बैंककै कर्मचारी मिलेर ग्राहकको डेढ करोड हिनामिना, ९ जना पक्राउ

विराटनगर । आफ्ना ३३ जना ग्राहकको खाताबाट अनधिकृत रुपमा डेढ करोड रुपैयाँभन्दा बढी झिकेर हिनामिना गर्ने सुनसरीको इटहरीस्थित एभरेस्ट बैंक शाखा प्रमुखसहित ९ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एभरेस्ट बैंक इटहरीका शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय विश्वराज शाक्यसहित ७ जना बैंकका कर्मचारी छन् । त्यसमा सहयोग गर्ने अरु दुईजना पनि पक्राउ परेका हुन् ।

सुनसरी प्रहरीका डीएसपी राजकुमार राईका अनुसार ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको आधारमा पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बैंकको गाईघाट शाखाका अपरेसन इन्चार्ज विराटनगरका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ वर्षीय दावा लामा, कनिष्ठ सहायकहरू भोजपुर षडानन्द नगरपालिका–९ का २७ वर्षीय मनोज घिमिरे, इटहरी–७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ वर्षीय रन्जित पण्डित र इटहरी–२ की ३० वर्षीया टेलर पवित्रा कटवाल छन् ।

ठगी गर्ने काममा सघाउने धनुषाका शंकर भुजेल र भक्तपुर सूर्यविनायकका अजय खिउजु पनि पक्राउ परेका छन् । प्रधानलाई प्रहरीले गत चैत २२ गते पक्राउ गरेको थियो । त्यस्तै भुजेललाई वैशाख १० र खिउजुलाई बैशाख १३ गते पक्राउ गरेको प्रहरीले जनाएको छ । अन्यलाई जेठ ५ गते शुक्रबार पक्राउ गरिएको हो ।

बैंकका कर्मचारीले बैंकको कम्प्युटर आईडी पासवर्ड दुरुपयोग गरी कनेक्ट–आईपीएसमार्फत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको १ करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम झिकेको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका कर्मचारीसहित सबै जनालाई बैंकिङ कसुर र संगठित अपराध निवारण ऐन २०७० अनुसारको कसुर मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *