महिलाको पक्षमा बोल्ने नाटक

रत्ननगर, चितवन, २० पाैष ।  ‘जात मिल्दैन धर्म मिल्दैन, हेर त तिम्रो मेरो मन कति मिलेको ।’ नाटक ‘श्रीमान् वीरबहादुर’मा गुञ्जिएका यी शब्दहरुले स्मृतिमा झट्ट एउटा सामाजिक चित्र कोरिन पुग्छ । मदन पुरस्कार प्राप्त रामलाल जोशीको कथासंग्रह ‘ऐना’ भित्रको कथा ‘श्रीमान् वीरबहादुर’लाई कर्मी नाट्य समूहले पहिलो पटक नाट्यमा रुपान्तरण गरी जिल्लामा प्रस्तुत गरेको हो । 

पौराणिक कथानुसार परिबन्धमा परेकी महिलालाई पुज्ने गरिएकामा आजको समाजले त्यस्तै परिबन्धमा परेकी महिलाको वास्तविकतालाई किन स्वीकार्न सक्दैन ? नाटक यही सेरोफेरोमा केन्द्रित छ । 

राजनसँग प्रेममा परे पनि प्रेमलता ठकुरी गर्भवती हुँदा ऊ बेपत्ता हुन्छ । बच्चा जन्मेपछि कुमारी आमा भनेर समाजले उनलाई तिरस्कार गर्छ । त्यति मात्रै होइन, थारूको छोरासँग बिहे गरेको भनेर अर्काे पीडा सहनुपर्छ । ठूलाठूला शीर्षकमा समाचार छापिँदा ती नारी विक्षिप्त हुन्छिन् ।

कलाकार तथा निर्देशक भीष्मराज जोशीले उक्त कथालाई नाट्यमा रुपान्तरण गरेका हुन् । सातवटा नाटकमा आफ्नो भूमिका निर्वाह गरिसकेका कलाकार जोशीले हालै प्रदर्शनमा आउन लागेको चलचित्र फिर्केमा समेत अभिनय गरेका छन्। यो उनकाे पहिलो नाट्य निर्देशन हो ।

“अहिले पनि विभिन्न समस्यामा परेका महिलामाथि हेयभावको दृष्टिकोण यथावत् छ, त्यसैले यो नाटक छनोट गरिएको हो”, जोशीले थपे , “नाटकमा सुदूरपश्चिमको माटो मिसिएको पाउँछु, देखिरहेका घटना र पात्र हुन् ।”

चितवनको नारायणी कलामन्दिरमा बुधबारदेखि १ र ४ बजे दैनिक दुई पटक प्रदर्शन शुरु भएको नाटक चार दिनसम्म छल्नेछ । कैलालीका वीरबहादुर थारूको कथालाई नाटकमा उतारिएको छ ।

गरिब परिवारका वीरबहादुर रिक्सा चलाउने, ज्यालामजदुरी गर्ने काम गर्छन् । सम्भ्रान्त ठकुरी परिवारकी प्रेमलतासंग उनको नाटकीयरूपले सम्बन्ध हुन पुगेको छ । अन्तरजातीय भए पनि एकअर्कामा दुःखसुख साट्ने उनीहरुको प्रेमिल जोडी लोभ लाग्दो छ । तैपनि समाजले स्वीकार्न सकिरहेको छैन । सामाजिक कु–दृष्टिकोणलाई नाटकले जीवन्तता दिन खोजेको छ ।

कथानुसार उनी प्रसव पीडामा हुँदा प्रेमी राजन बेपत्ता हुन्छ । छिमेकी वीरबहादुरले उनलाई अस्पताल लान्छन् । बच्चा जन्मिएपछि अस्पताले श्रीमान् नै सोचेर बाबुको नाम वीरबहादुर र आमाको नाम प्रेमलता राखिदिएको हुन्छ । प्रेमलता छक्क पर्छिन् । पत्रकारले वास्तविकता नबुझी कुमारी आमाको बच्चा भनेर ठूला हेडलाइनमा समाचार छापेपछि उनीमा घृणा जाग्छ । 

समाचार संकलनमा पुगेका पत्रकारलाई प्रेमलता आक्रोश पोख्छिन्, “पटकपटक म तपाईंको समाचारको हेडलाइन बन्न सक्तिनँ ।” उनको वास्तविकता थाहा पाएपछि समाचार लेख्न पुगेको पत्रकार आफैँ हीनताबोध हुँदै फर्कन्छ । 

धर्तिको कुनै कुनामा फिरफिराइरहेको सेतो कागजमा कुनै दिन मेरो कथा भेटिन सक्छ, तर आमाको कथा कुनै कागजमा लेख्न सकिँदैन, आँसुको मसीले हृदयको पानामा मात्रै लेख्न सकिन्छ’– एक पत्रकारको भनाइसँगै नाटकको अन्त्य हुन्छ । नाटक ५० मिनेटको छ ।

वरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठ सूत्रधारबाट नाटकको कथा बगाउनु साह्रै राम्रो हो भन्छन् । पौराणिक र आधुनिकतालाई जोडेर जीवन्त नाटक बनाउनु प्रशंसनीय रहेको उनि बताउँछन्। नाटकमा पौराणिक कथाअनुसार कुन्ति र सत्यवतीको कथासँग आधुनिक सत्य कथा जोडिएको छ । 
त्यो बेला यस्तै पीडा खेप्न विवश महिलालाई पुज्दै आएको समाजमा आज भने किन परिबन्धमा परेर पीडा खेपिरहेका नारीहरु तिरस्कृत हुन्छन् ? समाजको यही नकारात्मक दृष्टिकोण नाटककी मुख्य पात्र प्रेमलताबाट बारबार दोहोरिन्छ ।

‘ठकुरीकी छोरीले थारूलाई पोइ बनाई भनेर समाचार नबनाइदेऊ, तिम्रो जागिरभन्दा मेरो अधिकार ठूलो हो ।’ समाचार लेख्न आएको पत्रकारसँग प्रेमलताले गरेको संवाद मर्मस्पर्शी छ । अनि पत्रकारको दृष्टिकोणमा पनि परिवर्तन आउँछ ।

गाउँका युवाले तिहारको देउसीबाट संकलन गरेको रु ५० हजार रकमबाट नाटकको जग तयार भएको हो । कर्मी नाट्य समूहका अध्यक्ष मुकुन्द सबैको हार्दिकतालाई धन्यवाद दिन्छन्। ठूलो संघर्ष र आर्थिक अभावका बीच नाटक मञ्चन भएको भन्दै उनि  प्राप्त आम्दानी थियटरका लागि जग हुने बताउँछन् ।

चितवनको पछिल्लो सफल नाटक ‘सकस’ भन्दा प्रस्तुतीकरणमा फरक रहनु यसको विशेषता हो । तीन घण्टामै नाट्य रुपान्तरण गर्न सफल बनेका निर्देशक जोशी ३० पटक संशोधन गरेको र १७ जना कलाकार परिवर्तन गरेको अनुभव सुनाउँछन्। कतिपय कलाकारले धोका पनि दिएका थिए । 
यसअघि नारायणी कलामन्दिरले नाटक गर्ने भने पनि सफल नभएकाले कतिपयले विश्वास नै गरेनन् । वीरबहादुर बनेर जीवन्त अभिनय गरेका कलाकार सुरेश जिसी, राजधानी र मोफसलमा कला प्रस्तुत गर्नु उस्तै उस्तै भए पनि प्रविधिमा समस्या हुने उल्लेख गर्नुहुन्छ । उनि शिल्पी थिएटरका नाट्य कलाकारसमेत हुन् ।

सुरेश जिसी र कृपा अधिकारीको मुख्य भूमिका रहेको सो नाटकमा अञ्जान ढुंगानाले जोड्ने काम गरेका छन् । अन्य कलाकारमा भीष्म जोशी, विवेक तिवारी, सुमित आचार्य, अस्मिता थापालगायत छन् । रासस 

८ करोड शब्दको महाकाव्य आउँदै 

  चेङ्दु । विश्वमै सबैभन्दा लामो लोककाव्य मानिएको राजा गेसारको काव्यको सङ्कलन अर्को वर्ष अर्थात् सन् २०१९ प्रकाशन गरिने भएको छ ।  “इपिक अफ किङ

दिलिप कुमारलाई निमोनिया, मुम्बईमा उपचार हुँदै

मुम्बई, २५ असोज । बिरामी भएर अस्पताल भर्ना भएका ९५ वर्षीय भेट्रान अभिनेता दिलिप कुमारको स्वास्थ्यमा सुधार आइरहेको जनाएको छ । उपचारमा संलग्न

  दशैं आएछ !

 असारे चपेटालाई साउने झरीले स्याहारसुसार गरी चिटिक्क पारेर नाटकघरको पर्दा सर्लक्क खोले जसरी आँखाले हेर्दा देखिने हिमाली शीरमा हरिया पहाड

प्रधानमन्त्रीले \'गौरी\'का पंक्ति पढे, राष्ट्रकविका आँखाबाट चारपटक आँशु बगे 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेका काव्यमा विविधतामा एकता प्रतिविम्वित भएको प्रतिक्रिया दिएका   छन्