बजेटको उल्टो छलाङ 

सरकारका अर्थमन्त्रीद्वारा हरेक वर्ष प्रस्तत हुने बजेट यो पटक पनि प्रस्तुत भएको छ । हामी यस्ता धेरै सांसदहरु छौँ । जसले धेरै राजनीतिक उचारचढावहरु देख्यौँ । र, धेरै वर्षदेखि, यस बजेटका पक्ष र विपक्षमा यस्तै दस्ताबेजका उपर बोलिरहेका छौँ । सम्झिनुपर्ने के छ भने, एउटा बजेटको पुस्तिका आफैंमा राजनीतिक अथवा आर्थिक दर्शनको सम्पूर्ण अभिव्यक्ति होइन । बजेटभन्दा धेरै माथि राज्यको जीवन दर्शन हुन्छ । राजनीतिक चिन्तन हुन्छ । र, मुलुकको परिस्थिति हुन्छ । मुलुकको ठोस वस्तुस्थिति कुनै अर्थमन्त्रीले चाहँदैमा वा कुनै प्रधानमन्त्रीले चाहँदैमा रातारात फेरिने कुरा पनि होइन । त्यसो भएको हुनाले हामीले बजेटलाई मुलुकमा बर्तमान प्रधानमन्त्रीले पाएका तथ्यहरु, संसाधनहरु, मुलुकमा भएको राजनीतिक परिवर्तन र परिवर्तित पृष्ठभूमिको सन्दर्भ हेर्नु पर्नेछ । यो बजेटमा हेर्दा मैले यसमा के खोजे होला त ? वर्षौदेखि लगातार बोलिरहेको मान्छे । लगभग उही कुरा बोलिरहेको मान्छे, के खोजे हुँला त ?

पुरानो नेकपा माओवादीका सर्वमान्य नेता अध्यक्ष प्रचण्डले क्रान्तिकालमा बारम्बार निरन्तरता र छलाङ् भन्ने शब्द प्रयोग गर्नुहुन्थ्यो । त्यो शब्द उहाँले नाटकीय ढंगबाट भन्नुभो । होइन भने राजनीतिक विज्ञानमा यो शब्द बराबर प्रयोग भइराख्छ । चाहे फ्रान्सेली राजनीतिक क्रान्तिमा, चाहे रुसी राजनीतिक क्रान्तिमा । जहिले पनि के भनिन्छ भने, क्रान्तिमा नयाँ कुरा के–के ल्याएको रहेछ ? हेरौँ न । र, क्रान्तिमा पुराना कुरा के–के रहेछन् । समाजशास्त्रीले के भनेका छन् भने, क्रान्तिको चार पाँच वर्ष उथलपुथल हुन्छ । आवाजहरु कतिपय काटिन्छन् पनि । तर, १५–२० वर्षपछि हेर्दा त ती सबै निजामती सेवाका कर्मचारीहरु, ती सबै सेनापतिहरु, सबै हाकिमहरु, ती सबै पुलिसका प्रमुख करिब करिब उहीँ आईसकेका  हुन्छन् । रुसी क्रान्तिले, फ्रान्सेली क्रान्तिले, चिनियाँ क्रान्तिले र ७ सालको क्रान्ति समेतले यो कुरा देखाएको छ । त्यसैले बजेटमा निरन्तरता छ, थुप्रै निरन्तरता छन् । छलाङ के छ, भनेर सर्वप्रथम मैले हेरें । नयाँ कम्युनिष्ट पार्टी बनेको छ । छलाङको थोरबहुत संकेत त अवश्य होला भनेर नियालेर हेरें ।

म बधाई दिन चाहन्छु बजेटका लेखकलाई । छलाङ छ । निरन्तरताका लागि मेरो पूर्ववक्ता मित्रले उहाँलाई बधाई दिइसक्नु भएको छ । अर्थशास्त्रीले पनि बधाई दिईसकेका छन् । ओ हो यो बजेटलाई त अनुशासित बनाईयो । झण्डै झण्डै रामशरण महतको जस्तै बनाईयो भनिसक्या छ । त्यसका लागि मैले भन्नु परेन । यतिकै रामशरण महतको बजेटलाई पनि मैले धेरै कडा भाषामा आलोचना यो मञ्चबाट गरिसकेको छुँ । (अर्थमन्त्री निकै गम्भीरतापूर्वक सुनिरहे) छलाङ यसमा दुईटा कुरा छ । एक त छलाङ अहिलेका शक्तिशाली प्रधानमन्त्रीले यसअघि देखाईसक्नु भएको छ । लगभग सबै विकेन्द्रित, अझ बढी विकेन्द्रीकरण गर्नु पर्ने संस्थाहरुलाई आफ्ना मातहतमा केन्द्रीत गरेर छलाङ देखाईसक्नु भएको  थियो । थप छलाङ यहाँ कहाँ छ भने, जहाँ कतिपय आत्मनिर्भर हुनुपर्ने शीर्षक दिएर त्यस्ता उद्योगहरुलाई नियन्त्रण गर्छु भन्नु भएको छ । विश्व बैँक र आइएमएफको इसारामा चल्नुपर्ने मुलुकले साँच्चैनै त्यस किसिमको नियन्त्रणमुखि अर्थतन्त्र ल्यायो भने, म उहाँलाई अहिले नै लाल सलाम    ठोक्छु । म यसका लागि उहाँलाई पूर्व शुभकामना दिन चाहन्छु ।

अर्को छलाङ छ यहाँ, बूँदा नम्बर १९७ मा (एक सय सन्तानब्बे)मा । प्रधानमन्त्रीले लेख्नु भो, वा अर्थमन्त्रीले लेख्नु भयो अथवा सधैँ लेखिरहने कारिन्दाले लेखे । थोरबहुत आर्थिक अपचलन अथवा अनियमित काम भएको खण्डमा नागरिक सुविधा यावत खोसिने छ, भन्नु भएको छ । एक त नागरिता नै नेपाली राजनीतिको ठूलो विशेषता हो । नागरिकता नभई एडमिसन हुँदैन, जग्गा नामसारी गर्न पाइँदैन, जागिर पाइँदैन, विदेश जान पाइँदैन । सबै कुरो नागरिक सुविधामा अडिएको देशमा कतिपय आर्थिक अपचलनका लागि नागरिक सुविधा समेत खोसिनेछ भन्नु, यो ठूलो जनवादी छलाङ हो । जनवादी छलाङका बारेमा तत्कालीन नेकपा एमालेको प्रस्तुत, चर्चित दस्तावेज बहुदलीय जनवाद एमालेका यस समयका पाका कामरेडहरुले राम्ररी पढ्नु भएको होला । २१ औँ शताब्दीको जनवाद पढ्नु परेन । बडो स्पष्ट र ढुक्क पालेर प्रातःस्मरणीय कमरेड मदन भण्डारीले लेख्नु भएको थियो । बहुदलीय जनवाद बहुदलीय व्यवस्था हो । यसले लोकतान्त्रिक प्रस्तिस्पर्धामा विश्वास राख्छ ।

तर, जनताका विरुद्ध कुनै समय गयो भने, त्यस्ता जाने सानातिना मुठीको नागरिक अधिकार अपहरण गरिन्छ । त्यसको प्रतिध्वनि यो बजेटमा    पाए । र, मलाई साँच्चै कम्युनिष्ट पार्टीको प्रतिवद्धताकाप्रति गर्व आएको छ । सारा दुनियाँमा कम्युनिष्ट पार्टीहरु सिद्धिदै छन् । नेपालमा पहिलो पटक साँचो कम्युनिष्ट पार्टी स्थापना भएछ भनेर यो बजेटका लेखकलाई म बधाई दिन चाहन्छु । बाँकि मित्रहरुले ईश्र्या नगर्नु होला । काँग्रेसीले त यसमा ताली नबजाउनु होला । तपाईंलाई थाहा छ, म यो मञ्चबाट आर्थिक विषयमा बोलेको छु । म विकासको वर्तमान अवधारणालाई मान्दिन । (एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ पनि गिरीलाई नियालीरहे) गिरी अगाडि बढे । यो विनास हो । सबैले शंका गरेका छन्, अविश्वास गरेका छन् । के को रेल ल्याउँछ यो केपी ओलीले ? उहाँहरुलाई रेल ल्याईदिन्छ कि भन्ने चिन्ता छ । मलाई चैँ झन ठूलो चिन्ता छ । रेल आयो भने के हुन्छ ? कहाँबाट रेल आउने ? ग्रान्ट(अनुदान)बाट रेल ल्याउनु हुन्छ ? त्यतिबेला थेग्न सक्नु हुन्न । लोन(ऋण)बाट ल्याउनु हुन्छ । श्रीलंकासहित आठ देशको चाइना डेब्ट(ऋण) ट्रयाप । डेब्ट(ऋण)ट्रयाप अरुले नपढे पनि, प्रधानमन्त्री, गृहमन्त्रीले नपढेको भएपनि प्रोफेशनल अर्थशास्त्रीले त पढ्नु भएको होला ।

धन्न डेब्ट(ऋण)ट्रयापको पूरा कुरा गरिएको छैन । डेब्ट(ऋण)ट्रयापको कुरा गर्दा, श्रीलंकाको दुदर्शाको कुरा गर्दा मैले छर्लङ्ग बुझेको छुँ । अर्थमन्त्रीले किन भन्नु भो, ट्रयापमा परे । बोल्दा हाड नभएको जिब्रो लरबरियो होला । उहाँको कुरा मान्छेले के बुझे । सांसदहरुको ट्रयापमा प¥यो भन्ने । सांसदहरुको ट्रयापमा के पर्नु पर्दथ्यो । सांसदहरुको भन्दा बढ्ता अपमान आजको दिनमा यो मुलुकमा अरु कसैको छ । ट्रयापमा उहाँ किन पर्नु भो भने, आफूले एमएमा पढेको शिक्षा, पीएचडी गरेको शिक्षा, विश्व बैंकसँग भएको संगत एकातिर छ । नेताहरुको दबाब अर्कोतिर छ । त्यसैले उहाँ अन्तरआत्माको र महावली नेताको ट्रयापमा परेको हो । भन्न नजानेको हो, सांसदको ट्रयापमा होइन । नेताहरु भन्छन्, सुपरसोनिक जेट ल्याइदिम्ला । तारा मात्र होइन जुनपनि खसाईदिम्ला । विजुलीले रेल चलाईदिम्ला । नेताहरु भन्छन्, चन्द्रमा र्पुयाई दिम्ला । जनता वाह वाह वाह  गरेर तालि बजाउँछन् । त्यही त खोजेको हुँ, त्यही त खाजेको हुँ, भन्छन् । अर्थमन्त्रीले हिसाबकिताब गर्ने हुनाले थाहा छ । नेपालको आजको आवश्यकता पनि होइन । धान्न पनि सक्तैन । नेता त्यो होइन । जो उपभोक्ताका पछि लाग्छ । नेता त्यो होइन, जो तपडी, थप्पडी खानका लागि बहुमतकापछि लाग्छ ।

बहुमतमात्रै कुनै पनि मुलुकको प्रगति र उन्नतिको एक मात्र कसौडी होइन । बहुमतमा मात्र अल्मिलिएका मित्रहरुले छरछिमेकका धेरै बहुमत देखेको हुनुपर्छ । विश्वभरका बहुमत देखेको हुनुपर्छ । यस मुलुकलाई आज गणतन्त्रमुताविकको आत्मनिर्भर अर्थतन्त्र चाहिएको थियो । चाहिएको छ । तीन वटा आधारभूत कुरा कसरी हामी यो मुलुकमा बढीभन्दा बढी रोजगार सिर्जना गर्छौँ । कसरी विदेशीयका हाम्रा दाजुभाई, लगत नभएका दिदिवहिनी भित्रिन्छन्, त्यो हाम्रो चिन्ता थियो । त्यसको एउटै ठाउँ छ समाधान । कृषि । अर्को छैन । म अर्थमन्त्रीलाई यस कुराका लागि बधाई र धन्यवाद दिन चाहन्छु । उहाँले कमसे कम बजेटको क्रम मिलाउँदा खेरी सुरु रोजगारबाट गर्नु भएको छ ।

तर, रोजगारलाई उहाँले झण्डै–झण्डै मुखमा राखेतापनि रोजगार सिर्जनाका बाटो के छन् त ? रोजगारको बाटो सिर्जनाकाबारेमा जुन अध्ययन, गम्भीरता र बाटो देखाउनु पर्दथ्यो उहाँले पटक्कै पनि संकेत गर्न सक्नु भएन । त्याहाँ छलाङले जितेको छैन । त्यहाँ उहाँको छलाङ हारेको छ । त्यहाँ क्रमिकताले जितेको छ । (अर्थमन्त्री गिरीलाई नियालीरहे) ‘त्यहाँ क्रम भङ्गता छैन । निरन्तरता छ । निरन्तरता के छ, भने यस्ता आश्वासन, यस्ता प्रस्तुति, यस्ता प्रस्ताव, विगत २० वर्ष होइन २५ वर्षले दिँदै छ । त्यो अर्थमन्त्रालय अर्थात् योजना आयोगका कर्मचारीले लेख्छन् । त्यसमा दस्तखत गर्नेकाम मात्रै मन्त्रीको रहन्छ । त्यही भएको छ । के गर्न सकिन्छ ? के गर्न सकिन्थ्यो ? तर, यहाँ उदार बन्न चाहन्छु । हामीले यो देशलाई मिलेर काम गर्नु परेको छ । प्रतिपक्ष र सत्तापक्ष दुवै जानु परेको छ । म बेनिफिट अफ डाउट दिन चाहन्छु । अर्थमन्त्री भरखरै आउनु भएको छ । विगतका अनुभव जे भए पनि जनराजनीतिको अनुभव उहाँलाई छैन । अब प्रधानमन्त्री अथवा नेताहरुमा उत्साह ज्यादा छ । यो समस्या धेरै ठूलो, धेरै ठूलो, धेरै ठूलो छ ।

नेपाल जस्तो गरिब मुलुक, भूमण्डिलीकरणले घेरेको मुलुक, भारत र चीन जस्तो विशालकाय अर्थतन्त्रले घेरिएको मुलुकले साँचो अर्थमा आत्मनिर्भर रोजगारमुखि अर्थतन्त्र बनाउने हो । एकातिर ट्रयाप, आफ्नो आर्थिक अनुशासन र आर्थिक अध्ययन । अर्को्तिर नेताहरुको पपुलिष्ट मागको ट्रयाप र अर्को्तिर सांसदको ट्रयाप । सांसदपनि कस्ता भोका–नाङ्गा भने । भुइचालोको पाँचसय रुपैयाँ पनि लिएर जाने । कुनै सुविधापनि नछोड्ने । एक दुई जना होलान् सुविधा नलिने । सारा सुविधा चाहिने । तिनलाई तपाईले ठीक जवाफ दिनु भयो अर्थमन्त्री ज्यू । सांसदले यही जवाफ खोजेका थिए । र, एक पटक विनम्रतापूर्वक भन्न चाहन्छु । अर्थमन्त्रीले एकपटक प्रत्यक्ष चुनाव लड्नै पर्छ । अनि सांसदको कुरा बुझ्नुहुनछ । यति भन्दा (ताली बज्यो, हाँसोको फोहरा छुट्यो) । एक जना विशाल, मैले साह्रै गुरु मानेको अर्थशास्त्री हुनुहुन्थ्यो, डा. देवेन्द्रराज पाण्डे । त्यो भन्दा पनि ठूला ऋषिकेश   शाह । उहाँहरुले पनि चुनाव लड्नु भएको थियो । सभामुखलाई याद छ ।

(अर्थमन्त्रीले हाँसो थेग्न सकेनन् । खुलेरै हाँसे ।) गरीले अगाडि भने – यस्ता कुरा गर्नुस् । निमुखा सांसदबीच ट्रयापको कुरा गर्नुअघि तिनको मर्म पनि बुझ्नुस् । म अर्थमन्त्रीलाई एक पटक थप बधाई दिन चाहन्छु । यदि साँच्चै नै उहाँले आफ्नो व्यक्तित्व प्रदर्शन गर्नु भएको छ भने, साँच्चै नै बलिया, बाङ्गा नेताबाहेक कसैलाई टेरपुच्छर लाउनु भएको छैन । जे उहाँको विवेकले देख्यो त्यही गर्नु भो । अब त्यो विवेकको परीक्षा कहिले हुन्छ भन्ने कुरा, मेरा युवामित्र गगन थापाले भनेर गईसक्नु भएको छ । त म गगन थापाजति आशावादी छैन । त्यो विवेकको इम्तिहान र विवेकको परीक्षाका लागि एक वर्ष पर्खिनु पर्ने छैन । यहाँ सबैभन्दा ठूलो कुरा के छ भने, अर्थमन्त्रीले जनप्रतिनिधि सांसदलाई हेपे जस्तै, आम जनतालाई हेप्या छ । बजेटका आजको अवधारणा सांख्याकी र यान्त्रिकीका आधारमा चल्दैन । ह्युम्यान डेभलपमेन्ट कन्सेप्ट(मानव विकास अवधारणा) हो । त्यहाँ आर्थिक विकासको केन्द्रमा मनुष्य रहनु पर्दछ ।

बजेटको आलोचना यसअर्थमा भएको छ । सांसदलाई तपाईले ४ करोड दिनु भो, तर गाउँपालिकाका मान्छेलाई सामेल गर्नु भो भनेर । त्यो सामेल गरेर ठीक काम गरेको छ बजेटले । यिनीहरुले मिलेरै काम गर्नु पर्ने हो । अध्यक्ष, सदस्य र एमएलएले । तर, त्यो भन्दा पनि तल लैजानु पर्दछ । विकास एउटा राजनीतिक प्रक्रिया हो । आर्थिक सांख्यकीको खेल होइन । विकास मुनुष्यलाई माथि उठाउने कुरा हो । मैले भनेको होईन, तपाईहरुलाई थाहा छँदै छ । एसियाका एकमात्र उल्लेखनीय अर्थशास्त्री अमत्र्य सेनले भन्नु भएको हो । ह्युम्यान डेभलपमेन्टको योगदान थाहा छ । बारम्बार भन्नु हुन्थ्यो वीपी कोइराला विकास राजनीतिक काम हो । अब कम्युनिष्ट पार्टीले वीपी कोइरालाको कुरा सुन्ने कुरा छैन ।

( नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले बजेटमाथिको टिप्पणी गर्दै संसदमा व्यक्त मन्तव्यको सार)
 

आईजी सा‘पलाई प्रश्न

विगत केहि महिना अगाडिबाट एक पछि अर्को गर्दै निकै रफ्तारमा हाम्रो समाजमा घटनाहरु घटिरहेका छन् । भक्तपुरमा ११ वर्षको बालक निशान खड्का यहि वर्ष अगष्ट

वामदेव काण्ड: प्रचण्ड सफल, ओली विफल

नेकपा नामको जहाजमा दुईजना पाइलट छन् । एकजना केपी ओली, अर्का पुष्पकमल दाहाल प्रचण्ड । ओलीले जहाज एकातिर लैजान खोज्दैछन्, प्रचण्ड विपरिततर्फ जहाज लैजान

बौद्धिकता राजनीतिः के हो बौद्धिकता ?

बौद्धिक वा बौद्धिकता भन्ने अवधारणाहरू जति पुराना हुन, तिनमा अन्तर्निहित राजनीति पनि त्यति नै पुरानो हो । समय अनुसार यो राजनीतिका स्वरूप परिवर्तन भए

वामदेवले चुनाव जिते देशले चाहिँ हार्नेछ

उपचुनावमा वामदेव गौतम हारे भने के हुन्छ ? जिते भने के हुन्छ ? १) जिते भने : वामदेवको जितलाई नेकपाको जित मानिने छैन । यो सरकारको जित पनि मानिने छैन ।