‘म क्रिकेटको ओपनिङ व्याट्सम्यान थिएँ’ 

यो कुनै राजनीतिक अन्तर्वार्ता होइन। नेपाली कांग्रेसका महामन्त्रीसँगको कुराकानी त्यो पनि राजनीतिक उतारचढावका बेला कसरी गैरराजनीतिक हुनसक्ला भन्ने पाठकहरुको मनमा लाग्नसक्छ। यो अस्वाभाविक पनि होईन। हामीले नेताहरुलाई राजनीतिका खेलाडी र सत्तामा पुग्ने होडबाजीका पात्र मात्र हुन् जस्तो गरी प्रस्तुत गर्ने गरेका छौं। तर उनीहरुभित्रको अर्को पाटो र प्रतिभालाई प्राय चियाएर हेर्ने गरेका छैनौं। नेताहरुमध्ये वीपी कोइराला यस्ता प्रतिभा थिए, जसलाई तत्कालीन सत्ताले सास फेर्न हावा बाहेक सबैथोक रोकछेक गर्दा पनि उनले साहित्यमार्फत आफ्नो प्रतिभा प्रकट गरे। वीपी एकजना औंलामा गन्न सकिने उदाहरणीय पात्र हुन्। कमोवेश अरुमा पनि यस्ता प्रतिभा हुनसक्छन्। तर ती प्रकाशमा आउन नपाएर होला आममानिसले उनका बारेमा पर्याप्त जानकारी पाएका छैनन्। उनीहरुको राजनीतिक व्यक्तित्वमा छिपेको कला र प्रतिभा जनसमक्ष आउनु पर्छ।

यतिबेला यहाँ प्रस्तुत गरिएका राजनीतिका पात्र हुन् नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला । शशांक कोइरालाको परिचयका लागि अरु कुनै विशेषण आवश्यक पर्दैन। नेपाली राजनीतिका शिखर व्यक्तित्व वीपीका कान्छा सुपुत्र शशांक कुनैबेला अलराउन्डर खेलाडी पनि थिए भन्ने कुरा कमै मानिसलाई जानकारी हुनसक्छ। उनी क्रिकेटका राम्रा खेलाडी थिए विद्यार्थी जीवनमा। दार्जिलिङ्गको नर्थपोईन्ट कलेजमा अध्ययन गर्दा उनले क्रिकेटबाहेक हक्की,फुटबल,टेबलटेनिस र स्वीमिङ्ग खेलेका थिए ।

स्वीमिङ्गका त उनी क्याप्टेन नै थिए। शनिबार सरल पत्रिकाको लागि बिष्णु निष्ठुरीसुकृत नेपालसँग प्रशन्न मुद्रामा कुरा गर्दै शशांकले कुनैबेला क्रिकेटको नामी खेलाडी बन्ने सपना मनमा साँचेको रहस्य खोल्दै भने – ‘म क्रिकेट खेलाडी बन्ने सोचमा थिएँ, मेडिकल लाईनमा पसेपछि बाटो अर्कैतिर मोडियो।’ उनले आफ्नो खेलाडी व्यक्तित्व अझ खुलाउँदै भने–‘म क्रिकेट, हक्की, फुटबल पनि खेल्थें। बिद्यार्थी समयमा म स्वीमिङको क्याप्टेन नै थिए नि। एकताका त आफ्नो क्यारियर नै खेलकूदमा लगाउँ भन्ने पनि सोचेको थिएँ तर मेडिकल लाइनमा गइसकेपछि सबै भताभुङ्ग  भयो !’ सरल संवाद बिस्तारमाः

डाक्टर साहेब यहाँ त विद्यार्थीकालमा खेलाडी हुनुहुँदो रहेछ!

हो त नि, म राम्रो खेलाडी हूँ नि त्यतिबेलाको हाम्रो स्कूलमा। म अलरान्डर खेलाडी थिएँ आफ्नो समयमा तर पछि आएर पढाईको बिषय अर्कै भएपछि खेलकूदले निरन्तरता पाउन सकेन।

तपाईंको कुन खेलमा बढी रुची थियो? 

मेरो क्रिकेट र फुटबलमा बढी रुची थियो। स्वीमिङमा त म क्याप्टेन नै थिएँ। हरेक खेलमा मलाई रुची थियो। म टेबलटेनिस पनि खेल्थें, व्याटमिन्टन पनि खेल्थें।

खेलकुदबाट पुरस्कार मेडलहरु पनि जित्नु भएको थियो? 

हो त, मैले धेरै नै मेडलहरु जितेको छु। स्कूल र कलेज दुबैमा मेडलहरु पाएको छु। बुझ्नुभयो, त्यतिबेला हाम्रो स्कूलमा सेन्चुरी हान्ने मान्छेलाई व्याट दिन्थे। मैले व्याट पनि पाएँ।

 पूर्व खेलाडी र एकजना महत्वपूर्ण नेताको स्थानबाट हेर्दा नेपालमा खेलकुदको अवस्थाबारे तपाईको धारणा के छ ? 

हेर्नोस, देश बिकासमा खेलकूदको अत्यन्त ठूलो योगदान रहन्छ र उच्च महत्व छ। त्यसैले खेलकूदलाई हामीले उच्च प्रथामिकता दिनुपर्छ। हाम्रो देश नेपालमा फुटबल, क्रिकेट, टेबलटेनिस, मार्सलआर्ट र भलिवलमा सीप भएका युवाहरु धेरै छन्। धेरै राम्रो संभावना छ हाम्रो युवा शक्तिमा। खेलकूदमा हेर्नुभो भने ६० प्रतिशत जनशक्ति भनेको ४० वर्ष भन्दा मुनिका छन्। उनीहरुको अभिरुची पनि खेलकूदमा नै धेरै देखिन्छ। हामीले उच्च प्राथमिकताकासाथ खेलकूदलाई अगाडि बढाउनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ। यसमा म आफूले गर्नसक्ने योगदान गर्न हमेसा तत्पर रहन्छु।

बिद्यार्थी बेलाकै कुरा गरौं, खेलाडी हुँदाको कुनै अवस्मरणीय घटना सम्झना होला?

त्यस्ता घटनाहरु धेरै छन्। अहिले सबै चर्चा गर्न नसकिएला। अब त्यो बेलाको क्रिकेट कै कुरा गरुँ। त्यसबेला क्रिकेटमा रामनाथ नाम गरेका एकजना भारतका ओपनिङ व्याट्सम्यान थिए। उनी हाम्रो स्कूलमा कोच थिए। उनले हामीलाई क्रिकेट खेल्न सिकाएका हुन्। नेटमा सिकाउने बेलामा उनले हामीलाई फास्ट बलरहरुलाई कसरी सामना गर्नुपर्छ र स्पिन बलिङलाई कसरी सामना गर्नुपर्छ भन्ने तरिकाहरु सिकाएका थिए,जुन कुरा अहिले पनि मलाई ताजा सम्झना छ। त्यतिबेला म ओपन गर्थें। स्कूलको लागि म ओपनिङ व्याट्सम्यान थिएँ र बलमा पनि म सेकेन्ड बलर थिएँ। उनकै टे«निङमा म क्रिकेट खेल्थें। क्रिकेट खेल्दाखेल्दै त्योबेला मलाई त कस्तो लाग्यो भने अब क्रिकेटलाई नै आफ्नो पेशा बनाउँ। मलाई खेलप्रति गहिरो रुची थियो,खासगरी क्रिकेटमा। तर त्यो हुन सकेन, अब मेडिकल लाइनमा लागिसकेपछि पढ्न धेरै मेहनत गर्नुपर्छ। समय पुगेन अनि रुची हुँदाहुँदै पनि मैले स्पोर्ट्स चाहिँ छोडिदिएँ। 

यहाँ सुशील कोइराला मेमोरियल फाउन्डेशनको अध्यक्ष पनि हुनुुहन्छ,यो कस्तो संस्था हो,किनभने खेलकूदमा पनि यसको सहभागिता भएको देखियो? 

सुशील कोइराला मेमोरियल फाउन्डेसन एउटा सामाजिक संस्था हो। यसले ‘थिंक ट्यांक’ को रुपमा समाजका खेलकूद,स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा काम गर्छ। त्यही भएर हालै क्रिकेटमा सहयोग गरेको पनि हो। विशेष गरेर हाम्रो देशका युवाहरुलाई बेलैमा शिक्षा पाउने अवसर र उनीहरुको अभिरुची अनुसारको खेलहरुमा प्रवेश गर्न उपयुक्त वातावरणको आवश्यकता छ। मैले देशभरी भ्रमण गर्दा यो कुरा नजिकबाट बुझ्दै आएको छु। फाउन्डेसनले मुख्य रुपमा खेलकूदतिर पनि ध्यान दिएको छ तर मैले अघि उल्लेख गरेका अरु क्षेत्रमा पनि काम हुँदैजानेछ, अहिले सुरुआत भएको छ,बिस्तारै व्यवस्थित रुपमा युवाहरुको व्यक्तित्व बिकासमा सहयोग हुने कामहरु गरिनेछ।

हाम्रो पार्टीका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको एउटा अठोट र लक्ष्य थियो कि  लोकतन्त्रलाई कसरी संस्थागत बिकास गर्न सकिन्छ भन्ने। उहाँको त्यही सिध्दान्तलाई आधार बनाएर जनताको कल्याण हुने क्षेत्रमा सेवा गर्दै लोकतन्त्रको जग बलियो बनाउने काम पनि फाउन्डेसनले काम गर्दै जानेछ। तर युवाहरुलाई नै फोकस गर्दै जाने हाम्रो उदेश्य हो। 

नेपालमा खेलकूद संस्थाहरु धेरै छन् तर कुनै पनि संस्थाको प्रभावकारी भूमिका भएन भन्ने गुनासा आइरहेको सुनिन्छ,जस्तो कि क्रिकेटकै क्षेत्रमा विवाद छ। यसमा सरकारको चासो नपुगेको जस्तो लाग्दैन यहाँलाई?

हो, मैले पनि सुनिरहेको छु। खेलकूद क्षेत्रलाई विवादरहित बनाएर प्रोफेसनल मानिसहरुलाई अग्रसर गराएर खेलको नियमित गतिविधि गराउनुपर्छ भन्ने बारेमा मैले सोचिरहेकै छु। खासगरी सरकारले नै यसलाई प्राथमिकताको दिएर अगाडि बढाउनु पर्छ। खेलकूदको बिकासका अवधारणाहरु छन्। सर्वप्रथम त सरकारले नै यसलाई प्राथमिकताका साथ अगाडि बढायो भने मात्र अरु सम्बन्धित निकाय पनि क्रियाशील हुन्छन्। अर्को कुरा, जस्तो तपाईंले भन्नुभयो, धेरै खेलकूदका संस्थाहरु छन् उनीहरुलाई पनि प्रोत्साहन गर्नुपर्यो। सरकारले उनीहरुलाई टाढा राख्ने नै होईन, पार्टनरसिपमा आउ, खेलको बिकासमा सहकार्य गरौं भनेर आमन्त्रण गर्नुपर्छ। स्थानीय क्लब र खेल क्षेत्रका संघसंस्थासँग सरकारले नै सहकार्यको हात बढाउनुपर्छ।

  पहाडी जिल्लामा जानुभयो भने त्यहाँका युवाहरु यति धेरै फुटबल र भलिबल खेल्छन्, तर त्यहाँ व्यवस्थित खेल्ने ग्राउन्ड नै छैन। अब त्यस्ता जिल्लामा फुटबल र भलिबललाई उपयुक्त सुविधा दिएर  प्रोत्साहन गर्नुपर्यो। उनीहरुलाई आवश्यक सामग्री जस्तै नेट, बलहरु दिनुपर्यो,अझ सबभन्दा महत्वपूर्ण कुरा त खेल्ने मैदान नै दिनुपर्यो नि। त्यो किसिमको उनीहरुलाई मौका पनि दिनु पर्यो। म त के भन्छु भने सरकारले खेलाडीहरुलाई उनीहरुको पठनपाठनमा छात्रवृत्ती अनिवार्य रुपमा दिनुपर्यो,जसले गर्दा उनीहरुले खेलमा समय दिँदादिँदै त्यही समयमा उनीहरुको उच्च शिक्षा पूरा हुनसकोस्। जीवन नै खेलमा समर्पित गरिरहेका खेलाडी छन् भने उनीहरुको जागिरमा पनि प्रथामिकता दिनुपर्यो। यसकिसिमको वातावरण सिर्जना गरियो भने मलाई लाग्छ नेपालमा खेलकूदले धेरै राम्रो ठाउँ लिन्छ। भविष्य अत्यन्त सुन्दर देख्छु म।

 तर व्यवसायिक रुपमा खेल्न चाहने र नयाँ प्रतिभालाई आवासीय तालिम लिन एउटा एकेडेमी पनि छैन भन्ने गुनासो सुनिन्छ?

 यो यहाँले उठाउनु भएको बिषय खेलाडीका लागि अत्यावश्यक आधारभूत कुरा हो। अब क्रिकेट एकेडमी चाहिन्छ,खेलाडीले सबै प्रतियोगिता जितेर कप ल्याईदिउन् भन्ने चाहना राख्ने हो भने उनीहरुलाई अत्यावश्यक सुविधा पनि दिनुपर्यो। अहिले देशभरी स्थानीय क्लबहरुले स्थानीय साधन स्रोतको भरमा नियमितजस्तो फुटबल प्रतियोगिताहरु आयोजना गरिरहेका छन्। नियमितजसो समाचारहरु आईरहेका छन्। यस्ता जिल्लाहरुमा सरकारले अत्यावश्यक खासगरी पूर्वाधार बिकासमा चाँडोभन्दा चाँडो काम गर्नुपर्छ।

अब मेरै निर्वाचन क्षेत्र नवलपरासीमा मैले एउटा अन्तर्राष्ट्रिय स्तरको खेलकूद मैदान बनाउँछु भनेर एउटा अवधारणा लिएको छु। त्यहाँ पाँच बिगाह जति जमिन पनि छ। त्यसलाई पनि अब अगाडि बढाउने योजना छ। मेरो बिचारमा यसैगरी सबै प्रदेशहरुमा आधुनिक सुविधायुक्त स्टेडियमहरु स्थापना गर्नुपर्छ,जसले गर्दा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु हाम्रै देशमा आयोजना गर्न सकियोस्,जुन कुरा संभव छ। म यस बिषयमा सम्बन्धित निकायहरुसँग छलफल गर्छु र खेलकूदलाई उच्च प्राथमिकतामा राखेर समाजमा नयाँ किसिमको सकारात्मक तरंग सिर्जना गरेर युवाहरुलाई जागरुक गराउनुपर्छ भन्ने बारेमा सरकारको ध्यानाकर्षण गराउँछु।

अहिले त निजी क्षेत्र र स्थानीय क्लबहरु मात्र बढी सक्रिय भएजस्तो देखिन्छ नि? 

निजी क्षेत्रले मात्र कति गर्न सक्छ र? उनीहरुलाई सरकारले मदत गर्नुपर्छ। खेलकूद क्षेत्रमा काम गर्ने सरकारी निकायको काममा जबसम्म सरकारले नियमित अनुगमन गर्दैन तबसम्म अहिलेको वातावरणमा सुधार आउन सक्दैन। ठोस नीति र भविष्यमुखी कार्यक्रम नबनाईकन यत्तिकै बस्ने हो भने मैले अघि भनिहाले ६० प्रतिशत चालिस वर्ष भन्दा मुनिका युवाहरुमा निराशा छाउने छ। त्यसले उनीहरुको व्यक्तिगत जीवनमा नोक्सान त हुन्छ नै तर देशलाई समेत घाटा हुनजान्छ।

  तर राजनीतिक दलका घोषणापत्रहरुमा खेलकूदले त्यतिधेरै प्राथमिकता पाएको देखिँदैन नि?

दलहरुले खेलकूदलाई उच्च प्राचमिकता दिनैपर्छ। हाम्रो पार्टी नेपाली कांग्रेसले खेलकूदलाई कम मूल्यांकन गरेको छैन। काम गरेर देखाउनुपर्छ नि सबैले। कामै नगरी घोषणापत्रमा राखेरमात्र त उन्नती हुनसक्दैन नि। हामीले इतिहासबाट पनि पाठ सिक्नुपर्छ, उसबेलाको समयमा पनि बीपी कोइरालाले ‘किङ ११ भर्सेस प्राइम मिनिस्टर ११’ भनेर पहिलोपल्ट फुटबल म्याच गराउनु भएको थियो। त्यसमा बीपी आफैं खेल्नुभएको थियो। त्योबेलादेखि खेलकूदले एउटा गति लिनुपर्ने थियो तर यति धेरै समय बितिसक्दा पनि  त्यस्तो उल्लेखनीय गति लिन सकेको छैन। यसमा सरकारले ध्यान पुर्याउनुपर्छ। हामी जस्ता व्यक्तिहरुले प्रोत्साहन गर्नुपर्छ भन्ने मेरो धारणा हो।

सुशील कोइराला फाउन्डेसनले खेलकूदको लागि तत्काल केही गर्दै छ त? 

हामी धेरै कुराहरु गर्दैछौं। फाउन्डेसनले सोचिरहेको छ कि खेलकूदलाई प्राथमिकताका साथ अगाडि बढाउनु पर्छ। अहिले विभिन्न किसिमका टुर्नामेन्टहरु भइरहेका छन्। फाउन्डेसनले पनि आफ्नो टुर्नामेन्टहरु गर्न आवश्यक योजना बनाउने नीति लिएको छ। अरु संस्थाहरुसँग पनि हातेमालो गरेर खेलकूदमा काम गर्न सकिन्छ। यसमा धेरै काम भैरहेको छ।  

 

 


  


  

 
 

प्रदेशलाई प्रदेशकै रुपमा बुझ्नुपर्छ, ती अलग राष्ट्र होइनन्ः प्रम ओली

काठमाडौँ ।  संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना

\"अर्थ सचिब राजन खनालको चरीत्र देखेर छक्क परें\" सोमलाल सुबेदी,पूर्व मुख्य सचिब

म देशको प्रतिनिधित्व गरी एसियाली विकास बैंकमा वैकल्पिक कार्यकारी निर्देशकमा इमान्दारीपूर्वक काम गर्दै थिएँ । छापामार शैलीमा मलाई फिर्ता बोलाइयो ।

 जोशीको नाम अनुमोदन गर्नुहुँदैन, निरु पाल,संसदीय सुनुवाई विशेष समिति सदस्य

संसदीय सुनुवाई विशेष समिति अनिर्णयको बन्दी भयो । किन ? खै, अनिर्णयको बन्दी किन बनाउन खोजेका छन्, मलाई पनि थाहा छैन । पटकपटक बैठक बस्ने, निर्णय गर्न

उनको पाइलट बन्ने सपना थियो तर......!

उनले शक्तिकेन्द्रमा ठोकिन आउने ठूला साना किसिमका आफ्ना लागि भक्ति गाउन झुम्मिने झुण्डहरुका एक होईन अनेक दृश्यहरु देखेका छन् । कहिले अप्रत्यक्ष