स्थानीय निर्वाचन : कांग्रेसको दशा र दिशा 

 सात दशक लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसबारे केही समययता अनेक टीकाटिप्पणी सुनिनथालेका छन् । ती विशेषगरी नेतृत्वको क्षमता, विवेक र नीतिगत निर्णयमा अधारित छन् ।


 किन यस्तो आलोचना ?


  पहिलो कारण 

नेतृत्वकेन्द्री संरचना । कांग्रेसमा स्थापनाकालदेखि नै नेतृत्वकेन्द्री संरचना प्रचलनमा छ । यसका कारण नेतृत्वका जबर्जस्त निर्णय सदैव हावी हुँदै आएको छ । मान्यता यस्तो बन्यो कि नेतृत्व नै सर्वेसर्वा हो, नेतृत्वको निर्णय ढुंगाको अक्षर बराबर हो । यस्तो मानसिकताले तल्ला तहका कार्यकर्तासम्मलाई गाँजेको छ । यसको परिणति लोकतान्त्रिक पार्टीको चरित्र अलोकतान्त्रिक छविले ढाक्दै गएको छ ।


दोस्रो कारण

 चरम गुटबन्दी । स्थापनाकालदेखि नै व्यक्ति–व्यक्तिका केन्द्र प्रचलनमा रहनु कांग्रेसको जन्मजात विशेषता हो । सुवर्ण गुट, वीपी गुट,मातृका गुट वा यस्तै यस्तै व्यक्तिकेन्द्री गुटहरूको अस्तित्व कांग्रेसका लागि संस्कार जस्तै बनेर आयो । पछिसम्म पनि यो चौहत्तरे र छत्तीसे वा कोइराला र देउवा गुटका रूपमा कायम रह्यो, अहिले पनि अवस्था उस्तै छ । कांग्रेसमा गुटविनाका कार्यकर्ता पानीविनाका माछा जस्ता हुन थाले । गुटका कार्यकर्ताविनाका नेता अस्तित्व संकट महसुस गर्न थाले । यही बानीले कांग्रेसले सिंगो पार्टीको प्रभाव कहिल्यै छोड्न सकेन ।


तेस्रो कारण

 टीके प्रथा, दाइ हजुरी प्रथा । कांग्रेसमा विगतदेखिको अभ्यास हेर्ने हो भने पनि प्रस्ट देख्न सकिन्छ कि यसमा विधिविधान र प्रक्रियाभन्दा दाइ हजुरी वा टीके प्रथा हावी छ । क्षमता, योग्यता, इमान, आदर्श भएका व्यक्ति   कांग्रेसका कुनै पनि जिम्मेवार भूमिकामा अटाउन सकेनन्, सक्दैनन्, सकेका छैनन् । यही कारण नेतृत्व स्वयं ‘धृतराष्ट्र’को भूमिका निर्वाह गर्न विवश छ । एउटा स्वार्थ समूहमा बाँडिएका कार्यकर्ताकै सल्लाह, सुझाव र दवाबमा कांग्रेस नेतृत्व सञ्चालन भइरह्यो । त्यो सीमित घेराभन्दा बाहिर नेतृत्वले हेर्दै हेरेन । हेरे पनि देखेन ।


चौथो कारण

 अनुशासनहीनता । कांग्रेस मात्र यस्तो पार्टी हो, जहाँ पार्टीभित्र अनुशासनको खडेरी छ । अनुशासन हरेक व्यक्ति, संस्था, निकाय र संरचनाको महत्त्वपूर्ण तत्त्व हो । पार्टीभित्रका नीति, आदर्श, निर्णय, गोपनीयता, व्यवहार आदि कुरालाई सीमाभित्र राख्ने, नेतृत्व र कार्यकर्तालाई गलत निर्णय र क्रियाकलाप गर्न नदिने एउटै मात्र तत्त्व हो, अनुशासन । तर यही महत्त्वपूर्ण तत्त्वको कांग्रेसमा अभाव देखिन्छ । 


पाँचौँ कारण

 सिद्धान्त एकातिर, व्यवहार अर्कैतिर । प्रजातन्त्र र समाजवादको दुहाइ दिएर आजसम्म नथाकेको कांग्रेसले वीपीका नाममा व्याज खाइरहेको छ भन्दा अत्युक्ति हुनेछैन । प्रजातन्त्र र समाजवादको नाममा पार्टीभित्र निरंकुश र तानाशाही अभ्यास गरिरहेकाहरू पनि निर्लज्ज र शानपूर्वक ‘वीपीका अनुयायी’ भएको अभिनय गरिरहेका भेटिन्छन् । पार्टीको आन्तरिक संरचनामा छुवाछुत ज्यूँदै छ ।  
 
कुरा स्थानीय तह निर्वाचनको


दुई दशकपछि स्थानीय निर्वाचन भइरहेको छ । दुई चरणमा सातमध्ये छ प्रदेशमा निर्वाचन सम्पन्न भइसकेका छन् । निर्वाचनको परिणाम हेर्दा लाग्छ, कांग्रेस आफ्ना मतदाताको संरक्षण गर्नसमेत चुकेको रहेछ । यो निर्वाचनमा कांग्रेसजनको अपेक्षाअनुसारको परिणाम कहीँ कतैबाट हात लागेन । तर यसका पछाडिको कारण खोतल्ने फुर्सद कांग्रेसलाई छैन÷हुँदैन । निश्चित छ कि स्थानीय निर्वाचनको परिणामको धेरै प्रभाव स्वाभाविक रूपमै प्रदेश र केन्द्रको निर्वाचनमा पनि पर्ने छ ।  


किन पछि प¥यो कांग्रेस ?


प्रस्ट छ, माथि उल्लेख गरिएका तथ्यहरू जति नै अस्वीकार गर्न चाहे पनि अस्वीकार गर्न नसकिने तथ्यहरू हुन् कांग्रेसका लागि । कांग्रेसले बोकी आएको प्रजातन्त्र र समाजवादको आदर्शसँगै विरासतको रूपमै लिएर आएको चरम गुटबन्दी, नातावाद, कृपावाद, निरंकुश र अलोकतान्त्रिक चरित्र, आदर्शच्युत मार्गका कारण कांग्रेसले यसपटकको स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको कुरा छर्लंग छ । 
उदाहरणका रूपमा भरखरै सम्पन्न दुई चरणका निर्वाचनमा अधिकांशले दाइ, हजुर, हजुरको मान्छे, दाइको भक्त भनेकै भरमा टिकट पाएका हुन् भन्ने कुरा धेरै हदसम्म प्रस्ट छ । र, यही कारण अधिकांश ठाउँमा अन्तर्घात भएको गुनासा पनि  आएका छन् । 


पार्टीमा लामो समय योगदान गरेका, जनस्तरमा भिजेका,   इमानदार र जित्ने संभावना रहेका व्यक्तिहरूलाई पन्छाएर  आफ्ना मान्छेका नाममा अरुबेला दृश्यमा नआएका व्यक्तिहरूलाई टिकट दिइएपछि इमानदार, योग्य र सक्षमहरूले अपमानित महसुस गर्नु अन्यथा होइन । र, उनीहरूले पार्टीमा गरेको योगदानको कम्तिमा पाँच वर्षसम्म अवमूल्यन भएको ठान्नु अस्वाभाविक होइन । उसको आक्रोश अन्तर्घातका रूपमा प्रकट हुनु पनि स्वाभाविक हो ।


अर्को कुरा, कांग्रेस ‘मास पार्टी’को भ्रममा सधैँ रहिरह्यो, तर त्यो मासलाई संरक्षण गर्न वा जोगाइराख्ने आवश्यकता महसुस गरेन । अन्य पार्टीले वर्षैभरि प्रशिक्षण र गोष्ठीमार्फत् आम मतदातासँग भेटघाट र अन्तत्र्रिmया गरिरहँदा कांग्रेसले वर्षमा एक महिनाको समय पनि जनताका नाममा खर्चिन सकेन, चाहेन । अनि कसरी बन्छ पार्टी अग्रणि ? कसरी बन्न सक्छ पार्टी एक नम्बर ?


कांग्रेसले सच्चिनुपर्ने कुराहरू


लामो समयदेखि नेतृत्वमा देखिएको अहं र चरम गुटबन्दी अन्त्य कांग्रेसलाई सच्चिनका लागि पहिलो सर्त हुनुपर्छ । नेतृत्वमा पुगिसकेपछि कांग्रेसको नेतृत्व दम्भी, अहंवादी हुँदै जानु कांग्रेसका लागि दुर्भाग्यपूर्ण हो । 


अझै पनि कोइराला(हाल आएर पौडेल) र देउवा गुट उत्तिकै रूपमा क्रियाशील रहनु र त्यसमाथि पुनः सिटौला र खड्का गुट पनि जन्मिनु कांग्रेसका लागि थप चुनौती हो । भइरहेका दुई गुटको व्यवस्थापन हुन नसकेको अवस्थामा अरु गुट जन्मिने अवस्था किन सृजना भयो भनेर कांग्रेस नेतृत्वले अब पनि नसोचे आउने निर्वाचनहरूमा कांग्रेस तेस्रो, चौथो शक्तिमा झर्ने कुरालाई नकार्न सकिँदैन ।


अर्को तथ्य हो, दाजु, हजुर, म त हजुरको दास भनेका भरमा अवसर दिने प्रथाको पूर्ण रूपमा अन्त्य । नातावाद, कृपावाद, अवसरवाद समाजवादका ठाउँमा आएर बसेका छन् कांग्रेसमा । नेतृत्वका सामु गणेश प्रवृत्ति देखाएकै आधारमा अवसर दिने, पाउने प्रथाको पूर्ण रूपमा अन्त्य गरी योग्य, इमानदार, सक्षम र नैतिकवान् व्यक्तिलाई पार्टीमा अवसर दिने ‘साहस’ नेतृत्वले देखाउनै पर्छ । यसो भएमा एकातर्फ गुटबन्दीको अन्त्य गर्न नसके पनि गुटको क्रियाशीलता र अवरोधमा कमी ल्याउन सकिन्छ भने अर्कातर्फ असली कार्यकर्ता विचलित हुनेछैन ।


 कांग्रेसको नेतृत्व आदर्श, सिद्धान्त र निष्ठाका विषयमा बडो पक्का भएको दलील पेस गर्छ । तर व्यवहारमा त्यसको अंश पनि भेटिँदैन । पार्टीका आदर्श र मूल्य मान्यताको पालना सबैभन्दा पहिले नेतृत्वले गरेर देखाउनुपर्छ । नेतृत्व एक किसिमले आमजनको आदर्श पनि हो र अभिभावक  पनि । आफ्नो आदर्श वा अभिभावक नै निष्ठा, सिद्धान्त र आदर्शबाट च्यूत छ भने कार्यकर्तालाई दोष थोपरेर नेतृत्व दोषमुक्त हुन सक्दैन । यसर्थ सच्चिने, आदर्श, सिद्धान्त र मूल्य, मान्यताको पालना गर्ने काम पहिले नेतृत्वले नै गर्नुपर्छ ।


 कांग्रेसमा नेतृत्वले कमी कमजोरी गरेमा कार्यकर्ताले प्रश्न उठाउनुहुँदैन भन्ने गलत, अलोकतान्त्रिक र निरंकुश धारणा नेतृत्वमा विद्यमान छ । यस्तो धारणा नेतृत्वले त्याग्नुपर्छ, बरु ती प्रश्नलाई नेतृत्वले आफू सच्चिने अवसरको रूपमा सदुपयोग गर्नुपर्छ । आफूले आस्था राखेको, विश्वास गरेको पार्टी र नेतृत्व सच्चियोस् भन्ने कामनाले रचनात्मक आलोचना गर्ने अधिकार हरेक पार्टीका आस्थावान् र शुभेच्छुकमा हुन्छ, हुनुपर्छ । त्यसमाथि अंकुश लगाउने काम पार्टी नेतृत्वले गर्नु असल कार्यकर्ता गुमाउनु मात्र हो ।


जहाँसम्म विद्रोह, विरोध र अन्तर्घातको कुरा छ, यो स्वाभाविक हो । पार्टीमा गरेको लगानीलाई नेतृत्वले बेवास्ता गरेपछि जोकोही कार्यकर्ता त्यसबाट विक्षिप्त बन्छ नै । यसो हुन नदिन पार्टी नेतृत्व नै पहिलो जिम्मेवार हो । अवसर दिने बेलामा नै अत्यन्तै संवेदनशील भएर सही व्यक्तिलाई सही स्थान दिन सक्नुपर्छ पार्टीले । यसो नभएमा पार्टीभित्र विरोध, विद्रोह र अन्तर्घात आज, भोलि, पर्सि, जुन बेला पनि हुन्छ हुन्छ । 


अहिले पार्टीको, पार्टी नेतृत्वको विरोध, विद्रोह र चुनावमा अन्तर्घात गर्नेमाथि कारवाहीका कुरा उठिरहेका छन् । के पार्टीले उनीहरूमाथि कारवाही गर्नु समस्याको अचुक समाधान हो ? अथवा उनीहरूका असन्तुष्टि समाधान गर्न पहल गर्नुमा पार्टीको हित छ ? अथवा पार्टी नेतृत्वले गरेका गल्ती कमजोरीप्रति कठोर समीक्षा गर्न जरुरी पो छ कि ?


किनभने, अब एउटा प्रदेशको स्थानीय तह निर्वाचन सिंगै बाँकी छ भने प्रदेश र केन्द्रको निर्वाचन पनि बाँकी नै छन् । यस्तो बेलामा आफ्ना मतदाता, कार्यकर्तालाई जोगाइराख्न कारवाही अत्यन्तै घातक अस्त्र हुन सक्छ कांग्रेसका लागि । 


बरु भोलिका दिनमा यस्ता कुराहरूबाट बच्न नेतृत्वका नीति र व्यवहार पनि सोही किसिमका हुनुपर्छ र पार्टीका कार्यकर्तासँगै शुभेच्छुकजनलाई समेत विश्वासमा लिन सक्नुपर्छ !
 

आईजी सा‘पलाई प्रश्न

विगत केहि महिना अगाडिबाट एक पछि अर्को गर्दै निकै रफ्तारमा हाम्रो समाजमा घटनाहरु घटिरहेका छन् । भक्तपुरमा ११ वर्षको बालक निशान खड्का यहि वर्ष अगष्ट

वामदेव काण्ड: प्रचण्ड सफल, ओली विफल

नेकपा नामको जहाजमा दुईजना पाइलट छन् । एकजना केपी ओली, अर्का पुष्पकमल दाहाल प्रचण्ड । ओलीले जहाज एकातिर लैजान खोज्दैछन्, प्रचण्ड विपरिततर्फ जहाज लैजान

बौद्धिकता राजनीतिः के हो बौद्धिकता ?

बौद्धिक वा बौद्धिकता भन्ने अवधारणाहरू जति पुराना हुन, तिनमा अन्तर्निहित राजनीति पनि त्यति नै पुरानो हो । समय अनुसार यो राजनीतिका स्वरूप परिवर्तन भए

वामदेवले चुनाव जिते देशले चाहिँ हार्नेछ

उपचुनावमा वामदेव गौतम हारे भने के हुन्छ ? जिते भने के हुन्छ ? १) जिते भने : वामदेवको जितलाई नेकपाको जित मानिने छैन । यो सरकारको जित पनि मानिने छैन ।