एक्लै कालीगण्डकी थुन्न खोज्ने युवाको वास्तविक कथा

नेपालीमा एउटा उखान छ, ‘मर्नुभन्दा बौलाउनु निको’ । तर यो उखान सधैँ सत्य हुँदैन । बौलाएको व्यक्तिको समयमै आवश्यक उपचार हुन पाएन भने त्यस्ता रोगीका आफन्त ‘यो त मरिदिए पनि हुन्थ्यो’ सम्म भन्न पुग्छन् । यसरी मरेर जानुभन्दा पनि आफन्तलाई बढी आघात पार्ने मानसिक रोग बौलाहापनलाई अङ्ग्रेजीमा साइकोसिस भनिन्छ । कहिलेकाहीँ अर्ध मानवको रूपमा बरालिँदै जथाभावी गर्दै हिँड्ने व्यक्ति साइकोसिसबाट पीडित हुन्छन् । समाजमा पाइने कुल मानसिक रोगीमध्ये यिनीहरुको संख्या १० प्रतिशत पनि हुँदैन । अर्थात् सय जना मानसिक रोगीको परीक्षण गर्दा तीमध्ये मुस्किलले दश जना मात्र बौलाहा हुन्छन् । तर, हाम्रा सामाजिक मान्यताअनुसार यिनै दश जनालाई मात्र मानसिक रोगी ठानिन्छ । त्यस्तै, मानसिक रोग विशेषज्ञ भनेको यिनै ‘माईन्डक्र्याक’ भएकाहरुलाई मात्र ओखती गर्ने डाक्टर भन्ने भ्रम छ । 

साइकोसिसभित्र एउटा मात्र रोग पर्दैन, यो विविध खालका कडा मानसिक रोगहरुको समूह हो । साइकोसिसका विविध रूप हुनाले तिनका कारण, लक्षण र रोगका असर पनि फरक–फरक हुन्छन् र उपचार विधि पनि साइकोसिसको किसिमअनुसार फरक–फरक हुन्छ । तर, साइकोसिसका सबै रोगीमा केही समान कुराचाहिँ हुन्छन् । सर्वप्रथम त साइकोसिसबाट पीडित व्यक्ति रोगको प्रभावले गर्दा बिल्कुलै बदलिएको हुन्छ । कुनै व्यक्तिलाई साइकोसिस छ भन्ने थाहा नपाइसकेको आफन्तले त्यो व्यक्ति उही आफ्नो चिरपरिचित नातेदार हो भनेर चिन्नसमेत सक्दैन । रोगीमा बानीबेहोरा, चालचलन, लवाइ–खवाइ सबै कुरामा आमूल परिवर्तन आएको हुन्छ ।

दोस्रो महत्वपूर्ण पक्ष के छ भने साइकोसिसबाट पीडित भइसकेपछि व्यक्तिले म रोगी हुँ, मलाई कुनै रोग लागेको छ या मलाई उपचारको जरुरत छ भन्ने ठान्दैन । ऊ आफूलाई पहिलेजस्तो स्वस्थ सम्झन्छ । आफ्नो स्वभाव, सोचाइ र चालचलनमा आमूल परिवर्तन आइसकेको र आफू रोगी हुँ भन्ने तथ्य स्वीकार नगर्नाले यिनीहरु आफ्नो जिम्मेवारी तथा कामसम्हाल्न नसक्ने हुन्छन् । सामाजिक सम्बन्ध पनि तोडिँदै जान्छ । यसरी कामधाम छोडी, अरूको वास्तै नगरी उपचार गर्न नमान्ने र अनौठो काम कुरो गर्ने व्यक्तिलाई हामी पागल भन्छौँ । 

एकथरी पागलपन लाग्दै छोड्दै गर्नेखालको हुन्छ । यस्ता बिरामी रोगले छोएको बेला उग्र पनि हुन्छन् । जथाभावी गर्ने, कुट्ने, पिट्ने जस्ता ध्वंसात्मक काम पनि गर्न सक्छन् । तर, रोगको अवधि सिद्धिएपछि त्यत्तिकै र उपचार गरेमा तुरून्तै निको हुन्छन् । यसरी रोगले छोडेपछि पूर्णतया निको भएको देखिने व्यक्तिहरु रोगबाट प्रभावित भएको बेलामा असम्भव काम कुरा गर्दै हिँड्छन् । यिनीहरुको तर्क त्यति गलत लाग्दैन तर अव्यावहारिक हुन्छ । बढी खुसी र प्रसन्न हुने, गीत गाउने, श्लोक कविता पाठ गर्ने, नाच्ने, धर्म र राजनीतिका कुरा बढी गर्ने, बढी पैसा खर्च गर्ने, बढी बोल्ने, बढी हिँड्डुल गर्ने, काम बढी गर्न खोजेर बिगार्ने, आफँै ठू्लो जान्ने बुझ्ने हुँ भन्ने, आफूले विश्वास गरेको कुरो अकाट्य हो भन्ने यस रोगका लक्षण हुन् । यिनीहरुमा यौन इच्छा पनि बढ्ने र उत्ताउलोपन प्रदर्शन गर्दै लाजशरम बिना यौन चाहनाका कुरा गर्ने पनि हुन्छ । कसैले कुरा काट्ने र रोक लाउने हो भने यिनीहरु उत्तेजित भएर आक्रमण पनि गर्छन् । 

यसअघि यसै पुस्तकमा हामीले चर्चा गरेको रोग डिप्रेसन (अवसाद्) बाट पीडित व्यक्तिमध्ये केहीलाई कहिलेकाहीँ डिप्रेसन निको भएपछि यस्तो रोगले छुन्छ । यसका लक्षणहरु औँसी र पूर्णिमाजस्तै डिप्रेसनका ठीक उल्टा हुन्छन् । माथि वर्णन गरिएको साइकोसिसलाई ‘म्यानिया’ (Mania) भनिन्छ । व्यापार, उद्योग, ठेक्का–पट्टा गर्ने व्यक्तिलाई म्यानिया रोग लाग्यो भने आफ्नो बढी आत्मविश्वासले गर्दा जथाभावी लगानी गर्ने, ऋण लिने र दिने गर्छन् । केही समयपछि रोग निको भइसक्दा उनीहरुको व्यवसाय पनि डुबिसक्छ ।

एक पटक एउटा शान्त र स्वाभाविक आचरणको देखिने किशोरको स्वास्थ्य परीक्षण गर्नुप¥यो । सामान्य र छोटो भलाकुसारी गर्दा उनी रोगीजस्ता लाग्दैनथे । तर, कुराकानी गर्दै जाँदा उनले असम्भव र अनौठा कुरा गर्न थाले । उनी आफूलाई एक महान् पुरुष सम्झन्थे । उनी आफूमा दैवी शक्तिसमेत निहित भएकाले समाजका लागि ठूलो काम गर्न’ आफ्नो दायित्व सम्झन्थे । उनले आफ्नो महान् कामको थालनी गाउँले दाजुभाइको उद्धारबाट सुरु गर्ने विचार गरेछन् । उनको गाउँ पश्चिम कालीगण्डकी तीरमा थियो । कालीको एउटा भँगालोलाई नहर खनी गाउँमा हुलेर सिँचाइ गराउने अठोट लिई उनले एक्लै कालीको तीर खन्न सुरु गरे । उनी अरूको तर्क सुन्दैनथे । धेरै दिन खनिसक्दा पनि एउटा सानो खाल्टोसिवाय केही नबनेपछि यो असम्भव काम हो भनेर सम्झाउँदा स्वीकार गर्नु त कता हो कता झन् उल्टो तर्क पेस गर्थे– ‘एक–एक थोपाले घैला भरिन्छ, वर्षौं लागे पनि मैले यो पूरा गर्नैपर्छ ।’ गाउँका बूढापाकाले यस्तो हास्यास्पद काम गर्नु हुँदैन भनेर रोक्न खोज्दा प्रत्युत्तरस्वरूप धाराप्रवाह र सान्दर्भिक भाषामा उनी आफ्ना तर्क राख्थे । असहमतहरुलाई उनी रूढिवादी, विकासविरोधी, वैज्ञानिक कुराको ज्ञान नभएका भनेर गाली गर्थे र उस्तै परे हातपात समेत गर्थे ।

केही सीप नलागेपछि उनलाई ‘यो काम छिट्टै सकेर अरू अझ ठूला काम गर्नुपर्छ, यसका लागि पैसा निकासा गर्न काठमाडौँ जाऊँ’ भनेर झुक्याएर काठमाडौं ल्याइएको थियो । स्वेच्छाले औषधि खान नमान्ने हुनाले भर्ना गरेर उनको जबर्जस्ती उपचार गर्नुप¥यो । निको भएपछि उनलाई पहिलेको कामको याद गराउँदा उनी लाज मान्थे र त्यस विषयमा कुरा गर्न नै चाहँदैनथे ।

कहिलेकाहीँ आफूलाई शक्तिमाता, देवीको रूप, भगवान् (Godman) घोषित गरी सज्जनहरुलाई आफ्ना अन्धभक्त बनाउने कतिपय पाखण्डीहरु पनि यही रोगबाट हल्का रूपले पीडित हुन्छन् । यस प्रकारको लाग–छोड हुने, हल्का रूप छ भने रोगको आशंका नहुने साइकोसिस (Psychosis) सामान्यतया बढीमा ६ देखि ८ महिनासम्म रहन्छ । कहिलेकाहीँ वर्षौसम्म पनि हुन्छ । तर, माथि भनेजस्तै निको भएपछि पूरै ठीक भएर जस्ताको तस्तै हुन्छ ।

त्यस्ता गुरु, माताजी, महात्माप्रति भक्तिभाव हुने पाठकहरुको मनमा मेरो यो कुराले ठेस लाग्न सक्छ । कसैको अन्धभक्त हुनुभन्दा स्वविवेकले मानिसलाई पहिचान गर्न कोसिस गरेमा यस्ता गल्ती हुँदैनन् ।

अर्को एउटा निरन्तर लागिरहने कडा खालको मानसिक रोग (Psychosis) छ, जसलाई सिजोफ्रेनिया (Schizophrenia) भनिन्छ । अधिकांश व्यक्तिमा १२–१३ वर्षको उमेरदेखि २०–२५ वर्षभित्रै यो रोग सुरु हुन्छ । सुरुमा नजानिँदो रूपले स्वभावमा हल्का परिवर्तन हुन्छ, जसप्रति परिवारको ध्यान जाँदैन । निकै समयपश्चात् रोगी निकै बदलिएर आफ्नो काम गर्न छाडेपछि अरूको वास्ता गर्दैन, अनिमात्र रोग लागेको अड्कल हुन्छ । यस्ता रोगीमा प्रायः अरूप्रति शत्रुतापूर्ण भावना हुन्छ । त्यसैले मनका कुरा खोल्दैनन् । मानिसहरुसँग हेल–मेल, बोली–चाली रुचाउँदैनन् । व्यक्तिगत सफाइ र लवाइ–खवाइमा ध्यान दिँदैनन् । यिनीहरुको मनमा अनौठा विचार आउँछन् । अरूले पीडा दिएका छन्, अरूले मेरो कुरा काट्दै हिँड्छन्, मेराविरुद्ध षड्यन्त्र गर्दै छन् या टाढैबाट मेरो शरीर र विचारमाथि प्रभाव पार्दै छन् भन्ने ठान्छन् । परिवारका मानिसले वीष खान दिन्छन् भनेर खाना फ्याँकिदिन्छन् । यिनीहरु आफ्ना मनमा भएका यस्ता विचार प्रायः खोल्दैनन् । निकै कोसिस गरेर मात्र यी कुरा भन्न लगाउन सकिन्छ । साइकोसिसका रोगीहरु एक्लै बसेको बेलामा कतैबाट आकाशवाणी आएजस्तो स्वर सुन्छन् । त्यस्तो स्वर सुनेर एक्लै मुस्कुराउने, खित्का छोडेर हाँस्ने गर्छन् । सोध्यो भने त्यसको कारण खोल्दैनन् । कम बोल्ने, सोधेको जवाफ नदिने, झर्कने, रिसाउने, एक्लै बस्न रूचाउने र अति शंकालु बन्ने गर्छन् ।

यस्तै अवस्थाकी एक विक्षिप्त महिलालाई सिक्रीले बाँधेर मानसिक अस्पतालमा उपचार गराउनु परेको थियो । यी बिरामीहरु उत्तेजित हुने मात्र हैन, उल्टो–पाल्टो व्यवहार पनि गर्छन् । हाँस्ने स्थितिमा रुन्छन् र रुने अवस्थामा हाँस्न थाल्छन् ।

केही समय अगाडि प्रकाशित एउटा समाचारमा पञ्चमाया तामाङ नामकी एक महिलाले आफ्नै छोराछोरीको मासु खाएको समाचार छापिएको  थियो । उनी पनि यही रोगबाट पीडित भएको हुनुपर्छ । सुरुमा बिरामीको स्थिति त्यति अस्वाभाविक नलाग्न सक्छ र कुरा गर्दा ठीकै जस्तो पनि लाग्न सक्छ । तर, धेरै समय बितिसकेपछि रोग निरन्तर बढिरहन्छ र पछिमात्र उनीहरुमा पूर्ण विकृति आउँछ । उपचार गर्दा पनि ठीक नभएमा बिरामीलाई घरमा राख्न नसकिने हुन्छ । त्यसबेला यिनीहरुलाई प्रहरीमार्फत अस्पताल ल्याइन्छ ।

फोहरी, घिनलाग्दो, आफ्नो सुरमा हाँस्ने, बोल्ने, एक्लै बस्ने या हिँड्ने, बोलेको र लेखेको नबुझिने, सोध्दा अर्थ नलाग्ने जवाफ दिने आदि लक्षण रोगका अन्तिम परिणाम हुन् । यस्ता बिरामीले अनौठा चित्र पनि बनाउने गर्छन् । 

यो रोग सबै मानसिक रोगमध्ये गम्भीर प्रकृतिको तथा जति छिटो उपचार ग¥यो उति राम्रोसँग निको हुने किसिमको हो । तर, उपचार नगरे आफैँचाहिँ निको हुँदैन । उपचारले निको भएपछि पनि औषधि छोड्यो भने फेरि उल्टिन्छ । कुनै–कुनै बिरामीलाई रोग लाग–छोड जस्तो पनि देखिन्छ । बाहिरबाट ठीकजस्तो देखिए पनि भित्रभित्रै रोगले प्रभावित पनि पारिरहेको हुनसक्छ । केही समय लाग–छोड भएपछि बिरामी पूर्णतया विकृत अवस्थामा पुग्छ ।

यस प्रकारको सिजोफ्रेनियाको स्वरूप राम्रोसँग अध्ययन भए पनि यसको कारण भने किटेर भन्न सकिँदैन । विविध तत्वहरुले प्रभावित पारे पनि मूल रूपमा गलत किसिमको मस्तिष्क विकास  र समयपूर्व हुने मस्तिष्क विनास नै मुख्य कारण हुन् । त्यसमा वंशानुगत आधारले पनि प्रभाव पारेको हुन्छ ।
 (मञ्जरी पव्लिकेसनले प्रकाशन गरेको मानसिक रोग विशेषज्ञ डा. विश्ववन्धु शर्माको पुस्तक ‘मानसिक स्वास्थ्यका विविध अनुभव’को एक अंश हो यो । यसमा संकलित सामग्री निकै उपकारी र ज्ञानवध्र्दक ठानेर प्रकाशकसँगको सहमतिमा हामीले प्रकाशन गरिरहेका हौं । पुस्तकका प्रत्येक अंश निकै उपयोगी छन्,जसलाई क्रमशः प्रकाशन गरिने छ ।)
 

सर्पले डसेका बिरामीको चाप बढे

विराटनगर, ८ साउन । विराटनगरस्थित प्रदेशिक अस्पताल (कोशी)मा सर्पले डसेका बिरामीको चाप बढेको छ ।     अविरल वर्षापछि आएको बाढी र डुवानका कारण विगत १५

थालेसिमियाका बिरामीलाई सहयोग

चितवन, ७ साउन ।  भरतपुर अस्पतालमा उपचारार्थ थालेसिमियाका बिरामीलाई बेल्जियमस्थित चितवन सहायता कोष (क्याट)ले आर्थिक सहयोग गरेको छ । यसअघि नियमित

  तपाईं कति सुन्दर हुनुहुन्छ ? थाहा पाउने यस्तो छ उपाय

सौन्दर्य के हो ? कस्तालाई सुन्दर भन्ने ? झलक्क हेर्दा देखिने आकर्षण नै सुन्दरता हो त ? कि अरु पनि केही छ जसका आधारमा मानिसलाई सुन्दर भन्न सकिन्छ ? यो

 झापामा भेटिए कालाजारको नयाँ रोगी 

झापा । झापाको मेचीनगर–१५ मा कालाजारको नयाँ रोगी फेला परेका छन् ।  वैभव टि–स्टेट नजिकै बसोवास गर्ने ४० वर्षीय कमलेश मर्डीमा कालाजार भेटिएको