केही अनौठा र केही दुर्दान्त उदाहरण

काठमाडौं । २०४८ सालमा तत्कालीन संसदमा विदेशी सहयोगको वर्षा हुने भयो । विभिन्न मुलुकहरुले संसदमालाई सहयोग गर्ने भए । तर, त्यसबेलाको सरकारले कडा अडान लियो, संसदमा विदेशी सहयोग नलिने भनेर । 

संसदका लागि चुनाव हुन लाग्दा अमेरिका र वेलायतले सबै सांसदलाई तालिम दिने, संसदलाई विभिन्न भौतिक सहयोग गर्ने प्रस्ताव तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई समक्ष राखेका थिए । भट्टराईले संसदमा विदेशी सहयोग नलिने अडान लिए । त्यसपछि पश्चिमाहरुबाट परिचालित एनजीओहरुले भट्टराई विरुद्ध अभियान चलाए । त्यसबेला धमाधम खुलिरहेका एनजीओहरु भट्टराई विरुद्ध केन्द्रीत भए । भट्टराईले चुनाव हारे । 

यो एउटा कारणले मात्र भट्टराईले चुनाव हारेको भन्न चाहिँ मिल्दैन । 

चुनावपछि सभामुख बने दमननाथ ढुंगाना । राष्ट्रिय सभा अध्यक्ष बने बेनीबहादुर कार्की । संसदका त्यसबेलाका कर्मचारीहरुका अनुसार ढुंगाना र कार्कीको द्धन्द चर्कियो । कारण थियो संसदमा विदेशी सहयोग भित्र्याउने विषय । दमननाथ विदेशी सहयोग भित्र्याउने पक्षमा थिए, कार्की चाहिँ नभित्र्याउने पक्षमा थिए । चुनाव लगत्तै प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला संसदमा विदेशी सहयोग भित्र्याउन हुँदैन भन्ने पक्षमा उभिए । 

त्यस अघि नै कृष्णप्रसाद भट्टराईले एउटा अनौठो निर्णय गरेका थिए । निर्णय थियो कुर्सी सहयोग लिने । 

भट्टराईले संसदमा विदेशी सहयोग नभित्र्याउने अडान लिएपछि वेलायतले प्रस्ताव राख्यो– त्यसो भए हामी राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुख बस्ने कुर्सी उपहार दिन्छौं । 

प्रतिकात्मक थियो यो उपहार । जसरी पनि सहयोगको बहानामा संसदमा घुस्ने वेलायतको नियत थियो । संसदको जननी वेलायतले दिएको कुर्सी उपहार प्रतिकात्मक हुन्छ भन्ने ठहर भट्टराईको थियो । त्यसैले संसद सुरु हुनासाथ वेलायती कुर्सी उपहार आइपुग्यो । 

राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाका सभामुख त्यही वेलायती उपहारको कुर्सीमा बस्न थाले । 

सभामुख दमननाथ विदेशी सहयोग लिन हुन्छ भन्ने पक्षमा थिए, प्रधानमन्त्री कोइराला विपक्षमा थिए । यही कारण कोइराला र ढुंगाना बीच द्धन्द चर्कियो । द्धन्दकै बीचमा संसदमा दर्जनौं टेलिभिजन सेट भित्रिए । ती टेलिभिजन दक्षिण कोरिया सरकारले उपहार दिएको थियो । अर्थ मन्त्रालयमा कुरा मिलाएर ढुंगानाले ती सेट संसदमा भित्र्याएका थिए । कोइरालालाई यो कुरा थाहा थिएन । यो प्रकरणबाट कोइराला र ढुंगानाको द्धन्द झन् चर्कियो । 

ती टेलिभिजन सेट संसदको कार्यसूची प्रदर्शन गर्न क्यान्टिनदेखि विभिन्न ठाउँमा राखिएका थिए । लगभग अर्थहीन थियो टेलिभिजन सेट । 

त्यो कालमा संसदमा विदेशी सहयोग लगभग छिर्न पाएन । तर, संसदभित्र घुस्ने दाताहरुको उद्देश्य जारी थियो । उनीहरुले एनजीओलाई प्रयोग   गरे । दाताहरुले सांसदहरुलाई एनजीओ खोल्न उत्प्रेरित गरे । सांसदको सिफारिसमा एनजीओहरुले रकम पाउने व्यवस्था गरे । यसको लाभ एमालेका सांसदहरुले मनग्ये उठाए । खासगरी कम्युनिष्टहरु, विशेषगरी एमाले सम्वद्ध व्यक्तिहरुको एनजीओहरुलाई पश्चिमाहरुले ठूलो सहयोग दिए । 

सांसदहरुलाई एनजीओले विदेश घुमाउन थाले । तथापि, ०६३ अघिको कालखण्डमा संसदमा विदेशी सहयोग नगन्य थियो, किनभने संसदमा विदेशी सहयोग नलिने नीति थियो । 

दिल्लीदेखि संसदसम्म

भारतको नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को क्षेत्रीय मुख्यालय थियो । मुख्यालयले केही सांसदहरुलाई दिल्ली भ्रमण गरयो । 

०६३ सालको कुरा थियो यो, भरखरै लोकतान्त्रिक आन्दोलन सफल भएको थियो । पुनस्र्थापित प्रतिनिधिसभा थियो । 

एमाले सांसद विजय सुब्बा लगायतले दिल्ली भ्रमण गरेका थिए । उनीहरुको दिल्ली भ्रमण सरकारबाट स्वीकृत थिएन । न त संसद सचिवालयले नै उनीहरुलाई सांसदको हैसियतमा दिल्ली जान अनुमति दिएको थियो । आफूखुशी गएका थिए उनीहरु । 

दिल्लीमा विजय सुब्बा लगायतका सांसदहरुलाई आईएलओ महासन्धी नेपालले अनुमोदन गर्नुपर्छ भनेर मनाउने काम भयो । 

विजय सुब्बाको टोली स्वदेश फर्कियो । आईएलओ महासन्धी अनुमोदन गराउन सजिलो काम थिएन । किनभने त्यसअघि श्री ५ को सरकारले यो महासन्धी अनुमोदन गर्न अस्वीकार गरेको थियो । पश्चिमाहरुको निरन्तर दवाब भए पनि सरकारले मानेको थिएन । भारत र चीन दुवैले यो महासन्धी अनुमोदन गरेका थिएनन् । दुवै देशले अहिलेसम्म पनि अनुमोदन गरेका छैनन् । भारत र चीन दुवैले यो महासन्धीलाई घातक भनेका छन् । 

विजय सुब्बाको टोलीले सांसदहरुको गोप्य वैठक थाल्यो । काठमाडौंका तारे होटलहरुमा आदिवासी जनजाति सांसदहरुको वैठक थालियो । वैठकको खर्च आईएलओका प्रतिनिधिहरुले व्यहोर्थे । उनीहरुले सांसदहरुलाई यातायात खर्च भन्दै खाममा राखेर नगद पनि दिन थाले । 

प्रतिनिधिसभा पुनस्र्थापनापछि सांसदहरुले एनजीओ तथा आईएनजीओको खामवन्दी रकम बुझ्ने चलन सुरु भयो, जो पछि व्यापक बन्यो । 

आईएलओले विजय सुब्बा मार्फत आयोजना गरेको विभिन्न वैठकहरुले ठहर गर्यो– सरकारले यो महासन्धी सीधै अनुमोदन गर्न सक्दैन । किनभने विगतमा सरकारले अनुमोदन गर्न अस्वीकार गरिसकेको थियो । 

त्यसपछि उपाय निकालियो– संसदमा संकल्प प्रस्ताव पारित गरेर सरकारलाई दवाब दिने । 

आईएलओ– १६९ नेपाल सरकारले पारित गर्नुपर्छ भन्ने संकल्प प्रस्ताव विजय सुब्बाले राखे । संसदले आँखा चिम्म गरेर प्रस्ताव पारित गर्यो । त्यसको केही दिनमा नेपाल सरकारले आईएलओ १६९ अनुमोदन गर्ने निर्णय गर्यो । 

यसरी एउटा विदेशी मिसन सफल भयो । भारत र चीनले अनुमोदन गर्न नमानेको, विश्वका अधिकांश देशले अनुमोदन गर्न नमानेको महासन्धी नेपालले आँखा चिम्म गरेर अनुमोदन गरिदियो । 

संसदमा विदेशी सहयोग प्रत्यक्ष मात्र भित्रिँदैन, चोरबाटोबाट पनि भित्रिन्छ र विदेशी सहयोगले मुलुकलाई कसरी धरापमा पार्छ भन्ने अनेक उदाहरणमध्ये एउटा उदाहरण हो आईएलओ १६९ ।

आईएलओ १६९ अनुमोदन गरिएपछि पश्चिमा आईएनजीओहरुले नेपालका आईएनजीओहरुलाई जातीय आन्दोलन गर्न रकम दिने बाटो खुलेको थियो । आईएलओ १६९ ले दिएको अधिकार भन्दै जल, जमिन र जंगल आदिवासी जनजातिको हो र यसमा हामी कर उठाउँछौं भन्दै विभिन्न समूह जन्मिए । 

आईएलओ १६९ को प्रचार प्रसार गर्ने भन्दै आईएलओले विभिन्न एनजीओ तथा वकिलहरुको एनजीओलाई पनि ठूलो रकम सहयोग दियो । त्यसपछि नेपालको राजनीतिमा जातीयकरण झन् चर्काे भएको थियो । 

संसदमा विदेशी सहयोग घुस्यो भने त्यसको अनेक नकारात्मक असर पर्छ । भारत र चीन दुवैले संसदमा विदेशी सहयोग घुस्न दिँदैनन् । बंगलादेशले पनि संसदमा विदेशी सहयोग नलिने भएको छ । कतिसम्म भने, सानो मुलुक भुटानले संसदमा कुनै विदेशी सहयोग नलिने, सांसदहरुलाई गैरसरकारी संस्था तथा आईएनजीओहरुको सम्पर्कमा जान नदिने नीति लिएको छ । 

संसदमा विदेशी सहयोग घुस्न नदिने नेपालको पूरानो नीति वर्तमान सरकारले पुनर्जिवित गर्न आवश्यक छैन त ?
 

नेकपा सचिवालय बैठकमा बामदेव प्रकरणबारे बहस, मानन्धरको राजिनामा अस्वीकृत

काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा नेताहरूका बीचमा भएका विवाद र असहमतिका विषयमा छलफल भएको छ । सचिवालय

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको

‘देश तनावमा छ जनाव’

पलाञ्चोक भगवतिको दर्शन गर्दा रातो पहिरनमा सजिएकी राष्ट्रपति विद्यादेवी भण्डारी दिउँसो अर्कै रंगको पहिरनमा भद्रकाली दर्शन गर्न पुगेकी थिईन् ।

चक्रलाई दुईपटक प्रधानमन्त्री बन्ने अवसर आउँदा रोक्ने को हो ?

माओवादीले थालेको हिंसात्मक जनयुध्दको असरले नेपालमा धेरै ठूलो परिमाणमा जनधनको क्षति हुन थालेपछि उहाँले त्यसलाई रोक्न पहल गर्नुभएको थियो । नेता