‘जीवनलाई उत्सव मान्छु, त्यसैले हरेक क्षण खुसी हुन्छु’

भीष्म कोइराला चार दशकभन्दा बढी समयदेखि भारतमा छन्। त्यहाँ एउटा निजी कम्पनीको उपाध्यक्ष रहेका उनी त्यही कम्पनीको ‘प्रोफिट सेन्टर’ का प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालिरहेका छन्।
पटनामा पढाइ सकेर त्यहीँ केही समय काम गरेका उनी त्यसपछि दिल्लीमा पाँच वर्ष अनि कोलकातामा अरु पाँच वर्ष बसे। फेरि दिल्ली फर्केर बसेको २७ वर्ष पुगिसकेको छ।
दिल्लीको आउटस्कर्टमा उनी परिवारसहित बसोबास गरिरहेका छन्। पुर्ख्यौली घर इलामको पिपलबोटे भएका उनको परिवारको पछि झापाको शनिश्चरेमा बसोबास थियो।
सेनाका सुबेदारका नाति अनि सरकारी जागिरे बुवाका छोरा कोइरालासँग यसपटक हामीले विदेश बसाइ, कामको अनुभवलगायतविषयमा अन्तरङ्ग कुराकानी गरेका छौं।
नेपालमा कहाँ कतिसम्म अध्ययन गर्नुभयो?
मोरङ कलेजबाट विज्ञान विषयमा प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेको हुँ। त्यसपछि बिएससी पनि अध्ययन गरें। उच्च शिक्षाका लागि भारत आएँ। काठमाडौंको अस्कल कलेजमा पढ्दापढ्दै यता आएको हुँ। पटना युनिभर्सिटी, बिसिइमा इन्जिनियरिङ पढें।
नेपालमा के गर्नुहुन्थ्यो?
पढ्ने लेख्ने र आमालाई खेतीपातीमा सघाउने काम मात्रै गरें नेपालमा रहँदा।
भारत आएको कति भयो?
४१ वर्ष भयो यता आएको। पटनामा पढाइ सकेर केही दिन त्यहीँ काम गरे। त्यसपछि दिल्ली आएर ५ वर्ष अनि कोलकाता ५ वर्ष बसें। फर्केर फेरि दिल्लीमा बसेको अब त २७ वर्ष पुग्यो।
के गर्दै हुनुहुन्छ?
एउटा प्राइवेट ग्रुप कम्पनीको भाइस प्रेसिडेन्ट र त्यही ग्रुपको एउटा कम्पनीको प्रोफिट सेन्टरको हेड (सिइओ) का रुपमा काम गरिरहेको छु।
तपाईंको जिम्मेवारीको क्षेत्र के के हो?
कम्पनीको सम्पूर्ण व्यवस्थापनको काम मेरो जिम्मेवारीमा छ। नीति बनाउनेदेखि लगानीका कुरा, व्यवसाय विविधिकरण, समूहको निर्माण, बजेटलगायत व्यवस्थापनको काम गर्नुपर्छ।
नेपाल छोडेर भारत आउन के के कुराले प्रेरित गर्यो?
खासमा इन्जिनियरिङ गर्न आएको थिएँ तर क्याम्पस अन्तर्वार्तामा काम पाएर यता काम गर्न लागियो। नेपालमा अवसर थिए तर यहाँ अवसरको साथमा नयाँ कुरा सिक्ने र जान्ने मौका र राम्रो प्याकेज थियो।
विदेश आउने निर्णय गरेर ठीक गरिएछ कि बेठिक गरिएछ भन्ने लाग्छ?
त्यो समयमा पुलचोक मात्रै एक विकल्प थियो। ठिक बेठिक सोच्न मौका थिएन। अहिले ठिकै गरेंछु जस्तो लाग्छ।
अब ढुक्कै भारत बसाइ हुन्छ या नेपाल फर्कने योजना पनि छ?
नेपाल कत्तिको सम्झना हुन्छ?
सधैँ नै हुन्छ। महिनामा एकपटक पुग्ने कोसिस रहन्छ। लकडाउन अघि वर्षमा दुई पटक जान्थें भने आजकल दुई महिनामा एकपटक पुग्ने कोसिस छ।
नेपाल र भारतबीच समानता र फरक कुरा के के छन्?
हामी सायद ज्यादा खुला विचारका छौं। चाडपर्व उस्तै भए पनि हामी खाने पिउने रमाउने गर्छौ भने उनीहरु व्रत बस्ने र फलाहार खाने गर्छन्। केही वर्ष अघिसम्म हामी दुबै उस्तै सामाजिक र आर्थिक अवस्थाका थियौं तर आजको भारत नेपालभन्दा धेरै अघि छ।
नेपालको बढी के के ‘मिस’ हुन्छ?
खानापिना, मौसम, पर्यावरण, परिवार, मित्रहरु।
गइहालौं जस्तो पनि लाग्छ कहिलेकाहिँ?
जब जान मन लाग्छ जान्छु। जाने मौका बनाउँछु र बन्छ पनि।
नेपालमा आफन्त, साथीसंगीसँग कत्तिको सम्पर्क हुन्छ?
दैनिक जस्तै छ।
भान्सामा बढी के पाक्छ, नेपाली खानाका परिकारको कत्तिको याद आउँछ?
हामी नेपाली खाना दाल, भात, तरकारी, मासु, पिसेको आचार नियमित खान्छौं। तर रोटी र पराठा पनि मन पराउँछौं। तर जे भने पनि उता र यताको स्वाद अलग छ। कहिलेकाहिँ रायोको साग पाइन्छ र तर पकाउँदा न त उताको स्वाद न त वास्ना। छक्क पर्नु छ। सायद माटो र पानीले पनि फरक पर्छ।
एनआरएनएमा आवद्ध हुनुहुन्छ कि छैन, अरु नेपाली संघ संस्थामा?
छैन। त्यस्तो कुनै पनि संस्थासँग कहिले पनि आवद्ध हुने मौका परेन र सायद ठिक हो।
भारतमा रहेका नेपाली संघ संस्थाप्रति तपाईंको कस्तो धारणा छ?
म एउटा साधारण मेहनत गरेर आफ्नो पौरखको खाएर परिवार पालेर खुसी हुने मान्छेलाई राजनीतिबाट टाढा रहन ठिक लाग्छ। त्यसैले म कुनै पनि संघ संस्थाबाट टाढा नै बसें।
चाडपर्वमा सामूहिक सहभागिता कतिको हुन्छ?
खासै धेर छैन। एउटा भतिजा लुधियानामा बिजनेस गर्छ, अर्को हैदराबादमा स्ट्रगलिङ एक्टर छ। उनीहरु आउँदा रमाइलो हुन्छ। कहिलेकाहिँ नेपाल पुगेर उतै मनाइन्छ। यहाँ दसैँमा एक दिन र तिहारमा दुई दिन मात्र छुट्टी हुन्छ।
नेपाली समाचार कतिको चासो लाग्छ, कसरी अपडेट हुनुहुन्छ?
धेरैजसो सन्जालबाट नत्र अनलाइन च्यानल नेपाल टिभि र कान्तिपुर। तर आजकल प्रसारणको गुणस्तर ठिक छैन। कहिले देखिन्छ, कहिले केही पनि आउँदैन।
कत्तिको घुम्नुहुन्छ, नेपालका कुन कुन ठाउँ घुम्न मन छ?
म महा घुमक्कड मान्छे हुँ। मेरो गुगल टाइम लाइनले गएको १० वर्षमा १० वटा मुलुकको १२५ वटा सहर र ७१५ ठाउँ गएको डेटा देखाउँछ। २०१९ देखि कोभिडले गर्दा दिल्ली र नेपाल छाडेर कतै गएको छैन। नेपाल गएपछि पुरा नेपाल घुम्ने योजना छ।
फुर्सदमा के कस्ता सामग्री अध्ययन गर्नु हुन्छ, नेपाली किताब नपढेको कति भयो?
पहिले धेरै फिक्सन पढ्थें। आजकल जे चाखलाग्दो भेट्छु त्यही पढ्छु। नेपाली पढ्ने समय आउँदैछ।
कस्ता गीत सुन्नुहुन्छ? मनपर्ने नेपाली गीत कुन कुन हुन्?
पुराना गीतहरु नारायण गोपाल, दिप श्रेष्ठ, प्रेमध्वज, शम्भु राई, तारादेवी, अरुणा लामा, कुमार बस्नेत आदिका गीतहरु सुन्छु।
पछिल्लो पटक हेरेको नेपाली फिल्म कुन हो?
‘साइँली’ हो क्यार। धेरै दिनअघि हेरेको हुँ।
मनपर्ने नेपाली फिल्म र मनपर्ने नेपाली अभिनेता अभिनेत्री?
फिल्म चाहिँ ‘पशुपति प्रसाद’ र ‘कबड्डी कबड्डी’। विपिन कार्की मान्छे गजब भर्सटाइल लाग्छ।
भारत बस्दा नेपालको र नेपाल जाँदा भारतको साह्रै मिस हुने कुरा के के हुन्?
नेपालको खाना मौसम अनि परिवार। भारतको बाटोघाटो, यात्राको सुविधा, कनेक्टीभिटी। अफिसहरूमा टाइममा हुने काम, कसैको चाकडी नगरी हुने पर्सनल कामहरु। सायद नेपालमा भन्दा भ्रष्टाचार धेरै कम छ अब।
सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ?
गर्नपर्छ नत्र पछि छाड्छन् साथीभाइले।
सञ्जालमा खासगरी के कस्ता विषयमा आफ्ना धारणा राख्नुहुन्छ?
म गलत कुरालाई गलत भन्छु भने सही कुरामा थपडी बजाउँछु। विज्ञ र विशेषज्ञको धारणा पढ्छु। बाँकी जीवन रमाइलो हुनपर्छ भन्छु। नयाँ पुराना कुरा र रमाइला कुरा शेयर गर्छु। आफूले थाहा पाएका, सेनेका कुरा शेयर गर्दा गलत भए जान्नेहरुले बुझाउँछन् र सही भए अरुले थाहा पाउँछन् भन्ने धारणा हो।
तपाईंको जीवनमा सबैभन्दा खुसीको क्षण के सम्झनुहुन्छ?
जीवनलाई एउटा उत्सव मान्छु। त्यसैले हरेक क्षण खुसीको क्षण मान्छु।
अनि दुःखको कुनै घटना?
केही मित्रहरुले कोभिडले गर्दा व्यर्थैमा ज्यान गुमाए र अझ पनि केही व्यक्तिहरुले धेरै नै लापरवाही गर्दै हुनुहुन्छ जुन दुःखको कुरा हो।
सरकार र सरोकारवालाले भारतबाट के सिकुन् भन्ने लाग्छ? अनि, नेपालबाट भारतले सिक्नुपर्ने कुरा केही छन्?
सरकारले सिक्ने धेरै कुराहरु छन्। तीमध्ये जिम्मेवारी लिने, लायक व्यक्तिलाई योग्यताको आधारमा जिम्मेवारी दिने, ढिलै भए पनि भ्रष्टाचारीमाथि एक्सन लिने र कारबाही गर्ने, लगानी मैत्री नीति बनाउने, कर्मचारीको आम्दानी खान लाउन पुग्ने बनाउने, जिम्मेवारी लिने तर बहन नगर्नेहरुलाई सजाय दिने, भौतिक पूर्वाधारमा ठूलो लगानी गरेर देशका युवाहरुका लागि रोजगारको अवसर प्रदान गर्ने कुरामा ध्यान दिनुपर्छ नेपालमा।
भारतीयले नेपालीझैँ ब्रोडमाइन्डेड हुन र महिलालाई सम्मान दिन सक्नुपर्छ। दुबै देशका जनताले पर्यावरणप्रति संवेदनशील र जागरुक हुन धेरै नै जरुरी छ नत्र हामीले यो संसारलाई बस्न नसकिने हालतमा छाड्ने छौं।