तातोपानी नाका आउँदो साता सञ्चालनमा

काठमाडौँ,१० जेठ । भूकम्पपछि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आउँदो साताभित्रै पुनः सञ्चालनमा आउने भएको छ । 
नेपालका लागि चिनियाँ राजदूत हाउ याङ्छीले जिम्मेवारी सम्हालेपछि पहिलोपटक बिहीबार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो जानकारी दिनुभएको हो । 

यो नाका अहिले कार्गो ओसारपसारका लागि मात्र खुला गरिने बताउँदै तत्कालका लागि यसबाट मानव अवतजावत खुला नगरिने स्पष्ट गर्नुभयो । 
उहाँले भन्नुभयो, “सन् २०१५ को विनाशकारी भूकम्पबाट त्यहाँका भौतिक संरचनामा नराम्रो क्षति भएको थियो ती संरचना अझै पूर्ण रुपमा पुनःनिर्माण गर्न सकिएको छैन । त्यसैले त्यहाँ मानव आवतजावतका लागि अझै खतरा छ । ” 

उहाँले सो क्षेत्रमा आवश्यक पूर्वाधारको पुनःनिर्माणमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै नेपालका तर्फबाट पनि पूर्वाधारको सुधारमा प्रयास हुनुपर्ने बताउनुभयो । 

चीनमा हालै आयोजित दोस्रो बेल्ट एन्ड रोड फोरममा राष्ट्रपति विद्यादेवी भण्डारीे सहभागी हुनु र प्रमुख वक्ताका रुपमा मन्तव्य राख्नुले बेल्ट एन्ड रोड इनिसिएटिभमा नेपालको पूर्ण समर्थन रहेको स्पष्ट भएको बताउनुभयो । 

कतिपय मुलुकले बीआरआईलाई ‘डेब्ट ट्रयाप’ (ऋणको पासो) भन्ने गरेको र यस मार्फत चीनले केही मुलुकमा ऋण थप्दै लगेर पासोमा पार्छ भन्ने आरोपमा कुनै सत्यता नरहेको बताउनुभयो । 

राजदूत हाउ बीआरआई सहयोग मुख्य खेलाडीका रुपमा रहेका व्यवसायीले स्वाभाविक रुपमा वजारको कानुन अनुसार नै काम गर्ने हुँदा उनीहरू पैसा गुमाएर समाप्त नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो, “ धेरै जस्तो विकासशील मुलुकको विकासका लागि पैसा र लगानी चाहिको छ । चीनले पनि अन्य अन्तर्राष्ट्रिय वित्तीय निकायले गरे जस्तै गरी बराबर हैसियतमा छलफल गरी कुनै राजनीतिक सर्त बिना नै रकम उपलब्ध गराउँछ ।” उहाँले बीआरआई खुला, समावेशी र परदर्शी रहेको पनि स्पष्ट पार्नुभयो । 

पत्रकारहरूले नेपाल चीनबीच रेल सम्पर्कका विस्तार गर्ने विषयमा राखेको प्रश्नको जवाफमा उहाँले यो विषय आज राजनीतिक निर्णय गरेर भोलि नै कार्यान्वयनमा जाने खालको नभएको र दीर्घकालीन क्षेत्र भएको बताउनुभयो । तर यस विषयमा दुवै देशका सम्बन्धित निकायहरूले काम गरिरहेको र सो जारी रहने बाताउनुभयो । 

राजदूत हाउले भन्नुभयो, “यो परियोजना दुई देशबीचको सम्बन्धका लागि निकै महत्वपूर्ण भए पनि विद्यमान भौगोलिक जटिलता आदिले गर्दा यो त्यति सजिलो काम छैन । यसका लागि वैज्ञानिक अध्ययन हुनुपर्छ । यस्ता परियोजना निर्माणका लागि चार चरण पार गर्नु पर्छ जसमा पूर्वसम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययन, डिजाइन र निर्माण पर्छन् ।” 

उहाँले अगाडि भन्नुभयो, “यसमा हामीले पूर्वसम्भाव्यता अध्ययन पूरा गरिसकेका छौँ । दोस्रो चरण सम्भाव्यता अध्ययन हो र यो निकै खर्चिलो र निकै लामो काम हो यसमा धेरै लगानी आवश्यक पर्छ । यस विषयमा दुवै देशबीच समझदारी भइसकेको र यसलाई सम्बन्धित निकायहरूले जारी राख्ने छन् ।’’ 

गोरखापत्र दैनिकका अनुसार, त्यस्तै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सम्भावनाबारे राखिएको जिज्ञासमा राजदूत हाउले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपतिलाई नेपालको भ्रमण गर्ने निम्तो दिनु भएको र उपयुक्त समयमा उहाँले नेपालको भ्रमण गर्ने बताउनुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएन : बजेट फ्रिज हुने अवस्थामा

कास्की, १० असार । पोखरा महानगरपालिकाले योजना छनोट गर्न नसक्दा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम

शेयर बजार बढ्यो

काठमाडौँ, ९ असार । आइतबार ओरालो लागेको शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक

वर्षाले कर्णालीमा रोपाइँको सुरसार

सुर्खेत, ८ असार । ब्याड राख्ने र रोपाइँ गर्ने प्रतिक्षामा रहेका किसान वर्षात् हुँदा खुशी भएका छन् । लामो खडेरीका कारण रोपाइँको सुरसार गर्न नपाएका

माटो परीक्षण शिविर शुरु

डोटी, ८ असार  । डडेल्धुरास्थित डिभिजन कृषि ज्ञान केन्द्रको पहलमा यहाँको  कृषि ज्ञान केन्द्रले शिखर नगरपालिकामा निःशुल्क माटो परीक्षण शिविर