सर्वोच्च संस्थाको छवि सुधार्नु नयाँ राष्ट्रपतिको चुनौती

काठमाडौं । अघिल्ला दुई राष्ट्रपतिको कार्यकाल विवादमुक्त हुन सकेन । पहिलो राष्ट्रपतिका रुपमा रामवरण यादवले संस्थाको छवि उच्च राख्न प्रारम्भिक रुपमा सजगता अपनाए पनि उनका केही निर्णय विवादमा आए ।

यादवपछि दोस्रो राष्ट्रपतिका रुपमा विद्यादेवी भण्डारीले पहिलो कार्यकाल पूरा गर्दै दोस्रो कार्यकालमा पनि जिम्मेवारी पाइन् । अब उनको यो कार्यकाल पनि सकिंदैछ । उनी पनि विवादमुक्त हुन सकिनन् ।

गणतन्त्र स्थापना भएपछि तेस्रो राष्ट्रप्रमुखका रुपमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । उनले जिम्मेवारी लिन बाँकी नै छ । पौडेलको काँधमा विगतका अनुभवहरुबाट पाठ सिकेर राष्ट्रप्रमुखको छवि सुधार्ने जिम्मेवारी छ । यसबाहेक उनका अघि केही चुनातीहरु पनि छन् ।

यादव र भण्डारीलाई संविधानले नदिएको अधिकार प्रयोग गर्न खोजेको आरोप लागेको थियो । संविधानले राष्ट्रपतिलाई कुनै पनि विषयमा आफैं निर्णय गर्न पाउने अधिकार दिएको छैन ।

संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । राष्ट्रपतिले संविधान र संघीय कानुनबमोजिम प्राप्त अधिकारको प्रयोग र कर्तव्यको पालन गर्ने भनिएको छ ।

अधिकारको प्रयोग वा कर्तव्यको पालन गर्दा यो संविधान वा संघीय कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानी साथ व्यवस्था भएको बाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिसबाट हुनेछ भनिएको छ ।

यसरी राखिएको व्यवस्थाले सिफारिस गरिएको बाहेकको स्वविवेकीय अधिकार प्रयोग गर्न पाउने ठाउँ छैन । त्यति हुँदा पनि पनि अघिल्ला राष्ट्रपति सक्रिय भएकाले विवादित बनेका थिए ।

राष्ट्रपतिलाई स्वविवेकीय अधिकार नदिए पनि राष्ट्रप्रमुखका रुपमा अभिभावकीय भूमिका होस् भन्ने संविधानले चाहेको देखिन्छ ।

त्यसैले कुनै विषयमा प्रधानमन्त्री, मन्त्रिपरिषद् वा संसद्ले नै गल्ती गरेको लागेमा परामर्श गरी सच्याउन भन्ने अधिकार राष्ट्रपतिलाई छ ।

संविधानले नै नदिएको अधिकार राष्ट्रपतिले प्रयोग गर्न खोजमा भने विवाद आउने गरेको छ । जुन संविधानको मर्मविपरीत हो ।

राष्ट्रपतिले त्यो भूमिका निर्वाह गर्दा राज्यका निकायहरुकै बीचमा समेत असन्तुलन आउन सक्छ ।

राष्ट्रपतिले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर काम गर्न खोज्दा राजनीतिक दलहरुले नै पटकपटक साथ दिएको उदाहरण पनि छ । यसले गर्दा सवोच्च संस्थाको छवि बिगार्न दलहरुको पनि भूमिका देखिएको छ ।

नयाँ राष्ट्रपतिका अघि निष्पक्ष रुपमा अभिभावकीय भूमिका निर्वाह गर्नु नै मुख्य चुनौती छ । यस्तै, कतै भ्रमणमा निस्कँदा अत्यावश्यक सुरक्षाको पक्षबाहेक तामझम गरेर सर्वसाधारणको आवतजावतमै बाधा पुग्ने खालका गतिविधि नियन्त्रण गर्नुपर्ने कुरा पनि महत्वपूर्ण छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *