बूढो बाओबाबको सियाँलमा

हिउँद लागेको छ । 

चम्किलो छ घाम तर रापिलो छैन । न्यानो छ । 

पहेंलिएका बाओबाबका पातहरु शाखाबाट छुट्टिएर हावामा तरेली खेल्दै भुईंमा आइ खस्छन् । एक याम जुनि बाँचेको उद्घोष गरेर । 

म बाओबाबका पातहरुसँग जीवनलाई दाँजी हेर्छु । अर्को याम जीवन सकुशल बाँचेकोमा धन्यवाद दिन चाहन्छु स्वास्थ्यलाई/प्रकृतिलाई । कुनै अलौकिक चिजलाई । निलो आकाशलाई । यसरी नै यो एक याममा कत्ति आफन्तहरु/मित्रहरु पहेंलिएर शाखाबाट छुट्टिए । फेरि नजोडिने गरि । 
बाओबाबको सियाँलमा जीवन शान्त छ यहाँ । 

शहरको/दुनियाँको कोलाहलबाट टाढा छ । विस्तारै– कसैको हतारोमा नपरेर आफ्नै धुनमा हिँडिरहेको छ । यहाँ बिहानै चराहरुको चिर्रविर्र सुन्न पाइन्छ । दिनभरी स्वच्छ हावा फोक्सोभरि लिन पाइन्छ । दिनभरी हिँड्दा पनि यहाँ आँखा बिझाउँदैन । 
 

० 

टोङ्गोगारामा छु । 

बाओबाबको सियाँलमा छु । 

टोङ्गोगारा बाओबाबको सियाँलमा छ । 

यहाँ आएको तीन महिना पुग्नै लागेको छ । “तीन महिनामा घर जान पाउँछु ।”  खुशी हुन्छु । स्कूलमा बर्खे बिदामा हुने खुशी अझै पनि ममा जीवितै छ । अझ खुशी छु– यहाँ गृहकार्य गर्नु पर्दैन । तर घर पुगेपछि गृहस्थ जीवनको व्यस्तता गृहकार्यभन्दा ठूलो हुनेछ । 

    “यस ठाउँलाई कसले टोङ्गोगारा नाम दियो ? किन दियो ?” आर्थरलाई एकदिन यसै सोधेको थिएँ । 
–    “हाम्रो नेताहरुले दिएको हुनुपर्छ ।” 

नाममा के छ र । यस ठाउँलाई जे नाम दिएपनि हुन्थ्यो । कसैले कुनै बिहान उठेर – त्यस निर्जिव मानवहिन ठाउँलाई टोङ्गोगारा भनिदिउँ भन्ने सनकले न्वारन गरिदिएको पनि हुनसक्छ । 

–    “के हो त टोङ्गोगारा भनेको ?” हाम्रो एक स्वतन्त्रता सेनानीको नाम हो, जोसिया टोङ्गोगाा । उसैको नाममा यस ठाउँको नामाकरण गरियो ।”
 

–    “त्यसअघि यस ठाउँको नाम के थियो त ?”
 

    “बिफोर दिस प्लेस वाज जस्ट अ बुस ।”
 

–    “नाम दिन किन आवश्यक ठानियो ?” सोधिन । सोध्न आवश्यक पनि ठानिन । ऊ पनि सायद उत्तर दिन आवश्यक ठान्दैन थियो होला ।

टोङ्गोगारा आफैंमा सानो संसार हो । बाह्र हजार जनसंख्या भएको सानो संसार । 
यहाँ
–    दशकौंदेखि युद्धले जीर्ण बनेको देशबाट भागेर आएका कङ्गोलिजहरु छन् ।
–    जान्जावितको हिंसा सहन नसकेर भागेर आएका सुडानीजहरु छन् । 
–    अल–शबाबको आतंकबाट उम्केर आएका सोमालिहरु छन् । 
–    इथियोपियन, बुरुण्डीयन, रुवाण्डनहरु छन् । 

शरणार्थी शिविरमा विभिन्न सेन्टहरुका चर्चहरु छन् । इसाई धर्म भित्रकै विभिन्न उपशाखाका चर्चहरु शिविरभरि व्याप्त छन् । पेन्टेकोष्टल, प्रोटेष्टान्ट रिफर्मण्ड, जाहोभा विटनेस । अनि विचार्छु– हाम्रो देश (नेपाल) मा इसाई धर्म लिनेहरु कुन उपशाखामा विभक्त हुँदा हुन् । तर फेरि विचार्छु– विदेशी हिन्दु हुँदा हुन, ब्राह्मण हुँदा हुन अथवा सुद्र । थुप्रै मस्जिद पनि छन् शिविरभरि । सुडानीहरुको आफ्नै , सोमालिहरुको आफ्नै  । 

समुद्री आँधी इडाईको चार दिनको प्रकोपमा पनि बाओबाबहरु सिधा अजङ्ग उभिए । त्यसपछि पनि अजङ्ग उभिएका छन् । लाग्छ यस रुखलाई ढाल्न ठूलै प्रकोप आउनुपर्छ पृथ्वीमा । 

तर, कमसल माटोले बनेको ईंटामा सुरक्षाको आभाष गरेर बसेका शरणार्थीहरुको विश्वासको पर्खाल शिविरभरि ढल्यो । बाटो जति सबै खोलामा परिणत भयो । 

दुःखीलाई त दैवले पनि हेप्दो रहेछ । 

असहाय पिताको आँखामा ‘विश्वासको टेवा’ याचना गरिरहे साना नानीहरुले ।  टोङ्गोगारामै हामी ‘आँधी नआउने घर’ मा रातभरी हुरी चलेको प्रसङ्ग गरेर बस्यौं । 

मुतारेबाट झण्डै दुई सय किलोमिटर दक्षिणपूर्वमा झाडीहरुको बीचमा लुकेर बसेको छ यो सानो संसार । प्राइभेट गेम पार्कसँग सिमा साँटेर । 
अनि फेरि विचार्छु “भाग्यले हेपेकाहरुलाई किन यस्तो डरलाग्दो ठाउँमा राख्छन् सरकारहरु ?”

तर, हामीले नै पनि भूटानी शरणार्थीहरुलाई कहाँ राख्यौं– टिमाईको बगरमा, बेलडाँगीको जङ्गलमा, पथरीको जङ्गलमा । बर्खामा रुखले किचिएर मर्थे । टिमाईमा आउने भेलबाढीले कत्तिलाई बगाएर लग्यो होला । हात्तीको बसाईं–सराईमा हात्तीकै आक्रमणले कति मरे होलान् । 
सरकार ! तिनीहरुलाई पनि शहीद घोषणा गरिदेउ । तिम्रो निर्णयका शहीदरु हुन ति । 

एक साँझ चौकिदारसँग गफिँदा उसैले भन्यो– “आजकल सिंह गर्जेको सुनिँदैन । सायद वरपर छैनन् होला ।”
“सिंह !” म सशंकित भएको थिएँ । 

“हो नि । बिहान दुई–तीन बजेतिर सिकार गर्न निस्किन्छन् । अस्ति–अस्ति गर्जेको सुनिन्थ्यो । आजकल सुनिएको छैन ।”
“हो र ?” अँध्यारो थियो । तर मेरो अनुहारमा डर पूरै देखिएको हुनुपर्छ । 

“एक–डेढ हप्ता अघि ऊ त्यै बाओबाबको फेदमा एउटा गाई मारे । दुई–तीनवटा सिंह हुनुपर्छ । आधि आएर गएछन् ।”
 

“......”

“यहाँ सिंह, हरिण, गोही सबै जनावर छन् सर । अस्ति मात्रै क्याम्पबाट गोहीले सुङ्गुरको पाठो लगेछ । मान्छेको पाठो लगेको भए कथै अर्को    हुन्थ्यो ।” हामी हाँस्यौं । सुङ्गुर्नी हामी हाँसेको देखेर छक्क परि होली !
 

० 

बाओबाब शान्त उभिन्छ । अरु रुखहरु झैं ऊ सानो–तिनो हावाहुरीले हल्लिँदैन । आत्तिँदैन । सानो बतासमा ठूलो आवाज गरेर सुसेल्दैन । इडाईमा त उसले कुनै आवाज गरेन भने कहिले गर्छ होला । 

“तिमी कहिले विचलित हुन्छौ, बाओबाब ?”

“मैले विचलित हुन छाडीसकें । त्यो मेरो डिएनएबाटै हटीसक्यो ।” ऊ फेरि मूर्तिवत हुन्छ । 

नआत्तिनु त बाओबाब जस्तो । 

टुँडिखेल अतिक्रमण हुँदा आत्तिने हामी । 

प्रधानमन्त्री निवास विक्री हुँदा आत्तिने हामी । 

बाइडबडी प्रकरण, सुडान घोटाला, तेत्तीस किलो सुन काण्डमा छिट्टै उत्तेजित हुने हामीलाई बाओबाब हुन अझै धेरै समय लाग्ला । 

दुःखमा आत्तिहाल्ने, अलिकति सुखमा खुशी भइहाल्ने म एउटा सानो झाडी रहेछु– युगौं लाग्ला मलाई बाओबाब बन्न !  
 

 पलेँटीमा संगीतकार विक्रम गुरुङ

साउन  ।  यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा प्रसिद्ध संगीतकार विक्रम गुरुङको प्रस्तुति हुने भएको छ । यसका निम्ति हङकङबाट

उनकै स्मृतिमा: गायक अरुण थापा र चोटको कथा-व्यथा

अहिले जुन ठाउँलाई ‘ठमेलको भाइ झमेल’ भनिन्छ, त्यही झम्सीखेलमा एउटा चर्चित घर थियो । नेपाल बैंक लिमिटेडका वरिष्ठ अधिकृत गन्जुबहादर थापाको त्यो घर,

बालिकालाई ‘युवा प्रतिभा पुरस्कार’

इलाम । पत्रकार जसुदा प्रधानको स्मृतिमा स्थापित ‘युवा प्रतिभा पुरस्कार’ कवयित्री बालिका थपलियालाई प्रदान गरिएको छ । शनिबार यहाँ आयोजित

सलमानको भिडियो भाइरल

एजेन्सी । पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको ‘बोतल क्याप च्यालेन्ज’ मा बलिउड स्टार सलमान खान पनि सामेल भएका छन् । उनले यसमा आफ्नो