‘मास्टर्नी’ चलचित्रको गीत तत्काल हटाउन शिक्षक महासंघको माग
काठमाडौँ। नेपाल शिक्षक महासंघले ‘मास्टर्नी’ चलचित्रमा समावेश गरिएको एउटा प्रमोसनल गीतलाई तत्काल हटाउन माग गरेको छ। चलचित्रको प्रचारका लागि सार्वजनिक गरिएको उक्त गीतमा महिला शिक्षकहरूलाई लक्षित गरी प्रयोग गरिएका शब्दहरू अमर्यादित र अपमानजनक भएको भन्दै महासंघले आपत्ति जनाएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले एक संयुक्त विज्ञप्ति जारी गर्दै उक्त गीतले समग्र शिक्षक र शिक्षण पेसामाथि नै गम्भीर प्रहार गरेको बताएका छन्। उनीहरूले यो गीतलाई तत्काल बन्द गर्न र चलचित्रमा कतै पनि प्रयोग नगर्न निर्माण पक्षलाई चेतावनी दिएका छन्।
गीतलाई निरन्तरता दिएमा आगामी दिनमा असहज परिस्थिति उत्पन्न हुन सक्ने र त्यसको सम्पूर्ण जिम्मेवार चलचित्रका निर्माता र सम्बन्धित कलाकारहरू नै हुनुपर्ने चेतावनी समेत महासंघले दिएको छ।
यसैबीच, उक्त गीतलाई लिएर सामाजिक सञ्जालमा पनि चौतर्फी चर्चा र विरोध सुरु भएको छ। आमशिक्षक, शिक्षाविद् र सर्वसाधारणले सामाजिक सञ्जाल फेसबुक, टिकटक र युट्युबका टिप्पणीहरूमा गीतको तीव्र आलोचना गरिरहेका छन्।
धेरैजसो प्रयोगकर्ताहरूले शिक्षण जस्तो मर्यादित पेसा र समाजको पथप्रदर्शकका रूपमा रहने शिक्षकहरूलाई सस्तो लोकप्रियताका लागि हाँसोको पात्र बनाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्।
कला र अभिव्यक्तिको स्वतन्त्रताका नाममा कसैको पेसागत प्रतिष्ठा र संवेदनशीलतामाथि खेलबाड गर्न नहुने टिप्पणीहरू भइरहेका छन्।
अर्कोतर्फ, केहीले भने चलचित्रलाई सिर्जनात्मक रूपमा लिनुपर्ने धारणा राखे पनि बहुसंख्यकले महिला शिक्षकहरूमाथि गरिएको अमर्यादित प्रहारप्रति कडा रोष प्रकट गर्दै निर्माण पक्षलाई माफी माग्न र तत्काल भिडिओ हटाउन दबाब दिइरहेका छन्।
