पहिला पत्रकारका नाक भाँचौं अनि समृध्दि

  यसमा कुनै शंका रहेन, देश समृध्दिको बाटोमा अघि बढिरहेको छ । राष्ट्रिय गौरवका योजना परियोजना धमाधम निर्माणधीन छन् । रेल नआउने कुनै सम्भावना छैन, कार्यालय खुलिसकेको छ । पानी जहाज तैरिने नदी जति चाहिए पनि छँदैछन्, त्यसको चिन्ता गर्नु नै व्यर्थ छ ।

 

 देशलाई समृध्द बनाएर नेपालीलाई सुखी बनाउने ‘अभिभारा बोकेका’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको ‘दूरदर्शि सोच’ का लागि धमाधम विद्यावारिधिले सुशोभित गरिँदैछ । जहाँ गयो त्यहाँ टुप्पी पुरिने गरी फूलमालाले उनको सम्मान र स्तुति भैरहेकै छ । हर्षले गदगद् प्रधानमन्त्री ओलीको स्तुतिगान र कीर्तनमा बृहत शब्द कोषका मुलायम र रसिला शब्दहरु कागज र बिजुलीका पानाहरुमा ‘छमछमी नाचिरहेकै’ छन् ।

 

समृध्दिको यात्राको साईतमा सबै तारतम्य मिलिसकेकै छ । तर यी पत्रकारहरु पो किन  चम्चमाएका छन् ? सरकारले एकछत्र शासन गर्ने अभिमत पाईसकेपछि पत्रकारिता जगत र पत्रकारहरुले पनि कुरा बुझ्नुपर्ने हो । आउन दिनुपर्छ नि मिडिया काउन्सील र आमसञ्चार विधेयक । पत्रकारले लेख्न पाउनपर्ने हो भने सरकारले पनि त पेल्न पाउनुपर्छ नि ! एकहातले सेल पाक्छ ? सरकारले आफूलाई मन पर्ने स्वादको सेल पकाउन पाएन भने कसरी भर्ने  जेल ? अटेरी र जब्बर पत्रकार पनि नथुनिएको जेल के जेल ? भरोस् न सरकारले जेल । जसो गर्दा पनि आलोचना मात्र गरिरहेपछि सहोस् पनि कति सरकार ।

 

पत्रकारलाई कहाँनेर ‘ठोक्दा’ थला पार्न सकिन्छ भनेर बल्ल थाहा पाएछ सरकारले । केन्द्र सरकारले कानून बनाएर ठोक्ने तयारी गर्दैगर्दा समय धेरै लियो भनेर ‘लोकल’ सरकारले नाकमै ठोक्ने घोषणा गरेको छ भने यसलाई अन्यथा मान्नु हुँदैन । विराटनगरका परशुराम बस्नेतले सुरु गरेको ‘नाकेडाँडी आक्रमण’ इटहरीका मेयरले अनुशरण गर्नु कुनै अन्यथा पनि होईन । परशुरामले नाकमा ठोकेपछि पत्रकार खिलानाथ ढकाल थला परेको देखेका मेयरले यस्तै बहादुरी दोहो¥याउन बजेट नै छुट्याए भने यसलाई उनको दूरदर्शि योजना नै मान्नुपर्छ । किनभने आलोचक पत्रकारको उपचार सरकारले गर्दैन भन्ने चैं उनलाई पहिल्यै थाहा रहेछ ।

 

वास्तवमा पत्रकारको नाक नै हो समृध्द नेपाल अभियानको अवरोध । जहाँ जे भएपनि थाहा पाउने यो नाक बेलैमा नभाँचे आफ्नो नाक नै नजोगिने पक्कापक्की भएपछि किन नहानोस् त सरकारले मुक्का ? पहेंलो धातुका तस्करसँग कुम जोरेर हिँडेको सुँइको पाउने यस्तो नाक निर्मला पन्तको ज्यान लिने अपराधी लुकाएको गन्ध पाएर कराउँदै हिड्छ । वाइई बडीको द्रव्य अपचलन, बालुवाटारको भूमि प्रचलन, होली वाईनको सुगन्ध पहिल्यै थाहा पाईदिन्छ यो पत्रकारको ‘दोषी नाक’ । यसलाई जोगाईराख्न मिल्छ ? थाहा पाउन पनि कतिसारो थाहा पाएको ? परैबाट सुँघेरै सुँइको पाएको छ जति लुकेछिपे पनि ।

 

 अस्पतालको गुप्त लगानी लुक्नै सक्दैन । सुकुटेको सुटुक्क भ्रमण पनि थाहा पाएकै छ । भियतनामको भयंकर वार्ता पनि सुँइको पाएकै छ । जति गोप्य राख्न खोज्यो उति नै चाँडो त्यही पत्रकारको नाकमा थुरिन पुगेको छ सूचना । अनि ठोक्नु परेन त नाकमा, हँ ?

 

 राजनीतिको कुरा मात्र थाहा पाउने हो र त्यो नाकले । सेना, प्रहरी र गुप्तचरको गुह्य कुरा पनि लुक्न सकेन, न त बोराका धनको सुवास छेकियो । नाक पनि कति तीखो हो । न्यायका नौ सिंग भन्ने भनाई थियो । तर पत्रकारको नाक त एकसिंग भन्दा तगडा पो ठहरिन पुग्यो त । अदालतका तह तहका श्रीमानहरुको नालीबेली पनि पत्रकारको त्यो नाकमा कसरी ठोक्किन पुगेको हो अचम्म लाग्छ । कुन श्रीमान् कहाँ थकाई मार्न जानु भो, थकाई मेटाईदिन गाथमा साथ दिने को को साथै हुनुहन्थ्यो भन्ने पनि पहिल्यै त्यो नाकलाई थाहा हुने बाबै ! उहाँ श्रीमानलाई शहरका कुन कुन रेष्टुरेन्टको परिकारमा रुची हुन्छ,कुन मदिराले श्रीमान्को चित्त प्रशन्न तुल्याउँछ भन्ने पनि त्यही नाकमा बज्रिनुपर्ने सूचना पनि ।

 

 यतिमात्र सुँइको पाएसम्म त लौ ठीकै भन्नु । कुन श्रीमानले आफू ठूलो श्रीमान् बन्नु अघि १८ करोडको घरलाई बैना गर्न लाग्नुभएको थियो भन्नेसम्म पनि त्यही लुम्रो पत्रकारकै नाकमा कसरी किन कुन कुन कारणले सूचना ठोक्किन पुगेको हँ !

 

कसले कसको कल्याण गर्यो अनि कसले कसको सपना पूरा गरिदियो भन्ने कुरा चियोचर्चो गरेर हुन्छ त ? यस्तो शक्तिशाली घ्राण शक्ति भएको नाक त भाँच्नै पर्यो नि । आखिरी सरकारको उदेश्य नै हो कि कल्याण गर्ने र सपना पूरा गर्ने । 

 

थाहा पाउँदा पाउँदै यो नाकले एनसेलमा पाक्दै गरेको सेलको कथा पनि पो थाहा पाईदिने हो कि ! अनि ठोक्दैनन् त परशुराम र मेयरले नाकमा । सरकार पो लुम्रो देखियो बरु ! किन चाहियो विधेयक न सिधेयक, खुरुखुरु अरिँगाल खटाउनु र ठटाउनु नि छानी छानी   नाकमा । पत्रकारको एउटा जाबो नाक पनि भाँच्न सकिँदैन भने किन दिनु दुइतिहाईको गफ ? यत्तिका लागि पनि किन चाहियो कानून ? (फायल तस्बिर: बिराटनगरमा आक्रमणबाट घाईते पत्रकार खिलानाथ ढकाल ।)

 शेयरले यसरी हिस्स बनायो मलाई

सन् २०१५ तिरको कुरा हो, एकथरी मानिसहरु भन्दै थिए– कुमारीले दिन्छिन, यो­त्योे सबै दिन्छिन् । त्यसैले ढीला नगरौं प्रति कित्ता रु.३००मा उठाउँदा केहि

 मान्छेले मासु खाँदाको परिणाम

हरेक प्राणीलाई भोजन नभइ नहुने चिज हो । मानसिक, शारीरिक बिकासका लागि र दैनिक जीवनयापनका लागि अत्यावश्यक बस्तु हो भोजन । जबदेखि यो जगतमा जीवको उत्पत्ति

  त्यो तीनवर्षे वालकले किन आत्महत्या गर्यो !

हाम्रो देशको शिक्षा प्रणाली विश्वलाई चकित पार्न सक्ने हैसियतमा पुगेको बारेमा केहि दिन अगाडि ९ अङ्क प्राप्त गरेको व्यक्तिलाई जम्मा ६० अङ्क थप गरेर

यस्तो छ गुठीको गाँठी कुरा

   गुठी संस्थान ऐन, २०३३ को प्रस्तावनामा लेखिएको छ “राजगुठीलाई नेपाल सरकारको अधीनबाट झिकी एक संस्थानको जिम्मा सुम्पी राजगुठीहरूलाई सुव्यवस्थित