अभाव हो । वार्षिक रुपमा करिब ६० करोड रुपैयाँको कच्चा जुट आयात गर्नुपर्ने अवस्था रहेको उद्योगीहरु बताउँछन् ।

वातावरणीय हिसाबले पनि कुनै प्रतिकूल असर नगर्ने जुट खेतीलाई बिस्तार गर्न सरकारले किसानलाई पर्याप्त सुविधा दिएर कच्चा पदार्थ स्वदेशमै पर्याप्त मात्रामा उत्पादन गर्ने ठोस कार्यक्रम ल्याउनुपर्ने अवस्था देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *