१६ जिल्लाका तालतलैया र खोला क्षेत्रका चरा गनिँदै

विराटनगर । भौगोलिक विशिष्टता एवं जैविक विविधताले भरिएको नेपालका विभिन्न स्थानमा विश्वमै दुर्लभ मानिने जनावर र चराहरु पाइन्छन् । पूर्वको इलाम, सुनरीदेखि पश्चिम नेपालका भूभागसम्म दुर्लभ वन्यजन्तुको बसोबास छ । तर विभिन्न कारणले पछिल्लो समय तिनको संख्यामा कमी आइरहेको छ ।

वातावरण, बासस्थान बिनास जस्ता कारणले प्रभावित बनेकोमध्ये चरा पनि मुख्य मानिन्छ । कति छन् नेपालमा चरा ? यो प्रश्नको जवाफ खोज्न वर्सेनि जस्तो नेपालमा चरा गणना गर्ने गरिएको छ ।

यसपटक पनि शनिबारबाट चरा गणना गर्न थालिएको छ । यो चरणमा जलपन्छीहरु कति छन् भन्ने पत्ता लगाउन गणना भइरहेको हो । पानीमा बस्ने चराको संख्या र उनीहरुको अवस्था अध्ययन गरिने छ ।

वेटल्यान्ड इन्टरनेस्नलको संयोजनमा हिमाली प्रकृति र पंक्षी संरक्षण संघको समन्वयमा गणना भइरहेको हो । गणना माघ ८ सम्म हुने जनाइएको छ ।

सीमसार क्षेत्र अन्तर्राष्ट्रिय संस्थाका नेपाल प्रतिनिधि डा. हेमसागर बरालका अनुसार नेपालका १६ जिल्लाका प्रमुख १५ वटा नदी र ३ हजार ३५ वटा तालतलैयामा रहेका चरा गणना हुनेछ ।

मोरङ, सुनसरी, धनुषा, मकवानपुर, काठमाडौं, भक्तपुर, चितवन, पूर्वी नवलपरासी, कास्की, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया कैलाली, कञ्चनपुरलगायत १६ जिल्लाका तालतलैया र खोला नालामा केन्द्रित रहेर जलपन्छीको गणना गरिने भएको हो ।

कोसी, बीसहजारी ताल, कैलालीको घोडाघोडी ताल, कपिलवस्तुको जगदीशपुर ताल र कास्कीका तालहरूलाई प्राथामिकता दिइने छ ।

गणनाको क्षेत्र विस्तार हुँदै गए पनि चराको संख्या बर्सेनि घट्दै जानु चिन्ताको विषय भएको बरालको भनाइ छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा ८ सय ८९ प्रजातिका चरा बस्छन् । तीमध्ये करिब २ सय चरा पानीमा आश्रित छन् ।

चितवनमा मात्र ६ सय ५२ प्रजातिका चरा रहेको तथ्यांक छ । यसैगरी सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा ५ सय २३ भन्दा बढी प्रजातिका चरा रहेको आरक्षका वार्डेन रमेश यादवले बताए ।

नेपालमा साइबेरिया, थाइल्यान्ड, तिब्बतलगायतका ठाउँबाट चराहरू आउने गरेका छन् । नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपंक्षी नै छन् । उत्तरी ध्रुवमा हिमपात सुरु भएसँगै चरा बसाइँ सर्न थाल्छन् ।

केही वर्षयता सिमसार क्षेत्रको संकुचन तथा विनाशले गर्दा यसमा आश्रित हिउँदे पाहुना चराको आकर्षण नेपालतिर कम हुँदै गएको विज्ञहरुको भनाइ छ । चराको रङ, बनोट र आवाजका बारेमा जानकारी भएका चराविज्ञ तथा नेचर गाइडले दूरबिनको सहायताले गणना गर्छन् ।

-सुनसरीको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा देखिएको चरा । तस्बिरः विनय राजवंशी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *