विश्वकै सर्बोच्च स्थानको मानसरोवरमा दर्शनार्थीको ताँती 

 हुम्ला । हुम्लाको सदरमुकाम सिमकोट भएर कैलाश मानसरोवर जाने भारतीय  तीर्थयात्रीको संख्या एक हप्तामा ८०० पुगेको छ । 
कैलाश मानसरोवर दर्शनका लागि उपयुक्त समय शुरु भएलगत्तै भारतीय नागरिकले सिमकोटका होटेल र विमानस्थल यतिबेला भरिभराउ छ । भारतीय तीर्थयात्री र अन्य देशबाट आउने पर्यटकका संख्या दिन प्रतिदिन बढ्दै गएको सिमकोट विमानस्थल स्रोतले जनाएको छ । 

बुधबारसम्म मानसरोवर कैलाश यात्राका लागि सिमकोटको बाटो भएर ३६२ जना महिला र ४५९ जना पुरुष गरी जम्मा ७६३ जना भारतीय तीर्थयात्री आएका र शुक्रबार बिहान ८० भन्दा बढी भारतीय र अन्य मुलुकका पर्यटक सिमकोट पुगेका सिमकोट विमानस्थलका प्रमुख शंकर केसीले बताए । कैलाश मानसरोवर दर्शनको समय शुरु भएसँगै यहाँ आगन्तुकको चाप बढेको हो । 

विश्वको सबैभन्दा उच्च स्थानमा अवस्थित पवित्र जल भण्डार रहेको मानसरोवर पुग्न चाहनेहरु वैशाखको अन्तिम साता र जेष्ठको पहिलो हप्तादेखि आउन थाल्छन् । 

पौराणिक कथनअनुसार अमृत सरह मिठास भएको यस पवित्र जल भण्डारको सृष्टि ब्रम्हाजीले गरेका हुन् । मानसरोवरको सृष्टिसँगै विश्व जगत्को सृष्टि यहीँबाट शुरु भएको जनविश्वास रहिआएको छ । 
    
समुद्र सतहबाट चार हजार ५५९ मिटर उचाइमा रहेको यस सरोवर ३२० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । मानसरोवर तालको क्षेत्र भगवान् विष्णुको बासस्थान हो भन्ने धार्मिक विश्वास रहेको छ । हिउँ पग्लेर जल बन्ने अवस्थामा यहाँ डमरुको ध्वनि सुन्न सकिन्छ भन्ने विश्वास छ । 

कैलाश पर्वत भगवान् शिवशंकर र मानसरोवर माता पार्वतीको प्रतीकको रूपमा लिने गरिन्छ ।  मध्यराति माता पार्वती तारा (प्रकाश) को भेषमा स्वयं मानसरोवर तालमा प्रकट हुन्छिन् भन्ने विश्वास छ । यस सरोवरको पानीको रङ्ग समयअनुसार फरक हुने गर्दछ । 

मानव जीवनमा एकपटक अनिवार्य रुपमा कैलाश मानसरोवरको दर्शन गर्नुपर्छ भन्ने धार्मिक मान्यता रहेको छ । पितृआत्मा चोख्याउने उद्देश्यले पनि हरेक वर्ष हजारांै तीर्थयात्री यहाँ पुग्ने गर्दछन् । छिमेकी राष्ट्र चीनमा रहेको कैलाश मानसरोवर दर्शन गर्न नेपालका अन्य सीमा नाका भन्दा हुम्लाको हिल्साबाट छिटो पुग्न सकिन्छ । 

बाह्य पर्यटकका लागि कैलाश मानसरोवर पुग्ने मूलद्वार हुम्लाको सिमकोट हिल्सा नाका नै हो । तिब्बतको पुराङ काउन्टीमा यो सरोवर रहेको छ ।
भारतीय तीर्थयात्री बाँके जिल्लाको जमुनाहा रुपैडिया हुँदै नेपालगञ्ज विमानस्थल पुगेर हवाई मार्गबाट महङ्गो भाडा तिरेर हुम्ला सिमकोट पुग्ने गर्दछन् । नेपालगञ्जबाट सिमकोट विमानस्थल पुगे लगतै एक/दुई घण्टाको बसाइपछि तीर्थयात्री फेरि हेलिकप्टर चढेर १३ मिनेटमा हिल्सा नाका पुग्छन् । हिल्साबाट दुई देशको सीमा रहेको झोलुङ्गगे पुल तरेर चीनको ताक्लाकोट पुगेपछि गाडीबाट दुई घण्टामै कैलाश मानसरोवर पुगिन्छ । पैदल यात्रा गर्दा करीब एक हप्ता लाग्छ । अधिकाँश तीर्थयात्री पैदल यात्रा गर्न रुचाउँछन्  ।

सिमकोटबाट पैदल हिँडेर जाने तीर्थयात्रीलाई हिल्सा पुग्न साढे दुई दिन लाग्छ । अधिकाँश तीर्थयात्रीले आफैं खाना बनाउँदै यात्रा गर्ने गर्छन् भने कतिपय होटेलमा खाना खाने पनि छन् । होटेलको खानालाई २०० देखि २५० रुपैयाँ पर्छ । सिमकोटबाट सलिसल्लाको लाप्चामा पुगे लगतै हिल्सा पुग्न गाडी चढ्नु पर्छ । गाडीे भाडा एक हजार रुपैयाँसम्म पर्छ । हेलिकप्टरबाट हिल्सा पुग्न नेपालका तीर्थालुले चार हजार रुपैयाँ भाडा तिर्नुपर्छ । 
भारतीय तीर्थयात्री भने भारतीय दूतावास काठमाडौँबाटै आ–आफ्नो एजेन्सीमार्फत मानसरोवर पुग्ने गर्दछन् ।  हिल्लाबाट कैलाश मानसरोवर पुग्न ताक्लाकोटबाट यात्रा शुरु हुन्छ र एक व्यक्तिले गाडी भाडा दश हजार रुपैयाँ तिर्नुपर्छ । 

भारतीय तीर्थयात्रीले कैलाश मानसरोवर यात्राका लागि तीनवटा मार्ग अँगाल्दै आएका छन् । एउटा मार्ग नेपालगञ्ज हुँदै सिमकोटसम्मको हवाई यात्रा हो । भारतीय तीर्थयात्रीले अङ्गालेको अर्को स्थलमार्ग काठमाडौँको कोदारी राजमार्ग तातोपानी हुँदै ल्हासासम्मको यात्रा हो जसका लागि गाडी चढ्नुपर्छ । उनीहरु त्यहाँबाट हप्तौँ दिन लगाएर ताक्लाकोटमा रहेको कैलाश मानसरोवर दर्शन गर्न पुग्छन् । यस मार्गबाट आउन जान गरी १४ दिन लाग्ने गरेको भारतीय तीर्थयात्रीको अनुभव छ । 

नेपालकै पश्चिम सिमानामा रहेको दार्चुलाबाट पैदल बाटो भएर पनि जान सकिन्छ । हुम्लाको सिमकोट भएर जाने नै छोटो दूरीको यात्रा हो । हुम्लाको नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाको सिमाना तिब्बतको कैलाश मानसरोवर तालसँग जोडिएको छ । लिमी लाप्चा भन्ने स्थानबाटै पनि कैलाश मानसरोवरको दर्शन आफ्नै भूमिबाट गर्न सकिन्छ । 

हुम्लीलाई ताक्लाकोट पुग्न सिमानामा रहेको चिनियाँ प्रहरीले जान दिए पनि कैलाश मानसरोवर पुग्न भने कठिनाइ भोग्नुपरेको यात्री हेमन्त बोहराले बताए ।  मानसरोवर तालमा स्नान गरेमा सात जुनीको पाप नष्ट हुने र त्यहाँको जल खाएमा भगवानको शक्ति प्राप्त हुने धार्मिक विश्वास छ । 

संसारको सबैभन्दा अग्लो पठार भूमि, बीचमा ठूलो कैलाश पर्वत, दक्षिणमा शक्तिको प्रतीक राक्षस ताल र काखमा शान्तिको प्रतीक मानसरोवर अवस्थित छ । मानसरोवरको जल घर, खेतबारीका चार कुनामा छर्कियो भने शुद्ध हुने र बाली सप्रिने विश्वास रहेको छ । रासस
 

 मानिसहरु किन राजनीतिज्ञसँग टाढा रहन चाहन्छन् 

‘अहिंसा परमो धर्मः’– अहिंसालाई सबैभन्दा ठूलो धर्म मानिएको छ । तर हिंसा भइहाल्छ । यो हिंसाबाट कसरी बच्ने होला ? प्रश्न आएको छ । हिंसाबाट बच्नुभन्दा

तनावबाट यसरी मिल्छ छुट्कारा  

मैले सुनेको थिएँ, एकपटक भगवान्को अदालतमा दुईटा मुद्दाहरु परेछन् । अनि मुद्दा पेश गर्ने मानिसले भन्यो, दुईटा मुद्दा परेका छन् भगवान्, पहिलो मुद्दा

आज तपाइँको भाग्य कस्तो छ ? हेनुस् राशिफल

मेषः मिष्ठान भोजन वृषः भाग्य वृद्धि मिथुनः अपव्यय कर्कटः प्रियजन भेट सिंहः वैमनस्यता कन्याः मनोकांक्षा पुर्ण तुलाः वादविवाद वृश्चिकः शत्रु

वास्तुले भन्छ, यसरी हुन्छ धनवृद्धि

एजेन्सी । वास्तुशास्त्रको अनुसरण पौराणिक समय देखि नै गरिँदै आएको भएपनि पछिल्लो समय यसको आकर्षण ह्वात्तै बढेको छ । यसको आधुनिक व्याख्या गर्न शुरु