अधिकारी दम्पतिले बिताएका कष्टदायी ती रातहरु

बुहारी हामीबाट छुट्टिँदा झमक्क साँझ परिसकेको थियो । बस्ने सस्तो होटल खोज्दै हामी डल्लुदेखि कलंकीसम्म पुग्यौं । हिँड्दाहिँड्दा साँझ निख्रिसकेको थियो । खुट्टा फतक्क गलिसकेको थियो । पर एक ठाउँमा पिलपिल बत्ती बले जस्तो देख्यौं । होटल रहेछ त्यो । अलिक नजिक गएपछि छोराले होटलवालालाई बोलायो र भन्यो, ‘खाना छ दाइ ?’ 

‘छ, कति जनालाई ?’ होटलवालाले सोध्यो । 

हामीले ‘तीन जनालाई’ भन्यौं । रातको नौ बजिसकेको रहेछ । खाना चिसो भएकाले तताउन थाल्यो साहुजीले । माथिल्लो तलामा डबल बेड भएको कोठा पनि खाली रहेछ । हामी त्यस रात त्यहीं बस्यौं । 

उहाँसँग ६–७ हजार पैसा रहेछ । त्यसै बिहान गाउँतिरको एक जना बाबुसँग सापटी लिनुभएको रे । अलपत्रमा परियो भने नातिलाई खुवाउन हुन्छ भनेर ल्याएको भन्नुभयो । तर, अब त नाति थिएन । हामी आफैं अलपत्रमा परेका थियौं । 

सात दिनमा भएको पैसा सबै सकियो । 

‘ल दाइ, म पैसा खोजेर ल्याउँछु, बुबा ममी यहीं बस्नुहुन्छ’ भन्दै होटल साहुलाई हाम्रो जिम्मा लगाएर छोरो निस्क्यो । 

साँझ छोरा आएन । तीन चार दिन उसकै बाटो हेरेर बितायौं । उसलाई कता के भयो भन्ने चिन्ता हामीलाई एकातिर थियो । अर्कातिर होटल साहु हामीमाथि झम्टिन आइपुग्यो । 

‘ओइ बूढा ! छोरालाई कहाँ भगाइस् ?’ उसले उहाँलाई भन्यो, ‘भोलिसम्ममा पैसा ल्याइनस् भने तँलाई यही होटममा मार्दिन्छु !’

भोलि पल्ट साँझ तीन जना रक्सीले मातेका मान्छेहरु आए । पैसा ले भनेर थर्काए । एउटाले मेरो बूढाको कठालो समातेर मझेरीमा थचार्दियो । साहुले पनि रक्सी खाएको रहेछ । उनीहरु चार जना भए जम्मा गरेर । 

‘कि छोरो बोलाएर पैसा तिर्न लगाओ कि भने मर्न तयार होेओ,’ होटल साहुले हामीलाई भन्यो । बाहिर सटर बन्द भइसकेकाले हामी भाग्न पनि सकेनौं । माथि छतमा जाने ढोका पनि बन्द थियो । झ्यालढोका थुनेर हामीलाई कुटपिट गर्न उनीहरु आएका रहेछन् । 

हामीलाई त्यतिखेर अब ज्यान यही होटलमा जाने भयो भने जस्तो लाग्यो । तर, उपाय केही नभएकाले चूप लागेरै बस्यौं । अलिपछि उनीहरु गए । भोलिपल्ट हामीलाई उसले खानै दिएन । पर्सि पल्ट पनि भोकै परियो । भोक र तिर्खाले आलसतालस भएर हामी होटलको कोठामै बन्दी जसरी बसिरह्यौं । साहु चाहिनेले ढोकामा बाहिरबाट चुकुल लगाइदिएकाले निस्कन पनि सकिँदैनथ्यो । झ्यालबाट हेर्दा पर बाटामा मान्छे ओहोरदोहोर गरेको देख्थ्यौं । तर, कसैलाई बोलाएर गुहार पनि माग्न मिल्ने अवस्था थिएन । निकोर्सिका दिन होटलमा केही अरु मानिस पनि आए । त्यसपछि भने साहुले ढोकामा लगाएको चुकुल खोलिदियो । 

अर्काेपट्टि कोठामा बसिरहेका उनीहरु छ सात जना जति थिए । हामी यता झोक्र्याए बसिरहेको उनीहरुले देखेछन् । के कसो भनेर सोधखोज गर्न थाले । उनीहरु पोखरातिरका रहेछन् । जग्गा किन्न भनेर आएका रे । हामीलाई भोकभोकै बसेको देखेर दया पलाएछ ।


त्यो होटलमा काम गर्ने पारस नाम गरेको एक जना केटो थियो । खाना तयार भएपछि ऊ बोलाउन आउँथ्यो । त्यस दिन पनि ऊ ती पोखरेलीहरुलाई बोलाउन माथि उक्ल्यो । 

‘लौ हिँड्नुस्, हजुरहरु पनि’ एउटी फरासिली नानीले हामीलाई भनिन् । 

‘तपाईंहरु जानुस् न,’ उहाँले भन्नुभयो ।

उनीहरु गए, खाए र आए । 

‘किन नझरेको ?’ ती नानीले सोधिन्, ‘भोक लागेको छैन ?’

मैले पैसा तिर्न नसक्दा तीन दिनसम्म भोकभोकै बस्न परेको कुरो सुनाएँ । 

हाम्रो हाल देखेर उनी चकित परिन् । 

‘यस्तरी पनि होटलमा राख्न पाइन्छ मान्छेलाई ?’ उनले भनिन्, ‘लौ हिंड्नुस्, आजको खाना म खुवाउँछु ।’

हामीले जान्नौं भन्दा पनि पाखुरामा समातेर लगिन् । अनि होटल साहुलाई भनिन्, ‘यी बाआमालाई तीन दिनदेखि भात खान दिनुभएको छैन रे, हो ?’
‘हो, यिनीहरुको छोरा पैसा ल्याउँछु भनेर भाग्यो । आठ दश दिन भइसक्यो, यिनीहरुलाई खुवाएको । सधैं खुवाउन यिनीहरु मेरा आमा होइन बा होइन !’ त्यो साहुले भन्यो । 

‘लौ आज र भोलिको पैसा म तिरम्ला, भात खुवाउनुस् त उहाँहरुलाई !’ ती नानीले भनिन् । 

अनि त्यसपछि प्लेटमा भात–तरकारी ल्याएर दिए । 

‘हामी पनि माओवादी हो आमा ! तर, कसैलाई दुःख दिएका छैनौं,’ ती नानीले भनिन्, ‘दुःख दिने नीति माओवादीको छँदा पनि छैन । माओवादीका नाममा कसैले यसो गरेको हो भने त्यसलाई कारबाही गर्नुपर्छ ।’ 

यति भनेर उनले नौ सयजति भारू र स्याउ, सुन्तला, अंगुर अनि केराको ठूलो पोको हामीलाई दिइन् । 

‘हामी गएपछि यिनीहरुले भात खान दिएनन् भने यो खानुहोला है’ पनि भनेकी थिइन् उनले । उनीहरुको यस्तो मिजासिलो व्यवहार देखेर त्यसबेला मलाई लाग्यो, माओवादीले होइन, माओवादीको निहँु गरेर हामीसँग रीसइबी भएका मान्छेले छोरालाई मारेका हुन् । 

उनीहरु गए । भोलिपल्ट साहु चाहिँ आयो । अनि भन्यो, ‘जा, पैसा खोजेर ल्या ।’

सकें भने ल्याउँछौं भनेर निक्लन लाग्दा उसले मलाई चाहिँ रोक्यो । अनि नूरप्रसादको बालाई भन्यो, ‘तँ मात्रै जा, पैसा ल्याएपछि यसलाई    पठाउँला ।’

साह्रै नमीठो बोली थियो उसको । उहाँ मलाई पीर नगरी बस् भनेर जानुभयो । 

साँझ उहाँ पनि आउनुभएन । जानु अघि मलाई भन्नुभएको थियो, ‘पैसा पाए म भरे आउँछु, पाइन भने एक दुई दिनमा खोजेर आउँछु । छोरा कता गयो, त्यो पनि बुझ्छु । तँ चाहिं नरोईकन बस्नु ।’

बाबु–छोरा आउलान् भनेर कुर्दाकुर्दै दशैं लाग्यो । ‘ए गोर्खाकी आमा !’ फूलपातीको दिन चाहिँ साहुले मलाई भात खान दिने भएछ, काम गर्ने केटोले बोलायो, ‘आउनुस् भात खान ।’

म गएँ । तर, पीरैले होला, भोक सुकिसकेको थियो । खान लाग्दा साह्रै नराम्रो वचन लगायो साहुले । मन चसक्क भयो, तर भात जुठो हालिसकेकाले नबोलीकनै खाएँ । 

दिउँसो होटलमा केही प्रहरी आए र मेरो सोधखोज गरे । बूढाले कालीमाटी प्रहरी थानामा गएर खर्च नहुनाले आफू आपत्मा परेको कुरो गर्नुभएछ । म होटलमै बँधुवा भएर बस्नुपरेको पनि बताउनुभएको रहेछ । त्यही मौखिक उजुरीका भरमा प्रहरी मकहाँ आएका थिए । 

उहाँलाई र छोरालाई हनुमानढोकामा थुनेर राखेका रहेछन् । त्यो चाहिँ मैले धेरै पछि मात्रै थाहा पाएँ । 

‘खान पाइरहनुभएको छ आमा ?’ उनीहरुले सोधे । मैले ‘चार दिनपछि आज खाएँ’ भनें । 

प्रहरीले किन दिनहुँ खान नदिएको भन्दा साहुले उही उत्तर, ‘पैसा नदिनेलाई किन खान दिने त ?’ दियो । 

प्रहरीले मलाई बाहिर जान मन छ कि भनेर सोधे । म एक्ली कता जानु ? साहु दुष्टै भए पनि बाबु छोरा नआउन्जेल होटलमै बस्नु जाती भन्ने लाग्यो । अनि भनें, ‘हैन, यहीं ठीक छ ।’

त्यसपछि प्रहरीहरु गए । भोलिपल्ट अष्टमीका दिन पनि साहुले भात चाहिँ खुवायो । अनि खाँदै गर्दा हिजो जस्तै अपशब्द बोल्यो र भन्यो, ‘लौ खा, कुकुरको गु !’

आज चाहिँ खानामा केही चौटा मासु पनि थियो । मैले सधैंझैं नबोली खाएँ । गाली गरे पनि खान दिएकै छ भन्ने ठानेर चूप लागें । तर, आँसु चाहिँ बेस्सरी बग्यो । अब त नरो भन्ने पनि कोही थिएन । त्यो सम्झेर झन् झन् रून आयो । 

साँझ चाहिँ मलाई कहिले पनि खान दिएनन् । मर्ली भनेरै होला, बिहान चाहिँ त्यसपछि पनि दिए । दशमीको दिन भने उसले मुख छाडेन । बरू भन्यो, ‘आमा ! आज तपाईंका लागि मात्रै पकाएको छ एउटा सानो ताउलीमा । लौ, खान आउनुस् ।’

उसका मुखले यसरी मान गरेर बोलाएको सुन्दा अनौठो लागेर आयो । आज के भएछ यल्लाई भन्ने ठानेर तल ओर्लें । 

उसका बाआमा बागबजारमा बस्दारहेछन् । अनि टीका लगाउन जान उसको परिवार ठिक्क परेको रहेछ । 

मलाई घर कुर्नु है आमा भनेर फेरि मायालाग्दो गरी भन्यो । मैले हुन्छ भनें । त्यस दिन उसले ढोकामा छेस्कनी होइन तल सटर र बीचमा च्यानल गेट लगायो । बस्नु है भनेर उनीहरु नौ बजेतिर गएका थिए । अनि जाने बेलामा पुलुक्क मतिर फर्केर साहु चाहिँले भनेको थियो, पासो लाएर चाहिँ नमर्नुस् है ! शायद, मलाई अति दुःख भएको छ भन्ने चाहिँ उसलाई थाहा थियो । मैले कतै पासो पो लाइहाल्छु कि भनेर पो हो कि, उनीहरु दुई बजेतिर आइहाले । अनि आउने बित्तिकै सरासर माथि उक्लेर साहु चाहिँले सोध्यो, ‘आमा, ठीक त छ नि सबै ?’ मैले ठीकै छ भनें । 

(पत्रकार घनश्याम खड्काको हालै प्रकाशित गंगामायाको आत्मकथा ‘न्यायको अवसान’ बाट)
 

प्रदेशलाई प्रदेशकै रुपमा बुझ्नुपर्छ, ती अलग राष्ट्र होइनन्ः प्रम ओली

काठमाडौँ ।  संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना

\"अर्थ सचिब राजन खनालको चरीत्र देखेर छक्क परें\" सोमलाल सुबेदी,पूर्व मुख्य सचिब

म देशको प्रतिनिधित्व गरी एसियाली विकास बैंकमा वैकल्पिक कार्यकारी निर्देशकमा इमान्दारीपूर्वक काम गर्दै थिएँ । छापामार शैलीमा मलाई फिर्ता बोलाइयो ।

 जोशीको नाम अनुमोदन गर्नुहुँदैन, निरु पाल,संसदीय सुनुवाई विशेष समिति सदस्य

संसदीय सुनुवाई विशेष समिति अनिर्णयको बन्दी भयो । किन ? खै, अनिर्णयको बन्दी किन बनाउन खोजेका छन्, मलाई पनि थाहा छैन । पटकपटक बैठक बस्ने, निर्णय गर्न

उनको पाइलट बन्ने सपना थियो तर......!

उनले शक्तिकेन्द्रमा ठोकिन आउने ठूला साना किसिमका आफ्ना लागि भक्ति गाउन झुम्मिने झुण्डहरुका एक होईन अनेक दृश्यहरु देखेका छन् । कहिले अप्रत्यक्ष