‘यौन कुण्ठा व्यक्त गर्न कतिपयले फेक खाता चलाउँछन्’

शिक्षण पेशामा रहेकी निर्मला ढकाल (@Nirmaladhakal44) को रुचि लेख्ने, घुम्ने अनि समाज बुझ्ने खालका गतिविधिमा छ। बालाजुको रानीबनमा घर भएकी उनी खासगरी सामाजिक मुद्दाहरुमा आफ्ना धारणा राखिरहेकी हुन्छिन्।

विशेषगरी महिलासम्बन्धी विषयवस्तुमा लेख्ने गरेकी उनी समसामयिक अनि चर्चामा रहेका राजनीतिक गतिविधिलाई पनि समेट्ने गर्छिन्।

सामाजिक सञ्जाल आफैंमा समाजको एउटा स्वरुप भएको बताउने ढकाल विचार  प्रवाह गर्ने छिटो र भरपर्दो माध्यम नै यही हो भन्छिन्।

यसले जनमत निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउने ढकालसँगको कुराकानीको सम्पादित अंश–

कुन सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ?

प्रायः सबै। ट्विटरमा ज्यादा समय जान्छ होला।

सामाजिक सञ्जालमा धेरै समय दिंदा अरु काममा बाधा पुग्दैन?

हातमा मोबाइल हुने हुँदा कति समय सञ्जालमै व्यतीत गरिन्छ भन्ने हेक्का हुँदैन तर फुर्सदमा प्रायः सञ्जालमै रमाउने गर्छु। अरु काम रोकेर सञ्जालमै झुम्मिने भन्ने हुन्न, त्यसैले बाधा नहोला।

के विषयमा लेख्नुहुन्छ खासगरी?

सामाजिक मुद्दा। विशेषगरी महिलासम्बन्धी। तर चर्चामा रहेका राजनीतिक गतिविधिलाई पनि  समेट्ने  प्रयास गर्छु।

कस्तो बेला ट्विट बढी लेख्नुहुन्छ?

यही समय भन्ने हुँदैन तर पनि बिहानको समय सही लाग्छ।

के कुराले नयाँ ट्विट लेख्न प्रेरित गर्छ?

ट्रेन्डमा कुनै कुरा चलेको छ भने आफ्नो धारणा राख्न मन लाग्छ।

कस्ता कमेन्टले रिस उठाउँछन्?

अनावश्यक रुपले व्यक्तिगत कुरामा जाँदा रिस उठ्छ। कतिपयले यस्तो गर्ने गरेका छन्। यो उचित होइन भन्ने लाग्छ।

नकारात्मक कमेन्टकै कारण सञ्जालबाट टाढिने अवस्था आएको छ कि छैन?

सुरु सुरुमा दिक्क लाग्थ्यो, तर अचेल नकारात्मक कुरालाई बेवास्ता गर्छु। रमाइलो लाग्छ, टाढा जान मन लाग्दैन।

आफैंलाई सबैभन्दा बढी मन परेको आफ्नो ट्विट/स्टाटस कुन हो?

मलाई आफ्नो लेख कहिले पनि पूर्ण लाग्दैन। फेरि आफ्नो लेख आफैंलाई मन पर्ने भन्ने त हुँदैन होला।

तपाईंलाई सबैभन्दा मन पर्ने कसका ट्विट हुन्?

मलाई रमाइला ट्विट मन पर्छन्। तर यही व्यक्तिका मन पर्छन् भन्ने चाहिँ छैन।

के विषयका ट्विट बढी मन पर्छ?

स्वास्थ्य, महिला सशक्तीकरण। कुनै कुरामा प्रेरणा जगाउने खालका ट्विट मन पर्छन्।

के विषयमा चाहिँ खासै ट्विट/स्टाटस लेखिएका छैनन् जस्तो लाग्छ?

हाम्रोमा महिलाका मुद्दामा धेरै बहस हुन्छ। राजनीतिक बिषयमा पनि। तर कुनै मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर कुनै–कुनै विषयको समाधान कसरी गर्न सकिन्छ भन्नेमा बहस देख्दिन। प्रश्न गर्छौं, औंला उठाउँछौं तर यो कुराको सम्बोधन यसरी गर्न सकिन्थो भनेर वैचारिक बहस गर्ने चलन चाहिँ उति देखिंदैन।

कस्ता व्यक्तिलाई फलो गर्नुहुन्छ?

पहिचान खुलेका र सक्रिय व्यक्तिलाई फलो गर्छु।

छद्म नाममा ट्विटर चलाउनु के हो? किन यस्तो गरिन्छ?

कतिपय व्यक्तिमा रहेको राजनीतिक, आर्थिक साथै यौन कुण्ठा खुलेर व्यक्त गर्न नसक्दा फेक खाताबाट सञ्जाल चलाउँछन् जस्तो लाग्छ।

जनमत निर्माणमा सामाजिक सञ्जालको कस्तो भूमिका हुन्छ?

सञ्जाल आफैंमा समाजको एउटा स्वरुप हो। विभिन्न विद्रोह, पक्ष, विपक्ष बेला बेलामा देखेकै हो। विचार प्रवाह गर्ने छिटो र भरपर्दो माध्यम सञ्जाल बनेको छ। त्यसैले जनमत निर्माण गर्नमा सञ्जालको भूमिका नकार्न सकिँदैन।

ट्विटरमा उठाइएका आवाज र धारणाको प्रभाव कस्तो हुन्छ?

धेरथोर प्रभाव त परेको नै हुन्छ। पछिल्लो समयमा विभिन्न आपराधिक घटनामा सञ्जालबाट उठ्ने आवाजले प्रशासनलाई न्याय गर्ने पक्षमा दबाव पारेको त देखिएकै छ।

फेक ह्याण्डल, विपरीत लिङ्गीको नाम राखेर चलाइने ह्याण्डलहरुबारे के भन्नुहुन्छ?

यो सही गलत भन्दा पनि नियत के हो भन्नेमाथि बहस हुनपर्छ होला। कसैलाई नङ्ग्याउन, गाली बेइज्जती गर्न, व्यक्तिगत लान्छना लगाउनकै लागि खोलिएको हो भने गलत नै हो तर कसैलाई हानि नपुर्याइ विचार राख्न खोल्छन् भने त गलत देख्दिन।

सञ्जालमा महिलामाथि अनेक व्यङ्ग्य र टिप्पणी गर्ने चलन पनि छ। यसमा तपाईंको कस्तो प्रतिक्रिया हुन्छ?

सबैलाई प्रतिक्रिया दिएर बस्न त साध्य हुँदैन तर पनि जवाफ दिन पर्ने अवस्थामा चाहिँ प्रतिवाद गरिन्छ। रिस उठ्दा गाली पनि गरिन्छ। सकेसम्म मान्छे हेरेर मेरो जवाफले केही फरक पार्छ भन्ने भएमा मात्र प्रतिवाद गर्छु।

फलोअरहरुलाई के भन्न चाहनुहुन्छ?

छोटो समयमा उहाँहरुले देखाउन भएको माया र सद्भावका लागि धन्यवाद भन्न चाहन्छु।

(सरल पत्रिका/नेपालटच सहकार्य)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *