राष्ट्रियता र राष्ट्रनिर्माणको अभियान 

पछिल्लो समयमा नेपालमा सर्वाधिक चर्चामा आएको  विषय हो, राष्ट्रियता र राष्ट्रनिर्माण । त्यसो त यो विषय नेपालमा सँधै चर्चामा रहने गरेको छ र मुद्दा बन्ने गरेको छ । तर पछिल्ला केही वर्षमा यसले निकै चर्चा पाएको छ, सत्य हो । खास गरी देशको नयाँ संविधान जारी हुने समय वरिपरि भएको मधेशकेन्द्रित आन्दोलन र सीमामा नाकावन्दीको समयमा राष्ट्रियता भन्ने शव्दले निकै महत्व पायो । यसलाई अस्वाभाविक मान्न मिल्दैन । तर राष्ट्रियताले त्यसवेलासम्म स्वयं एक्लैमा खास अर्थ राख्दैन, जबसम्म यसलाई राष्ट्र निमार्णसँग जोडिँदैन । वर्तमान ओली सरकारको गठन हुनुमा विगतमा उठान भएको राष्ट्रियताको मुद्दाको निकै ठूलो भूमिका छ तर यो सरकार राष्ट्र निर्माणका सन्दर्भमा क्रियाशील र प्रभावकारी हुन्छ कि हुँदैन भन्ने हेर्न केही समय प्रतीक्षा गर्नु पर्नेछ ।

 

राष्ट्रनिर्माण एक प्रक्रिया हो जो कुनै न कुनैरुपमा सँधै निरन्तर जारी रहन्छ । राष्ट्रनिर्माणलाई सूक्ष्मरुपमा बुझ्ने प्रयत्न गर्ने हो भने यसलाई दुईवटा सन्दर्भमा हेर्न सकिन्छ । पहिलो, समग्रमा  राष्ट्रनिर्माण (बन्ने) हुने कुरा र दोस्रो, निर्माण भइसकेको राष्ट्रलाई समुन्नत र सम्वृद्ध बनाउने कुरा । तर उपर्युक्त दुवैमा एउटा कुराको समानताको अपेक्षा गरिन्छ । त्यो के भने त्यहाँ वसोवास गर्ने जनताको इच्छा—आकांक्षा, समाज, धर्म—संस्कृति, भाषा—साहित्य आदिको समान स्वीकृति र प्रस्फूटनको अवस्था निर्माण हुनु अपेक्षित हुन्छ । राष्ट्रनिर्माणको सम्बन्ध खास भूगोलको राष्ट्रियतासँग पनि छ । यी विषयहरु तिनले निर्माण गर्न चाहेको तिनका राष्ट्रिय पहिचानसँग पनि सम्बन्धित छन् र यसको निर्माणका लागि राज्यको शक्ति प्रयोग हुने वा गर्ने सोच निहीत हुन्छ । अर्कोतर्फ, राष्ट्रनिर्माणको सम्बन्ध आर्थिक र भौतिक विकास तथा त्यस्ता विकासमा सबैको सहभागिता एवं प्रतिफलको उचित र समान सदुपयोगसँग पनि छ ।

 

त्यस्तै मानवअधिकारको प्रत्याभूति र संरक्षणसँग पनि राष्ट्रनिर्माणको सन्दर्भ जोडिएको हुन्छ । यसैआधारमा कतिपयले नेपाल अझै राष्ट्रनिर्माणको प्रक्रियामै रहेको भन्ने गरेका छन् ।  सारमा यस विश्लेषणका आधारमा, विद्वान पौल जेम्सको भनाइसँग सहमति जनाउन सकिन्छ । उनले राष्ट्रनिर्माणलाई राष्ट्रको संरचना वा गठन पनि भनेका छन् । उनका अनुसार वृहत प्रक्रियाहरुका माध्यमबाट राष्ट्र बन्छ । राष्ट्रनिर्माणको लक्ष्य राज्यभित्र जनताहरुको एकीकरण हो यसबाट अगाडीका दिनमा राज्यले राजनीतिकरुपमा स्थायित्व र सक्षमता प्राप्त गर्दछ । राष्ट्रनिर्माणको सम्बन्ध त्यहाँको भूगोलहरुमा रहेको विविध राष्ट्रियताहरुलाई समाहित गरी सिंगो राष्ट्रियता निर्माण गर्नुसँग पनि छ भनियो भने अतिशयोक्ति हुँदैन । यसै सन्दर्भमा महामानव विपि कोइरालाको भनाइलाई पनि आत्मसात गर्नु आवश्यक हुन्छ । विपिले राष्ट्र र राष्ट्रियताको सम्बन्ध जनतासँग हुने बताएका छन् । निष्कर्षमा भन्ने प्रयास गर्ने हो भने राष्ट्रनिर्माणका लागि जनताको एकीकरण, विविध विचार, दृष्टिकोण, सिद्धान्त र आदर्शहरुको स्वीकारोक्ति र समावेशीकरण, छरिएर रहेको समाजलाई समेटी एकीकृत समाज निर्माण र क्रियाशील राज्य संयन्त्रको उपस्थिति आवश्यक हुन आउँछ । 

 

राष्ट्रियता राष्ट्रनिर्माणको महत्वपूर्ण अवयव हो भनेर स्वीकार गरिरहँदा यसलाई बुझ्ने दृष्टिकोणमा व्यापकता अपरिहार्य छ । सामान्यतया राष्ट्र, राज्य र देशलाई हामीकहाँ एकै अर्थमा बुझ्ने गरिन्छ जो धेरै हदसम्म दोषपूर्ण छ । यी तीनै शव्दलाई एकअर्काको पर्यायवाचीका रुपमा बुझ्ने प्रयत्न गर्दा समग्र राष्ट्रियता र राष्ट्रनिर्माणको प्रक्रिया नै दोषपूर्णरुपमा अपव्याख्या हुने खतरा रहन्छ । हामी कुनै न कुनै रुपमा यस्तै खतरासँग पौंठेजोरी खेलिरहेका  छौं । वास्तवमा राष्ट्र, राज्य र देश फरकफरक अर्थमा उभिएका फरकफरक शव्द हुन । राष्ट्र सांस्कृतिक एकाई हो । यस्तै राज्य प्रशासनिक र राजनीतिक एकाई हो भने देश भौगोलिक एकाई हो । अंग्रेजीमा यी तीनवटै शव्दको अनुवाद क्रमशः नेशन, स्टेट र कन्ट्री हो । यस आधारमा राष्ट्रनिर्माणलाई बुझ्ने प्रयत्न गर्ने हो भने एउटा राजनैतिक भौगोलिक सीमाभित्र सांस्कृतिकरुपमा जनता(राष्ट्रियता)लाई प्रशासनिक र राजनीतिकरुपमा आवद्ध वा एकीकृत गर्ने प्रक्रियासँग सहमति जनाउन सकिन्छ । यसमा निश्चित भूगोलभित्र सबै जनताको समान सहभागितामा तिनको भावनाको सम्मान गर्ने कुरालाई महत्व दिइन्छ र यसमा कानुनीरुपमा राज्यले अर्थात प्रशासनिक एकाईले आवश्यक बन्दोवस्त मिलाउने अपेक्षा गरिन्छ । 

 

राष्ट्रनिर्माणमा यी सबै समाहित हुन आवश्यक हुन्छ जसले समग्र राष्ट्रियताको निर्माण र प्रवद्र्धन गर्ने विश्वास गरिन्छ । यसो हुन सके देशप्रति सबैको अपनत्वभावमा अभिवृद्धि हुन्छ र देशले सिंगो स्वरुप ग्रहण गर्न सम्भव हुन्छ । संक्षेपमा यही प्रक्रिया  राष्ट्रनिर्माण हो जसको नेतृत्व राज्यले गर्ने अपेक्षा गरिन्छ । राज्यले यही भूमिका निर्वाह गर्न नसक्दा समग्र राष्ट्रियताको अवमूल्यन हुँदै देश विखण्डनसम्मको खतरा निम्तिन सक्छ । विश्वका विभिन्न देशहरुको इतिहास अध्ययन गर्ने हो भने यही कुरा प्रमाणित हुन्छ ।

 

राष्ट्रनिर्माणका लागि थुप्रै अवयव आवश्यक मानिन्छन् । त्यसमध्येको एक हो, आर्थिक गतिविधि । आर्थिक पक्षसँग पनि  राष्ट्रनिर्माण सम्बन्धित छ । आर्थिक क्रियाकलापमा सबैको सहभागिता, आर्थिक अवसरको समान वितरण र आर्थिक कार्यक्रम तर्जुमामा सबैको साझेदारीको सवालले राष्ट्रनिर्माणको दिशा तय गर्ने अपेक्षा गरिन्छ । आर्थिक गतिविधिले विकासका कार्य निर्दिष्ट गर्दछ र त्यस्तो विकास कार्यमा स्वामित्व ग्रहणको सम्बन्ध जोडिएको हुन्छ । थोपरिएको विकास र आर्थिक कार्यक्रमको उपस्थितिमा जनसामान्यले स्वामित्व ग्रहण गर्न नसक्दा समग्र राष्ट्रनिर्माणको यज्ञ प्रभावित हुन सक्ने सम्भावना रहन्छ ।

 

खासमा राष्ट्रनिर्माण कुनै एक पक्षसँग मात्र सरोकार राख्ने विषय होइन । बरु यो सामूहिक यत्नमा निर्भर रहने निरन्तरको प्रक्रिया हो । देशको भूगोलभित्र समाहित सबै जनताको राष्ट्रनिर्माणमा उत्तिकै भूमिका छ र रहनुपर्छ ।  राष्ट्रनिर्माण देशको जनता जोड्ने प्रक्रियासँग जति सम्बन्धित छ देशको विकास कार्य र यसप्रतिको स्वामित्व ग्रहणसँग पनि त्यतिकै सम्बन्धित छ । राज्य यसतर्फ संवेदनशील हुनु जरुरी छ । 
(लेखक झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्)

 मौरीका रानी ओलीको अरिंगाल मोह

दुईतिहाई भन्दा बढी सांसदको समर्थनमा निर्वाचित शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीका बोलीको ओज पछिल्ला दिनहरुमा नजानिँदो तरिकाले घट्दै गएको छ ।

राजा महेन्द्रले ह्वीस्कीको ग्लास फुटाउँदै गिरिजालाई धम्क्याउँदा

भाषा अंग्रेजी ! तर भाष्य के हो कमरेड ओली ?  प्रधानमन्त्री कमरेड केपी ओली अमेरिका आईपुगे। उनले संयुक्त राष्ट्र संघको बार्षिक ज्याम्बोरीमा अंग्रेजी

भारतलाई अहिलेको दुई झट्का र नाकावन्दी

अहिले भारतलाई नेपालबाट ठूलो झट्का लागेको छ भनेर भारतमा रुवावासी छ । यो झट्का त्यसै लागेको होइन । यस्तो झट्का खान भारत आफैंले पृष्ठभूमि निर्माण गरेको

सरकारलाई कमजोर र जनतालाई असन्तुष्ट बनाउने आईएनजीओ रणनीति

अचेल ‘महिलावादी’हरु निक्कै सक्रिय छन् । महिलावादका अगुवा अधिकांशको असली ‘वाद’ एनजीओवाद हो । लोकतन्त्रवादीहरुलाई पनि एनजीओवादीहरुले नेतृत्व