‘नेपाली पत्रकारिताका ठालुहरु आफैं जज, ज्युरी र फाँसी हान्दिने जल्लादसमेत हुन्’

राजेश मिश्र, चालीसको दशकमा नेपाली पत्रकारितामा स्थापित नाम हो। खरो स्वभावका मानिने उनले त्यसबेलाका अब्बल अग्रज पत्रकारहरुसँग रहेर काम गर्न पाए। उनका समकालीनहरु यति बेला कुनै न कुनै राष्ट्रिय सञ्चार माध्यममा नेतृत्वदायी भूमिकामा छन्। कतिपय नेतृत्व सम्हालिसकेका पनि छन्।

नेपाली र अंग्रेजी दुबै भाषामा पोख्त मिश्र सटिक लेख्न सिपालु छन्। आफूले तय गरेको मूल्य मान्यतामा सधै अडिग रहने स्वभाव उनको छ।

परिवारका दुई भाइ छोरामध्ये उनी कान्छा हुन्। उनका दाजु अमेरिकाको भर्जिनियामा बस्छन्। उनीचाहिँ क्यालिफोर्नियामा। अंग्रेजी र राजनीति शास्त्रमा मास्टर्स गरेका मिश्रले २०४३ सालमा त्यसबेलाका अग्रणी ‘साप्ताहिक विमर्श’, ‘देशान्तर’, ‘सुरुचि साप्ताहिक’ पत्रिकामा काम गरेका थिए।

त्यसपछि ‘हिमालय टाइम्स’, ‘द हिमालयन टाइम्स’ अंग्रेजी दैनिकमा पनि काम गरेको उनीसँग अनुभव छ। यसैगरी सरकारी दैनिक ‘गोरखापत्र’ मा स्तम्भकारका रुपमा पनि उनले काम गरेका छन्। ‘नेपाल वन’ टेलिभिजनमा ब्युरो प्रमुखका रुपमा पनि उनले काम गरिसकेका छन्।

उनको पत्रकारिता जीवन, नेपालको सम्झना अनि अमेरिका बसाइलगायत विषयमा यसपटक हामीले अन्तरङ्ग कुराकानी गरेका छौं।

अमेरिकामा भरखरै नयाँ राष्ट्रपति चुनिए, कत्तिको खुसी हुनुहुन्छ? तपाईंले डोनल्ड ट्रम्पको खेदो खन्दै आउनुभएको थियो, अहिले त भुईंमा खुट्टा छैनन् क्यारे?

खुशी र दु:खी हुने कुरा होइन। डोनाल्ड ट्रम्प खेदो गर्न लायक नै थिए। राम्रो भो। अमेरिकामा बाइडेनले जित्दैमा मेरो भुईंमा खुट्टी नहुनुपर्ने कुनै कारण छैन। गरेर खाने हो। ट्रम्पको बहुलट्ठीले बिथोलेको बाटो बाइडेनले वेलकम ब्याक गरुन् भन्ने आशा छ।

पञ्चायतकालमै ‘खरो पत्रकार’ भनेर चिनिएको व्यक्ति हो क्यारे तपाईं, किन नेपाल छोडेर अमेरिका?

अंग्रेजीमा एउटा भनाई छ, ‘आइदर लीड, फलो अर गेट आउट अफ द वे।’ नेपालको तत्कालीन राजनीतिक, सामाजिक र आर्थिक रङ्गमञ्चमा न नेतृत्व गर्ने सामर्थ्य भयो, न कसैको पिछलग्गु हुन मन लाग्यो। त्यसैले मैदान खाली गरिदिएको। नेपालमा ‘हामी’ भन्ने भीडमा तपाईं र म जस्ता व्यक्तिगत सोचको महत्व हराउन थालेको अनुभव भयो। त्यसैले छाडियो।

नेपाल छँदा सोचेझैं रहेछ त अमेरिका? रुपैयाँ कमाउन सजिलो कि डलर? 

सोच वा कल्पनाको आयतन वा परिधि व्यक्ति अनुसार फरक हुन्छ। यथार्थ अर्कै कुरा हो। त्यसैले सोचेको जस्तै ठ्याक्कै यही हो भन्ने कुरा कतै पनि हुँदैन। नेपालमा गफ दिएको, चाकरी गरेको भरमा जागिर खान सकिन्छ। अमेरिकामा कामको मूल्य छ। नेपाली ‘माइण्डसेट’ बोकेर अमेरिकामा टिक्न गाह्रो छ।

चाहेको भए नेतै बन्नसक्ने मान्छे, विदेशमा बस्दा आफूलाई कहिलेकाहिँ बामपुड्के झैं ठान्नुहुन्न?

चाहेरै नेता होइने भए सारा नेपाली अहिले नेता भैसक्थे! नेता हुनु र नेताको भूमिका निर्वाह गर्नु दुई फरक कुरा हुन्। आफूलाई बाम पुड्के ठान्नुपर्ने खालको कुनै कर्म गरेको छैन।

नेपाली पत्रकारिता र राजनीतिप्रति तपाईंको भोक भनौं वा कुण्ठा कायमै देखिन्छ, मैदानमै फर्केर किन भिड्नुहुन्न?

त्यतिबेलाको एसएलसीको जाँच दिएपछि, सन् १९८३ देखि २००५ सम्म विभिन्न माध्यममा काम गरियो। अमेरिका ओर्लेपछि हामी सबैलाई स्वाभाविक रुपमा हुने ‘कल्चरल शक्’ लाई परास्त गर्नमै केही वर्ष लाग्यो। कुरा भोक र कुण्ठाको होइन। पेशा सकियो, नशा बाँकी छ। आफ्नो अभिव्यक्ति छताछुल्ल पार्न त पाइयो नि, होइन? त्यो काम गर्न सामाजिक संजाल नामको प्लेट्फ़र्मले सजिलो बनाइदिएको छ।

अमेरिकामा धुसा ओढेर नेपाली नेता (कहिलेकाहिँ पत्रकारलाई पनि)लाई गाली गर्न खुबै रुचाउनुहुन्छ, यो कत्तिको सुहाउँदो र सान्दर्भिक छ?

धुसा ओढेर गाली गरेको छैन। मान्छेलाई त्यस्तो लागेको होला। तर आफूसँग हतियार छ भने त्यसलाई भुत्ते हुन दिनुहुँदैन। उज्याएर राख्नुपर्छ।

‘राजेशले पिएर लेख्या हो’ भन्ने पत्रकारहरु पनि भेटेको छु, ब्रोडसिट पत्रिकाहरुमा त्यत्रो आगो ओकल्ने पत्रकार, अब फेसबुकमा स्टाटस् लेख्न नि पिउनुपर्छ?

राजेशलाई पिउन सिकाउने पनि उतिबेलाका कहलिएका पत्रकारहरु नै हुन्। जाँड नखाइ पत्रकार भइन्न भन्ने स्थापित भएको बेला थियो मैले काम सिक्दा। लेख्न पिउनु पर्दैन। तर मैले लेखेको कुराको काट नपाउनेहरुलाई पिएर लेखेको भन्ने सुविधा छ। यस्तो कुरा मैले अहिले मात्र होइन, त्यो जमानादेखि सुन्दै आएको हुँ। मेरो चरित्र मसँग सुरक्षित छ, नमागेको सर्टिफिकेटमा लाहाछाप लगाउन जरुरी ठान्दिन।

समकालीन नेपाली पत्रकारहरुमध्ये क–कसलाई के के कारणले बढी मिस गर्नुहुन्छ?

मेरा समकालीनहरु त धेरैजना ‘मेनस्ट्रीम मेडिया’ का सम्पादक भैसके। मालिकको जोरलात्ती खाएर आफनै सहकर्मीलाई निकाल्ने पत्रमा सही धस्काउन अभिशप्त छन् उनीहरु। त्यसैले मिस गर्नुपर्ने कुनै कारण छैन। मैले मिस गर्ने भनेको किशोर नेपाल, हरिहर बिरही अनि श्री आचार्य हो, जसले मलाई हातको औंला भाँचिने गरि लेख्न सिकाए। नयाँ पुस्तामा मलाई राजकुमार बानियाँ र सन्तोष आचार्यको विषय छनौट र लेखनशैली खुब मन पर्छ। युवराज आचार्य पनि मलाई मन पर्ने नाम हो। अरु पनि होलान्, तर भनेको बेला सम्झना आउँदैन।

कोरोनाले कन्तविजोग भइरहेको नेपालको पत्रकारितालाई नियाल्नु भइरहेको होला, लामो समय बिताएको क्षेत्र थियो त्यो, कस्तो लाग्छ?

कोरोना बहाना हो। साहूहरुलाई पत्रकारिता गर्नु छैन। पत्रकारिताको आवरणमा आफ्नो दूनो सोझ्याउनु छ। खर्च कम गर्न कोरोना बहाना भैदियो। म त बिनाकारण निकालिएका सबै श्रमजीवी पत्रकारहरु मिलेर एउटा ‘कोअपरेटीभ’ टाईपको मेडिया आफै शुरु गरुन् भन्छु। तर कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड विचार! त्यस्तो हुन सक्छ, तर होला जस्तो लाग्दैन।

अमेरिका कहिले, किन, कुन उद्देश्यले आउनुभएको थियो? नेपालमा बस्न मन नलागेर मात्र अमेरिका आउनुभएको थिएन होला?

सन् २००५ मा संयुक्त राष्ट्र संघको वार्षिक साधारणसभा कभर गर्न आएको हुँ। त्यसपछि यताको यतै हो। जीवनमा परिवर्तन चाहिएको थियो।

अमेरिकामा नेपाली पत्रकारहरु थपिएसँगै नयाँ अनलाइन बढेका छन्, तपाईंको आफ्नै अनलाइन र टिभी थियो क्यारे, त्यसलाई किन दह्रो गरी चलाउनुहुन्न?

क्वाण्टिटी बढेको छ। क्वालिटी छैन। मैले पनि शुरु गरेको हो, तर इमान्दारीपूर्वक भन्नुपर्दा मसँग टीम पनि छैन, जोश पनि छैन। त्यो चलिरहेको छ, नेपालमा केही भाइहरुले रोजगारी पाएका छन्।

अमेरिकामा रहेका नेपाली पत्रकारहरुसँग कत्तिको घनिष्ठता छ? बेला बेला किन साह्रै नराम्रो गरी उनीहरुबिरुद्ध फेसबुकमा बिषबमन गर्नुहुन्छ?

मेरो कसैसँग घनिष्टता छैन। शत्रुतापूर्ण सम्बन्ध पनि छैन। देखेको कुरा लेखिदिन्छु। यहाँका पत्रकारहरु एनआरएनका तथाकथित अभियन्ता र ब्यापारीहरुको गुमास्ता जस्तो भएका छन्। त्यसैले कडा शब्द खर्च गर्छु। अमेरिकामा समाजसेवी भन्नेहरु केवल आफ्नो सेवा गर्छन्। पत्रकारहरु उनका पछि लागेर पढ्दैमा लाज लाग्ने आलेख छाप्छन्। रीस उठ्छ, लेखिदिन्छु। कोही रिसाएर मेरो टेबलको एक चम्चा भात कम हुँदैन। म ढुक्क छु।

अमेरिका र नेपालको पत्रकारिताका मुख्य फरक कुरा के के हुन्? नेपाली पत्रकारहरुले अमेरिकाबाट सिक्नुपर्ने ५ कुरा बताइदिनुस् न।

नेपाली र अमेरिकी पत्रकारितामा मैले देखेको तुलनात्मक भिन्नता हो, अमेरिकीहरु गाली र चाकरी पनि भाँती पुर्याएर गर्छन। नेपालमा गतिछाडा लेखनको वर्चस्व छ। एक्युरेसी, ब्यालेन्स र क्रेडिबिलिटी जस्ता आधारभूत कम्पोनेण्टमा नेपाली पत्रकारहरु चुक्ने गर्छन्।

आफूले भन्न खोजेको कुरालाई कुनै एउटा घटनाको उदाहरण दिएर पनि आफ्नो कुरा राख्न सकिन्छ। तर नेपाली पत्रकारिताका ठालूहरु आफै जज, ज्युरी र मौका परे फाँसी हान्दिने जल्लाद समेत हुन् तयार देखिन्छन्।

अमेरिकाका पत्रकारले तलबकै भरमा घर गाडी जोडेर मध्यमबर्गीय जीवन मज्जाले धान्न सक्छन् भने नेपाली पत्रकारले किन सक्दैनन्? मालिक सर्वैसर्वा हुने पत्रकार सुकेनाश लागिरहने नेपालमा मात्र हो?

लेखेर भात कमाउने, दायाँ बायाँ नगर्ने रिपोर्टरको अवस्था नेपाल मात्रै होइन, दक्षिण एशियामै उस्तै छ। पत्रकारिताको आवरणमा नेता र कमिशन एजेण्टहरुको साईंदुवा गर्नेहरु रातारात आफ्नो वर्ग परिवर्तन गर्छन्। लेखेकै भरमा आफ्नो तरिकाले जीवन चलाउनेहरु नेपालमा पनि छन्। तर थोरै छन्। पत्रकारिता समाजको अंग हो। तर किड्नी फेल भएको नेताले चलाएको मुलुकमा पत्रकारिता चाहिं पास हुन्छ भन्ने नसोचेकै बेस।

तपाईं ब्राम्हण, जीवनसाथी रोज्नुभयो जनजाति मूलकी लिम्बूनी, दाम्पत्यको रथ कसरी गुडिरहेको छ?

म जात धर्म अनि सम्प्रदायको झण्डा बोकेर हिंड्ने मान्छे होइन। लिम्बूकी छोरी बिहे गरें। एउटा नयाँ र अलग संस्कृतिसँग झ्याम्मिन पाउनु मेरो जीवनका लागि सुखद संयोग हो। जातिगत भिन्नताकै कारण हाम्रो गाडी सडक छोडेर हिंडेको छैन। हिंड्ने पनि छैन।

पत्रकारितामा तपाईंको नाम जति चर्चित हो, पर्वतारोहणमा जुनिता लिम्बूको नाम उत्तिकै लोकप्रिय हो। सगरमाथा आरोहीको श्रीमान भन्दा कत्तिको गर्व हुन्छ?

जुनिताजी र मेरो सम्पर्क सामाजिक संजाल मार्फत भएको हो। म कोलोराडोमा हुँदा हाम्रो कुराकानी हुन थाल्यो। प्रेम भयो। म क्यालिफोर्निया आएँ, हाम्रो बिहे भयो। उनको इच्छाक्ति गजबको छ। सोचेको कुरा गरेरै छोड्ने! उनको उचाइको यात्रामा एउटा लिस्नो बन्न पाउँदा मलाई गर्व हुन्छ।

नेपालमा जन्मेहुर्केको कहाँ हो? अमेरिकामा अहिले कुन राज्यमा बस्नुहुन्छ?

म नेपालमा काठमाडौ, थापाथलीको प्रसूति गृहमा जन्मिएको हुँ। अहिले सदर्न क्यालिफोर्नियाको ओशनसाइड भन्ने शहरमा बस्छौं। रमाइलो कुरा, यो सिंगो शहरमा हामी दुईमात्रै नेपाली छौं।

अमेरिकामा के पेशा व्यवसायमा आवद्ध हुनुहुन्छ? भन्न मिल्छ भने बार्षिक कमाइ पनि सुनाइदिनुस्।

वार्षिक कमाइ खुलेआम भन्न थाल्यो भने आईआरएसले अडिट गर्न आउला। तर सुविधाजनक छ, जिन्दगी। प्रपोजल राइटिङ्ग, ट्रान्सलेशन, कपी एडिट, कपी राइटिङ्ग पैसा पनि लिन्छु। द पर्लस्ट्रीट जर्नल ईंक. नामको कम्पनी छ। सबै काम त्यसैबाट हुन्छ।

नेपाल भन्नासाथ के कुरा सम्झना हुन्छ? नेपालको बढी के के ‘मिस’ हुन्छ ?

पशुपति श्लोष्मांतक बनमा मर्निङ्ग वाकमा जाँदा आउने त्यो हावाको सुवास, गोसाइकुण्ड जाँदा खाएको त्रिशुलीको कन्चन पानी, दसैँ आउने बेलामा चौरमा परेको शीत अनि हावालाई ढाकेको कुहिरो, इलाममा खाएको तोङबा अनि कालो चिया, आमाको हातको खाना आदि इत्यादि… मिस हुने कुरा धेरै छन्। साथीभाइसँगको जमघट पनि मिस हुन्छ। आजकल भर्चुअल जमघट गरिन्छ।

धेरैले सोधेकै एउटा प्रश्न, नेपाल राम्रो कि अमेरिका?

राम्रो त नेपाल नै हो नि। सगरमाथा र चितवनको दुरीमा लामो धर्सो तान्ने हो भने, जम्मा ५२ माइल हुँदोरहेछ। त्यो ५२ माइलमा हिमाल छन्, पन्ना झैं फ़क्रिएका हरिया डाँडा छन्, भित्री मधेश छ, अनि तल आएपछि बाघ पनि छ। गोही पनि छ। यस्तो ‘डाइभर्सिटी’ अमेरिकामा कहाँ? देश मात्र ठूलो हो, नेपाल प्राकृतिक रुपले संसारकै गहना हो।

नेपालमा आफन्त, साथीभाइसँग कत्तिको सम्पर्क हुन्छ? गइहालौं जस्तो पनि लाग्छ कहिलेकाहिँ?

मेरो साथीभाइको सर्कल सानो छ। भिडिओ कन्फरेन्स हुन्छ बेला बेलामा। जान त जाने नै हो नि! अमेरिकामै मर्न आएको होइन।

अमेरिकी भान्सामा बढी के पाक्छ? नेपाली खानाका परिकारको कत्तिको याद आउँछ ?

हाम्रो किचनमा नेपाली खाना नै पाक्छ। यहाँ म बसेको ठाउँमा नेपाली र इण्डियनहरुको उतिसारो हुलहाल छैन। त्यसैले खोजेको मसाला पाईंदैन स्टोरमा। म इष्ट कोष्ट वा जर्जिया बस्ने साथीहरुलाई मलाई यो यो चाहियो, पठाइदे यार भन्छु। यू ट्यूब आउनु अघि आमालाई फोन गरेर सोध्ने चलन थियो। अहिले सजिलो छ।

एनआरएनए या अरु नेपाली संघ संस्थामा आवद्ध हुनुहुन्छ? चाडपर्वमा सामुहिक सहभागिता कतिको हुन्छ?

म कसैसँग आबद्ध छैन। यी एनआरएन वा कुनै पनि संस्थामा जो छन्, आफ्नो लागि प्लेटफर्म तयार गर्दैछन्। यिनीहरुको कर्मले नेपाली समुदाय एकीकृत हुनुको सट्टा विभाजित  हुँदैछ।

घरमा नेपाली कि अँग्रेजीमा बढी कुरा हुन्छ?

हामी नेपालीमै कुरा गर्न मन पराउँछौं।

अमेरिकामा धेरै घुम्ने नेपालीमध्ये तपाईं एक हो? नेपालमा चाहिँ कुन–कुन ठाउँ घुम्न मन छ?

अमेरिकामा मैले अहिलेसम्म बाईस ओटा राज्य घुमेको रैछु। नेपालका पैंसट्ठी जिल्ला। अब अलास्का जाने हो।

फुर्सदमा के कस्ता सामग्री अध्ययन गर्नु हुन्छ? डाइभ गर्दा कस्ता गीत बजाउनुहुन्छ?

पाना पल्टाएर पढ्ने जमाना गयो। किण्डलमा किनेर फोन वा ल्यापटपमा पढ्ने हो। के के पढें लिष्ट त दिन सक्दिन, तर मलाई नन फिक्सन मन पर्छ।

नेपाली कलाकारहरुसँग कत्तिको जान पहिचान छ? मनपर्ने नेपाली गीत कुन कुन हुन्?

नारायण गोपालदेखि सञ्जय श्रेष्ठसम्म छ। मलाई मेरो दाई शिव अधिकारीले लेखेको र योगेश वैद्यले गाएको ‘सपना भुलाइ सारा, आँशु पिएर जाऊ, मन्दिरमा छ, तिम्रै तस्वीर लिएर जाऊ’  भन्ने गीत मन पर्छ।

भरखरै हेरेको नेपाली फिल्म कुन हो? मनपर्ने नेपाली फिल्महरुको नाम लिन चाहनुहुन्छ?

‘कबड्डी कबड्डी’ हेरेको। मलाई नयाँ आएका निश्चल बस्नेत, सौगात मल्लहरु मन पर्छन्।

अन्त्यमा, मिश्र र लिम्बू दम्पतीको भावी योजना के के छन्? नेपाली पाठकलाई बताइदिनु भए राम्रो हुनेथ्यो।

सन्तान पाउने, किताब लेख्ने, निम्छाराको मुख नलाग्ने, आफ्नो जिन्दगी जिउने।

(सरल पत्रिका/नेपालटच सहकार्य)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *