'अन्धकारलाई सराप्नु भन्दा दियो बत्ति बालौँ'

‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने लोकप्रिय गीत गाएकी आनी छोइङ डोल्मालाई नचिन्ने विरलै होलान् । १३ वर्षको उमेरमै आनी बसेकी डोल्मा गायिका र समाजसेवी पनि हुन् । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम गरेकी छन् । संगीतमार्फत् देश–विदेशमा बुद्ध ज्ञान फैलाउने काम गरिरहेकी छन् । उनै आनीसँग नागरिक परिवारका लागि जीवनशैली र बुद्ध शिक्षाबारे प्रजु पन्तले गरेको कुराकानीः

सधै शान्त र उस्तै मुस्कानमा देखिनुहुन्छ, यो कसरी सम्भव छ?
सबै कुरा आफैँमा छ। हामीलाई म अरुको कारणले दुःखी भएँ भन्ने लाग्छ। यो सरासर भ्रम हो। समस्या अरुमा हैन, आफूमा छ। आफ्नो मनलाई व्यवस्थित बनाउन थालियो भने शान्त र खुसी रहन सकिन्छ।

हिजोआज केमा व्यस्त हुनुहुन्छ?
हिजो मात्र एक हप्ता लामो गुफा बसेर आएँ। हामी बेलाबेलामा गुफामा ध्यान गर्न गइरहन्छौँ।

गुफामा बस्दा के गर्नुहुन्छ?
त्यो बेलामा हामी गहिरो ध्यानमा गएका हुन्छाैं। गुरुहरुको प्रवचन सुन्छौँ। आफूलाई शान्त सौम्य खुसी राख्न प्रयत्नरत रहन्छौँ।

यत्रो भौतिक विकासले दिन नसकेको शान्ति र खुसी कसरी ध्यान बसेर प्राप्त गर्न सकिन्छ?
तपाईंले राम्रो कुरा सोध्नुभयो। हामीले भौतिक विकासलाई सँगसँगै आध्यात्मिक सुखलाई सँगै लैजानुपर्छ। भौतिक विकासले सुविधा त दिएको छ तर शान्ति दिन सकेको छैन। भौतिक सुविधाले दिन नसकेको शान्ति ध्यानले दिन्छ।

कसरी दिन्छ?
 ध्यान गर्दै जाँदा हामीले हरेक कुरालाई सूक्ष्म तरिकाले नियाल्न थाल्छौँ। हरेक कुरा परिवर्तनशील छ भन्ने कुरा बुझ्छौँ। सबै कुरा नाशवान् छ भन्ने पनि बुझ्छौँ। यसरी कुरा बुझ्दै जाँदा मोहको मात्रा घट्दै जान्छ। जब मोह घट्छ, आन्तरिक नैराश्यता हट्छ। मान्छेको धर्म भनेको करुणामयी हो। करुणमयी भएपछि शान्त भइन्छ।

आत्मिक शान्ति भन्नुहुन्छ, यो भनेको के हो? कसरी पाउने यो शान्ति?
हामीले हरेक कुरा पदार्थमा खोज्न थालेका छौँ। यो परिपाटि गलत हो। हामी आफैँतिर फर्कनु पर्छ भनेको के भने, हामीमा कमनसेन्स आउनुपर्छ। आफूलाई सहज र सरल व्यवस्थापन गर्नुपर्छ। स्वार्थी भएर हुन्न।

रिस अरुको निम्ति उठे पनि त्यो त आफैँभित्र उठेको हुन्छ। आफ्नै सन्तुलन बिग्रन्छ। यसले आफ्नै नोक्सान गर्छ। जसमाथि रिस गर्छौं, उसलाई पनि थाहा हुन्न। रिस आफैँमा परेको हुन्छ। नोक्सान त आफ्नै हो। यो आफैँप्रति ठूलो धोको हो।

रिस त मानवीय संवेदना हैन र?
 हो  बिल्कुल हो तर संवेदना भन्दैमा हुँदैन। हामीलाई रिस उठ्नेबित्तिकै यसको कारण र प्रभावबारे हेक्का राख्नु पर्छ। आगोको स्वभाव जलाउने हो तर कसरी उपभोेग गर्ने भन्ने कुरा जान्यो भने फाइदा भयो, नभए दुर्घटना हुन्छ। रिस पनि त्यस्तै हो। हाम्रा संवेदना, रिस मात्र हैन मायाप्रेम सद्भाव पनि हो। आफूलाई हेरौँ, कुन हामीले बढाएका छौ? के बढाउँदा खुसी भएका छौँ? जे गर्दा आनन्द लाग्छ, त्यही गरे भइहाल्यो नि!

आफूतिर फर्कंने पनि भन्ने अरुलाई करुणा गर्ने पनि भन्ने ! कस्तो विरोधी कुरा है ? यसको तादात्म्य कसरी मिलाउने त ?
परस्पर विरोधी हैन नि! आफ्नो सोच नियाल्ने पो भनेको त! आफूलाई जे मन पर्दैन, अरुलाई त्यो व्यवहार नगर्ने भन्न खोजेको हो। आफूलाई मात्र लाभ पुग्ने काम नगर्ने भन्न खोजेको हो। जस्तो व्यवहार, उस्तै सोचाइ आउँछ। आफूलाई चिन्दा करुणामयी भइन्छ।

आफैँलाई चिन्ने यो कसरी सम्भव छ?
आफ्नो सूक्ष्म व्यवहारमा ध्यान दिइयो भने आफैँलाई चिनिन्छ।

अब तपाईंको व्यक्तिगत कुरा गरौँ, संगीतमार्फत् बुद्ध र नेपाललाई विश्वमाझ चिनाउने काम गरिरहनुभएको छ। संगीतमार्फत् बुद्ध शिक्षा फैलाउने यो आइडिया कसरी आयो?
सबै कुरा सुखको चाहनामा आधारित हुन्छ। मैले आफूलाई शान्त र खुसी पार्न संगीतको विधा रोजेँ। यसले मलाई मात्र हैन, अरुलाई पनि शान्ति दियो। अनि यसैमा निरन्तर लागिरहेकी छु। यसमा लागेर म प्रोडक्टिभ बनेँ। आफ्नो स्वर आफूमा मात्र सीमित राख्न चाहिनँ। ‘लर्न टु सेयर एन्ड केयर’ भन्ने कुरालाई व्यवहारमा ल्याएको मात्र हो।

शील पालनाले त संगीत नसुन भन्छ हैन र?
 भजनमा केही हुन्न। सांसारिक गीत त मैले गाएकी छैन।

तपाईंको दैनिकी कस्तो छ?
 आनीको दैनिकी अरु मान्छेको भन्दा केही फरक अवश्य हो। व्यवहारिक रुपमा केही फरक छ। उठ्ना साथ नित्य कर्मपछि ध्यान साधना बढी नै हुन्छ। केही मान्छे भेटघाट गर्ने  र अध्ययन गरेर नै बितिरहेको छ।

तपाईंको आनी छनोटबारे केही बताइदिनु न?
म आनी बन्ने निर्णय १० वर्षको उमेरमा नै हो। आनी भएर गुम्बा प्रवेश गरेको भने १३ वर्षको उमेरमा हो। अहिले ४७ वर्षकी भएँ। आजको दिनसम्म म निराश छैन। बाल्यकालमा बुबाबाट पीडित भएँ। अहिले सम्झेर ल्याउँदा उहाँलाई रोग रहेछ। उति बेला थाहा थिएन। आनी बनेर गुरुको शरणमा परेपछि म स्वतन्त्र भएँ।

तपाईंको गुरु टुल्कु उर्गेन रिम्पोछेबाट के कुरामा प्रभावित हुनुभयो?
उहाँको करुणामयी व्यवहार नि ! गुरुबाट प्रभावित वर्णन कसरी गरौँ सही शब्द म भेट्न सक्दिनँ। कल्पना गर्नुपर्दा मिठास अनुभव गर्दा मान्छेले जे अनुभूति गर्छ। त्यो मेरो गुरुबाट प्राप्त गरेको हो। मेरो व्यवहारमा अलिकति पनि आहा छ भने, त्यो मेरो गुरु हो। सेवाको भाव गुरु हो। सही शब्दले तपाईंलाई त्यो भन्न जानिनँ तर मेरा असल कर्म जे हो, त्यो गुरुको हो।

सम्झनलायक क्षण?
 काम भन्नुभन्दा पनि उहाँको एकनासे व्यवहार, सबैप्रति उस्तै सद्भाव मेरालागि सम्झनलायक क्षण। आमा र सन्तान बीचको जस्तो प्रेमिल व्यवहार हुन्छ, त्यस्तै व्यवहार उहाँको हुन्थ्यो।

अरु धर्ममा जस्तै बौद्ध धर्ममा पनि गुरु पुरुष मात्र हुने है?
हैन। महिला पनि छन् तर नम्बर सानो छ। खास कुरा के हो भने पुरुषप्रधान समाज जताततै छ। यसैको प्रभाव होला। विभेद धेरै छ।

विभेद भएपछि आक्रोश हुन्छ । आक्रोशमा रिस हुन्छ । रिसाउन हुन्न भन्ने कुरा छ । कसरी मिलाउने यो कुरालाई?
अन्धकारलाई सराप्नु भन्दा दियो बाल्नु उचित हुन्छ। विभेद छ तर सरापेर मात्र हुँदैन। सबै प्राणीले बराबर हौँ भन्ने भावना आउने हो भने विभेद हुन्न। त्यसैले त भगवान्ले भन्नुभयो आफूतिर फर्क।

म आफू पनि विद्रोही स्वभावकी हुँ। संगीतमा लाग्दा आनीले लाग्नुहुन्न भन्ने थियो। त्यसलाई चिरेर अघि बढेँ। बुझ्नुपर्ने कुरा के हो भने सबै कुरा परिवर्तनशील छन्। हामी पनि परिवर्तनशील छौँ। हरकुराको अन्त्य निश्चित छ। यसलाई बुझ्ने हो भने सायदै विभेद हुन्छ।

विदेश गइरहनुहुन्छ। बुद्ध शिक्षा प्रतिको आकर्षण कस्तो पाउनुभएको छ?
धेरै राम्रो छ। बुद्ध यहाँ जन्मनु भयो। उहाँको शिक्षाको विराट्ता फैलँदै गइरहेको छ। ध्यान गर्ने, तनाव व्यवस्थापन गर्ने जस्ता कुरामा मान्छेहरु लागिपरेका छन्। (नागरिक दैनिकबाट)

\'नेताहरुलाई कति स्पष्टीकरण दिँदै हिँड्नु भनेर पिउन छोडिदिएँ\'

  तपाईं कस्तो परिवारको सदस्य हो ?  म मध्यमवर्गीय परिवारको सदस्य हुँ ।   तपाईँको बाल्यकाल कसरी बित्यो ?   हामी मध्यमवर्गीय परिवारको मान्छे ।

\'सरकारको काम गर्ने शैलीले निराश बनायो\'

रिलायन्स फाइनान्स लिमिटेडको हालै सम्पन्न साधारण सभाबाट कुशप्रसाद मल्ली संचालक समितिको अध्यक्षमा निर्वाचित भएका छन् । बुटवल उद्योग वाणिज्य संघका

कुनैबेला लभ लेटर पनि साथीलाई पढाउँथिन् शान्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले जीवनमा धेरै दुःख पनि पाइन र धेरै असन्तुष्टिको अनुभव गर्ने गरी राजनीतिक

\'मलाई गणतन्त्र अहिलेको अहिल्यै घोषणा गरेर निस्किहाल्नुपर्छ भनियो\'

कुलबहादुर गुरुङ नेपाली राजनीतिमा चिनाउने पर्ने नाम होइन। शिक्षण पेसा हुँदै लामो समयदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय नेता गुरुङ नेपाली