‘कैसे हो आप लोग सब्?’

कालो कुर्ता लगाएका भारतीय हास्य कलाकार जाकिर खानले कालै माइक्रोफोन बोकेर सेता दाँत देखाउँदै माथिको संवादबाट ‘तथास्तु’ सुरु गर्दै गर्दा मलाई लागेको थियो, एकै बसाइमा पक्कै हेरिसक्दिनँ, बीचमा चियाखाजा खान्छु।

सोचे जस्तो सधैं कहाँ हुन्छ र!

जाकिरको पछिल्लो प्रस्तुतिले आज मलाई ठूलै हलचल गराइदियो, शुक्रवारदेखि जसरी भारतीय दर्शकले पनि त्यो महसुस गर्दैछन्।

३५ वर्षे जाकिरका यसअघिका सबैजसो प्रस्तुति हेरेकाले हाँसेको हाँस्यै सकिएला भन्ने थियो तर यसमा आँशु आँशु भएर बिट मार्नुपर्यो।

हाँसै हाँसोमा आँशु नै आँशु, रियालिटी सो हेर्दा सायद यस्तो कहिल्यै भएको थिएन।

एक दशकअघि ‘कमेडी सेन्ट्रल’ जितेर भारतमा ख्याति कमाउँदै दर्शक हँसाउने काम गरिरहेका जाकिरले आजको मेरो सोच गलत सावित गरिदिए।

हेर्न सुरु गरेपछि सय मिनेट हँसाएर र अन्तिमका २० मिनेट रुवाएर यिनले आफ्नो प्रस्तुतिले खिचेर राखे।

आफ्ना सपना, संघर्ष र सफलताबारे आफैंले लेखेको सामग्रीलाई स्ट्याण्ड अप कमेडीमार्फत् जब उनले प्रस्तुति सुरु गरे, मेरो भोक हराउँदै गयो। उनका अघिल्तिरका दुई सय जति दर्शक हाँसेको हाँस्यै। त्यहीं पो छु कि झैं म पनि खित्का छोडेको छोड्यै।

‘प्राइम भिडियो’ मा रिलिज्ड ‘तथास्तु’ स्ट्याण्ड अप कमेडीमा जाकिरको अहिलेसम्मकै ‘पर्फेक्ट प्याकेज’ हो। क्लासिक सिल्भर कलरको महललाई पृष्ठभूमि बनाएर जाकिरले ‘प्याराडाइज’, ‘एक्जाइल’ र ‘द रिर्टन’ तीन खण्डमा यो प्रस्तुति पूरा गरेका छन्।

पहिले पहिले अर्काको शारीरिक बनावट र निमुखालाई दयाको पात्र बनाएर तयार पारिने यस्ता प्रस्तुतिले स्ट्याण्ड अप कमेडीप्रति दिक्क लागिरहेका बेला जाकिरले ती सबैलाई झापड हान्ने गरी ‘तथास्तु’ तयार पारेका छन्।

यो दर्शकका लागि पक्कै बोनस हो, अरु हास्यकलाकारलाई चाहिँ सबक भन्दा फरक पर्दैन।

इन्दौरको सामान्य परिवारका जन्मेका, ठूलो परिवारमा हुर्केका र ‘केही फरक गर्ने’ हुटहुटी बोकेका जाकिरले आफ्नै हजुरबुवा मोइन उद्दीन खानप्रति यसलाई समर्पित गरेका छन्। उस्ताद मोइन इन्दौरका पुराना चर्चित संगीतज्ञ थिए।

लाडप्यारसँगै अनुशासनमा राख्न खोज्ने अभिभावक र संगीत साधनामै समर्पित गराउन खोज्ने उस्ताद, जाकिरले हजुरबुबाका यी दुई फरक व्यक्तित्वलाई ‘तथास्तु’को विषय बनाएका छन्।

परिवारका कान्छा सदस्यलाई ठूलाले कसरी घरेलु काम लगाएर दिक्क पार्छन्, ‘अझै नसुध्रिने’ भनेर कति केरकार गर्छन्, प्रोटेक्सनका नाममा कसरी घरभित्रै सीमित गर्न खोज्छन् भन्ने घर घरका बाल्यकालीन पीडालाई उनले श्रृंखलावद्ध गरेका छन्।

ठूलाले काल्पनिक कुरै गरे पनि सानाले पत्याउनु पर्ने र उनीहरुका गल्ती कमजोरी गन्तीमै नहुने हाम्रो भोगाइलाई उनले आफ्नो किसिमले सुनाउँछन्। पढाइमा अल्छी गर्दा खेप्नुपर्ने खप्की, बिहेवारीमा हुने आडम्बर, छिमेकीको चियोचर्चो सबै हाम्रै पो हुन् झैं लाग्छन्।

कतिपय भारतीयले अँग्रेजसँगको आजादीमा चाहिँ गर्व गर्ने तर घरभित्रै महिलालाई ‘बुर्काभित्र घुँघट पहिरियाउन खोज्ने’ दोहोरो चरित्र भनेका छन्। थप्छन्, ‘भोकमरी, भेदभाव, उचनीच, जातपात जब तक आजाद नहोए, हम् तब तक असलमें आजाद नहीं हो।’

संगीतमै सिद्धहस्त बनाउन खोज्ने हजुरबुवा, साथीभाइसँग हिमखिम गर्न रोक्ने बुवा र अनेक काल्पनिक कुरा गरेर बद्नाम गर्ने फुपाजुसँगका सम्बन्धलाई उनले यसरी प्रस्तुत गरेका छन्, ती सबै हामी नेपालीले पनि देखे भोगेका हौं।

सानामा धेरै च्याप्ने, त्यही च्यापाइले अन्तरमुखी बनाउने, संगत फराकिलो पार्न खोज्दा पनि अंकुश लगाउने र अन्तिममा प्रगति गर्न थाल्दा पनि खुलेर स्यावासी नदिने परिवारका ज्येष्ठ सदस्यको प्रवृत्तिलाई उनले हाँसी हाँसी उडाएका छन्।

इन्दौरबाट दिल्ली हुँदै मुम्बइ पुगेर करिअर सुरु गर्दाका दु:ख, डेरामा भोग्नुपरेको जटिलताबीच हजुरबुबाको आगमन, प्रगति गर्न थालेपछि नजिकिएका आफन्तजन र आफूले दिन सक्ने हुँदा हजुरबुबाको स्वर्गवास। ‘तथास्तु’ यही सेरोफेरोमा केन्द्रित छ।

मुम्बईमा मासिक डेढ लाख पारिश्रमिक लिएर ‘रियालिटी सो’ मा ‘जज्’ को भूमिका निर्वाह गर्दै गर्दा हजुरबुवाको देहान्त भएर गाउँ गएपछि जाकिरको जीवन दर्शनमा ठूलो परिवर्तन आउँछ। ‘तथास्तु’ अर्थात् ‘चाहेको पूरा होस्’ भनिदिने व्यक्ति हुँदैनन्।

जीवित छउञ्जेल राम्ररी कुराकानी नगर्नाले कुरा बुझाबुझ नहुने तर मृत्युपछि अग्रजको महत्व र रिक्तता बुझ्दै गइने जाकिरको भोगाइ हाम्रै पो हो कि जस्तो लाग्छ। केहीबेरमा उनी भन्छन्, ‘प्रोफेसनल गोल्स आर टेम्पररी बट् पर्सनल् लस्ट इज् पर्मानेन्ट!’

जाकिरका यसअघिका प्रस्तुतिमा ‘चाचा विधायक हे हमारे’ ‘हक से सिंगल’ र ‘कक्षा ग्यारबी’ बढी चर्चित थिए। तिनमा अब ‘तथास्तु’ थपिएको छ, सायद सबैभन्दा माथि रहने गरी।

केही प्राविधिक कमजोरी बिर्सने हो भने भारतीय स्ट्याण्ड अप कमेडीमा आँशु पनि मिसिएको यो एउटा यस्तो प्रस्तुति हो, जसले पुस्तान्तरण समस्या झेलिरहेको हाम्रो समाजलाई झस्काइ रहनेछ र अग्रजको भरणपोषणमा प्रेरित गरिरहनेछ।

आँशु पुछिरहेका दर्शकतिर फर्केर प्रस्तुति अन्त्य गर्ने बेला जाकिर झन् भावुक हुन्छन्, ‘बडोका साया न जब तक अपके शरपे होते तब तक उसका अन्दाजा नहीं होता, जब ओ चला जाता तब आपको लगता है कि उसकी कितना जरुरी थि, उसने कितने हिम्मत देती थि।’

हामीले पनि सोच्ने कि?

(‘नेपालटच’ बाट)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *