गठबन्धनको साथले पौडेल ढुक्क, ह्वीप नलाग्ने भएकाले नेम्वाङ आशावादी

काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपति चयन गर्न आज बिहिवार निर्वाचन हुँदैछ । राष्ट्रपति बन्न फरक दलका दुई चर्चित नेताले उम्मेदवारी दिएका छन् । सत्तारुढ गठबन्धनको साथ पाएका नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ चुनावी मैदानमा छन् ।

राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न संघीय सांसद र सातै प्रदेशका प्रदेशसभा सदस्य काठमाडौंमा भेला भइसकेका छन् । राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा सदस्यले मतदान गर्ने व्यवस्था छ ।

बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा मतदान हुँदैछ ।  संघ र प्रदेश गरी एक हजार ५० मतभार स्वतन्त्र मतदाताको छ । संघीय सांसदको ७९ र प्रदेशसभा सदस्यको ४८ मतभार रहन्छ । प्रतिनिधिसभा २७२ र राष्ट्रियसभा ५९ सांसद छन् । सातै प्रदेशबाट ५५० प्रदेशसभा सदस्य मतदाता छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा ८ सय ८२ मतदाता छन् । संघीय संसदका ३ सय ३२ सांसदहरुले मतदान गर्दैछन् भने प्रदेशसभाका ५ सय ५० जना मतदाता छन् ।

दुवै संघीय सदनका ३ सय ३५ सदस्य मध्ये एक रिक्त, एक निलम्वित र एकजनाको मृत्यु भएका कारण तीन सदस्य रिक्त छन् ।

एकजना संघीय सांसदको मतभार ७९ रहेको छ भने प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ । राष्ट्रपति निर्वाचनको जम्मा मतभार ५२ हजार ६ सय २८ हो । बहुमतका लागि २६ हजार ३ सय १५ कटाउनुपर्ने हुन्छ ।

संघीय संसदका ३ सय ३२ सांसदको जम्मा मतभार २६ हजार २ सय २८ भने प्रदेशसभा सदस्य ५ सय ५० को जम्मा मतभार २६ हजार ४ सय छ ।

राष्ट्रपति पदमा निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधान छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशत नकटाएको खण्डमा पुनः मतदान हुनेछ । पुनः मतदानमा ५० प्रतिशत ल्याउनुपर्ने हुन्छ । दोस्रो पटकमा पनि ५० प्रतिशत नकटाए तेस्रो पटकको निर्वाचनमा धेरै मत ल्याउने उम्मेदवार विजयी हुनेछ ।

दुवै उम्मेदवारको आफ्नो दलसँग एकल बहुमत छैन । अन्य दल र स्वतन्त्रको समेत मत आफूतिर पार्न दुवै उम्मेदवारले पहल गर्दै आएका छन् । राष्ट्रपति निर्वाचनमा दलीय ह्वीप नलाग्ने भएकाले अरुको मत पाउने आशमा उनीहरु लागिपरेका हुन् ।

पौडेलका पक्षमा कांग्रेस र माओवादीसहित आठ दल एक ठाउँमा देखिएका छन् । संघमा १९ सांसद रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले कसलाई सहयोग गर्ने भन्ने टुंगो लगाएको छैन । बिहिवारै उसले यसबारे निधो गर्ने भएको छ । राप्रपाले भने तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

गठबन्धनको समर्थन पाएका पौडेल मतभार हेरर जित्नेमा आशावादी छन् । दलको ह्विप नलाग्ने र गोप्य मतदान हुने भएकाले आफूले जित्ने नेम्वाङको अपेक्षा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *