एक अधिवक्ताले किन छोरीलाई यस्तो मार्मिक पत्र लेखे ?

तिमीले कक्षा ६ मा पढिरहँदा मलाई पनि मैले कक्षा ५ उत्तिर्ण गरी कक्षा ६ को अध्ययन गर्नका लागि घर छाडेर डेराको जीवन शुरुवात गरेका विस्मृत दिनहरु एकाएक स्मृतिमा आइपुगे । यो विक्रम सम्वत २०४१–०४२ सालतिरको कुरो हो । तत्कालीन अवस्थामा हाम्रो घर वगरकोट,डडेल्धुराबाट नजिकको प्राथमिक विद्यालय भनेको (तत्कालिन) श्री सरस्वती प्रा.वि. लाकम डडेल्धुरा थियो, जुन विद्यालय हाम्रो घरबाट करिव ३ किलोमिटर दुरीमा रहेको छ । सो विद्यालयबाट प्रा.वि. तहको शिक्षा समाप्त गरेपछि मेरो अभिवावक समक्ष मेरो थप भविष्यका लागि दुइ वटा मार्ग थिए । मलाई घरमा नै राख्ने भए मैले पढाइलाई पुर्णविराम लगाउनुुपर्ने हुन्थ्यो या त मलाई निम्नमाध्यमिक तहसम्म शिक्षा दिनुपर्ने भए नजिकको श्री घटाल निम्नमाध्यमिक विद्यालय नुवाकोट डडेल्धुरा (तत्कालिन) मा मलाई पठाउनुपर्ने हुन्थ्यो । त्यसकालागि मैले घरवाट करिव १० किलोमिटर टाढा रहेको विद्यालयमा दैनिक पठन पाठन गर्नका लागि डेरा वस्नुपर्ने हुन्थ्यो । मेरा अभिवावकहरुले दोश्रो मार्ग चयन गर्नुभयो ।

फलस्वरुप मेरो डेराको जीवनको शुरुवात भयो । त्यो डेराको जीवनले मलाई जीवन सिक्ने र किताव पढ्ने दुवै अवसरहरु समानान्तर रुपमा प्रदान गर्यो । आज तिमिलाई “वाघ कहाँ वस्छ ?” भनेर प्रश्न गर्दा तिमी “चिडियाखानामा” भनेर उत्तर दिन्छौ,  वा भनौ “हामीलाई दूध कस्ले दिन्छ ?” भनेर प्रश्न गर्दा तिमी स्वभाविक रुपमा “साउजीले ” भनेर उत्तर दिन्छौ । तर मैले विद्यालय नजादै वाघ जंगलमा वस्छ, रातविरात घरको आँगनमा पनि आउन सक्छ । त्यसैले राती घरवाट वाहिर निस्कँदा ठुलो मान्छेलाई भनेर वा राँको बालेर मात्र वाहिर निस्कनुपर्छ भनेर सिकको थिएँ । गाई या भैंसिले दूध दिन्छ भनेर कितावमा लेखेको देख्दा यस्ता कुरा पनि कितावमा पढ्ने हो र भनेर जिल्लिन्थे ।

यसरी कक्षा ५ उत्तिर्ण गरेपछि जिल्लाको सदरमुकाम नजीक डेरा गरी वस्दा जीवन अलिक वदएको थियो । अनि सवै कुरा ठिकै थियो तर डडेल्धुराको त्यस्तो चिसो वातावरण अनि सदरमुकाम नजीक स्वाभाविक रुपमा हुने घनावस्तिका कारण दाउरा खोज्ने महत्वपुर्ण कार्य भने अत्यन्त कष्टपुर्ण थियो । अधिकांश सल्लाको जंगल भएको डडेल्धुरा सदरमुकामको आसपासको जंगलमा चैत्र देखि जेठसम्म आँधीवेहरी तथा चट्याङ्गको डर हुने, असार देखि असोजसम्म जुकाले सताउने र बाँकी समयमा चिसोका कारण दाउरा खोज्ने कार्य सकसपुर्ण थियो । यता फाट्टफुट्ट सदरमुकाम का १–२ होटलहरु दाउरा किन्छन् भन्ने सुन्दा दाउरा पनि विक्रि हुन्छ र रु जस्तो लाग्थ्यो । तिम्रो हालको दिनको जस्तै उमेरमा दाउरा खोज्न जाने क्रममा आँखै अगाडि चट्याङ्ग परेको दृश्य सायद म जीवन पर्यन्त सम्झिरहनेछु ।

जीवनको उषाकालिन समयका ती चुनौतिपुर्ण दिनहरु मेरालागि जीवन पर्यन्त प्रेरणाका श्रोत वनिरहनेछन् । त्यस्ता चुनौतिहरुको सामना गर्ने तथा खेत खल्यानसँग पौंठेजोरी खेल्ने अवसर तिमीलाई उपलव्ध गराउन नसकेकोमा म कहिलेकाहीँ लघुताभाष महशुस गर्छु । किनभने अहिले तिमीले पढिरहेको पाठशालाले तिमीलाई नेपाली समाज के हो ? हाम्रो परिवेश के हो ? यो परिवेशलाई परिवर्तन गर्न के के गर्नुपर्छ भन्ने कुरा सिकाइरहेको छैन । यसैकारण मैले धेरै पटक काठमाण्डौ कै केहि सरकारी विद्यालयमा वा मैले पढेकै विद्यालयमा तिमीलाई पनि पढाउने कि भनेर छलफल गरे तर किमार्थ सफल हुन सकिएन ।

छोरी !!

मैले वुझेको शिक्षा भनेको नजानेको कुरा सिक्नु हो र जानेको कुरा व्यावहारिक जीवनमा उतार्नु हो । त्यसकारण शिक्षा जहिले पनि जीवन उपयोगी नै हुनुपर्छ । विगत केहि समययता नेपालको शिक्षा जीवन उपयोगी भन्दा प्रमाणपत्रमा केन्द्रित भएको देखिएको छ ।  मध्यमवर्गका अभिभावकहरु जसरी पनि छोरा छोरीहरुलाई अंग्रेजी माध्यममा पढाएर तथाकथित विश्ववजारका लागि योग्य वनाउनुपर्छ भन्ने मनोरोगवाट ग्रसित भएको देख्छु । यो मनोरोग नै नेपालका युवाहरुलाई विदेश लखेट्ने प्रस्थान विन्दु हो । यहि परिवेश रहिरहेमा सायद तिमी पनि यो देशमा आफ्नो भविष्य देख्ने छैनौ र उच्च शिक्षा अध्ययन गर्ने भन्ने वहानामा देशबाट नै पलायन हुनेछौ । अहिलेका निजी विद्यालयको धेय भनेको नेपाली वालवालिकालाई नेपालीपनबाट विमुख वनाउनमा केन्द्रित रहेको छ ।

तिमीहरुले विद्यालयमा जाने वित्तिकै गर्ने प्रार्थना देखि नै नेपालीपनबाट विमुख गर्ने खालका ड्रमसेटको धुनबाट दैनिकी शुरु गर्ने अनि जानीनजानी अंग्रेजी लवजमा वन्दना गाउनु पर्ने अवस्था खै किन हो मलाई सुखद लागेको छैन । हाम्रा परम्परागत पहिचान वोक्ने दमाहा, टेम्को, नरसिंङ्गा, खैंजडि, मुर्चुङ्गा र झ्याली आदि वाद्यवादनका साधनहरुसँग तिमी र तिम्रो पुस्ता नै अपरिचित छ । ठाडि भाखा, सालैजो, फाग, तामाङ्गसेलो, डेउडा, धमारी, रोइला आदि परम्परागत लय संगीतप्रति तिम्रो सिङ्गै पुस्ता अनभिज्ञ छ । यहाँका थुम्का थुम्कामा विराजमान देवी देवताका विषय तिम्रालागि अत्यन्त अपरिचित छन् । “पहाड खानु पुजेर माल (तराइ) खानु वुजेर” भन्ने उखान वच्चै देखि सुनेको हुँदा मलाई यहाँका सवै डाँडा खोलामा देवी देवताहरु छन् जस्तो लाग्छ वर, पिपल, तुलसी, समि, अमला आदि वनस्पतिहरुलाई हतियार छुनु हुँदैन भन्ने कुरा वाल मानसिकताबाट नै दिमागमा घोटिएर वसेको हुँदा म त्यस्ता वनस्पतिलाई हतियार (वन्चरो) प्रयोग गर्ने कल्पनासम्म गर्न सक्दैन तर तिमीले त्यस्तो खालको परिवेश नपाएको कारण यी हाम्रा परम्परागत मान्यताहरु तिम्रालागि हाँस्यास्पद हुन सक्छन् ।

तिमीलाई हाम्रो परम्पराको कुरा भनि रहँदा म मेरो पिताजीको अनुहारको भाव सम्झिन्छु । हरिद्वारवाट उत्तरमध्यमाको शिक्षा पुरा गरी घर आउनुभएको वेला गाउँ नजिकै खुलेको विद्यालयमा पढाइदिनुपर्यो भनि स्थानिय अभिभावकहरुले गर्नुभएको अनुरोध तथा घरको अवस्थाले समेत शिक्षण पेशा शुरु गर्नुभएछ र केहि समयपछि प्रशासन कार्यालयबाट जागीर खान भनेर घरमै वोलाउन आएपछि जागिर खान थाल्नुभएछ । फलस्वरुप उहाँको उच्च तहसम्म अध्ययन गर्ने अभियानबीच मै रोकिएछ । यसकारण पिताजीले हाम्रो अध्ययनका लागि कुनै कसर बाँकी राख्नुभएन । म सम्झिन्छु मैले काठमाण्डौ पढ्नआउँदासम्म जिल्लाभरिकै म समेत केहिमात्र भाग्यमानी विद्यार्थी थियौं जो त्यति टाढा यहाँ सिर्फ पढ्ने उदेश्यले मात्र आएका थियौं । त्यतिवेला काम गर्ने वा जागीर खोज्ने वा जसरी पनि पैसा कमाउने भन्ने कुनै धेय थिएन । विस्तारै विस्तारै विश्वविद्यालयको शिक्षा समाप्त भए पछि काम गर्नुपर्ने रहेछ भन्ने कुराले ध्यान तान्न थाल्यो । अध्ययन समाप्त भैसकेपछि कुनै पेशा व्यावसाय वा रोजगार शुरु नगर्दासम्मको समयावधिलाई मैले जीवनकै “संक्रमणकाल” भन्ने गरेको छु । यो समय तिमीलाई पनि झेल्नुपर्नेछ । जुन विषय तिमी विस्तारै विस्तारै वुझ्दै जानेछौ ।

पृय छोरी !!

तिमी दुइपटक हाम्रो मुल घर वगरकोट, डडेल्धुरामा पुगेकि छौ । अचेल त्यहाँको परिवेश हाम्रो वालककालको जस्तो छैन । लामो समयपछि मुलघर गएको समयमा पत्थरले छाएको दुइपाखे घरको धुरीमा खुर्सानी सुकाएको, फर्सिको भेट्नोमा गोवर टाँसेर सुकाएको अनि धुरीवासाँमा टेलिभिजनको एण्टिना नाम गरेको छतरि ठोकेको तथा गोठको ढोकानेरै मोटरसाइकल ठड्याइराखेको दृष्य पहिलो पटक आफ्नै गाउँमा देख्दा म पनि अचम्ममा परेको थिएँ । हामीले वालकालमा तरुल खनेका कान्ला अनि खोल्साहरुमा अहिले तरुल भन्ने जात नै पाइँदैन रे । दुवाली छेकेर माछा मारेको स्थानमा माछा पनि पाउन छाडेको छ रे । गाउँमा मोटरवाटोको सुविधा, विजुलीवत्ति तथा हात हातमा मोवाइल फोनको सुविधा पुगेपछि गाउँ जस्तो गाउँ रहेको छैन रे । यी सकारात्मक परिवर्तनहरुले हाम्रो सिङ्गो परिवेशको जीवन पद्धतिलाई सहज वनाएकोछ । आज हाम्रो गाउँमा फल्ने सागसव्जि विउविजनले प्रशस्त वजार पाएकोछ जस्ले सवैको आर्थिकस्तरलाई भरथेग सहयोग नै गरेको छ । हाम्रो पिताजीहरुको समयमा शिक्षा लिन देश छाड्नुपर्ने अवस्था थियो । हाम्रो समयमा गाउँ छाड्नुपर्ने थियो । अहिले हाम्रै गाउँमा दश जोड दुइको विद्यालय छ । यी कुराहरु तिमीलाई लेख्न किन आवश्यक छ भने हरेक पुस्ता परिवर्तनका संवाहक हुन भोलिका दिनमा यो देश तिमीहरुको पुस्ताले हाँक्ने छ । सिङ्गो देश नै हाक्ने गरी तिमीहरुको पुस्ताले जिम्मा लिने दिन आउँदासम्म तिमी सिङ्गो समाज अनि ऐतिहासिक विरासत वुझेनौ भने तिम्रो पुस्ता स्वयम् अल्मलिने छ । जिम्मेवार मानिस नै अल्मलिएपछि देशले नै गति छाड्नेछ । जुन कुरा हाम्रो पुस्ताले भोगिरहेको छ ।

र अन्तमा

पृय छोरी, जीवन एक यात्रा हो । सन्त योगीहरुले जन्मलाई महाआगमन र मृत्युलाई महाप्रस्थान भन्ने गरेका छन् । महाआगमन र महाप्रस्थानवीचको दुरीमात्र जीवन हो । हामी सामान्य मानिसहरु यो जीवनमा सफल वन्ने कि असफल वन्ने भन्ने विषयको निर्क्योलमा नै पुग्न सकेका हुँदैनौं जस्तो   लाग्छ । हामीले असल वन्ने प्रयत्न गर्नुपर्छ, सफलता भन्ने विषय असल चरित्रको पछाडि हुन्छ । किनभने जसलाई  हाम्रो जगतले सफल भनेर चिनेको छ त्यो भौतिक वस्तु हो । भौतिक वस्तु जहिले पनि अनित्य हुन्छ । र असल भनेको अलौकिक चिज हो, जुनकुरा महशुस हुन्छ तर भौतिक रुपमा प्रकट हुनसक्दैन । आत्मसन्तुष्टि भन्ने कुरा जति असल मानिसले महशुस गर्छ सायद सफल मानिसले त्यति गर्दैन । त्यसैले मेरो कामना छ तिमी जे वन्नेछौ जे गर्ने छौ त्यसले नै तिमीलाई यो समाजमा असल व्यक्तिको पहिचान दिलाउनेछ । जीवनमा जति संघर्ष गर्नेछौ त्यसले नै तिमीलाई वाँच्न सिकाउनेछ । जति हण्डर र ठक्कर खानेछौ त्यति नै मजवुत भएर जानेछौ । वालसुलभतावाट विस्तार विस्तारै संघर्षको मैदानतर्फ वढिरहेका तिम्रा हरेक कदमलाई शुभकामना छ । तिम्रा हरेक पाइलाले असल वन्ने प्रेरणा दिइरहुन्, यहि शुभ आशिर्वाद छ । (अधिवक्ता भेषराज पन्तले आफ्नी छोरीलाई देशको शिक्षा प्रणाली र प्रवृत्तिको तुलनात्मक चित्रण गर्दै पत्रको शैलीमा गरेको पठनीय मार्मिक विश्लेषण)

 

एसइईको नतिजा भोली आउने

काठमाडौं, १० असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत यस वर्ष संचालित परिक्षको नतिजा बुधबार अर्थात् भोलि प्रकाशन हुने भएको छ । परीक्षा

पढाउन नसक्ने शिक्षकले पेशा छाड्नुस्, नयाँलाई ठाउँ दिनुस्– शिक्षामन्त्री पोखरेल

भक्तपुर, ९ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पढाउन नसक्ने शिक्षकलाई शिक्षण पेशा छाडेर ठाउँ खाली गरिदिन आग्रह गरेका छन् ।

शहीद स्मृति विद्यालयको मन्त्री पोखरेलद्वारा अनुगमन

लमही, ७ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले तुलसीपुर उपमहानगरपालिका–१७ हेमन्तपुरस्थित स्मृति आवासीय विद्यालयको अनुगमन

अष्ट्रेलिया जान चाहनेलाई सर्वोच्चको साथ, एनओसी नरोक्न आदेश

काठमाडौं, ६ असार । डिप्लोमा तहमा अध्ययन गर्नको लागि विदेश चाहने विद्यार्थीको लागि दिइने अध्ययन अनुमति पत्र (नो अब्जेक्जसन लेटर) रोक्ने शिक्षा