यस्तो रहेछ प्रचण्डको मनको कुरा 

काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो मनको कुरा ओकलेका छन् । जे मनमा थियो त्यसलाई लुकाईराख्न नसकेका उनले अन्तत सार्वजनिक सभामा नलुकाईकन जस्ताको तस्तै कुरा खोलेका छन् । 

दाहालको मनको कुरा हो पत्रकारिताप्रतिको उनको असली धारणा । उनले सोमबार एक कार्यक्रममा अराजकतासँग तुलना गर्दै प्रेसमाथि नियन्त्रण आवश्यक रहेको बताए । यसो भनिरहँदा उनको अनुहारमा कुनै असजिलो भाव देखिँदैनथियो । नियन्त्रित शासनको लक्ष्य राखेका राजनीतिक व्यक्तिहरुबाट यस्तो आशा गर्र्नुपनि व्यर्थ नै हो । तै दाहालले यसो चैं भनिनहाल्लान् कि भन्ने धेरैलाई लागेको थियो ।

पुष्पकमल दाहालले प्रचण्डको रुप धारण गरेदेखि सत्ताको साँचो हात पार्दासम्मको उतारचढावपूर्ण यात्रामा सदैव प्रेसजगतबाट मात्र साथ पाएका थिए । सायद कहिलेकाहीँ उनलाई पनि यसको सम्झना हुँदो हो । उनले नेतृत्व गरेको हिंसात्मक ‘जनयुध्द’ कसरी सुरु भएर कसरी विश्राम लिन पुग्यो, यसको पर्दाभित्रको कथा के हो भन्ने वृत्तान्त आफ्नो ठाउँमा छँदैछ । 

त्यो हिंसात्मक ‘जनयुध्द’ ले के के गर्यो र के मात्रै गरेन भन्ने कुरा पनि इतिहासमा लिपिवध्द भएकै छ । तर प्रचण्डको अगुवाईमा भएको हिंसात्मक ‘जनयुध्द’ मा रसदपानी र इन्धन जताबाट आपूर्ति भएको भएपनि त्यो सतहमा गोचर हुने बिषय थिएन । जस्तोसुकै परिस्थितिमा पनि उनले साथ पाएको क्षेत्र हो प्रेस । आलोचना गरेर होस् वा उनको स्तुति गाएर होस् प्रेसले प्रचण्डलाई प्रकाशमा टिकिरहन सहयोग गरेको थियो, अन्यथा प्रचण्ड नामधारी पुष्पकमल दाहाल कुनै कथित क्रान्तिको नायक हुन् भनेर विरलै मानिसको स्मृतिमा रहने थिए होला । उनलाई ‘क्रान्ति नायक’ मानेर कीर्तन र स्तुतिगान गर्ने प्रेस उनकै छत्रछाँयामा थियो भने स्वतन्त्र व्यवसायिक प्रेस पनि थियो,जसले सबै जोखिम मोलेर हिंसाको विरोध गर्दै शान्ति स्थापनाको लागि योगदान गरिरहेकै थियो ।   

संयोग र परिस्थितिजन्य कारणले पुष्पकमल दाहाल सत्तामा पुगे र अहिले पनि सत्तामै छन् । हिजो उनी सत्तामा बसेका बेला पनि पत्रकाहरुको ज्यान लिईएको छ । उनको हिंसात्मक ‘जनयुध्द’ कालमा कतिपय पत्रकारले पृथ्वीको सतहमा प्राणसम्म त्याग्न पनि अवसर पाएका थिएनन् । उनीहरुले शरीरमा तातो बाँकी छँदै, मुटुको ढुकढुकीले विश्राम लिइनसक्दै जमिनमुनी विश्राम लिनुपरेको ह्रदयविदारक कथा पुरानो भैसकेको छैन । 

त्यसबेलाका यस्ता कैयौं घटनाको न्यायिक अनुसन्धान गर्न नेपाली प्रेस जगतले उच्चस्तरीय न्यायिक आयोगको माग गर्दा पुष्पकमल दाहालले प्रधानमन्त्रीको आशनमा विराजमान छँदा फोस्रो आश्वासन मात्र दिएका थिए । उनी प्रेसमाथि भएका ज्यादतिको किन न्यायिक अनुसन्धान गर्न चाहँदैन थिए भन्ने कुरा आज उनी स्वयंले प्रष्ट पारिदिएका छन्– प्रेसलाई नियन्त्रण गर्न आवश्यक छ भन्ने आशयको धारणा सार्वजनिक गरेर । अब प्रश्न उठेको छ – के प्रचण्ड र ओलीको काँधमा नारिएको सत्ताले सबैभन्दा ठूलो दुश्मन स्वतन्त्र प्रेसलाई नै देखेको हो त ?

आजको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको यस्तो धारणा सार्वजनिक भैसकेपछि अब प्रष्ट भएको छ कि सरकार कानून बनाएर प्रेस स्वतन्त्रता खोस्न चाहन्छ र त्यसको गृहकार्य जारी छ । केही दिन अघिमात्र कम्बोडियाबाट फर्किएका दिन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले पनि विमानस्थलमा भनेका थिए– मिडिया काउन्सील विधेयक कुनै लहडमा ल्याईएको  होईन । 

यी दुइजना अध्यक्षको धाप पाएर नै संचारमन्त्रीले प्रेसलाई थर्काउने र तर्साउने दुश्प्रयाश गरिरहेको कुरा पनि अब छर्लंग भएको छ ।

यतिबेला चौतर्फी आलोचना खेपिरहेको मिडिया काउन्सिल विधेयकको समर्थनमा उभिएका प्रचण्ड र उनका अर्का अध्यक्ष ओलीले बिचार गरे हुन्छ, नेपालको प्रेस कुनै स्वदेशी या विदेशी प्रभूको इशाराम चल्दैन । न कसैका सामु झुक्छ, न कसैको प्रलोभनमा चुक्छ, न त डरले दुलो पसेर नै    लुक्छ । 

स्मरणीय छ, हिजोका दिनमा माओवादी विचार लिएका प्रतिभाशाली पत्रकार तथा साहित्यकार कृष्ण सेनलाई जेलबाट रिहा गराउने पनि पत्रकारहरुको पेशागत संगठन नेपाल पत्रकार महासंघ थियो । यसबारे उनै सेनले धेरैपटक लेखेरै चर्चा गरेका छन् । सोमबार उनको स्मृति दिवस समारोहमा उभिँदा प्रचण्डले प्रेस जगतमा अराजकता बढेको भन्दै त्यसैसँग तुलना गरेर प्रेसलाई नियन्त्रण गर्न आवश्यक रहेको धारणा व्यक्त गर्दा दिवंगत पत्रकार सेनको आत्माले पनि धिक्कार्यो होला ।

यहाँ उल्लेख्य बिषय के हो भने, नेपालका सबै राजनीतिक दलले बैचारिक सहानुभूति राख्ने पत्रकारहरुलाई संगठित गरेर आ–आफ्ना दलभित्र समाहित गरेका छन् । पार्टीको भ्रातृ संगठनका रुपमा संगठित भएका पत्रकार पनि आफूलाई पत्रकार नै ठान्छन् । पत्रकारहरु दलका सदस्य सरह संगठित भएको पाएर हुनसक्छ प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल मात्र होईन विपक्षी दलका नेता शेरबहादुर देउवा समेत प्रेस स्वतन्त्र हुन्छ भन्ने मान्यतामै दिग्भ्रमित देखिन्छन् । 

अरु जातीय, लिंगिय र विभिन्न परिचयमा समेत पत्रकारहरु अनेक छातामुनी ओतिएका छन् । सायद पत्रकारहरुको यही बहुरंगी अवस्था देखेका कारण पनि सत्तारुढ या विपक्ष जो कसैलाई आलोचक स्वतन्त्र प्रेसमाथि नियन्त्रण गर्न हतार भएको हुनसक्छ । यसबारेमा स्वयं पत्रकारहरुले पनि गम्भीर विचार गर्नुपर्ने भएको छ । यो विविधतालाई प्रेस स्वतन्त्रता कमजोर पार्ने कारण र यही बहानामा नियन्त्रण गर्ने मौका भने सरकारलाई दिनु हुँदैन । 

अहिलेको सरकारको शासकीय प्रशिक्षण नै नियन्त्रणमुखी हुँदै जाने प्रकृतिको देखिन थालेको छ । संसद र राज्य संयन्त्रको दुरुपयोग गरेर प्रेसमात्र होइन अन्य पेशा व्यवसायमाथि पनि नियन्त्रण गर्ने तयारी भैरहेको संकेतहरु देखिन थालेका छन् । यस्तो अवस्थामा पत्रकारहरु विशुध्द व्यवसायिक धर्ममा उभिएर आफ्नो पेशागत स्वतन्त्रताको रक्षा गर्न सतर्कतापूर्वक उभिनु आवश्यक छ । यसैमा सबैको कल्याण छ । 

 
 

नमच्चिने पिङ कि वायुपङ्खी घोडा 

काठमाडौं । कसैले माने वा नमाने पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकालको उत्कृष्ट परिणाम दिनु छ । आफ्नो यही कार्यकालमा उनले भन्ने गरेको

 राष्ट्रपतिले किन धान रोपिनन् ?

 यो वर्षको असार १५ आयो गयो । दही चिउरा खाएर मनाउने यो पर्व देशैभरी मनाईएको छ । कृषिप्रधान देश नेपालमा यो दिन पर्व र संस्कृतिका रुपमा मनाउने चलन

ध्रुवस्थलिका बाँदर र २१ तोपको सलामी

शहरसँगै जोडिएको भएपनि शहरको कोलाहलबाट मुक्त झैं लाग्छ ध्रुवस्थलि । विमानघाट देखि आर्यघाट ओहोर दोहोर गरिरहने धेरै मानिसलाई पनि अत्तोपत्तो नहुनसक्छ

 प्रधानमन्त्री ओलीको ओरालो यात्रा

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको ओरालो यात्रा सुरु भएको छ । जनमतले निकै शक्तिशाली प्रधानमन्त्री बन्न पाएका खड्गप्रसाद शर्मा ओली उकालो यात्रामा