प्रदेश १ का चौथो मुख्यमन्त्री बने कार्की

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त भएका छन् । झापाबाट प्रदेशसभामा निर्वाचित नेकपा एमाले संसदीय दलका नेता कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

कार्की प्रदेश १ का चौथो मुख्यमन्त्री हुन् । यसअघिको कार्यकालमा तीनजना मुख्य मन्त्री फेरिएका थिए । एमालेका शेरधन राई, एमालेकै भीम आचार्य र एकीकृत समाजवादीका राजेन्द्रकुमार राई (बहालवाला) तीनजना मुख्यमन्त्री बनिसकेका छन् ।

कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका संसदीय दलका नेता भक्ति सिटौला र जसपाकी संसदीयल दल नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तिका लागि समर्थन दिएका थिए ।

प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब दुई तिहाई सदस्य अर्थात् ६० जनाको समर्थनमा कार्कीको दावी पेश भएको थियो ।

प्रदेशसभामा कुनैपनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुख परर्शुराम खापुङले आज ५ बजेसम्मको समय दिएका थिए ।

मुख्यमन्त्री कार्कीको शपथ भोलि सोमबार मात्र हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । शपथ ग्रहणपछि कार्कीले भोलि नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने बताएका छन् ।

प्रदेश १ को मुख्यमन्त्रीमा माओवादी केन्द्रको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको पनि दाबी थियो । गठबन्धनका मुख्य दुई पार्टीका शीर्ष नेताहरुबीच पहिलो चरणमा कार्की मुख्यमन्त्री बन्ने सहमति बनेपछि कार्कीले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

कार्की एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता मानिन्छन् । ओलीकै निर्वाचन क्षेत्र झापा ५ (१) बाट लगातार दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित कार्की पार्टीभित्रबाट सर्वसम्मत मुख्यमन्त्री पदका उम्मेदवार बनेका थिए । गत मंसिर ४ को निर्वाचनमा कांग्रेसका जीवनकुमार राईलाई ५ हजार ४ सय ७२ मतान्तरले पराजित गर्दै कार्की प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

विद्यार्थी राजनीतिदेखि मुख्यमन्त्रीसम्म

विद्यालयमा अध्ययन गर्दैगर्दा अनेरास्ववियुमा संगठित भई विद्यार्थी राजनीतिमा प्रवेश गरेका कार्की पार्टी राजनीतिमा २०३६ सालतिर सामेल भएका थिए । सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आइएल अध्ययन सकेर उनी २०४२ सालमा उच्च शिक्षाका निम्ति नेपाल ल क्याम्पस काठमाडौंमा भर्ना भएका थिए ।

कार्कीले कानुनमा स्नातकोत्तर तह (एलएलएम) अध्ययन पूरा गरेका छन् । अनेरास्ववियुको विभिन्न तहका कमिटीको नेतृत्वदायी भूमिका निर्वाह गर्दै उनी २०५५ सालमा केन्द्रीय अध्यक्षको जिम्मेवारीमा समेत रहे ।

कार्की विद्यार्थी विषेश जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अञ्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएका थिए ।

एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा स्वयंसेवकको रुपमा सहभागी भएका उनी अहिले पार्टीको केन्द्रीय स्थायी समिति सदस्य छन् । नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि २०७१–२०७३ सालसम्म कार्की मेची अञ्चल समन्वय कमिटीको इन्चार्ज भए ।

प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिटीको प्रचार विभाग प्रमुख रहेका उनी २०७४ सालको प्रदेशसभा निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नम्बर ५ ९१० बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

प्रदेश सरकारको पहिलो मन्त्रिपरिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा २०७४ फागुन ३ गतेबाट २०७८ भदौ १० गतेसम्म उनले जिम्मेवारी सम्हालेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *