कुनैबेला लभ लेटर पनि साथीलाई पढाउँथिन् शान्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले जीवनमा धेरै दुःख पनि पाइन र धेरै असन्तुष्टिको अनुभव गर्ने गरी राजनीतिक पदमा पनि पुगिन् तर उनलाई सधैं एउटा पिरलोले सताइरहन्थ्यो–औपचारिक शिक्षा ।

पटकपटक संसद्मा पुगिसकेकी उनलाई कसैले ‘माननीयको शैक्षिक योग्यता कति’ भनेर प्रश्न गर्नेबित्तिकै मन झसंग हुन्थ्यो र उनीसँग दिने जवाफ नै हुँदैनथ्यो । तर, बिहीबारदेखि भने उनको यो अयोग्यता हटेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेसँगै उनको शैक्षिक योग्यता पनि अब एसईई उत्तीर्ण भएको छ ।

कुनैबेला आफुलाई आएको प्रेमपत्र साथीलाई पढ्न लगाउँथिन् उनी । तर बलियो अठोट र लगनशिलताको परिणाम शान्ताले फलामे सांगो मानिँदै आएको एईई परीक्षा पास गरेकी छिन् । उनको यो सफलताले शान्तालाई निरक्षर भनी खिस्सी गर्ने धेरै शिक्षितको मुखमा बुजो पनि लागेको छ । यस्तै प्रसंगमा शान्ताले केही समय अघि सरल पत्रिकासँग खुला कुराकानी गरेकी थिईन्,सान्दर्भिक लागेर यहाँ पुन प्रकाशित गरिएको छ । अरु विवरण शान्ताकै शब्दहरुमा: 

तपाईँको बाल्यकाल कसरी बित्यो?

काम गरी खाने एकदम बिपन्न परिवारको समुदायमा मेरो जन्म भएको हो। कमैया कम्लरीको बच्चा भएको कारणले बाल्यकाल अरुले भोगेको भन्दा फरक नै रह्यो। बाल्यकालको अनुभव नै हुन पाएन। अहिले जुन बालअधिकारका कुरा गर्छन्, मेरोमा त्यस्तो भएन।

तपाईँलाई कम्लरी राख्न कसले कसरी लग्यो? 

कम्लरी त्यतिखेरको प्रथा वा चलन थियो। खासगरी दाङ, बाँके, बर्दिया , कैलाली र कन्चनपुरमा यो प्रचलन थियो। कमैया र कम्लरी प्रथालाई कुप्रथानै भन्छु म। बिशेषगरी थारु समुदायका बालबालिका कसैको लागि काम गर्न सक्ने भएपछि यसरी कमैया र कम्लरी राख्ने चलन थियो। त्यसैकारण मैले पनि आफूमा बालापन आएको महसुस नै गर्न पाईंन। आठ बर्षको उमेरमा मेरो ममिले मलाई जमिन्दारको घरमा कम्लरी राख्न लानुभएको हो। त्यसमा  मेरा बाउआमाका पनि बाध्यता थिए। छोरालाई कमैया र छोरीलाई कम्लरी नदिने हो भने जमिन्दारको घरमा बस्न पार्इंदैनथ्यो। जमिन्दारको जमिनमा श्रम गर्न पाईंदैनथ्यो। कमैया परिवार त्यतिखेर श्रममै आश्रित हुने गर्थे। 

जमिन्दारकोमा लगेर तपाईंलाई छोडेको दिनको याद छ?

पहिलो चोटी कम्लरी बसेको एकदमै थोरै याद छ। आठ बर्षको बालिकाले कति सम्झन सकिन्छ र। तर कतिपय कुुरा चाहिं बिर्सन खोज्दा पनि सकिँदो रहेन छ। जमिन्दारकोमा राख्न लाँंदा आमाले मलाई बाटैभरी सिकाउँदै लानुभो। आमा जब मलाई जमिन्दारको जिम्मा लगाएर घर फर्कनु भयो। मलाई जमिन्दारको पिँढीमा छोडिएको थियो। अगाडि बारले छेकेको थियो। त्यो बारबाट माथि उठीउठी आमा कता पुग्नु भयो भनेर परसम्म हेरीरहें। अनि धेरैबेरसम्म रोएँ। पहिलोपटक आमाको काखबाट अलग भएकी थिएँ। म घरको कान्छी छोरी, मेरा छ जना दिदीहरुले असाध्यै माया गर्थे। पहिलो चोटी दिदीहरु र आमाको काख छोड्दाको पीडाको त बयान गरेर सकिँदैन। आफ्नो क्षमताले गर्न नसक्ने काम गराईन्थ्यो त्यसको याद आँंउछ। हुन त कम्लरीहरुको काम गर्न सीमा नै हुँदैनथ्यो। जमिन्दारले जे भन्यो त्यहि गर्नुपर्ने हुन्छ।

जमिन्दारको घरमा पहिलो काम के गर्नुभयो? 

गएको दिन ढोका पोतेर मेरो कम्लरी जीवनको शुरुवात भयो। अनि भाँंडा माझें, गाई भैंसीका लागि दाना पकाएँं। अनि मालिक माल्किनीको कपडा धोएँ। अनि बच्चाहरुलाई स्कूल लगेर छोडें। यस्तै दैनिकीमा गयो मेरो कम्लरी जीवन। 

यतिबेला आएर ती दिन सम्झँदा कस्तो लाग्छ?

राजनीतिक परिवर्तनसँगै जनताको जीवनमा पनि परिवर्तन आयो। यहिक्रममा ममा पनि परिवर्तन आएको हो। सम्झँदा दुःख गरेपनि पहिलेका ती दिन नै सजिला थिए अहिलेका भन्दा। राजनीति भन्ने थाहै हुँन्नथ्यो। मात्र एक छाक कसरी खाने भन्ने मात्रै चिन्ता थियो। यसका लागि जमिन्दारलाई कसरी खुशी बनाउने भन्नेमा ध्यान केन्द्रीत हुन्थ्यो। अहिले मलाई धेरैले चिन्नु भाको छ। राज्यको महत्वपूर्ण ठाउँमा आएकी छु। पार्टीले ठूलो जिम्मेवारी दिएको छ। यसलाई सर्सती हेर्दा म जति भाग्यमानी अरु कोही छैन जस्तो पनि लाग्छ। तर अहिले धेरै बिषयमा चिन्ता हुन्छ। त्यतिखेर अरु कुनै चिन्ता हुँदैनथ्यो।

कम्लरी कति बर्ष बस्नु भयो? 

१८ बर्ष बसें। ०६३ मा मुक्त भएँं। ०६४ मा त सांसद भएँं। 

तपाईंको बिहेपनि कम्लरी बस्दा नै भएको हो?

मेरो बाल्यकाल, किशोरी अवस्थामा नै जमिन्दारको घरमा बित्यो। बिहे र सन्तान पनि जमिन्दारको घरमा भए। २ सन्तान जमिन्दारको घरमा काम गर्दा जन्मिए। 

कम्लरी बस्दा कुट्ने पिट्ने लगायत यौन हिंसाको शिकार पनि हुनुभयो कि ? 

भएँ नि। किन नहुनु ? तर सबै जमिन्दार एउटै क्याटोगोरीका हुँदैनन्। सबै खराब भनेर एउटै डालामा राखेर म हेर्दिन। कतिपय कमैया कम्लरीलाई माया गर्ने जमिन्दार पनि हुनुहुन्थ्यो। 

तपार्इं कम्लरी बसेको घरका मानिससँग अहिले पनि भेट हुन्छ? 

किन भेट नहुनु,वल्लो पल्लो  घर त हो। 

सम्बन्ध चाहिं कस्तो छ नि ? 

धेरै राम्रो छ। मैले उहाँंहरुलाई कहिल्यै पनि बदलाको भावनाले हेरिन। किनभने त्यतिखेरको चलन र प्रथानै त्यस्तै थियो। हाम्रो पनि कमि कमजोरी थिए होलान्। उहाँंहरु मेरोमा आउनु हुन्छ। म पनि उहाँंहरुकोमा जान्छु। कहिले मलाई खाना खान बोलाउनु हुन्छ। कहिले म उहाँंहरुलाई खाना खान बोलाउँछु। उहाँहरु मेरा छोरा छोरीलाई जागिर लगाई देउ भन्नुहुन्छ। 

तपार्इंको बिहे चाहि एरेन्ज थियो कि लभ? 

एरेन्ज हो। 

त्यसोभए त कतै प्रेम प्रस्ताव राख्न पाउनु भएन? 

त्यस्तो फुर्सद नै भएन। वातावरण नै भएन।

तपाईंको फुर्सद नभएपनि तपाईलाई मन पराउनेहरु त थिए होला नि?

 कसैले मन पराए होला। सानैबाट म रुपको पनि ठीकै ठीकै थिएँ।  पोष्टकार्ड मार्फत चिठी चाहिं आदानप्रदान हुन्थे। तर म आफंै चाहिँ पढ्न जान्दिनथेँ।  त्यसैले कसैको चिठी आयो भने दौडेर गएर पढिदिनु न भन्थेँ। 

कसलाई पढ्न लगाउनु हुन्थ्यो चिठी? 

मेरो एकजना मिल्ने केशरी भन्ने साथीलाई। उहाँं पहाडी समुदायको हुुनहुन्थ्यो। 

चिठीमा चाहिँ के लेखिएको हुन्थ्यो? 

मैले तिमीलाई धेरै मन पराउँछु भन्ने कुराहरु हुन्थे। म माया गर्छु भनेर यस्तै यस्तैै लेखिएको हुन्थ्यो। 

चिठी हेरेपछि तपाईंलाई कस्तो लाग्थ्यो? 

कोही कोहीसँग असाध्यै रिस उठ्थ्यो। यसलाई भेटें भने चड्काउँछु भन्थेँ। अनि कतिपयलाई चाहिँ यसले पो पठाएछ भनेर खुशी लाग्थ्यो। 

चिठीको जवाफ पनि फर्काउनु भयो? 

कहिले कहिले फर्काउँथेँ। 

कसलाई लेख्न लगाउनु हुन्थ्यो? 

उहि केशरीलाई लगाउथेँ। 

जवाफ के भनेर फर्काउनुहुन्थ्यो? 

कसैकसैलाई गाली गरेर पठाउथँें। एकपटक म भन्दा माथिल्लो वर्गको पढेलेखेको मान्छेले मलाई चिठी पठाएको थियो। अनि मैले तिमी पहाडी म थारु, तिमी धनी म गरिव, यो मिल्दैन भनेर लेखेर पठाउथेँ। 

प्रेम प्रस्ताव राख्दा केटाहरुले तपाईंको हातको कुटाई पनि खाएका छन्? 

कुटाई खाएका छन्!

एउटा घटना बताई दिनुस् न? 

नाम चाहिँ नभनौं। हामी जंगलमा दाउरा लिन जान्थ्यौ। थरु समुदायमा कुनै काम गर्दा सामूहिक रुपमा गर्ने चलन थियो। अनि सामूहिक काम गरेर नाच्ने गाउने बेलामा थारु ड्रेसमा टबेल राखेर हिँड्ने चलन थियो। अनि  त्यो टबेल कसैले दियो भने यिनीहरुको लभ परेछ भन्थे। मलाई दुई तीनजनाले त्यस्तो टबेल दिएका थिए। त्यसमध्ये एकजनाले चाहि मेरो कुटाई खायो। त्यो टबेल मैले लगिन। 

कुटाई खाएपछि उसको के प्रतिक्रिया आयो? 

उसले मेरो हात समातेर के गल्ति गरें भन्यो थारु भाषामा । धेरै कुरा थिए। त्यतातिर नजाउ।

तपाईंको श्रीमान्ले अर्को बिहे गर्नुभयो, तपार्इंलाई चाहिँ अर्को बिहे गरांै जस्तो लागेको छैन? 

१५ बर्षको सानो मेरो उमेरमा बिहे भयो। २ जना सन्तान पनि भए। यति धेरै पीडा र दुःखलाई पार गरेर यो ठाउँमा आउँदा त्यस्तो मान्छेले त धोका दियो भने अर्कोले मलाई के गथ्र्यो र? त्यसकारणले अर्को बिहे गर्छु भन्ने मेरो दिमागमा नै छैन। म जे गर्छु ती मेरा बच्चाहरुको खुशीका लागि गर्छु। बाँकी जीवन बच्चाहरुका लागि बिताउँछु। 

उमेर त छ नि? 

उमेर त छ तर एकपटक धोका पाईसकेपछि फेरि अर्को पुरुषलाई विश्वास गर्न गाह्रो हुँदोरहेछ।

तपाईंलाई आफ्नो जीवनकालमा सबैभन्दा अभाव भोगेको दिनको याद छ? 

म सुत्केरी हुँदा मैले खान नपाएका ती दिनको याद आउँछ। त्यसैकारण बच्चाहरुलाई दुध पुर्याउन सक्दिनथेँ। मेरो छोरा माघमा जन्मिएको हो। त्यसबेला ओढ्ने ओछ्याउने कपडा थिएनन्। त्यसकारण अहिले पनि मेरो छोराको स्वास्थ्य  कम्जोर छ। । उ बेला निमोनियाँ भएका कारण अहिले उसलाई छिटोछिटो रुघा लाग्ने गर्छ। सबैभन्दा पीडा त्यो लाग्छ। अनि भूमिहीन कम्लरीहरुको आन्दोलमा हिँड्दा मैले बालअधिकार हनन गरेँं जस्तो लाग्छ। उनीहरुलाई कहिले एकछाक पनि खानसक्ने अवस्था भएन। चाडपर्वमा समेत हामी पेटभरी खान पाउँदैनथ्यौं। चाडपर्बमा बच्चाहरुले नयाँं लुगाको रहर गर्थे। मासु खान मन गर्थे। त्यो संभव थिएन। त्यहि भएर अहिले चाडपर्ब आउँदा त्यो समूदायलाई आफुले नखाएर भएपनि म दिन जान्छु। 

तपार्इंले कति पैसा पाउँदा ठूलो रकम पाएको  महसुस गर्नुभयो? 

कम्लरी बसेको बेला ‘बयाना’ स्वरुप पचास रुपैयाँं पाउँदा त्यस्तो महसुस भएको छ। मेरो जीवनमा सबैभन्दा खुशीको दिन आए जस्तो लाग्यो।

के गर्नुभयो त्यो पैसाले? 

मैले चप्पल किनेर लगाएँ। 

कस्तो चप्पल किन्नुभयो? 

बाटा चप्पलको चलन थियो। त्यो किनेर लगाएको हो। 

तपाईंलाई त बिदेशी जुत्ता नै लगाए जस्तो भयो होला नि? 

त्यो त भयो नि। त्यतिखेर हामी जंगलमा दाउरा लिन जाँंदा मालुकाको टाटा भित्रको गुदी खान्थ्यौ। जंगलमा बाटेर लहराको फिता बनाएर टाटाको चप्पल लगाउथ्यौं। अनि घर आएपछि कसैले त्यो चोरेर लगिदिन्छ भनेर खरको छानोमा लुकाउँथ्यौं। तर भोलिपल्ट घाम लागेपछि त त्यो कक्रेर  डल्लो हुन्थ्यो। 

अक्षर कहाँं चिन्नुभयो? 

घर मा नै चिनें। बच्चाहरुसँग सिकेँ। अनि प्रौढ कक्षा पनि पढेँ। 

त्यो पढेकोले संविधानसभामा समितिको सभापति हुँंदा काम लाग्यो? 

 काम लागेन। म सभासद हुँंदा बल्लबल्ल शान्तासम्म लेख्न सक्थँें। कतिले त औंठाछापे सभासद सम्म भने। सभापति भएपछि मलाई धेरै चुनौती समेत आए। सभासद भएपछि राम्रोसँग पढ्न लेख्न सिके। घरमा नै बच्चाहरुसँग। 

अनि अहिले कति जान्ने हुुनुभयो? 

पोहोर साल ७५ प्रतिशत ल्याएर आठ पास गरेँ। आउने बर्ष एसएलसी दिने तयरीमा छु। 

त्यसोभए त अंग्रेजी पनि जान्नुभयो होला? 

अंग्रेजी र गणित राम्रो छैन। अरु त राम्रो छ। 

सभापति हुँदा विदेशीसँग भेट्दा चाहिं के गर्नुभयो? 

कतिपय समयमा दोभाषे पनि राखेँं। दोभाषे नभएको बेला त्यस्तो पर्दा सामान्य कुुरा गरेर ‘नो इंगलिस’ भन्थेँ।  

काठमाडांैको बसाई कस्तो छ? 

एउटा कोठा लिएकी छु। त्यसमा छोरा छोरी र म तीन जना बस्छौं। काठमाडौंको बसाई कष्टकर छ। 

कोठाभाडा कति छ? 

सात हजार। तर अहिले सांसद भएपछि नपुग्ला भनेर भरखरै एउटा फ्ल्याट लिएकी छु। 

तपार्इं आफू चाहि सबैभन्दा बढि हाँसेको घटना याद छ? 

एउटा बन उपभोक्ताको भेलाको कार्यक्रम थियो। मैले त्यहाँ परिचय भन्ने शब्द पहिलो चोटी सुनें। त्यो केहो भन्ने मलाई थाहा थिएन। लहरै बस्दा म भन्दा अघिल्लो दाईबाट परिचय शुरु भयो। उहाँंले उठेर –  नमस्कार म प्रेमप्रसाद देवकोटा’ भन्नुभयो। उहाँंको लगतै मेरो पालो आयो। मैले त त्यो परिचय भन्ने कहिल्यै सुनेको थिईन। मैले सबैले यहि भन्नेरहेछ भनेर मैले पनि भने – नमस्कार म प्रेमप्रसाद देवकोटा। अनि सबै गलल्ल हाँंसे। पछि सोधे परिचय भनेको यो भनेपछि म बाहिर निस्केर खुव हाँसेकी छु। 


 

\'सरकारको काम गर्ने शैलीले निराश बनायो\'

रिलायन्स फाइनान्स लिमिटेडको हालै सम्पन्न साधारण सभाबाट कुशप्रसाद मल्ली संचालक समितिको अध्यक्षमा निर्वाचित भएका छन् । बुटवल उद्योग वाणिज्य संघका

\'अन्धकारलाई सराप्नु भन्दा दियो बत्ति बालौँ\'

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने लोकप्रिय गीत गाएकी आनी छोइङ डोल्मालाई नचिन्ने विरलै होलान् । १३ वर्षको उमेरमै आनी

\'मलाई गणतन्त्र अहिलेको अहिल्यै घोषणा गरेर निस्किहाल्नुपर्छ भनियो\'

कुलबहादुर गुरुङ नेपाली राजनीतिमा चिनाउने पर्ने नाम होइन। शिक्षण पेसा हुँदै लामो समयदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय नेता गुरुङ नेपाली

\'ओलीको शासन पनि देखियो, माओवादी त सकिई नै हाल्यो\' - प्रकाश कोइराला

शहरभन्दा अलि पर कोलाहलले त्यति असर नपारिसकेको शान्त वातावरणमा बस्छन् प्रकाश कोइराला । दर्जनौं बृक्ष र बुट्यानले सजिसजाउ कुनै ध्यान केन्द्र झैं आभास