मुलुकबाट बाहिरियो ९१ अर्ब

काठमाडौँ — गत जेठसम्म मुलुक भित्रने भन्दा ९१ अर्ब रुपैयाँ बढी रकम बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको ११ महिने ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विवरण सार्वजनिक गर्दै मुलुकको शोधनान्तर स्थीति (मुलुकमा भित्रने र बाहिरिने रकमको अन्तर) ९० अर्ब ८३ करोड रुपैयाँले घाटामा रहेको उल्लेख गरेको छ ।

 यो तथ्यांकअनुसार वस्तु तथा सेवा निर्यातबाट आउने रकम, प्रत्यक्ष वैदेशिक लगानी, विदेशी सहायता तथा ऋण, रेमिट्यान्यलगायत शीर्षक अन्य विभिन्न शीर्षकबाट मुलुक भित्रनेभन्दा यस्तै शीर्षकमा बाहिरिने रकम बढी भएको हो । खासगरी नेपालीले प्रयोग गर्ने वस्तु तथा सेवा विदेशबाटै अत्यधिक आयात गर्नुपर्दा शोधनान्तर घाटा झन्डै ९१ अर्ब पुगेको हो । यसले मुलुकको परिनिर्भरता झन् बढेको देखाउँछ ।


‘अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो,’ राष्ट्र बैंकद्वारा जारी प्रतिवेदनमा भनिएको छ । ११ महिनामा चालु खाता घाटा २ खर्ब ४८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । ‘अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब १० अर्ब २४ करोड थियो,’ प्रतिवेदनमा भनिएको छ । चालु खाता पनि वस्तु तथा सेवा निर्यात गरेभन्दा आयात बढी गरेकाले घाटा हुन गएको हो । यसको मतलव नेपालले वस्तु तथा सेवा निर्यातको तुलनामा अन्य देशहरूबाट आयात अत्यधिक गरिरहेको देखिन्छ ।


राष्ट्र बैंकको तथ्यांकअनुसार ११ महिनामा नेपालबाट ८७ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको छ । आयात भने १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ बराबरको भयो । ‘एघार महिनामा कुल वस्तु व्यापार घाटा १७.२ प्रतिशतले विस्तार भई १२ खर्ब ११ अर्ब ९६ करोड पुगेको छ,’ तथ्यांकमा भनिएको छ, ‘समीक्षा अवधिमा निर्यात–आयात अनुपाद ६.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ६.७ प्रतिशत रहेको थियो ।’


एघार महिनामा रेमिट्यान्स १७.५ प्रतिशतले वृद्धि भएको छ । तथ्यांकअनुसार ७ खर्ब ९९ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । ‘अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले बढेको थियो,’ विज्ञप्तिमा भनिएको छ । अमेरिकी डलरमा ८.१ प्रतिशतले रेमिट्यान्स बढी आएको राष्ट्र बैंकले जनाएको छ । डलरमा अघिल्लो वर्षको रेमिट्यान्स आप्रवाह ९.७ प्रतिशतले वृद्धि भएको थियो ।


विदेशी विनिमय सञ्चिति पनि घटेको छ । गत वर्षको असार मसान्तसम्म ११ खर्ब २ अर्ब रुपैयाँ विदेशी विनिमिय सञ्चिति रहेकामा गत जेठ मसान्तसम्म १० खर्ब ३० अर्ब ८८ करोड रुपैयाँमा झरेको छ । यो रकमले नेपालका लागि ७.७ महिनालाई चाहिने वस्तु तथा सेवा आयात गर्न मात्रै पुग्छ । ‘अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकामा २०७६ जेठ मसान्तमा ९ अर्ब २५ करोड रहेको छ,’ तथ्यांकमा भनिएको छ ।

विदेशी विनिमय सञ्चितिमध्ये ८ खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँ राष्ट्र बैंकसँग छ । बाँकी १ खर्ब ४५ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये २४.२ प्रतिशत भारतीय मुद्रा रहेको राष्ट्र बैंकले जनाएको छ । ‘एघार महिनाको औसत मुद्रास्फीति ४.५ प्रतिशत रहेको छ,’ तथ्यांकमा भनिएको छ । (कान्तिपुर दैनिकबाट)

राष्ट्रपति कार्यालयमा पूर्वएमालेकाे बैठक, जबज जोगाउन यस्तो बन्यो प्लान

काठमाडौं, १ भदाै । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद

सेना लखेटेर प्रचण्ड, बाबुराम र महरालाई दिएको त्यो आश्रयस्थलः ‘अहिले त सबैले बिर्सिए’

राजपुर (दाङ), १ भदाै । राजपुरको वेतनिया गाउँ तत्कालिन माओवादीका शीर्ष नेताहरुको लागि युद्धकालमा सुरक्षित आश्रयस्थल थियो। जहाँ उनीहरु महिनौं बस्थे,

प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग यस्ताे सम्झाैता

काठमाडौँ, १ भदौ । लामो समयको राजनीतिक अस्थिरतापछि गठित स्थिर सरकारले पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढेपछि हालै प्रधानमन्त्री र

डरलाग्दाे तथ्याङ्कः प्रत्येक ३० घण्टामा बलात्कार

वीरेन्द्रनगर, १ भदाै । सुर्खेतकी नौ वर्षीया बालिका विद्यालयबाट घर जाँदै गर्दा गत जेठ २३ गते बाटोमै बलात्कृत भइन्। घर पुर्‍याइदिने भन्दै गाउँकै एक