राजपा पनि बाबुराम–उपेन्द्र जस्तै समाजवादी बन्ने 

 काठमाडौं,२६ वैशाख । समाजवादी फोरम र नयाँ शक्तिवीच एकीकरण भै बनेको समाजवादी पार्टीमा अर्को मधेशवादी पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) पनि मिल्न गृहकार्य भैरहेको बुझिएको छ । केही राजनीतिक शर्तमा दुइपक्षवीच सहमति हुनासाथै एकिकरण प्रक्रिया चाँडै टुंगिन सक्ने बुझिएको छ । 

पूर्व माओवादी नेता बाबुराम भट्टराई र मधेशवादी नेता उपेन्द्र यादववीचको छोटो छलफलपछि नै नयाँ शक्ति र समाजवादी फोरम एक भएका   हुन् । यी दुइको एकतालाई लिएर राष्ट्रिय राजनीतिको समीकरणमा हलचल आउने अड्कलबाजी पनि चलिरहेको छ । 

यसैवीच यतिबेला शरत्सिंह भण्डारीले संयोजन गरिरहेका राष्ट्रिय जनता पार्टी (राजपा) पनि नवगठित समाजवादी पार्टीमा एकिकृत हुन लागेको राजपाकै एक वरिष्ठ नेताले सरल पत्रिकासँग बताए । ती नेताका अनुसार, भट्टराई र यादवसँग केही महत्वपूर्ण राजनीतिक बिषयमा राखिएको छ, ती सर्त मान्न उनीहरु राजी भएमा पार्टी एकताको बिषय कुनै ‘भारी बात’ होईन । 
 

के हुन् शर्त 

राजपाले सुरु देखि नै उठाउँदै आएको पहिलो माग या शर्त हो संविधान संशोधन । यही बिषयमा विवाद भैरहँदा उसले अन्तिममा सरकार नै त्यागेको थियो । अहिले पनि भट्टराई र यादवसँग यो माग राखिएको बुझिएको छ । 

त्यसैगरी, अर्को शर्त हो उपेन्द्र यादवले सरकार छाड्नु पर्ने । नेकपा अध्यक्ष केपी ओली नेतृत्वको मन्त्री परिषदका सदस्य रहेका यादवले अहिलेसम्म सरकारबाट बाहिरिई हाल्ने संकेत पनि दिएका छैनन् । 

राजपाको अर्को उद्देश्य टीकापुर घटनाका ‘मुल पात्र’ रेशम चौधरीलाई रिहा गराउने रहेको बुझिएको छ ।  

जानकार सूत्रका अनुसार, ओली सरकारमाथि दवाव सिर्जना गर्न हालै एक भएका भट्टराई र यादवसँग भण्डारी समूहलाई पनि मिलाएर कुनै पनि बेला संसद्भित्रै सरकारलाई अप्ठेरोमा पार्ने उद्देश्यले खिचडी पाकीरहेको छ । सूत्रको दावी छ, ‘यी तिनै शक्ति नमिली सुखै छैन ।’ 

यसरी मिले बाबुराम र उपेन्द्र

समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकीकरण भई बनेको समाजवादी पार्टीका नौ आधारपत्र छन् । पार्टी एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिकोतर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमकोतर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका थिए ।

 पार्टी एकताका नौ आधारमध्ये पहिलो नम्बरमा सङ्घीयता र समाजवादको सिद्धान्तमा स्थापित फोरम र प्रगतिशील लोकतान्त्रिक शक्तिका रुपमा स्थापित नयाँ शक्तिबीच पार्टी एकीकरण गरेर समाजवादी पार्टी नेपाल स्थापना गरिएको उल्लेख छ ।
 

राजपाको कथा व्यथा

फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) यतिखेर ‘पार्टी सङ्गठन सुदृढीकरण’ अभियानमा लागेको छ । 

दुई वर्ष अघि २०७४ वैशाख ८ मा पार्टी एकता घोषणा सभामा नेताको गर्जन र पार्टी कार्यकर्ताको जति उत्साह थियो, अहिले निरासातर्फ उन्मुख हुँदैछ । पार्टीभित्रको असन्तुष्टिलाई चिर्दै परिपक्व नेतृत्व प्रदान गर्न नसक्दा राजपाभित्र अहिले रडाको मच्चिएको छ । संविधान संशोधनलगायत मुद्दामा सङ्घर्ष गरेको राजपाले आफ्नो एजेण्डामा अडिग रहन त सकेन नै बरु सरकारमा सामेल भएर पनि टिकेन ।

नेतृत्वको महत्वकांक्षी र परिपक्व एजेण्डाको अभावमा राजपा रुमल्लिन पुगेको कार्यकता तहको बुझाई छ । दुई वर्षको अवधिमा पार्टी जहाँको त्यही रह्यो । पार्टीकै केही असन्तुष्ट पक्षले पार्टी नै परित्याग गरी भिन्न मोर्चाबन्दी गरे । पार्टीको स्पष्ट कार्यदिशालाई स्थापित गर्न नसक्दा राजपा आफैँ रुमल्लिएको छ । गाउँ, वडा र जिल्ला तहदेखि केन्द्रीयस्तरमा नेता कार्यकर्ताबीच राम्रो तालमेल देखिँदैन । पार्टीको एकताको महाधिवेशन घोषणा गरे पनि त्यसलाई विभिन्न बहानामा लम्ब्याउने चालबाजी भइरहेको राजपा भित्रकै एकथरीको निष्कर्ष छ ।

पछिल्लो उदाहरणको रुपमा यही वैशाख ७, ८ र ९ गतेका लागि पार्टीको घोषित महाधिवेशन स्थगनलाई लिन सकिन्छ । महाधिवेशनका लागि तयारी नपुगेको भन्दै राजपाले महाधिवेशन स्थगित गरेको थियो । पार्टीको पदाधिकारी समितिले महाधिवेशनको मिति तोक्ने निष्कर्ष निकाल्दै केही साताअघि राजपा अध्यक्ष मण्डलको बैठकबाट निर्णय भएको थियो ।

  निर्णयअनुरुप राजपाको पदाधिकारी समितिको यही आइतबारदेखि जारी बैठकमा पुनः महाधिवेशन गर्ने या नगर्ने सम्बन्धमा नेताबीच मत बाझिएको छ । अध्यक्ष मण्डलका बहुमत सदस्य एकता महाधिवेशनको पक्षमा रहे पनि केही सदस्य नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् ।

 राजपाका एक पदाधिकारीले बताए अनुसार राजपा अध्यक्ष मण्डलका संयोजक शरत्सिंह भण्डारी, नेता महन्थ ठाकुर र राजेन्द्र महतो एकता महाधिवेशनको पक्षमा छन् भने राजकिशोर यादवले नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् । यता महेन्द्रराय यादव र अनिल झा महाधिवेशनको पक्षमा देखिन्छन् ।    
  
 

अन्योलमा गणतन्त्र स्तम्भ

काठमाडौँ, १० जेठ ।  देशमा गणतन्त्र स्थापनाको प्रतीकका रुपमा निर्माण गर्न भनी नक्साको ढाँचा तयार गरिएको गणतन्त्र स्तम्भ अझै बन्ने नबन्ने अन्योलमा छ ।

नागरिकता विधेयकविरुद्ध तीन दल

बलेवा, ९ जेठ ।राष्ट्रिय जनमोर्चाको अगुवाइमा नेकपा मसाल र नेकपा मालेले हालै सरकारले ल्याएको नागरिकता विधेयकको विरोधको अभियान जारी राखेका छन् ।केही

 नेताहरु नै बोल्न छाडे कांग्रेसमा !

काठमाडौं । नेपाली कांग्रेस जागरण अभियानमा जुटिरहेका बेला स्थानीय तहका नेता कार्यकर्ताले शीर्ष नेतृत्वलाई आलोचनाको तारो बनाईरहेका छन्

 प्रहरी र विप्लव कार्यकर्ताबीच मुठभेट

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–१ तिम्माको धोद्रे जङ्गलमा प्रहरी र नेत्रविक्रम चन्द(विप्लव) समूहका कार्यकर्ताबीच मुठभेट भएको छ ।