गुरुङ गृहमन्त्री, पुन विज्ञान-प्रविधि मन्त्रीमा सिफारिस
काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन्। गुरुङले आजै दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ।
यसअघि गत चैत १३ गते गृहमन्त्रीका रूपमा नियुक्त भएका गुरुङले आफ्नो सम्पत्ति विवरणको विषयमा सार्वजनिक रूपमा प्रश्न उठेपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिएका थिए। उनी गृहमन्त्री हुँदा र त्यसपछि उठेका विभिन्न सार्वजनिक सरोकारका विषयमा गम्भीर अध्ययन तथा छानबिन गर्न सरकारले एउटा विशेष समिति गठन गरेको थियो।
पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित उक्त छानबिन समितिले गत शुक्रबार प्रधानमन्त्री शाहसमक्ष आफ्नो विस्तृत प्रतिवेदन बुझाएको थियो। आजै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य गुरुङको सम्बन्धमा छानबिन गर्न गठित समितिले पेस गरेको उक्त प्रतिवेदनलाई औपचारिक रूपमा ग्रहण गर्ने निर्णय गरेको छ। प्रतिवेदनले क्लिन चिट दिएपछि उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी सुम्पन लागिएको हो।
यसैगरी प्रधानमन्त्री शाहले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं प्रतिनिधिसभा सदस्य महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा सिफारिस गरेका छन्। नवनियुक्त मन्त्री पुनको पनि आजै दिउँसो राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।
