ज्ञानको प्रकाशमा जगत

सभ्यताको विलाश गर्ने काम त मानव समाजकै हो । सभ्यताको निर्माण पनि मानव चेतनाले नै गर्छ । तर चेतनाका विषयमा जस्तो परिभाषा हामी प्रस्तुत गर्ने गर्छौँ; त्यो यथार्थमा सत्यलाई बङ्गयाउँने प्रयत्न शिवाय अरु केही हुन सक्दैन । यद्यपि फेरि सत्यका विषयमा पनि विवाद नभएको हैन, सत्य के हो र यसको अन्तिम तथा निर्विवाद सत्ता छ कि छैन भन्ने विषयमा पनि विमतिपूर्ण अभिव्यक्तिका खातहरु निकै उच्च छन् । चेतनालाई कतिपयले अनुभवातीत विषय मानेका छन् । चेतनाको परिभाषा आत्मप्रकाशका रुपमा प्रस्तुत गर्न धेरैले रुचि देखाएको पाइन्छ ।

चेतना अनिर्वचनीय विषय हो । वेदान्तले ज्ञानलाई नै चेतना मानेको छ । ज्ञान नै सत्यको प्रतिबोधक हो । ज्ञानबाट नै सबै बाह्य वस्तुहरुको बोध   हुन्छ । बोध पनि प्रत्यक्ष र अप्रत्यक्ष छन् । प्रत्यक्ष ज्ञानलाई पनि दुई ढंगबाट परिभाषित गरिएको छ । एउटा जीवसाक्षी र अर्को ईश्वरसाक्षी । जसमा जीव अर्थात अन्तःकरण (मन) सँग अवच्छिन्न तथा अन्तकरणोपहित (मनद्वारा ढाकिएको) चैतन्य चाहिँ जीवसाक्षी हो । जीवसाक्षी चेैेतन्यले जीवको    प्रत्यक्ष गराउँछ । मन नै हाम्रो इन्द्रियद्वारा बाहिर निस्किन्छ र सारा वस्तु जगत्मा प्रकट हुन्छ । मन आफंै वस्तुको आकारमा परिणत हुन्छ र त्यो वस्तुको साकार बोध हामीलाई हुन्छ । आँखाले या अन्य इन्द्रियबाट मात्रै हामीले वस्तुहरुलाई प्रत्यक्ष बोध गर्न सक्दैनौँ । त्यो जीवसाक्षी माध्यमलाई बोध गर्ने अर्को कुनै शक्तिको आवश्यकता रहने तर्क पनि तर्कशास्त्रीहरुले उब्जाएका छन् र जीवसाक्षी भन्नासाथै अन्तःकरण अथवा मन हो र यसको बोध स्वयं आत्माले गर्छ ।

आत्मालाई ईश्वरसाक्षीका रुपमा व्याख्या गरिएको छ । ईश्वरसाक्षीकै माध्यमबाट  मनले सारा जगतको बोध गर्छ । तर प्रश्न गर्दै जाँदा फेरि ईश्वरसाक्षी या आत्माको  पनि प्रत्यक्षीकरण या बोधका लागि पुनः कुनै सत्ता या शक्तिको आवश्यकता पर्न सक्छ । यो तर्कलाई स्वभाविक रुपमा शान्त गराउँदै वेदान्तले ईश्वरसाक्षीलाई स्वयंप्रकाश मानेको छ । बलिरहेको बत्तीलाई देखाउन अर्काे कुनै साधनको आवश्यकता पर्दैन । सूर्यलाई आफू देखिन अर्काे शक्तिको आवश्यकता पर्दैन । ईश्वरसाक्षी एवं आत्मा पनि त्यस्तै विषय हो । 

सामान्य अर्थमा ज्ञान भनेको जान्नु हो । जान्नुको अर्र्थ केही कुरा सिक्नु भन्ने बुझिन्छ । तर जान्नुलाई सिक्नु भनेर परिभाषित गरियो भने ज्ञानको स्वरुपमा गम्भीर आपत्ती पैदा हुन्छ । सिक्ने कुरा सीपसँग, योग्यतासँग सम्बन्धित हुन्छ । यो सनातन हुँदैन । भौतिक विषय वस्तुसँग हाम्रो मनले सक्षात्कार गरेपछि त्यो वस्तु प्रतिको सामान्य धारणा बस्छ । कुनै वस्तुलाई देख्नु र यो हो भनेर जान्नु ज्ञान हो । तर त्यो वस्तु (अधिगत) पहिले नै जानिसकेको छ भने त्यसलाई पुनः उत्पादन र पुनः परिमार्जित गरेर बुझ्नु चाहिँ सिक्ने विषय अन्तर्गत पर्दछ । ज्ञान जहिले पनि कुमार हुन्छ । एक पटक जानिसकेको कुरा फेरि बोध हुन सक्दैन । त्यसलाई त स्मृति मानिन्छ । वेदान्तले स्मृतिलाई ज्ञान मान्दैन । किनभने त्यो त पहिले नै जानि सकेको विषय हो । खासगरी ज्ञानकालागि विषयसँग योग्यताको आवश्यकता पर्दछ ।

यदि विषयसँग ज्ञानका रुपमा प्रस्तुत हुने योग्यता छैन भने त्यो विषयलाई बोध गर्न सकिँदैन । त्यस्तै शब्दबाट ज्ञान हुने विषयमा पनि योग्यताको आवश्यकता पर्दछ । शब्दको उच्चारणबाट मात्रै पनि विषयको ज्ञान हुन सक्दैन । त्यो शब्दमा बोध हुन सक्ने योग्यता भएन भने श्रोताले अर्थज्ञान गर्न सक्दैन । विशेष गरेर वाक्यजन्य ज्ञानमा आकांक्षा, योग्यता आसक्ती (सन्निधी) र तात्पर्यज्ञानको  आवश्यकता पर्दछ । शब्दमा तात्पर्यविषयीभूत संसर्ग (तात्पर्यपूर्ण विषयसँग समीकृत भएको) को बोधक वाक्यलाई नै शब्द प्रमाण भनिन्छ । तात्पर्य बिनाको शब्दमा कुनै शक्ति हुँदैन । शक्ति भनेको शब्दार्थ हो । शब्दले श्रोतालाई अर्थबोध गराउन सकेन भने त्यो शब्दको उच्चारणमा कुनै शक्ति हुँदैन ।

त्यस्तै शब्दमा आकांक्षाको आवश्यकता पर्दछ । शब्दको अर्थ सहित बोध गराउने आकांक्षा हुनुपर्छ । शब्दार्थको परस्पर जिज्ञासामा विषयत्वको योग्यता हुनुपर्छ । जिज्ञासा नराख्नेकालागि पनि शब्दले अर्थबोध गराउन सक्नुपर्छ । यसलाई शब्दको योग्यता भनिन्छ । कतिपय वाक्यहरुमा आवश्यक सबै शब्दको प्रयोग नगरीकन पनि शब्दार्थ स्पष्ट हुन सक्छ । एउटा शब्दको उच्चारणबाट अगाडि पछाडिका क्रियापरक, विशेषणपरक शब्दहरु उच्चारण नगर्दा पनि अर्थबोध हुन्छ । जस्तै सडकमा हिँडिरहेकी युवतीलाई देखेर एउटा युवकले ‘वाह !’ भन्यो  भने ‘क्या राम्री केटी रहिछन्’ भन्ने अर्थ स्वतः बोध गर्न सकिन्छ । यसैलाई साकांक्ष शब्द भनिन्छ । यहाँ ‘वाह !’ शब्दले नै केटीको सौन्दर्यजन्य आकर्षण प्रकट गर्छ ।

यसबाट युवतीको सौन्दर्यलाई प्रयोग गर्ने अन्य क्रिया, विशेषण आदि शब्दहरु स्वाभाविक रुपमा बोध हुन आउँछन् । त्यस्तै कसैलाई कुनै शब्द या वाक्यको बोध गर्नु छैन भने पनि त्यो शब्द या वाक्यको उच्चारणबाट उसले अर्थबोध गर्छ । जिज्ञासा नहुँदा नहुँदै पनि अर्थबोध गराउने क्षमता नै शब्द या वाक्यको योग्यता भनिन्छ । त्यसैगरी शब्द या वाक्यको अर्थबोध गर्नका लागि शब्दको आसक्ती (समीपता) को आवश्यकता पर्दछ । एउटा शब्द उच्चारण गरेपछि बीचमा अर्कै प्रसङ्गको शब्द या वाक्य बोलेर पछि फेरि पहिलोको प्रसङ्गसँग सम्बन्धित शब्द बोल्दा अर्थबोध हुँदैन ।

जस्तै, बगैँचामा फूल फुल्यो भन्ने कुरा बुझाउन बगैंचा शब्द उच्चारण गरेर ‘भोलि भेटौंला’ भन्ने पदलाई बीचमा प्रयोग गरेपछि फेरि ‘मा फूल फुल्यो’ भन्दा अर्थबोध हुँदैन । बगैँचामा फूल फुल्यो भनेर भन्न आवश्यक पर्ने शब्द सबै एकैचोटी भन्ने प्रक्रियालाई सन्निधि या आसत्ती भनिन्छ । अर्थबोधका लागि यो प्रक्रिया अनिवार्य हुन्छ । अर्थात शब्दको चरणबद्ध अन्वय र यसको श्रृंखलाबद्ध प्रयोग हुनुपर्छ ।
    

ज्ञानलाई सामान्य अर्थमा मात्रै लिएर परिभाषा दिन सकिँदैन । यो हाम्रो चेतनाको समग्रता हो । चेतनाको पूर्णतामा मात्रै ज्ञानको संबोध हुन सक्छ । ज्ञान भनेको एउटा इन्द्रियजन्य अनुभव मात्रै हैन, समग्र चैतन्याकाशको प्रकाशबिम्ब नै चेतना हो । चेतनालाई जीवसाक्षीका रुपमा मात्रै पनि लिन सकिँदैन । यो त जीवसाक्षीलाई पनि प्रकाशित गर्ने र स्वयंलाई पनि प्रकाशित गर्ने ईश्वरसाक्षी एवं आत्मप्रकाश हो । वेदान्तले ज्ञानलाई उच्चतम सत्ताका रुपमा परिमाषित गरेको छ । ज्ञानकै आकाशमा सारा वस्तुको सत्ता विम्बित हुन्छ र त्यही प्रकाशमा यो वस्तुजगत पनि उद्भाषित भएको    छ ।  
 

शंखध्वनीसहित बेलायती संसदमा गीता महोत्सव

लन्डन । बेलायती संसदमा तीन दिवसीय श्रीमद्भगवत गीता महोत्सव सुरु भएको छ ।   यस अवसरमा नेपाल सहित नौ देशका राजदूतहरुको उपस्थितिमा गीताका श्लोक

ग्रहसँग खेलबाड नगरौं, सर्वनाश हुनसक्छ !

  ग्रह दशाहरु भनेको के हो ? ग्रहहरुको प्रभावहरु हुन्छ कि हुँदैन ? अस्तित्वमा जे–जे छ, त्यसको प्रभाव हुनु त स्वाभाविक हो । यदि यो सौर्यमण्डलमा ग्रहहरु

साउनकाे पहिलाे साेमबारः देवघाटमा भक्तजनको भीड

चितवन, ६ साउन । पवित्र तीर्थस्थल देवघाट धाममा साउनको पहिलो सोमबार आज स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । आइतबार देखिनै देवघाट आएर रात बिताइ

ज्योतिषीको भरपर्दा राजाको वंशनाश

ज्योतिष शास्त्र के हो ? ज्योतिष फलादेश मिल्छ कि मिल्दैन ? मिल्छ भने कति प्रतिशत मिल्छ ? प्रश्न छ । ज्योतिषको फलादेश त शत प्रतिशत मिल्छ । ज्योतिष विज्ञान