‘कम्युनिष्ट आसेपासे, राप्रपा तरमारा’

काठमाडौं । विवेकशील साझा पार्टीले आफ्नो ‘राजनीतिक दस्तावेज’ सार्वजनिक गर्दै अरु राजनीतिक पार्टीप्रति टिप्पणी गरेको छ । शुक्रबार काठमाडौंमा आयोजित पहिलो महाधिवेशनमा उक्त दस्तावेज सार्वजनिक गरिएको हो ।

२०७४ को आम निर्वाचन २०७४ मा नयाँ वैकल्पिक शक्तिका रुपमा उदाएको उक्त पार्टीले त्यस बेला २ लाख १२ हजार ३ सय ६४ (२.२२ प्रतिशत) मत पाएको थियो ।

त्यसपछि अनेक विवाद सिर्जना भएर पार्टीका नेताहरुबीच बेमेल भएको थियो । त्यस बेलाका मुख्य नेता रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् । अरु केही नेता स्वतन्त्र पार्टीमा लागेका छन् ।

महाधिवेशनका क्रममा समीक्षा बास्कोटा, रमेश पौडेल, रञ्जु दर्शना, मिलन पाण्डे, केशव दाहाललगायत नेताहरु भेला भएर पार्टी पुनर्गठनको प्रयास थालेका छन् ।

नेता केशव दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा वर्तमान राजनीतिक परिस्थितिबारे भनिएको छ, ‘विभिन्न आन्दोलनका क्रममा जनताले देखेका सपना पूरा हुने स्थिति देखिएका छैनन् । जनतामा निरासा छाएको छ ।’

विगतमा विभाजन र विचलन देखिएको स्वीकार गर्दै प्रतिवेदनमा भनिएको छ, ‘हामी उठ्ने छौं ।’

उक्त प्रतिवेदनमा विवेकशील साझा पार्टीको धारणा प्रष्ट्याइएको छ । प्रतिवेदनमा भनिएको छ–

विश्वमा राजनीतिक व्यवस्थाका विभिन्न मोडेलहरु छन् । हामी कनेक्टिभिटीमा छौं । आजको युगले राज्य र जनताबीच नयाँ परिभाषा खोजेको छ । बीसौं शताब्दीका मुद्दाहरु फेरिएका छन् । अहिलेको मुख्य मुद्दा विकास, समृद्धि र साझेदारी हो ।

सामाजिक मुद्दाहरुमा फेरबदल आएको छ । अहिलेसम्म लोकतन्त्रका लागि लडियो, अब सामाजिक न्याय, समृद्धि, विकास, लोकतन्त्रको प्रवर्द्धन, पर्यावरण, प्राकृतिक स्रोतको संरक्षण, वैकल्पिक ऊर्जा आदि अहिलेका मुद्दा हुन् । श्रम सम्बन्धको निरुपणमा मार्क्सवाद र पुँजीवादको संकीर्णता भन्दा माथि उठ्नुपर्छ । यो समन्वयात्मक अर्थतन्त्रको युग हो ।

बदलिएको परिवेशमा पुरानो कुरा गरेर नयाँ परिणाम प्राप्त हुँदैन । २०७२ पछि मूलतः सामन्तवादी अन्तरविरोध समाप्त भएको छ । नेपाली राजनीतिमा देखिएको जडता, ढुलमुल र संकीर्णतालाई व्यवहारबाटै फाल्नुपर्छ । वैकल्पिक राजनीतिले मात्रै यो गर्न सक्छ ।

पञ्चायतकालमा निरंकुश सत्ताको तर मार्ने एउटा वर्गले संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रको पैरवी गरिरहेको छ । यसले नेपाली राजनीतिको विकल्प बन्ने सामर्थ्य राख्दैन ।

प्रजातान्त्रिक समाजवाद सामाजिक–आर्थिक कार्यक्रम होइन । परम्परागत लोकतन्त्र, उदार पुँजीवाद र निजीकरणको प्रवर्द्धन गर्ने राजनीति आजको सन्दर्भमा प्रगतिशील र वैकल्पिक राजनीति बन्न सक्दैन ।

मार्क्सवाद र माओवादबारे भनिएको छ– कम्युनिष्टहरु संसदीय व्यवस्थालाई प्रवर्द्धन गर्ने परम्परागत राजनीतिकै हिस्सेदार बनेका छन् । सत्ता सञ्चालनको शैली, संस्कृति र आसेपासे समाजवादले उनीहरुको आफ्नै निष्ठालाई संशयमा पारेको छ । उनीहरु परम्परागत राजनीतिका पछिल्ला संस्करण मात्र हुन् ।

क्षेत्रीयतावाद र पहिचानवाद राजनीतिको आधारभूत विषय होइन । यसका लागि पार्टी आवश्यक छैन ।

प्रियतावादबारे साझाको धारणा यस्तो छ– भीडलाई मनपर्ने कुरा गरेर मात्र राजनीति हुँदैन । पपुलिष्ट राजनीति दिगो हुँदैन । यो अर्थमा आजका नयाँ दलहरु बोलीमा वैकल्पिक र व्यवहारमा परम्परागत दलहरु नै हुन् । उनीहरु गम्भीर राजनीतिक विकल्प बन्ने देखिँदैन । भीडमा जे भन्दा ताली आउँछ र भोट पाइन्छ, त्यसैमा रमाउने यस्तो प्रवृत्तिले वैकल्पिक र गम्भीर राजनीतिलाई धरासायी बनाउँदै लगेको छ । राजनीति भोटका लागि गरिने तमासा होइन ।

विवेकशील साझा पार्टी वैकल्पिक राजनीतिक पार्टी विवेकशील साझा हो । यसको नीति मानव केन्द्रित राजनीति, शक्तिको स्रोत सार्वभौम नागरिक, मूल्य मान्यताको राजनीति, सम्पूर्ण समानता, पूर्ण लोकतन्त्र र अग्रगमन, कल्याणकारी राज्य, राज्यको चरित्रमा रुपान्तरण, प्रणालीहरुको रुपान्तरण, आर्थिक र सामाजिक सुधार, पर्यावरण, सुशासनका मुद्दा, नेपाली मौलिकताको खोजी हो ।वैकल्पिक राजनीतिका मूल्य मान्यता, निष्ठा, पारदर्शिता, उत्कृष्ठता, साहस, सहानुभूति, विनम्रता र प्रणाली हुन् ।

राजनीतिक मुद्दाका सन्दर्भमा संविधानलाई समयानुकूल संशोधन गर्नुपर्छ भनिएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी हुनुपर्छ । निर्वाचन प्रणालीमा सुधार गर्नुपर्छ । जनप्रतिनिधिलाई मतदाताले फिर्ता बोलाउने, नो भोटको प्रावधान हुनुपर्छ । दलहरुको सुधारका साथसाथै यातायात, शिक्षा, कृषि, शहरी विकास,लगायत हरेक क्षेत्रमा सुधारको आवश्यकता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *