विश्वकप २०२६ : ४८ टिम, सयभन्दा बढी खेल

कतार विश्वकपको आइतबार भएको समापन कार्यक्रम ।

काठमाडौं । विश्वकप इतिहासमै सर्वाधिक सफल संस्करणको आयोजनापछि फिफाको ध्यान त्योभन्दा पनि ठूलो प्रतियोगितातर्फ सोझिाएको छ । कतारमा विश्वकप फाइनल सकिएलगत्तै सन् २०२६ को विश्वकपबारे चर्चा हुन थालिसकेको छ ।

विश्वकपको इतिहासमा पहिलोपल्ट तीन देश आयोजक हुँदै छन् । ४८ सहभागी टिम सहभागी हुनेछन् भने सयभन्दा बढी खेल हुने सम्भावना छ ।

अमेरिका, क्यानाडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने आगामी विश्वकमप प्रतियोगिताको आकार बढाएर ४८ देशमा पुर्‍याउने योजना छ ।

अहिलेको ३२ टिमको प्रतियोगितास्वरूप सन् १९९८ बाट सुरु भएको हो । अमेरिका र मेक्सिकोमा भएका पछिल्ला विश्वकपमा जति टिम सहभागी थिए, त्यसको दुई गुणा चार वर्षपछिको प्रतियोगितामा सहभागी हुनेछन् । प्रतियोगितामा सहभागी हुने देशको संख्या बढाउने योजना भने अध्यक्ष जियानी इन्फाटिनोकै हो ।

सन् २०१६ मा फिफाको अध्यक्ष पद सम्हालेयता उनले ४८ देशको विश्वकपलाई आफ्नो सबैभन्दा ठूलो प्राथमिकता राखेका छन् । अहिलेको तुलनामा १६ टिमको बढोत्तरी सबैभन्दा ठूलो हो ।

सन् १९३० को पहिलो विश्वकपमा १३ टिम सहभागी थिए । सन् १९३४ देखि १९७८ सम्म १६ टिमले विश्वकपमा सहभागिता जनाए । सन् १९८२ मा यसलाई बढाएर सहभागी टिम संख्या २४ पुर्‍याइएको थियो । अब ४८ टिमको विश्वकप हुँदा अफ्रिका र एसियाबाट बढी देश छनोट हुनेछन् ।

नयाँ ढाँचाअनुसार अफ्रिकाबाट ९ टिमले छनोट अवसर पाउने सक्ने छ । पछिल्लोपल्ट पाँच टिम छनोट हुने नियम थियो । यस्तै एसियाबाट प्रतिनिधित्व गर्ने टिम संख्या पनि साढे चारबाट बढेर आठ पुर्‍याइने छ ।

अहिलेसम्म अन्तरमहादेशीय प्लेअफमै निर्भर रहेको ओसियाना क्षेत्रले सिधै एक छनोटको अवसर पाउने छ । नाइजेरियाली पूर्वअन्तर्राष्ट्रिय खेलाडी सन्डे ओलेस अफ्रिकाका लागि अबको विश्वकप ठूलो अवसर हुने मान्छन् ।

उनी भन्छन्, ‘हामीलाई पहिलदेखि नै भन्दै आएका छौं, अफ्रिकाका लागि विश्वकपमा बढी स्थान हुनुपर्छ । अफ्रिदी देशले जति बढी मौका पाउनेछ, त्यति नै राम्रो प्रदर्शनको सम्भावना बढ्ने छ । अफ्रिकाको जनसंख्या एक अर्बभन्दा बढी छ । हाम्रो आफ्नै देशको जनसंख्या मात्रै पनि २० करोडबराबर छ । त्यसैले पनि बढी सहभागी हुने विश्वकप हाम्रा लागि ठीक हो ।’

अफ्रिकाबाट बढी टिमले विश्वकप खेल्न पाउने कुरा त्यहाँका पारम्परिक शक्तिका लागि सुखद समाचार पनि हो ।

इजिप्ट, अल्जेरिया र नाइजेरिया जस्ता शक्तिशाली टिम यसपल्टको विश्वकपमा छनोट हुन सकेका थिएनन् । युरोपबाट पनि सहभागी टिम संख्या १३ बाट बढेर १६ पुग्ने छ ।

यस्तै दक्षिण अमेरिकाका अहिलेसम्म साढे चारको छनोट सम्भावना रहेकामा त्यो बढेर ६ पुग्नेछ । क्यानडा, अमेरिका र मेक्सिको आयोजकका रूपमा स्वतः छनोट हुनेछन् । त्यसैले यो क्षेत्रबाट यी टिमबाहेक थप तीन टिम छनोट हुनेछन् र कुल यसको संख्या ६ पुग्नेछ ।

थप दुई टिमको निर्णय भने प्लेअफबाट हुनेछ । सहभागी हुने टिम संख्या बढेयता प्रतियोगिताको ढाँचा कस्तो हुनेछ, त्यो भने हेर्नलायक रहनेछ । अहिलेसम्म फिफाले ३–३ टिम रहने १६ समूह बनाउने योजना बनाएको छ ।

प्रत्येक समूहबाट शीर्ष दुई टिम अगाडि बढ्नेछन् । यस्तो नकआउट चरणमा ३२ टिम हुनेछन् । चार टिमसम्मिलित समूहको ढाँचा कतारमा निकै सफल रहेको हुनाले फिफाले यसबारे पुनर्विचार गर्ने योजना बनाएको छ ।

चार टिमको समूह चरणको अन्त्यसम्म पनि छनोट हुने टिमका लागि कडा प्रतिस्पर्धा चलेको थियो । अध्यक्ष इन्फोटिनो स्वयंले फिफा तीन टिमको समूहबारे पुनर्विचार गर्ने पक्षमा रहेको बताएका छन् ।

सम्भवतः सन् २०२६ को विश्वकपमा ४–४ टिमको १२ समूह हुनेछ । प्रत्येक समूहको शीर्ष दुई टिम स्वतः अर्को चरण पुग्नेछन् । त्यसपछि प्रत्येक समूहको तेस्रो स्थानमा रहेका उत्कृष्ट ८ टिमले पनि नकआउट चरण यात्रा तय गर्नेछन् ।

यो ढाँचामा कुल १ सय ४ खेल हुनेछ । कतारमा ६४ खेलमात्र भएको थियो । यस्तै फाइनल पुग्ने टिमले अबको ढाँचाअनुसार ८ खेल खेल्नुपर्नेछ । अबको विश्वकपमा खेल आयोजना हुने रंगशाला संख्या पनि १६ पुग्नेछ ।

कतारमा जम्मा ८ रंगशालामात्र प्रयोगमा आएको थियो । अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ रंगशाला प्रयोग हुनेछन् । अमेरिकामा प्रयोग हुने सबै रंगशाला एनएफएल टिमका मैदान हुनेछन् ।

अध्यक्ष इन्फाटिनोले सहभागी टिम संख्या बढेपछि विश्वकपबाट आउने आम्दानी पनि बढ्ने बताएका छन् । सन् २०१६ सम्म ४ वर्षको चक्रमा आम्दानी बढेर ११ अर्ब डलर पुग्नेछ । सन् २०२२ को तुलनामा यो साढे ७ अर्बले बढी हो ।

इन्फाटिनोले भनेका छन्, ‘हामीलाई फुटबलको वास्तविक शक्ति थाहा छ । सहभागी टिम संख्या बढेपछि त्यसको प्रभाव पनि बढ्नेछ । अबको विश्वकप उत्तर अमेरिकामा हुँदै छ र यो अझ ठूलो हुनेछ ।’ (एजेन्सीहरुको सहयोगमा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *