‘वामदेव उपचुनाव लडेर सांसद बन्ने, प्रधानमन्त्री पनि बन्ने’

काठमाडौं । एमाले नेता बामदेव गौतम उपचुनाव लडेर सांसद बन्ने भित्री तयारीमा लागेको बुझिएको छ । गौतम निकट स्रोतका अनुसार वामदेवलाई उपचुनाव लडेर सांसद बन्नुपर्छ भन्नेहरुको संख्या एमालेभित्र निक्कै ठूलो छ । वामदेव निकट एक नेताको भनाई छ, ‘पश्चिम नेपालका केही सांसदहरुले वामदेव पुन चुनाव लडेर सांसद बन्नुपर्छ भन्दै आफू राजीनामा दिन तयार रहेको र सो ठाउँमा वामदेवलाई उपचुनाव लडाउन तयार रहेको बताएका छन् ।’

त्यसरी सांसद पदबाट राजीनामा दिन तयार हुने सांसदहरु कोको हुन् भन्ने चाहिँ उनले बताएनन् । स्रोत भन्छ, माओवादीका एकजना सांसद पनि बामदेवलाई ठाउँ छाडिदिनका लागि राजीनामा दिन तयार छन् । 

प्रत्यक्ष निर्वाचित सांसदले पदबाट राजीनामा दिएमा सो क्षेत्रमा उपचुनाव हुने व्यवस्था छ । 

वामदेवले गत चुनावमा जितेका भए प्रधानमन्त्री पदमा दावी गर्ने थिए । उनले आफू भावी प्रधानमन्त्री भनेर घोषणा समेत गरिसकेका थिए । तर, आश्चर्यजनक र रहस्यमय रुपमा वामदेवले वर्दियाबाट चुनाव हारे । उनलाई कांग्रेसका सञ्जय गौतमले हराएका हुन् । मत परिणाम आउनु अघिसम्म वामदेवलाई एमालेले ‘निश्चित जित्ने’ उम्मेदवारको सूचीमा राखेको थियो । 

वामदेवले जितेका भए एमालेभित्रको गुटगत समीकरणमा ठूलो फेरबदल आउने थियो भन्छन् वामदेव निकट नेताहरु । उनीहरुका अनुसार वामदेवले प्रधानमन्त्री पद निश्चित रुपमा दावी गर्ने थिए, वामदेवलाई माधव नेपाल समूह र झलनाथ समूहले पनि सघाउने थियो । त्यसबाहेक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि ओलीलाई भन्दा वामदेवलाई नै प्राथमिकता दिने थिए । तर, वामदेवले चुनाव हारे । 

झण्डै प्रधानमन्त्री बनेका

अघिल्लो संसदकालमा वामदेवलाई केपी ओलीले प्रधानमन्त्री पदका लागि भित्रभित्रै तयार बनाएर राखेका थिए । स्रोतहरुका अनुसार एमालेको सरकार बन्ने अवस्था आए वामदेवलाई प्रधानमन्त्री बनाउने पक्षमा थिए ओली । आफूलाई मधेसवादीले समर्थन नगर्ने र भारतले पनि बन्न नदिने भएकाले एमालेको तर्फबाट वामदेवलाई प्रधानमन्त्री बनाउने रणनीति ओलीले अपनाएका थिए । 

यही कारण गत वर्षदेखि वामदेवले चर्का कुरा बोल्न छाडेका थिए । भारतीय हस्तक्षेपको विरोधमा पनि बामदेवले बोल्न छाडेका थिए  । बोल्नुपर्छ भनेर उनी सार्वजनिक कार्यक्रममा सामान्यतया जाँदैनथे । वामदेव निक्कै संयमित भएर बसिरहेका थिए । उनको बाहिरी गतिविधि खासै देखिँदैनथ्यो । तर, अघिल्लो संसदीय कालखण्डमा ओली नेतृत्वको सरकार गिरेपछि एमालेले सरकार बनाउने मौका नै पाएन । वामदेवले प्रधानमन्त्री बन्ने मौका पाउने कुरै भएन । 

सबैभन्दा सक्रिय वामदेव

एमालेमा सबैभन्दा सक्रिय नेता मानिन्छन् वामदेव गौतम । एमाले अध्यक्ष केपी ओली सबैभन्दा धेरै कोसँग तर्सन्छन् ? जवाफ हो– बामदेव गौतम । ओलीसँग ठाडठाडै मुख लागेर, हप्कीदप्की गरेर बोल्न सक्ने एमालेमा बामदेव मात्र हुन् । जानकारहरु भन्छन्, ओलीसँग ठाडै अडान लिने भनेर बामदेव एमालेभित्र चर्चित छन् । 

ओलीलाई प्रधानमन्त्री बन्न सघाएका र त्यसपछि पनि ओलीलाई निरन्तर सघाउँदै आएका वामदेवलाई एमाले नेतृत्व वृत्तले निक्कै इमान्दार नेता मान्छ। ‘वामदेव छलकपट गर्नुहुन्न, जे कुरा पनि ठाडै र प्रष्ट भन्नुहुन्छ, त्यसैले ओलीले पनि विश्वाश गर्नुहुन्छ ।’ एक नेताले यस्तो टिप्पणी गरे । त्यही भएकाले ओलीले पनि अघिल्लो संसदीय कालमा वामदेवलाई प्रधानमन्त्री बनाउन खोजेका थिए ।  

एमालेले सरकार बनाउने मौका पायो भने वामदेव प्रधानमन्त्री बन्छन् भन्ने एमालेभित्र सबैले अनुमान गरेका थिए । त्यसैले वामदेवको शक्ति बढेको थियो । एमाले नेताहरुमध्ये ओलीपछि सबैभन्दा धेरै कार्यकर्ताको भीड लाग्ने वामदेव निवासमा हो ।

असाध्यै बोलक्कड र मनमा लागेको कुरा कुनै मोलाहिजा नराखी भन्ने वामदेव निकै लामो समयदेखि मौन बसेका थिए, प्रधानमन्त्री बनिन्छ भनेर । बाहिर मौन बसे पनि एमाले नेताहरुमध्ये सबैभन्दा सक्रिय वामदेव नै थिए भन्छन् उनी निकट एक नेता । गत चुनावमा टिकट बाँड्दा ओलीपछि सबैभन्दा कोही हावी भयो भने वामदेव नै भएका थिए। झन, समानुपातिकको लिष्ट बनाउँदा वामदेव जति सक्रिय अरु नेता हुन सकेनन् । 

वामदेवले ओली गुटलाई पनि आफ्नो बनाए, माधव र झलनाथलाई पनि निकटमा राखे । त्यसैले चुनावमा आफ्नाहरुलाई अत्यधिक संख्यामा टिकट दिलाउन र समानुपातिकमा पार्न सके भन्छन् वामदेव निकटहरु । 

वामदेवले बेग्लै गुट चलाए पनि आफूलाई सहयोग गरिरहेकाले ओलीले वामदेवलाई निक्कै प्रोमोट गरिरहेका थिए। तर, चुनाव लागेपछि ओली र वामदेवको बाटो फाट्यो । आफू प्रधानमन्त्री बन्न नसक्ने स्थितिमा मात्र पार्टीको तर्फबाट वामदेवलाई अगाडि बढाउन चाहेका थिए ओलीले, नयाँ चुनाव भएपछि पनि वामदेवलाई अगाडि बढाउने पक्षमा थिएनन् । चुनावपछि ओली आफैं प्रधानमन्त्री बन्न चाहन्थे र चाहन्छन् पनि । तर, बाटोको काँडा बन्ने देखिए वामदेव । 

एमालेभित्र कतिपयको भनाई अनुसार वामदेवलाई चुनाव हराउन ओलीको गुटले निक्कै मेहेनत गरेको थियो । वर्दियामा चुनावी सभामा वामदेवले आफूलाई भावी प्रधानमन्त्री भनेपछि ओलीको गुट तर्सियो र चिढियो । वामदेवले चुनाव हार्नुमा ओली गुटको असहयोग पनि एउटा कारण मानिएको छ । 

तैपनि चुप वामदेव !

ओली गुटले आफूलाई चुनाव हराउन प्रयास गरेको वामदेव गुटको भनाई छ । तर, वामदेव जस्ता हक्की र कडा स्वभावका नेता यसबारेमा केही बोलिरहेका छैनन् । स्रोत भन्छ, फेरि चुनाव लड्नुपर्छ भनेर वामदेवले पार्टीका कसैलाई पनि नचिढ्याउने नीति लिएका छन् । त्यही भएकाले अहिले पनि उनी मौन छन् । 

तर, वामदेवले चुनाव लड्न सजिलो भने छैन । एमालेले झलनाथ खनाललाई राष्ट्रपति बनाउन चाहेमा खनालको क्षेत्र इलाम १ मा सांसद पद रिक्त हुन्छ, सो ठाउँमा उपचुनाव हुनेछ । तर, पश्चिम नेपालका वामदेवलाई सुदूर पूर्वको इलामबाट उपचुनाव जित्न सजिलो हुने छैन । अर्काे कुरा, वामदेवका लागि सांसद पद छाडिदिन्छु भन्ने सांसदहरुले साँच्चिकै राजीनामा दिनका लागि नभएर भावी मन्त्रिमण्डलमा पर्नका लागि वामदेवलाई रिझाएका पनि हुन सक्छन् । 

वामदेव निकटहरु भन्छन्, वामदेव कुनै न कुनै रुपमा उपचुनाव लड्नुहुन्छ र प्रधानमन्त्री बन्नुहुन्छ । फायल तस्बिर

नेकपामा सुनुवाई भएन माधव नेपालको असन्तुष्टि

काठमाडौँ, ६ कात्तिक , नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र नेता माधव कुमार नेपालले लिखित रुपमा दर्ता गराएको असन्तुष्टिको सुनुवाई हुन सकेन । पार्टीको

अहिले पनि नेका बलियो छः महामन्त्री कोइराला

विराटनगर, ५ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेस अहिले पनि बलियो रहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज

नेकपा सचिवालय बैठकमा बामदेव प्रकरणबारे बहस, मानन्धरको राजिनामा अस्वीकृत

काठमाडौ, कात्तिक ५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकमा नेताहरूका बीचमा भएका विवाद र असहमतिका विषयमा छलफल भएको छ । सचिवालय

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं, ४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा शुरु भएको छ । नेकपा सचिवालय बैठक दशैं अघि बसेको