फुटबल हेरौं,सरकारको निगरानी गर्न नछोडौं

कुनै अनिष्ट नभएको अवस्थामा आगामी मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका नेता कीम जोन उनसँग ऐतिहासिक भेटवार्ता गर्नेछन्।  त्यसको दुईदिनपछि रसियामा फुटबलको महाकुम्भ २०१८ शुरु हुँदैछ। म सोच्दैछु, यी दुई घटनामध्ये कुन चाहिँ बढी महत्वपूर्ण हो? संचार माध्यमहरुमा कसले बढी प्राथमिकता पाउने होला?

यो प्रश्नको जवाफ जटील छैन। अमेरिकी संचार माध्यमका लागि ट्रम्प कीम वार्ता निश्चित रुपमा बढी वजनदार हुनेछ। तीन दशकपछि यसपटकको विश्व कपमा अमेरिकाले छनौटको चरण समेत पार गर्न सकेन। यस अर्थमा अमेरिकी समाचार उपभोक्ता र खेल प्रशंसकहरुका लागि विश्व कप फुटबल २०१८ खासै रुचिको बिषय नहुन सक्छ। 

अमेरिकीहरुमा गजबको दम्भ छ। ईतिहासमा बेलायती उपनिवेश रहेका प्राय सबै मुलुकहरुमा क्रिकेट लोकप्रीय छ। अमेरिकामा क्रिकेटलाई त्यति चाखको खेल मानिँदैन। यसको विकल्पमा अमेरिकीहरुको आफ्नै खेल ‘बेसबल’ छ। संसारको सर्वाधिक लोकप्रीय ‘फुटबल’ लाई अमेरिकीहरु आफ्नै भाषामा ‘सकर’ भन्न रुचाउँछन्। 

यसको बिकल्पमा उनीहरुको आफ्नै ‘फुटबल’ खेल हुन्छ। जसमा दैत्याकार खेलाडीहरु शरीरभरी कवच भिरेर मैदानमा उत्रिन्छन। यसमा क्रिडाकला र मगज भन्दा ‘मसल’को प्रयोग बढी हुन्छ। तर, अमेरिकामा यो खेलले बार्षिक खरबौंको कारोबार गर्छ। यो खेल अमेरिकाको अलिखित धर्म हो।

खेलकूदको बिश्वब्यापी रंगमंचबाट अमेरिका एक्लिएको कारण डोनालड ट्रम्प प्रवृत्तिको उदय होईन। यो संस्कार अमेरिकामा शुरु देखिनै थियो। तर डोनाल्ड ट्रम्पको उदयपछि अमेरिका अर्थ–राजनीतिक मामिलामा बिस्तारै उत्तर कोरिया हुनथालेको छ। ट्रम्पले अमेरिकाको परम्परागत प्रतिस्पर्धी रसियासँग साँठगाँठ गरेर चुनाव जितेको आशंकामा छानवीन हुँदैछ। 

क्यानडामा हुँदैगरेको जी ७ नामक बिकसित मुलुकहरुको सम्मेलनमा ट्रम्पले रसियालाई पनि समावेश गर्नुपर्ने धारणा राखेपछि अमेरिकासँग व्यापारिक सामरिक स्वार्थ रहेका सहयोगी राष्ट्रहरु तीन छक्क परेका छन्। यी बिकसित राष्ट्रका नेताहरुले रसियाले मार्च २०१४ मा युक्रेनको क्रिमियालाई आफ्नो अधीनमा लिएपछि रसियालाई यो समूहबाट बहिष्कृत गरेका हुन्। 

संयोगवश, विश्व कप फुटबल रसियामा नै हुँदैछ। ट्रम्प अमेरिकाबाट आफ्नै फुटबल खेल्दैछन्।  

एक महिने राप-ताप-प्रताप 

डोनाल्ड ट्रम्पको लहडी राजनीति एकातिर छ। अर्कोतिर अमेरिकाको ३० करोड जनसंख्या घटाएर बाँकी रहेको ६ खर्ब ७० अर्ब जनसंख्या अबको एक महिना विश्व कप फुटबल २०१८ को रोमान्चमा विस्मृत हुनेछ। राज्य संचालन गर्ने ठेक्का लिएका सक्षम–असक्षम सबै खालका नेताहरुका लागि यो एक महिना त्राण हो।  यो एक महिना विश्वका जनताले आफ्नो घरमा पानी नआएको गुनासो गर्नेछैनन्। तर बिजुली अचानक चेट् भयो भने फेसबुकमा सरकारलाई पक्कै गाली गर्नेछन्। बाटोका खाल्डाखुल्डीले फुटबलका यी प्रीय प्रशंसकहरुलाई कुनै असर पार्नेछैन। मालपोतमा भ्रष्टाचार हुन्छ। उनीहरुले यसको चिन्ता एक महिना पछि गर्नेछन्। अहिले फुटबलको मौसम छ।


राज्य संचालन गर्ने ठेक्का लिएका सक्षम–असक्षम सबै खालका नेताहरुका लागि यो एक महिना त्राण हो।  यो एक महिना विश्वका जनताले आफ्नो घरमा पानी नआएको गुनासो गर्नेछैनन्। तर बिजुली अचानक चेट् भयो भने फेसबुकमा सरकारलाई पक्कै गाली गर्नेछन्।

भर्खर एकीकृत नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नाम मुनीको धर्सो हटाएर आफ्नो नाम नेकपा (नेकपा) कायम गर्यो। सुवास नेम्वाङ्ग नामका एकजना मान्छे छन्। कुनैबेला फुटबलका कुशल खेलाडी उनी स्नातक पास गरेर वकील भएपछि फुटबल खेल्न छाडेर राजनीतिको फुटबल खेल्न थाले। उनी अहिले त्यो नयाँ दर्ता भएको सत्ताधारी दलका संसदीय समितिका उपनेता पनि हुन्। किड्नी फेरेका प्रधानमन्त्री केपी ओलीलाई कथं केही भएको अवस्थामा मुलुकको बागडोर सैद्दान्तिक रुपले, संविधान अनुसार उनैले हाँक्नुपर्ने हुन्छ। तर अर्जेण्टीनाका प्रशंसक यी लिम्बुले अबको एक महिना फुटबल हेर्नेछन्। शायद बाजी पनि ठोक्छन् होला। पीपलको पात भन्दा पनि पातलो प्रतिपक्षी नेपाली कांग्रेसका बिद्यार्थीहरु पेट्रोलियम पदार्थको मूल्यवृद्धिको अत्तो थापेर आन्दोलन गर्ने भन्दैछन्। फुटबल विश्वकपको ज्वार र उभार चल्दा यीनको आन्दोलनले के लछारपाटो लाउला?

खेलकूदः झगडाको बीउ 

सन् १९९५/९६ तिर होला। म गोरखापत्रको अन्तिम पृष्ठमा हरेक बिहिबार ‘नोटबूक’ नामको एउता स्तम्भ लेख्थें। त्यतिबेला क्रिकेटको विश्व कप चल्दैथियो। काठमाण्डौको बानेश्वर मेरा मिल्ने साथीहरुको जमघट हुने ठाउँ थियो। साथीहरुले क्रिकेट विश्वकप हेर्नकै लागि टेलिभिजन किन्ने कुरा आयो। सबैले आआफ्नो गच्छे अनुसार पैसा निकाले। एउटा कालो सेतो ईण्डियन टीभी पनि किनियो। फाईनलमा भारत र पाकिस्तान अथवा यसतै कुनै टीम पुगेको जस्तो लाग्छ। साथीहरु एक अर्काको टीम बिरोधी वा समर्थक थिए। शायद त्यो खेल भारतको पक्षमा गयो। त्यतिबेलासम्म भर्खर किनेको टीभी मात्र होईन, घरका झ्यालका शीशाहरु पनि फुटिसकेका थिए। सँगै बस्ने साथीहरुले डेरा नै छोडे। मैले त्यो घटनालाई आधार बनाएर गोरखापत्रमा ‘मूर्खहरुको महोत्सव’ शीर्षकमा एउटा लेख लेखें। मैले जर्ज बर्नाड शालाई उदृत गरेको थिएँ, ‘क्रिकेट मूर्खहरू खेल्छन, महामूर्खहरु हेर्छन।’ साथीहरुले त्यसपछि केही दिन मलाई बानेश्वर आउँनै प्रतिबन्ध लगाए। म बानेश्वरको सट्टा रातोपुलको बाटो गौशाला निस्किनुपर्यो। त्यो दिन देखि आजसम्म म कुनैपनि टीमको पछाडी धर्मान्ध भएर लागेको छैन। लाग्ने पनि छैन। जसले राम्रो खेल्छ, उसले जित्छ।

आफ्नै कुरा 

त्यसपछि मैले यी खेलकूद प्रतियोगिताहरुलाई गम्भीरतापूर्वक लिन छाडेको हुँ। मलाई लाग्यो, मेरो तात्कालिक प्राथमिकता के हो? भोली बिहान उठेर मैले गर्नुपर्ने महत्वपूर्ण काम के हो? के मसँग कुनै खेलको जीत वा हारसँग रल्लिएर आफ्नो गर्नुपर्ने काम छुटाउने सुविधा छ? हुनेखानेका सन्तानलाई थियो होला। तर मसँग कुनै एउटा खेलकै आधारमा कसैप्रति बैरभाव राख्ने सामथ्र्य थिएन। कुनै एउटा टीमको समर्थन नगरेकै आधारमा सामाजिक रुपले बहिष्कृत हुने चिन्ता गर्न छोडिदिएँ। मलाई लाग्यो, यो खेलकूद प्रतियोगिताको जन्जालले मेरो जीवनको प्राथमिकतालाई बंग्याउँदैछ।

फुटबल आउँछ , जान्छ, सरकार आउँदा र जाँदा जनताको जीवनमा असर पर्छ। विश्व कपमा हौसिने कारण म देख्दिन। विश्व कप फुटबल हेरौं, तर आफ्नो प्राथमिकता नबिर्सौं। सरकार चोर हो, यसको निगरानी गरौँ।

अमेरिका आएपछि मैले नोम चोम्स्कीको किताब पढ्ने मौका पाएँ। त्यो भन्दा पहिले मलाई लाग्थ्यो, यो सांसारिक खेल प्रतियोगिताले मलाई मात्रै असर पारेको हो। यी शताब्दी छुन लागेका बिद्वानको‘अण्डर्स्ट्याण्डिङ्ग पावर’ भन्ने पुस्तक पढेपछि मलाई लाग्यो, म मात्र एक्लो होईन रहेछु। 
उनी भन्छन्,‘हाम्रो समाजमा यस्ता धेरै कुरा छन्, जहाँ तपाईं आफ्नो बुध्दिमत्ताको प्रयोग गर्न सक्नुहुन्छ। जस्तो, सामाजिक सुधार वा राजनीति, तर यो सरल छैन। यो क्षेत्र सीमित हुनेखाने, धनी र अधिकारसम्पन्न परम्परागत वा नवधनाढ्यहरुको एकाधिकार भएको छ। संसारभरी यस्तै चक्र चल्दैछ। तपाईं आफुलाई कतै न कतै समावेश गर्न चाहनुहुन्छ। अन्यथा समाजले तपाईंलाई बहिष्कार गरिदिनेछ। समाजमा आफ्नो उपस्थिति कायम राख्ने सबैभन्दा सजिलो बाटो खेलकूद गर्ने कुनै एउटा टीमको समर्थक हुनु हो।’

खेलकूद, नाटक, प्रहसन जस्ता क्षणभंगुर उत्तेजनाले राष्ट्रका जल्दाबल्दा सवाललाई जनताका नजरबाट ओझेल गराउँछ। नेपाल सरकारका अहिलेका मन्त्रीहरुको अनुहार भन्दा बढी पारस थापा,सन्दीप लामिछाने, बिमल घर्तिमगर वा नवयुग श्रेष्ठलाई आजको नयाँ पुस्ताले बढी चिन्छ। युवराज खतिवडाको बजेट भाषण भन्दा रेखा थापाको अन्तर्वार्ता युट्युबमा बढी हेरिन्छ। 

तर रेखा थापाको अन्तरवार्ता भन्दा खतिवडाको बजेट भाषणले जनताको जीवनमा दूरगामी प्रभाव पारेको हुन्छ। खेलकुद उद्योग हो। मनोरंजन उद्योग हो। तर राजनीति उद्योगहरुको पनि उद्योग हो। राजनीतिले यी साना मसिना उद्योगका चर्तिकला मार्फत आफ्नो चर्तिकला लुकाउने अवसर प्राप्त गर्छ। फुटबल आउँछ , जान्छ, सरकार आउँदा र जाँदा जनताको जीवनमा असर पर्छ। विश्व कपमा हौसिने कारण म देख्दिन। विश्व कप फुटबल हेरौं, तर आफ्नो प्राथमिकता नबिर्सौं। सरकार चोर हो, यसको निगरानी गरौँ। (https://psjtv.com)
 

आईजी सा‘पलाई प्रश्न

विगत केहि महिना अगाडिबाट एक पछि अर्को गर्दै निकै रफ्तारमा हाम्रो समाजमा घटनाहरु घटिरहेका छन् । भक्तपुरमा ११ वर्षको बालक निशान खड्का यहि वर्ष अगष्ट

वामदेव काण्ड: प्रचण्ड सफल, ओली विफल

नेकपा नामको जहाजमा दुईजना पाइलट छन् । एकजना केपी ओली, अर्का पुष्पकमल दाहाल प्रचण्ड । ओलीले जहाज एकातिर लैजान खोज्दैछन्, प्रचण्ड विपरिततर्फ जहाज लैजान

बौद्धिकता राजनीतिः के हो बौद्धिकता ?

बौद्धिक वा बौद्धिकता भन्ने अवधारणाहरू जति पुराना हुन, तिनमा अन्तर्निहित राजनीति पनि त्यति नै पुरानो हो । समय अनुसार यो राजनीतिका स्वरूप परिवर्तन भए

वामदेवले चुनाव जिते देशले चाहिँ हार्नेछ

उपचुनावमा वामदेव गौतम हारे भने के हुन्छ ? जिते भने के हुन्छ ? १) जिते भने : वामदेवको जितलाई नेकपाको जित मानिने छैन । यो सरकारको जित पनि मानिने छैन ।