कीर्तिनिधिले दिएको त्यो २५ रुपैंयाँ

संस्कृतिविद् सत्यमोहन जोशीले सुनाएका स्वर्गीय प्रधानमन्त्री कीर्तिनिधि बिष्टसँग सम्बन्धित केही रमाइला संस्मरण पोस्ट गरिएका रहेछन् मेरो एक जना साथीको फेसबूक वालमा । जोशीले सुनाएका ती ससाना प्रसङ्गहरू पढेपछि मैले पनि मेरो सम्झनाको सन्दूक उघारेर हेर्ने र त्यहाँ रहेका कीर्तिबाबुसँग गाँसिएका मेरो स्मृतिका पानाहरूमा जमेको धूलो टक्ट्क्याउँने जमर्को गरेँ ।

उमेर, ठेगाना, पेसा, सामाजिक हैसियत, राजनीतिक लगाव जस्ता धेरै कुराहरूमा कुनै तालमेल नभएका कारणले कीर्तिबाबु र म नजिक वा मित्रवत् हुने अवस्था पटक्कै थिएन, कहिल्यै भएनौँ पनि । तर संयोगवश उहाँसँग भेट्ने अवसरहरू भने लगातार जुटिरह्यो मलाई । भलै ती भेटहरूले मलाई मात्रै एकोहोरो प्रभाव पारेको किन नहोस् ।

यो २०२२ सालको कुरो हो । म सञ्जीवनी हाईस्कूल धुलिखेलमा १० कक्षामा पढ्दा उहाँ उपप्रधान र शिक्षामन्त्रीका हैसियतले एउटा कार्यक्रममा प्रमुख अतिथि भएर आउनु भएको थियो । प्रधान अध्यापक पूर्णमान सिंह बस्नेतको आदेशमा विद्यार्थीहरूका तर्फबाट मैले बोलेको अथवा कविता सुनाएको थिएँ त्यस अवसरमा । कीर्तिबाबुलाई घत परेर हुनु पर्दछ, मलाई २५ रूपैयाँ इनाम दिनु भएको थियो । म भने उहाँको गोरो न गोरो देदिप्यमान चेहेरा र असाधारण लाग्ने लम्बाइ देखेर एकदमै हतप्रभ भएको थिएँ । हुन त उहाँले इनाम दिएको रकम पनि त्यस समयमा ठूलै थियो । गोरखापत्रले आफ्नो ओपिनियन पेजमा छापेको लेखको पारिश्रमिक पनि २५ रूपैयाँ नै दिने गर्दथ्यो त्यतिबेला ।

म कलेज पढ्न काठमाण्डु आएपनि लामघारे सुदर्शन पञ्चनेता कीर्तिनिधिसँग मेरो भेट हुने कुनै संयोग जुरेन २०२७ सालसम्म । उहाँ पञ्चायतको राजनीतिमा चतुरे सूर्यबहादुर थापाको एकलौटी हुँदै गएको वर्चस्व तोड्न कोशिश गरिरहनु भएको थियो । त्रिचन्द्र कलेजमा पढिरहेको म भने साहित्यमा जम्ने प्रयत्न गरिरहेको थिएँ । उहाँका बारेमा केही उडुवा कुरा भने सुन्दथेँः कीर्तिनिधि जुवाको गहिरो लतमा परेका छन् । कीर्तिनिधिलाई दशैं तिहारमा राजा महेन्द्रले जुवा खेल्न पैसा दिन्छन् आदि । तर उहाँको चरित्रमा भएका सरलता, सहयोगी भावना, साहित्य–कलाको क्षेत्रमा लागेकाहरूप्रति सच्चा अनुराग र जीवन र जगतलाई हेर्ने उदार मानवीय दृष्टिकोण जस्ता अमूल्य गुणहरूका बारेमा मैले थाहा पाउँन भने केही समय अझै बाँकी थियो ।

पहिलो पटक त्यो समय आयो २०२७ सालमा । बिष्ट प्रधानमन्त्री थिए । त्यतिनै बेला मेरो नजिकको भाइ बालु (अहिलेका बालकृष्ण सापकोटा, पीएचडी) लाई कतै पेस गर्न तुरुन्ता तुरुन्तै नागरिकताको प्रमाणपत्र चाहिने भएछ । जन्मजिल्ला काभ्रे, त्यसको सदरमुकाम धुलिखेल गएर लिंदा नभ्याइने । अर्को जिल्ला अथवा काठमाडौंबाट नागरिकता लिनलाई सचिव स्तरको कर्मचारीको सिफारिस चाहिने निर्णय बिष्टकै क्याबिनेटले गरेको रहेछ । त्यतिबेला हामीले चिन्ने कोही सचिव थिएन । बालु रुउँला जस्तो गर्न थाल्यो ।

त्यतिबेला मैले झट्ट बिष्टलाई सम्झिएँ । अर्को जिल्लाबाट नागरिकताको प्रमाणपत्र लिन विशिष्ठ श्रेणीको सरकारी कर्मचारीको सिफारिस चाहिने भन्ने, मेरो विचारमा वाहियात निर्णय गर्ने उनै प्रधानमन्त्रीले दिलाउनु पर्दछ भाइलाई नागरिकता भनेर म उसलाई लिएर भोलिपल्ट बिहान सबेरै प्रधानमन्त्री निवास गएँ ।

त्यस समय प्रम बिष्ट नारायणहिटी दरबारको पुरानो दक्षिणढोकाको अगाडिपट्टिको एउटा घरमा बस्दथे । उनको ढोका सबैका निम्ति खुल्ला थियो । हामी पुग्दा त्यहाँ त्यस्तै ८र१० जना मात्र थिए । हामी दुई फुच्चाहरूलाई देखेर प्रमका भान्जा नाता पर्ने स्वकिय सचिव श्येमन्त नामका पन्त वा लोहनीले कौतुकमय मुद्रामा सोधे– भाइहरूको के काम थियो ? ‘प्रधानमन्त्रीज्युलाई भेट्नुछ’ मैले भनेँ । ‘के काम हो भन्नोस् म काम समेत सुनाएर उहाँसँग सोध्छु’ उनले भने । मैले अलि घवराएको ध्वनिमा आफूलाई परेको समस्या सुनाएँ । मेरो कुरा सुनेर छक्क परेका ती सचिव अलमलिएको मुद्रामा प्रम बसिरहेको कोठामा गए ।

त्यसको त्यस्तै ५ मिनेटपछि नै प्रधानमन्त्री कीर्तिनिधि बिष्टको उन्मुक्त हाँसो सहितको धोत्रो स्वर आगन्तुक कक्षमा गुञ्जियो । ‘ए भाइहरू म प्रधानमन्त्रीले नै सिफारिस गर्नु पर्याे त तपाइँहरूको नागरिकताका लागि ?’ 

‘जसरी भएपनि आज नागरिकता बन्नू पर्याे’ मैले अलि दबेको स्वरमा भनेँ । 

‘ल ल । ए श्येमन्त सचिव प्याकुरेललाई भन्देउ त भाइहरूको काम गर्दिनु भनेर । हिजो मात्र बढुवा भएको उनले नि गज्जबको काम पाउने भए ।’ बिष्टले आदेश दिए । श्येमन्तले प्रमको कार्यालयमा अघिल्लो दिनदेखि हाजिर भएका नयाँ सचिव वासुदेव हो या बलराम प्याकुरेललाई टेलिफोन गरिदिए र हामीलाई उनको पुरानो बानेश्वरको घरको लोकेसन सम्झाएर विदा गरे । हिँड्ने बेलामा मैले कृतज्ञ भएर गरेको नमस्कारको भने बिष्टले वास्तै गरेनन् ।

दोस्रो पटकको भेटको त झनै रोचक किस्सा छ । सिंहदरबारमा आगलागी भएपछि नैतिकताको दुहाइ दिंदै प्रमको पदबाट राजिनामा गरेर बसेका बिष्ट ती दिनहरूमा कला साहित्य जस्ता विषयमा अभिरुचि राखेर यसो कार्यक्रमहरूमा देखा पर्न थालेका थिए । हाम्रो साहित्यिक सर्कलका राजनीतिक नेता केदारमान व्यथितसँग उनको राम्रो हिमचिम थियो । त्यही कालखण्डको कुनै एक वर्ष व्यथितजीले साहित्यकारहरूलाई हारी–बिमारी वा कुनै अभर पर्दा सहयोग गर्न एउटा कोष बनाउने र त्यसको जोहो गर्न तिहारमा देउसी खेल्न जाने कार्यक्रम बनाएछन् र हामी उनका कुरा काट्न नसक्ने परशु प्रधान, ध्रुव सापकोटा, शैलेन्द्र साकार, नगेन्द्रराज शर्मा आदिलाई एक किसिमले उर्दी जारी गरे । व्यथितको ज्याठाको घरमा जम्मा भएका हामीहरूलाई उनले भने– ज्ञानेश्वर कीर्तिबाबु कहाँबाट बोहोनी गर्ने । बिष्टसँग कुरा गरेको छु ।

त्यस साँझ बिष्टले हाम्रो टोलीको राम्रो खातिरदारी त गरे नै त्यहाँबाट उनी स्वयम् पनि साहित्यकारहरूको त्यो देउसे टोलीमा सामेल भए । उनकै सल्लाहमा हामीहरू जय नेपाल चित्रघर सँगै बस्ने विवादास्पद व्यापारी रामनिरञ्जन जाटियाको घरमा देउसी खेल्न गयौँ । जाटियाले एक प्रधानमन्त्री भइसकेका र अर्का मन्त्री बनिसकेका बडेआदमी सहितको देउसे टोलिलाई दह्रै दक्षिणा दिए क्या रे । रातको १ बजेसम्म हामीसँग हिँडेर ती लम्बू नेता साथमा आएको परिचरसँग फर्किएको जस्तो लाग्छ । बिष्ट समेत सामेल भएर खेलिएको देउसीबाट उठेको रकम ध्रुव सापकोटा, व्यथित र अर्को एक जना कसैको संयुक्त नाममा खाता खोलेर राखिएको थियो सायद । त्यो रकम अझै हुनु पर्दछ कुनै ब्याङ्कमा ।

म पत्रकारितामा पूरा समय काम गर्ने गरि सक्रिय भएपछि बिष्टजीसँग सम्बन्ध अलि गाढा भयो । उनीसँग टेलिफोनमा कुरा हुन थाल्यो । दुई चार पटक उनको घर पनि गएको थिएँ । सन् १९९६ मा म अमेरिकाको भ्रमणमा जाने भएपछि संयुक्त राष्ट्र संघका लागि नेपालको नियोगमा उपप्रमुख रहेका उनका छोरा विनोद बिष्टसँग पनि भेट्ने विचार गरेर उनलाई फोन गर्दा उनी साहै्र खुशी भएका थिए । ‘हरिबाबु मैले भन्द्याछु । विनोदले न्युयोर्कमा तपाइँलाई हर प्रकारले मद्दत गर्छ ।’ उनले तीन चार दिनपछि भनेका थिए ।

नभन्दै विनोदले मलाई धेरै नै सहयोग गरे । नियोग उपप्रमुखको निवास बनाउन भनी किनिएको न्यु योर्क ट्युडोर सिटीस्थित प्रपर्टीमा कोठाहरू खाली नै रहेछन् । संयोगले त्यतिबेला नै न्युयोर्क पुगेका प्रख्यात कलाकार नीर शाह र मलाई त्यहीँ बस्ने ब्यवस्था मिलाइदिए । नीर र म मिल्ने साथी परदेशमा पनि सँगै बस्ने अवसर जुटेकोमा हामी दङ्ग पर्यौँ । विनोदले उनको घरमा बोलाएर डिनर पनि खुवाए ।

निक्कै वर्षपछि एक साँझ कीर्तिबाबुसँग मैले अलि रुखो किसिमले अप्रिय वार्तालाप गरेको सम्झन्छु त्यो पनि सामान्यतः हेर्ने हो भने मेरो खासै सरोकार नपर्ने विषयमा । अहिले मलाई लाग्दछ त्यो फोनवार्ता गर्न जरूरी थिएन । त्यो मैले आफ्नो स्वभावगत कमजोरीका कारण गरेको थिएँ ।

पद र पैसाको तामसी जोशमा होश हराएका लोकमानसिंह कार्कीहरूले सुनसरी, दुहबी बजारको विराटनगर जाने मूल सडकमा त्यतिबेला जीवितै रहेका कार्कीकुलशिरोमणि भूपालमान सिंहको पूर्णकदको सालिक खडा गरेका थिए । जहाँ सालिक उभ्याइएको थियो त्यहाँ दोबाटो चौबाटो केही थिएन । मात्र उत्तर दक्षिण लम्पसार परेको सडकको माझमा स्त्री– योनि आकारको ठाउँ बनाएर बृ. ज. कार्कीको डाम्मडुम्म परेको ढलोटको छ–सात फुटे मूर्ति सडक विभाग, यातायात कार्यालय, ट्राफिक प्रहरी, सीडीओ लगायत सबै सुरक्षा संयन्त्रहरूलाई खुलेयाम हाँक दिँदै उभ्याइएको थियो । म ती दिनहरूमा आफ्नो दैनिक पत्रिका लिएर विराटनगर गएको थिएँ र काम विशेषले त्यो सडक भएर ओहोरदोहोर गर्दा त्यहाँनेर पुगेपछि रिस, क्षोभ, असहायपना र असफल विद्रोहको भावनाले हुरुक्कै हुन्थेँ । धेरै दिनसम्म कार्की जर्साहेबको त्यो सालिक बाक्लो कपडाले छोपेर राखिएको थियो ।

एक दिन हठात् समाचार सुनियो दुहवीको सडकमा स्थापित राजसभा स्थायी समितिका पूर्व सभापति समाजसेवी बृ. ज. भूपालमान सिंह कार्कीको पूर्णकदको सालिक पूर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टद्वारा अनावृत । समाचार सुन्ने बित्तिकै गलत ठाउँमा गलत मान्छेको सालिक ठड्याएको देखेर मनमा धेरै पहिलेदेखि जम्मा भएको रिसको घडा फुटेर छताछुल्ल भयो । विवेक गुमाएको क्षणको मेरो त्यो रिसको घानमा परे मैले सम्मान दिँदै आएका वयोवृद्ध अगुवा कीर्तिनिधि बिष्ट ।

अलि थर्थराएको जस्तो सुनिए पनि मीठो लाग्ने उनको लामो हे.. लो सुन्नेबित्तिकै पड्केको मैले के के भनेँ थाहै पाइँन । निक्कै बेरपछि ती भद्र पुरुषले हार मानेको दमित स्वरमा भनेको कुरा चाहिँ अझै सम्झन्छु– ‘साँच्चै, हो त, अहिले पो याद आयो, त्यो सालिक त एकनासको सडकको बीचमा पो थियो त हगि ! ह्यज्यर्डस् नै छ त्यो त । त्यसको उद्घाटन गर्नु गल्ती नै भएछ लौ ! सडकलाई भजाइनल सेपमा काटेको भन्ने बिम्व चाहिँ गज्जबको प्रयोग गर्नु भो ल तपाइँले !’ (वरिष्ठ पत्रकार हरि अधिकारीको संस्मरण उनको फेसबूकबाट)
 

उपप्राध्यापक भट्टराईलाई विद्यावारिधि

  काठमाडौँ, ७ भदौ । उपप्राध्यापक नेत्रविनोद भट्टराईले संस्कृतमा विद्यावारिधिको उपाधि प्राप्त गरेका छन् ।    भट्टराईले नेपाल संस्कृत

‘रणहार’ पुस्तकलाई मदन पुरस्कार, बैरागी काइँलालाई जगदम्बा श्री

  काठमाडौँ १ भदौँ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले यस बर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिने निर्णय गरेको छ

शौचालय जाँदा बेहोस भएका वरिष्ठ साहित्यकार दीक्षितको निधन

काठमाडाैं, ३० साउन । वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना

 शाश्वतको नवीन  कृति ‘होस्टल’ सार्वजनिक

काठमाडौं । शाश्वत घिमिरेद्वारा लिखित उपन्यास होस्टल लोकार्पण भएको छ । १७ वर्षको उमेरमा शाश्वतले होस्टल नामक पुस्तक लेखेका छन् ।  यस पुस्तकका बारेमा