‘नेपाली कृति अंग्रेजीमा रुपान्तरण गरी अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्य छ’

मोरङको दुलारीका शिखर दुलाल (लेखु) हाल अमेरिकामा छन् । त्यहाँ रहेर उनी नियमित कामका साथै साहित्य सिर्जनामा पनि सक्रिय छन् ।

आफूले लेख्ने मात्र होइन अरुसँग मिलेर नेपाली साहित्यका लागि महत्वपूर्ण हुने गतिविधिहरुमा पनि संलग्न छन् ।

शिक्षामा स्नातकोत्तर गरेका उनले अमेरिकामा ‘फार्मेसी टेक’ अध्ययन गरेका छन् । पहिले उनी शिक्षण पेशामा थिए ।

नर्थ क्यारोलिना नेपाली साहित्य समाज अमेरिकाका पूर्वअध्यक्ष रहेका उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य छन् । उनै दुलालसँग साहित्य सिर्जना र साहित्यिक गतिविधिका बारे गरिएको संवाद–

साहित्यमा कहिलेदेखि सक्रिय हुनुहुन्छ ?

विद्यालय पढ्दाताका कनिकुथी लेखिन्थ्यो । विद्यालयस्तरीय साहित्य लेखनमा भाग लिइन्थ्यो । कतिपय ठाउँमा पुरस्कार पनि पाइन्थ्यो । ‘साहित्य सन्ध्या’ कार्यक्रम २०४५ काठमाडौंबाट प्रोत्साहन पाएपछि यस क्षेत्रमा अझ सक्रियता बढेको हो ।

के–के विधामा सिर्जना गर्नुहुन्छ ?

मुख्य रुपमा कविता लेख्छु ।

कुन विधामा बढी कलम चलाउनुहुन्छ ?

यही भन्ने आफ्नै विधा छैन । गध्य–पध्य कलमले जताजता जा भन्छ उतै गइन्छ । प्रायः कविता नै लेखिन्छ । आजकल कथामा मन गएको छ ।

लेखनका लागि कुन समय छनोट गर्नुहुन्छ ?

फुर्सदको समयमा त हो लेख्ने । राति सहज लाग्छ लेख्न र पढ्न ।

कस्ता विषयमा लेख्न मन पराउनुहुन्छ ?

समसामयिक विषयमा लेख्न मन पर्छ । म ‘दैनिकी कविता’ भन्ने गर्छु आफू ।

हालसम्म कति सिर्जना गर्नुभयो ?

यति नै गरें भनेर किटान भएन तर फुर्सद भयो भने लेख्ने बानी छ । अहिले यो सामाजिक सञ्जालले केही समय खाइदिन्छ ।

कृतिहरु पनि प्रकाशन गर्नुभएको छ ?

केही कृतिहरु प्रकाशित छन् । त्यसबाहेक विभिन्न माध्यममा मेरा रचना प्रकाशित छन् । मेरा कृतिहरुमा विरानो आकाशबाटः कविता–गीत संग्रह २०७०, पिता श्री परमेश्वरः राष्ट्रिय गीत र भजन संग्रह–२०७१, यात्रा अविरल–२०७३, देशभित्र देशबाहिर (संयुक्त) २०७१, अमेरिकी आकाश नेपाली मन (संयुक्त)–२०७६, गीत संग्रह, बालकथा संग्रह (संयुक्त)–२०७१ छन् । नर्थ क्यारोलिनाः केही फुटकर नर्थ क्यारोलिना साहित्य विशेषमा, शारदा मासिक, जनमत साहित्य मासिक, कल्पतरु द्वैमासिक लगायतमा सिर्जना प्रकाशित छन् ।

भविष्यमा के कस्ता सिर्जना आउँदैछन् ?

अमेरिकाका कथाहरु लेख्दैछु । उपन्यास पनि सुरु भइसकेको छ । कविताका लागि त तयार छन् तर पहिला कथालाई प्राथमिकता दिने भएकोले कविता थाँती नै राखेको छु ।

साहित्य खासमा के हो ?

मेरो आफ्नो लागि त फुर्सदमा गरिने खेती । मेरा मनका भावहरु हुन् जसलाई मैले शब्द बाकसमा थन्क्याएर राख्छु । बाकस जहिले उघ्रिन्छ बाहिरिन्छन् फसलहरु । काम लाग्ने भए पढिन्छन् ।

तपाईंको जीवनको उद्देश्य के हो ?

केही हो, केही होइन । लक्ष्मीप्रसाद देवकोटाले ‘उडी छुनु चन्द्र एक’ भनेका थिए । मेरो विचारमा हरेकले आफू जन्मेको सिद्ध गर्न केही न केही कार्य गर्नुपर्छ । चाहे जुनसुकै क्षेत्र होस् पुण्य र परोपकार र सत्कर्म आदि ।

तपाईं आबद्ध संस्थाले कस्ता गतिविधि गर्दै आएको छ ?

नेपाली साहित्यका लागि अमेरिकाको नर्थ क्यारोलिनालाई उर्वर थलो बनाउन हामी सक्षम भएका छौं । जब ‘दरबार बाहिरकी महारानी’ का लेखक नगेन्द्र न्यौपानेले सन् २००२ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नर्थ क्यारोलिना च्याप्टरको स्थापना गर्नुभएको थियो, त्यो बेला एकाध मात्रै रहेका लेखकहरु आज आएर मदन पुरस्कार जस्तो राष्ट्रिय स्तरका पुरस्कार दाबी गर्ने तथा हात पार्न समेत सक्षम स्तरीय साहित्यकार समेतको सहभागिता हुने गरेको छ । यहाँ साहित्यकार नीलम कार्की निहारिका, साहित्यकार नम्रता आचार्य, साहित्यकार डा. ऋषि बस्ताकोटी, साहित्यकार ईश्वर देवकोटा, साहित्यकार डा. हरिहर भट्टराई, साहित्यकार तथा पूर्वअध्यक्ष मनोज प्रधान,  गीतकार डा. अच्युत शर्मा आदि सर्जकका साहित्य र साहित्य विकासका कुरा सुन्न पाइन्छ ।

वरिष्ट सर्जकका बारेमा वहाँहरुका पुस्तकका बारेमा चर्चा परिचर्चा नियमित गर्ने अन्तर्राष्ट्रिय स्तरमा नर्थ क्यारोलिना नेपाली साहित्य समाज पहिलो हुनु पर्छ । हरेक भानु जयन्ती र लक्ष्मी जयन्तीमा राष्ट्रिय स्तरका साहित्यकारहरुसँग साहित्य अनुभव आदानप्रदान गर्ने र नर्थ क्यारोलिना नेपाली स्कुलका भाइबहिनीहरुलाई साहित्यमा रुचि जगाउन कविता, कथा, वक्तृत्व कला जस्ता कार्यक्रम मार्फत् हौसला तथा प्रोत्साहन दिने खालका कार्यक्रमहरु गरेर पुरस्कृत गर्ने गरिन्छ ।

नेपालमा लेखिएका बालकथाहरु यहाँ हुर्केका बालबालिकाले सहजै बुझ्न कठिनाई हुने देखेर यहीँको परिवेशसँग मिल्ने बालकथाहरुको पुस्तक प्रकाशित गरिएको छ । अमेरिकाका अन्य राज्यमा खोलिएका बाल विद्यालयले पनि नर्थ क्यारोलिनामा नेपाली साहित्य समाजले प्रकाशन गरेको बालकथा संग्रह नै बालबालिकालाई बुझ्न सहज लागेपछि प्रयोग गरेका छन् ।

भविष्यमा के गर्ने योजना छ संस्थाको ?

बृहत् योजना भन्ने त केही छैन तर समय र परिस्थितिले साथ दिएमा नेपाली विशिष्ट साहित्यकारद्वारा लिखित केही राम्रा पुस्तकलाई अंग्रेजीमा रुपान्तरण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्यलाई उजागर गर्ने लक्ष छ । हाललाई हाम्रा सन्ततीहरुलाई नेपाली साहित्य नबिर्साउन के कति गर्न सकिन्छ, गर्दै जाने भन्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *