सुसाइड नोटः दाइ–भाउजूले हेला गरे, सर मिसले केटाहरूलाई पिट्छन्

काठमाडौं, १० असार । ११ वर्षीय समीर लुङवा ललितपुरको वाग्मती गाउँपालिका २ माल्टास्थित कालीदेवी माविमा कक्षा ५ मा पढ्थे । शनिबार राति बुबाआमा घरमा नभएको मौका छोपेर उनले आफैंलाई सिध्याए ।

अभिभावकहरू राति साढे ९ बजेतिर घर फर्किंदा समीर दलिनमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परे । प्रहरीले उनको साथबाट सुसाइड नोट फेला पार्‍यो । जसमा लेखिएको थियो, ‘म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैनन् ।’

महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी राजकुमार छिउजुका अनुसार सुसाइड नोटमा केही कारण लेखिएको देखिन्छ । प्राप्त नोटमा बालक समीरले घरमा दाइ–भाउजूले हेला गर्ने र स्कुलमा सर–मिसहरूले आफ्नो कुरा नबुझ्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘कक्षामा केटाहरूलाई पिट्ने, केटीहरूलाई नपिट्ने र घरमा मलाई दाजु–भाउजूले हेला गर्ने ।’ उनले स्कुलका केही शिक्षकहरूको नाम तोकेर आफू बिरामी भएको कुरा पनि नपत्याएको उल्लेख गरेका छन् ।

शनिबार राति घटना भए पनि प्रहरी आइतबार दिउँसो मात्रै घटनास्थल पुगेको थियो । महानगरीय प्रहरी वृत्त चापागाउँका इन्स्पेक्टर दिवस बस्नेतले घटनास्थलको मुचुल्का उठाएका थिए । उनले बालकको शव पोस्टमार्टमका लागि पाटन अस्पताल पुर्‍याइएको बताए । उनले भने, ‘घरमा कोही नभएको मौका छोपेर आत्महत्या सुसाइड गरेको देखियो ।’

कलिलै उमेरका बालबालिकाको आत्महत्याको घटना नेपाली समाजका निम्ति नौलो कुरा रहेन । २६ जेठमा धादिङको ज्वालामुखी गाउँपालिकाका १३ वर्षीय सुनील परियारले नजिकैको जंगलमा पासो लगाएर आत्महत्या गरेका थिए ।

७ कक्षाका विद्यार्थी सुनीलको साथबाट फेला परेको सुसाइड नोटमा पनि बाबुआमाले माया नगरेकाले आत्महत्या गर्न लागेको उल्लेख छ । सुनीलको साथबाट फेला परेको सुसाइड नोटमा भाइलाई सम्बोधन गर्दै लेखिएको छ, ‘भाइ, तिमीलाई बाबुआमाले माया गर्नुहुन्छ, मलाई माया गर्नुहुन्न र पिट्नुहुन्छ । त्यसैले तिमी बाबुआमासँगै बस्नु, म मर्छु ।’

आत्महत्याका यी दुई घटनामा देखिने समानता भनेको बालकहरूले कमी महसुस गरेको माया र अभिभावकले निर्वाह गर्नुपर्ने दायित्वमा चुक हो । मनोविद् गंगा पाठक कलिलो उमेरका बालबालिकाको आत्महत्यासम्बन्धी खबरले हाम्रा अभिभावकले बालबालिकालाई समय सापेक्षित रूपमा हुर्काउन सकिरहेका छैनन् र हाम्रो शिक्षा प्रणालीमा पनि केही कमजोरी छ भन्ने संकेत गर्छ । उनले भनिन, ‘बच्चासँग अन्तरक्रियाको कमी छ । विद्यालयमा पनि बाल मनोविज्ञान बुझ्नेभन्दा उनीहरूलाई किताब घोकाउने र दबाब दिएर पढ्न मात्रै लगाउने गरिन्छ ।’

समीर अध्ययनरत कालीदेवी माविका प्रधानाध्यापक कुमार चौलाईले विद्यार्थीको आत्महत्याको घटनाले तनाव गराएको बताए । विद्यार्थीले सुसाइड नोटमा विद्यालयका केही शिक्षकको नाम लेखेका कारण आफूहरू गम्भीर भएको बताउँदै उनले भने, ‘उसले किन आत्महत्या गर्‍यो भनेर अचम्ममा परेका छौं । कोही शिक्षकले उसलाई दण्डित गरेको रेकर्ड पनि छैन । शिक्षकहरूको बोलीले पो उसलाई भावनात्मक चोट पुग्यो कि ?’ उनले आफ्नो विद्यालयले तीन वर्षयता दण्डरहित शिक्षण विधि अपनाएको बताए ।

स्कुलमा सहायक प्रधानाध्यापक, एक शिक्षिका र प्रधानाध्यापक चौलाई सम्मिलित मनोसामाजिक परामर्श विभाग पनि भएको उनले जानकारी दिए । ‘आत्महत्या गर्ने विद्यार्थीलाई कहिल्यै विभागमा ल्याउनुपर्ने गरी परामर्श दिनुपर्ने अवस्था भएको पनि देखिन्न,’ उनले भने ।

उनले गत शुक्रबार नै आफू काम विशेषले काठमाडौं आएको र विद्यालय नफर्किसकेकाले आत्महत्याबारे विद्यालयमा छलफल गर्न नपाएको बताए । उनले आफू फर्किनेबित्तिकै अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकसित छलफल डाक्ने जनाए । उनले भने, ‘कहीँकतै शिक्षकहरूको बोलीले भावनात्मक चोट पुगेर त्यस्तो घटना भएको रहेछ भने हामी सच्चिन्छौं ।’

यसअघि जेठ १९ मा धापासी घर भएका ८ कक्षामा पढ्ने १४ वर्षीय विनायक पाण्डेले आफ्नै घरको शौचालयमा आत्महत्या गरेका थिए । गत फागुन ६ मा बूढानीलकण्ठको मंगलसुन्दर बस्तीस्थित नेपाल दलित महिला उत्थान केन्द्र बाल शिक्षालयको होस्टलमा बसेर २ कक्षा पढ्ने ११ वर्षका समुन्द्र मल्लले आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो । यी दुवै घटनामा आत्महत्याको कारण खुलेको छैन ।

नेपाल प्रहरीको महिला बालबालिका सेवा निर्देशनालयका अनुसार पछिल्लो ४३ महिनामा आत्महत्याका १५ हजार ६ सय ३० वटा घटना भएका छन् । जसमा १८ वर्षमुनिका बालबालिकाको संख्या ७ सय ५६ छ । यसबाट औसतमा मासिक ३ सय ६३ जनाले आत्महत्या गरेको देखिन्छ ।

जसमध्ये बालबालिकाको संख्या औसतमा मासिक १७ छ । अर्थात् कुल आत्महत्यामा बालबालिकाको संख्या झन्डै ५ प्रतिशत हाराहारी छ । विश्व स्वास्थ्य संगठनले मानिसको मृत्युको प्रमुख २० कारणमध्ये आत्महत्यालाई पनि एक मानेको छ । संगठनले १० देखि १४ वर्ष उमेर समूहका बालबालिकाको मृत्युको चारमध्ये एक कारण आत्महत्या मानेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष ०७२/७३ मा ८८ बालक र ८७ बालिकाले विभिन्न शैली अपनाएर आत्महत्या गरेको देखिन्छ । झुन्डिएर आत्महत्या गर्ने बालबालिकाको संख्या सबैभन्दा धेरै देखिन्छ । यो आर्थिक वर्षमा ६५ बालक र ७९ बालिकाले झुन्डिएर मृत्यु रोजे । २२ बालक र ८ बालिकाले भने विष खाएर आफ्नो इहलिला समाप्त पारे ।

आर्थिक वर्ष ०७३/७४ मा ११९ बालक र १८५ बालिकाले आत्महत्या गरेको देखिन्छ । जसमा ९९ बालक र १ सय ४९ बालिकाले झुन्डिएर आत्महत्या गरेका थिए भने १७ बालक र २६ बालिकाले विष सेवन गरेका थिए । आर्थिक बर्ष ०७४/७५ मा १११ बालक र १३९ बालिकाले आत्महत्या गरेका थिए । जसमा ९१ बालक र ११८ बालिका झुन्डिएका थिए भने १८ बालक र १९ बालिकाले विष सेवन गरेका थिए ।

मनोविद् गंगा पाठक समयसापेक्ष रूपमा बालबालिकालाई कसरी हुर्काउने भन्नेबारे अभिभावक सचेत नहुँदा पनि यस्ता घटना दोहोरिरहेको बताउँछिन् । बच्चाहरू भावनात्मक रूपमा साह्रै कमजोर हुने र आफूले गर्ने कामको परिणामबारे धेरै हेक्का नराख्ने भएकाले पनि मन दुख्नेबित्तिकै यस्ता घटनातर्फ उद्यत हुने गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘सकेसम्म बालबालिकालाई धेरै समय दिने र उनीहरूको कुरा सुन्ने बानी विकास गर्न जरुरी देखिन्छ ।’ (कान्तिपुरबाट)

राष्ट्रपति कार्यालयमा पूर्वएमालेकाे बैठक, जबज जोगाउन यस्तो बन्यो प्लान

काठमाडौं, १ भदाै । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव गौतमलाई उपाध्यक्ष बनाएपछि नयाँ विवाद

सेना लखेटेर प्रचण्ड, बाबुराम र महरालाई दिएको त्यो आश्रयस्थलः ‘अहिले त सबैले बिर्सिए’

राजपुर (दाङ), १ भदाै । राजपुरको वेतनिया गाउँ तत्कालिन माओवादीका शीर्ष नेताहरुको लागि युद्धकालमा सुरक्षित आश्रयस्थल थियो। जहाँ उनीहरु महिनौं बस्थे,

प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग यस्ताे सम्झाैता

काठमाडौँ, १ भदौ । लामो समयको राजनीतिक अस्थिरतापछि गठित स्थिर सरकारले पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढेपछि हालै प्रधानमन्त्री र

डरलाग्दाे तथ्याङ्कः प्रत्येक ३० घण्टामा बलात्कार

वीरेन्द्रनगर, १ भदाै । सुर्खेतकी नौ वर्षीया बालिका विद्यालयबाट घर जाँदै गर्दा गत जेठ २३ गते बाटोमै बलात्कृत भइन्। घर पुर्‍याइदिने भन्दै गाउँकै एक