नेपालीलाई ‘भुटानी’ बनाएर विदेश पठाउने भन्दै करोडौं ठगीमा संलग्नहरू धमाधम पक्राउ पर्दैै

काठमाडौं । अनेक बहाना र प्रलोभनमा नेपालीलाई अवैध रुपमा विदेश पुर्याएका धेरै घटना छन्। राम्रो जागिर लगाइदिने भन्दै क्यानाडा, अमेरिका, अस्ट्रेलियालगायत मुलुक लैजाने भन्दै सर्वसाधारण ठगिने गरेका छन् ।
विदेश लगेर त्यहाँका नामी शिक्षण संस्थामा अध्ययनको व्यवस्था मिलाइदिने, आकर्षक जागिरमा लगाइदिने अनि स्थायी बसोबास (पीआर) को व्यवस्था मिलाइदिने भनेर समेत ठग्नेहरु सक्रिय छन् ।
पछिल्लो पटक चर्चामा रहेको घटना भने अलि फरक खाले देखिएको छ । नेपालीलाई भुटानी शरणार्थी हुन् भन्दै विदेश पठाउने काम भएको पाइएको छ ।
यसका लागि करोडौं रकम लेनदेन भएको सार्वजनिक भइरहेको छ । नेपालीलाई भुटानी भनेर विदेश पठाउने काममा सरकारका सचिवदेखि लिएर पूर्वमन्त्री र तिनका नातेदारहरुको संलग्नता खुल्दै आएको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न देखिएको भन्दै प्रहरीले बुधबार नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो ।
हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत् उनी गृहसचिव रहेका बेला नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ असुलेको घटनामा संलग्न देखिएको प्रहरीको दाबी छ ।
पाण्डे २०७८ साउन २७ देखि २०७९ असोज २ सम्म गृह मन्त्रालयको सचिव थिए ।
यसैगरी प्रहरीले नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो ।
२०७९ चैत दोस्रो साता नक्कली शरणार्थी बनाउने गिरोहका सदस्य भन्दै प्रहरीले केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टक गुरुङ र सन्देश शर्मा पोखरेललाई पक्राउ गरेको थियो ।
उनीहरुकै बयानका आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरीले तत्कालीन गृहमन्त्रीका सल्लाहकार राई र उपराष्ट्रपति कार्यालयका सचिव पाण्डेलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुले दिएको बयानकै आधारमा प्रहरीले थप व्यक्तिलाई पक्राउ गर्ने तयारी गरेको छ ।
बुधबार नै प्रहरीले पूर्वउर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएको छ ।
रायमाझी अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । उनका छोरा सन्दीपलाई भने बुधबार साँझ वुटवलमा पक्राउ गरिएको छ ।
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पनि प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिइसकेको छ । २०७६ जेठमा गृह मन्त्रालयले भुटानी शरणार्थीको समस्या समाधानका लागि भन्दै मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो ।
भूटानी शरणार्थी सम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन भन्दै कार्यदलले विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पार्यो ।
कार्यदलमा विज्ञ सदस्यका रूपमा गणेशबहादुर केसी र सदस्य–सचिवका रूपमा शाखा अधिकृत दीपकप्रसाद न्यौपाने पनि सहभागी थिए ।
कार्यदलले तयार पारेर मन्त्रालयमा बुझाएको त्यो प्रतिवेदनमा गृह मन्त्रालयको तत्कालीन प्रशासनिक नेतृत्व र मन्त्रीको सचिवालयसँगको मिलेमतोमा मानव तस्करको एउटा गिरोहले नक्कली अनुसूची घुसाउँदै नेपाली नागरिकसँग करोडौँ रकम उठाएको तथ्य खोज पत्रकारिता केन्द्रले उजागर गरेको थियो ।
२०७९ चैत १३ गते प्रकाशित पत्रकार देवेन्द्र भट्टराईले लेखेको केन्द्रको रिपोर्टमा आफूखुशी दर्ता छुट र ‘तेस्रो देशमा पुनःस्थापना चाहने अनुसूची थपेर ८७५ नेपाली नागरिकलाई भूटानी शरणार्थीको परिचयपत्र दिलाएर अमेरिका उडाउने प्रलोभन देखाउँदै मोटो रकम संकलन गरेको भेटिएको उल्लेख छ ।
सरकारी संयन्त्रसँग निकट सम्पर्कमा रहेको गिरोहले प्रतिवेदनमा भुटानी शरणार्थीका रुपमा नाम समावेश गरेर नेपाली नागरिकबाट जनही १० लाख देखि ५० लाख रुपैयाँसम्म उठाएको थियो ।
रकम उठाइसकेपछि नक्कली शरणार्थी परिचय–पत्र वितरण पनि गरिएको थियो ।
प्रहरीले यसअघि नक्कली शरणार्थीको परिचयपत्र दिलाउन सक्रिय गिरोहका मुख्य नाइके भनिएका पथरी, मोरङ घर भएका केशव दुलाललगायतलाई पक्राउ गरेको थियो ।
उनीहरुको पक्राउपछि यो प्रकरणमा संलग्नहरु धेरै भएको र माथिल्लो तहसम्मका भएको खुल्दै आएको हो ।
यस्तो गैरकानुनी काममा संलग्न अरु पनि धेरै भएको आशंका गरिएको छ । तीबारे अनुसन्धान भइरहेको र निगरानी गरिरहेको प्रहरीले जनाएको छ ।