राष्ट्रपतिका लागि दलहरुको होडबाजी

काठमाडौं । मुलुकको तेस्रो राष्ट्रपति को बन्ला ? आकांक्षी धेरै छन् । राजनीतिक दलहरुले यो आलंकारिक पदमा आफ्ना मान्छन् राख्न गृहकार्य गरिरहेका छन् ।

प्रतिनिधिसभाले सभामुख र उपसभामुख चयन गरिसहेको छ । अब चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति को बन्ने हो भन्ने चासो आम रुपमा बढेको छ । फागुनभित्र गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति चयन हुनेछ ।

दलहरु राष्ट्रपति पदमा सकेसम्म पार्टीका मान्छे, नभए आफ्ना समर्थकलाई पुर्याउने होडबाजीमा लागेका छन् ।

सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने दाबी गरिरहेको छ ।

निर्वाचनबाट सबैभन्दा ठूलो दल बने पनि नयाँ दलीय गठबन्धनका कारण धेरै पद गुमाउन पुगेको नेपाली कांग्रेस पनि यसमा लागिपरेको छ ।

गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र पनि राष्ट्रपति पदका लागि लोभिएको छ ।

राष्ट्रपति कार्यकारी पद होइन । उपराष्ट्रपति र राष्ट्रपति दुबै आलंकारिक पदका रुपमा संविधानले व्यवस्था गरेको छ । संविधानको धारा ६६ अनुसार मन्त्रिपरिषद्‌ले गरेको सिफारिस कार्यान्वयन र संसदले गरेको निर्णय प्रमाणीकरण गर्ने दायित्व राष्ट्रपतिको हुन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिन लागेको छ । उनी गणतान्त्रिक नेपालका पहिलो राष्ट्रपति रामवरण यादवपछि दोस्रो हुन् । दुई कार्यकाल राष्ट्रपतिका रुपमा उनले काम गरिसकेकी छन् ।

दुवै राष्ट्रपतिले गरेका केही काम आलोचित बनेका छन् । केहीले उनीहरुको कदम सही मानेका छन् भने कतिपयले गलत भनेर टिप्पणी गरेका छन् ।

प्रथम राष्ट्रपति यादवले तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई कारबाही गर्न सरकारले गरेको सिफारिस कार्यान्वयन नगर्दा सरकारबाहिर रहेका दलहरुको साथ पाएका थिए ।

यादवपछि राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले पनि संविधानले तोकेको सीमाभन्दा बाहिर गएर शक्तिको प्रयोग गरेको आरोप लागेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईपटक गरेको संसद् विघटन सिफारिस सदर, संविधानको मर्मविपरीत संवैधानिक परिषद्‍सम्बन्धी अध्यादेश जारी तथा संसद्‍ले दुईपटक पारित गरेको नागरिकता विधेयक रोकेर भण्डारीले पदीय अधिकारको दुरुपयोग गरेको आरोप लाग्ने गरेको छ ।

राष्ट्रपति आफू पक्षधर हुँदा पार्टीको आन्तरिक शक्ति सन्तुलनमा सहज हुने बुझाइका कारण दलहरुले आफ्ना मान्छेलाई राष्ट्रपति बनाउन चाहेको कुरा प्रष्ट छ ।

कुनै पनि दलले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाएका छैनन् । चर्चामा भने केही नेताका नाम आएका छन् । एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष युवराज ज्ञवाली, नेतृ गोमा देवकोटालगायत नेता आकांक्षी देखिएका छन् ।

यस्तै, कांग्रेसबाट वरिष्ठ नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला राष्ट्रपतिका लागि इच्छुक रहेको पाइएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको उम्मेदवार पार्टी १४औं महाधिवेशनताका गरेको सहमतिअनुसार पौडेललाई बनाउने सम्भावना देखिएको छ ।

त्यस्तै, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराई, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत नेता पनि राष्ट्रपतिको आकांक्षीका रुपमा चर्चामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *